कोभिड–१९ बाट आँखाको सुरक्षा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ बाट आँखाको सुरक्षा

दृष्टिमा एक्कासि कमी भए, नानी र टाउको दुखे, उल्टी आए, आँखा निकै रातो भए, उज्यालोमा हेर्न अप्ठेरो भए, आँखाअगाडि एक्कासि धेरै छाया आए, एउटा वस्तुलाई दुइटा वा सीधालाई बांगो देखे तुरुन्त आँखा अस्पताल जानुपर्छ ।
रबा थापा

कोभिड–१९ ले नेपाललाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निकै प्रभाव पारिरहेकै छ । सजिलै सर्ने यो रोग आँखाका माध्यमबाट पनि एक व्यक्तिबाट अर्कामा जाने सम्भावना धेरै हुन्छ ।

आँखामा कोरोना लक्षण

कोभिड–१९ का संक्रमितमा देखिने आँखाका प्रमुख समस्या हुन्— आँखा रातो हुनु, रसिलो हुनु, आँसु बग्नु, आँखामा चिप्रा/कचेरा आउनु । कुनैकुनै संक्रमितमा आँखाको भित्री भाग रेटिनामा असर भई रक्तस्राव भएको समेत पाइएको छ ।

कोभिड–१९ बाट एउटा मात्रै वा दुइटै आँखामा असर पर्न सक्छ । हालसम्मको अध्ययनअनुसार, करिब एक प्रतिशतदेखि एकतिहाइसम्म संक्रमितका आँखामा असर परेको देखिएको छ । आँसु र चिप्रामा पनि कोरोना भाइरस पाइएको छ । केही संक्रमितमा पहिलो लक्षणका रूपमा आँखा रातो हुने गरेको छ । तत्पश्चात् बिस्तारै ज्वरो आउने, धेरै कमजोरी महसुस हुने र सास फेर्न गाह्र्रो हुने गरेको पनि पाइएको छ । धेरैजसो संक्रमितमा कोभिड–१९ को कुनै पनि लक्षण नदेखिने हुँदा र आँखामा कोरोना भाइरस हुन सक्ने सम्भावना भएको हुँदा आँखाबाट पनि सजिलै संक्रमण हुने अनुमान गर्न सकिन्छ ।

बचावटका उपाय

आँखाबाट कोभिड–१९ नसरोस् भन्नका लागि भौतिक दूरी कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यसका अलावा हातले आँखा, नाक, मुख र कानमा सकभर छुन हुन्न । छुनैपर्ने अवस्था आए साबुनपानीले कम्तीमा पनि २० सेकेन्डसम्म हात धुनुपर्छ अथवा गुणस्तरीय स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । हातले अत्यावश्यकबाहेक अन्य ठाउँमा छुनु हुँदैन । समयसमयमा साबुनपानीले हात धोइरहनुपर्छ । यसका अलावा गुणस्तरीय मास्कको प्रयोग, घरबाहिर निस्कँदा आँखा राम्रोसँग छोपिने खालको चस्मा प्रयोग गर्नु राम्रो हुन्छ ।

आँखाका बिरामीबाट नेत्र चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण भएको र जीवनसमेत गुमाउनुपरेको तथ्य सर्वविदितै छ । यसर्थ नेत्र चिकित्सक, स्वास्थ्यकर्मीसहित संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने व्यक्तिहरूले पीपीई र पन्जाको प्रयोग गर्दै फेससिल्ड लगाएर आँखा जाँच्ने मेसिनमा समेत बचावटी कवचको उपयोग गर्नु अत्यन्त आवश्यक छ । शल्यक्रिया गर्नुपर्ने बिरामीको पीसीआर जाँच गरी संक्रमण भए–नभएको पहिचानपछि मात्र उपचार गर्दा यो रोग नियन्त्रणमा ठूलो सहयोग मिल्न सक्छ ।लक्षणबिनाका धेरै बिरामी हुने हुँदा र कोरोना भाइरसको पहिचानको दायरा सीमित भएकाले हामी जोकोही पनि संक्रमित हुन सक्छौं भन्ने यथार्थ बुझ्नुपर्छ । यसर्थ आवश्यक बचावटका उपायहरू सबै जनाले अवलम्बन गर्नैपर्छ ।

आँखा रातो भएको व्यक्तिले तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी यसको वास्तविक कारण पत्ता लगाउनुका साथै उपचार गराउनुपर्छ । प्रत्येक स्वास्थ्य संस्थामा आँखा रातो भएका व्यक्तिलाई छुट्टै व्यवस्थापन गरी उपचार गराउँदा अन्यलाई कोरोना भाइरस सर्नबाट धेरै हदसम्म बचाउन सकिन्छ । पूर्ण सावधानी अपनाउन सकेका खण्डमा आँखाबाट सर्न सक्ने संक्रमणबाट हामी बच्न सक्छौं ।

तुरुन्त उपचार आवश्यक पर्ने समस्या

कोरोना महामारीको अवधिमा अत्यावश्यक व्यक्ति मात्र आँखा अस्पताल जानु उत्तम हुन्छ । यसबाट भीडभाडमा कमी हुन गई संक्रमण नफैलन तथा आफू पनि बच्न सहयोग पुग्छ । कुनै पनि व्यक्तिको एक अथवा दुवै आँखाको दृष्टिमा एक्कासि कमी भएमा, आँखा देख्न कम भएसँगै आँखाको नानी दुख्ने, टाउको दुख्ने तथा उल्टी आएमा, आँखा निकै रातो भएमा, उज्यालोमा हेर्न अप्ठेरो भएमा, एक्कासि आँखाअगाडि धेरै छाया आएमा, रातको समयमा आँखाबाट उज्यालो प्रकाश आएको आभास भएमा, एउटा वस्तुलाई दुइटा वा सीधा वस्तु बांगो देखेमा तुरुन्त आँखा अस्पतालमा सम्पर्क गर्नुपर्छ । हालसालै आँखाको शल्यक्रिया गरेका बिरामी र त्यस्ता बिरामीमा एक्कासि आँखा दुख्ने भएमा, दृष्टि कमजोर हुन थालेमा र आँखा रातो भएमा पनि अस्पताल गइहाल्नुपर्छ ।

आँखामा चोटपटक लागेमा र बाहिरी वस्तु परेको शंका लागेमा तुरुन्त परीक्षण गराउनुपर्छ । आँखामा रासायनिक पदार्थ परेमा कम्तीमा पनि आधा घण्टासम्म सफा पानीले आँखा धोई तुरुन्तै अस्पताल जानुपर्छ । उपर्युक्त लक्षण भएका व्यक्तिमा आँखाको जटिल समस्या हुन सक्ने भएकाले तुरुन्त उपचार गराउनुपर्छ । यसो गरे दृष्टि जोगाउन सकिन्छ । ढिलो भए राम्रो दृष्टि बचाउन सकिने सम्भावना निकै कम हुन्छ ।

आँखाको शल्यक्रियापश्चात् नियमित लगाउनुपर्ने औषधि तोकेको अवधिसम्म प्रयोग गर्नुपर्छ । आँखाको विशेष रोगका छोड्न नमिल्ने औषधिहरू (जस्तै— जलविन्दु रोगका लागि प्रयोग भैरहेका औषधिहरू) नेत्र चिकित्सकको सल्लाहबिना रोक्नु हुँदैन । कोरोना महामारीको यो समयमा आँखा बचाउने सर्वोत्तम उपाय व्यक्तिगत सावधानी नै हो । यसबारे सचेत रहन सके आफ्नो दृष्टि पनि बचाउन सकिन्छ ।

(थापा नेत्ररोग विशेषज्ञ हुन् ।)

प्रकाशित : जेष्ठ ३०, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

प्रणालीगत सुधार अपरिहार्य

हामीले तीस वर्षमा व्यवस्था, संरचना, पात्र परिवर्तन त गर्‍यौं, तर अनुभवले देखाएको छ, ‘प्रवृत्ति परिवर्तन नभई पात्र परिवर्तनले मात्र’ सुधार सम्भव छैन । अब पनि हामी राजनीतिक दल, निर्वाचन प्रणाली, संसद् र सरकारबारे बहस गर्न पछि पर्‍यौं भने नयाँ परिपाटी नै संकटमा नपर्ला भन्न सकिन्न ।
भोजराज पोखरेल

२०४६ को परिवर्तनपछिका तीस वर्षमा हामीले धेरै आरोह–अवरोह भोग्यौं । धेरै ठूला चुनौतीको व्यवस्थापन गर्‍यौं । ठूलठूला परिवर्तन भए र तिनको व्यवस्थापन अपेक्षाकृत सहजै हुन सक्यो ।

यसमा समाजका सबै वर्गको भूमिका छ, तापनि यसको जस–अपजसको ठूलो हिस्सा देशको सत्ता र शक्तिको बागडोर सम्हाल्ने राजनीतिक नेतृत्व र दलहरूमा जाने नै भयो । यी परिवर्तन र तिनले ल्याएका अवस्थाका सकारात्मक र नकारात्मक दुवै पाटा रहे । तीस वर्षअगाडिको अवस्थालाई अहिलेको स्थितिसँग दाँज्दा आर्थिक, सामाजिक वा भौतिक प्रगतिमा देशले राम्रो छलाङ मारेको तथ्यांकले नै देखाउँछ । यसका लागि अगुवाहरूप्रति यो मुलुक सदा कृतज्ञ रहनेछ ।

यसको अर्को पाटो पनि छ । हामीले जे–जति उपलब्धि हासिल गर्न सक्यौं, त्यसको अनुपातमा आम नागरिकमा उत्साहको गति भने विपरीत पाटोमा छ । अर्थात्, खास गरी युवा वर्गमा नैराश्य झनै चुलिएको छ । केही अपवादलाई छाडेर देश–विदेश जहाँ रहे–भएका भए पनि दुई नेपाली भेटिएपछि कुराको सुरुआत नै ‘मुलुक त बरबाद भयो, अब यो मुलुकमा भविष्य छैन’ भन्ने नकारात्मक टिप्पणीबाट हुनु सामान्य बन्दै छ । अझ, कोरोना संकटको व्यवस्थापनमा हामी गम्भीर रूपमा चुकेको तथ्यले यस्ता सोचाइमा झनै व्यापकता आउने आशंका बढेको छ । यस्तो अवस्था ल्याउने विविध कारण होलान्, तर यहाँ यसमा अग्र भूमिका खेलेका केही प्रणालीगत विषयबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

१. के हुन् त ती प्रणालीगत कुरा ?

हामीलाई पछाडि पार्ने जिम्मेवार पक्ष ठानी व्यवस्था मात्र होइन, मुलुकको मूल संरचना र प्रमुख पात्र पनि परिवर्तन गर्‍यौं । हिजोदेखिका विकार, विकृति, असंगति र प्रवृत्तिको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्न कानुन, संरचना, विधि, प्रक्रिया जेजे चाहिने हो ती पनि व्यवस्था गर्दै आयौं । मुलुकलाई छोटोछोटो समयमा प्रणालीगत कुरामा प्रयोगशाला बनाइनु हुन्न र मूलभूत प्रणालीमा स्थायित्व दिनुपर्छ भनेर २०४६ सालको परिवर्तनबाट उपलब्धिका रूपमा लिइएका केही प्रमुख विषय (जस्तो : दल, संसद्, सरकार र निर्वाचनका मूल प्रणाली) मा सामान्य सुधारसम्म गर्‍यौं, तर तिनमा व्यापक पुनरावलोकन गर्न चाहेनौं ।

यी तमाम प्रयासले माथि भनिएझैं प्रगति पनि हासिल गर्‍यौं, तर तीस वर्षको अभ्यासले टड्कारो रूपमा सिकाएको पाठ चाहिँ ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राख्ता पनि बांगाको बांगै’ भनेझैं भयो । अर्थात्, राज्यका जिम्मेवार पात्रहरूको प्रवृत्तिमा सुधार देखिएन भनौं वा झनै स्खलन भएर गयो । र यिनै स्खलित पात्रहरूको कार्यशैलीले निम्त्याएको कुशासन नै माथि भनिएको नैराश्यको प्रमुख स्रोत रहेको मेरो निष्कर्ष हो ।

नैराश्यको बादल उपहार दिने खालको प्रवृत्ति आउनुका विविध पाटो केलाइएका प्रशस्त लेख आएका छन्, अध्ययन भए–गरिएका छन्, मजाले बहस पनि हुने गरेका छन्, यी विषयका विविध पाटाका सकारात्मक, नकारात्मक, आलोचनात्मक, बढाइचढाइ वा खोइरोखनाइ आदि काम आआफ्नो स्वार्थ वा निष्ठापूर्वक व्यावसायिक रूपमा भएकै/आएकै छन् । भलै, त्यसको सुनुवाइ जसले गर्नुपर्ने हो त्यो पाटो अति कमजोर रह्यो । त्यसैले, फेरि तिनै कुराको पुनरावृत्ति गरेर पाठकको महत्त्वपूर्ण समय खेर फाल्नु यो लेखको उद्देश्य होइन ।

यस्तो अवस्था आउनुमा, मेरो बुझाइमा, अन्य कुराका अतिरिक्त हालको निर्वाचन प्रणाली, जवाफदेही वा लगामबिनाका राजनीतिक दल, कमजोर संसद् र अस्थिर सरकार उत्पादन गर्ने प्रणाली नै प्रमुख तत्त्व रहे । यसैको सेरोफेरोमा यी चारै प्रणालीबारे अहिलेको आमधारणा कस्तो छ, त्यस्तो अवस्था के–कसरी आयो र यी कुरालाई सम्बोधन गर्न प्रणालीमै कस्तो सुधार गर्नुपर्ला, सोको बहस घनीभूत रूपमा सुरु होस् भन्ने आशयका साथ बुँदागत रूपमा केही सुझाव पनि राख्नेछु ।

२. भोगाइको निचोड

दल : राजनीतिक दलहरूमा कुनै सीमा र मर्यादामा बस्नु नपर्ने मत्ता हात्तीजस्तो जहाँ जे जसलाई जे गरे पनि हुने, कसैको डर मान्नु नपर्ने, जवाफदेही र जिम्मेवारी लिनु नपर्ने, आफूलाई कानुनमाथिको जस्तो ठान्ने प्रवृत्ति हावी भयो । प्रजातान्त्रिक शासन प्रणालीको अवयवको ख्यालै नगरी वनमाराको झारजस्तै जहाँ पनि प्रवेश गर्ने, त्यस ठाउँलाई निर्जर र ध्वस्त बनाउने (उद्योग, कार्यालय, शिक्षालय, अस्पताल, गैरसरकारी वा व्यावसायिक संस्था आदि सबै) भूमिकामा रहे ती । जताततै अति राजनीतीकरण गर्ने प्रतियोगितामा रमाए । मुलुकलाई सुशासनको बाटोमा हाँक्नुपर्ने दलहरू नै अव्यवस्थाको प्रतीक बने । दलभित्रको सुशासन भनेको मृगमरीचिका बन्यो । राजनीतिक फन्डको नाममा नीतिगत भ्रष्टाचारको स्रष्टा र संरक्षकको भूमिकामा रमाए । दलको नेतृत्व दलका सबै शुभचिन्तक वा कार्यकर्ताको हुन सकेन । गुट–उपगुट र हुँदाहुँदा अब डनहरूको संरक्षक हुन पुगेको आम गुनासो व्याप्त छ । नांगो बादशाह जस्तो भैसक्दा पनि रतीभर मतलब नहुने प्रवृत्ति व्याप्त भयो । एउटै समूहका पुरुषहरूको सधैं वर्चस्व र हालीमुहाली वा सधैं कब्जा रह्यो । दलका नेता, केही अपवादलाई छाडेर, ‘गाई ओगटिरहने बूढो गोरु’ को भूमिकामा रहे ।

संसद् : नागरिकमा अन्तर्निहित सार्वभौमसत्ताको अधिकार निर्वाचित प्रतिनिधिमार्फत संसद्ले प्रयोग गर्ने हो । तर व्यवहारमा संसद्ले प्रयोग होइन, दलका सीमित नेताले यसको दुरुपयोग गरे । उनीहरूले जे गर्ने निर्देशन दिन्छन्, तिनै कुराको छाप लगाउने थलो संसद् बन्यो । संसद् सरकार र दलहरूको छायामा पर्‍यो । आफ्नो अधिकार प्रयोग गर्न चुक्यो । देशको नीति–कानुन बनाउने, राज्यका अन्य सबै अंग (कार्यपालिका, न्यायपालिका, संवैधानिक एवं सुरक्षा निकाय लगायतलाई) जिम्मेवार र जवाफदेही बनाएर कसैलाई पनि शक्तिको दुरुपयोग गर्न नदिने र सुशासनका लागि बाटो बनाउने अभिभारा पाएको संसद् स्वयं कमजोर र गैरजिम्मेवार रह्यो । यी कुरा प्राथमिकतामा परेनन् ।

सांसद पद व्यक्तिगत हितमा बेसी केन्द्रित हुन पुग्यो, स्वार्थ बाझिने कुरामा तटस्थता तिनको प्राथमिकतामै परेन । सशक्त अंगका रूपमा स्थापित संसद् र यसका समितिहरू अत्यन्त कमजोर देखिए, पारिए । स्वयं सांसदहरू बैठकमा नबस्ने, हाजिर गरेर टाप कस्ने, कोरम नपुग्ने, सरकारले काम दिएन भनेर लामो समय बिनाकाममा रहने, कुनै कुराको निर्णयमा पुग्न आफ्नो तागतको प्रयोग नगर्ने, तर सरकार र दलहरूको निर्देशन कुर्ने दिशामा गए । निर्वाचित प्रतिनिधि (सांसद) का प्राथमिकतामा दलको नेतृत्व अनि मतदाता र चन्दादाताको खुसीसँगै विभिन्न कार्यालय धाउने, गत निर्वाचनको खर्च उठाउने, अर्को निर्वाचनका लागि खर्च र भोटको जोगाड गर्नेजस्ता काम परे ।

सरकार : कुनै पनि सरकार सबै नागरिकको हुन सकेन । अपितु दल र क्रमशः गुट वा उपगुटको हितमा सीमित हुन पुग्यो । राम्रा होइन, हाम्रा (नाता, दाता, भ्राता) र आफ्नै निर्वाचन क्षेत्र मात्रै सधैं प्राथमिकतामा परे, पारिए । जे–जसरी पनि पदमा पुग्ने र जस्तासुकै अमर्यादित व्यवहार गरेर पदमा टिकिरहने फोहोरी खेलले निरन्तरता पाए । दलभित्रकै राजनीति वा नेता व्यवस्थापनमै सबै सरकारको अत्यधिक ऊर्जा खर्चिइयो ।

राष्ट्रिय मिडियाको बहुमत समय यिनका बीचको झगडा र वार्तालापमै खेर गयो । बालुवाटार शासनको केन्द्रभन्दा सत्तासीन दलको केन्द्रका रूपमा प्रयोग गर्न सबै उद्यत रहे/भए । दल र सरकारबीच सधैं झगडै मच्चिरह्यो । निर्वाचित सरकार (राज्य) र दलबीच विभेद देखिएन वा बुझिएन । कुनै पनि सरकारले निर्वाचित म्यान्डेटअनुसार काम गर्न पाएन वा दिइएन । सरकार सञ्चालनमा दलीय हस्तक्षेपले पराकाष्ठा नाघ्यो । राज्यका अन्य अंग (अदालत, संसद् र संवैधानिक निकाय) लाई कमजोर बनाउन उद्यत देखियो । तानाशाही प्रवृत्ति हावी भयो । समावेशी हुन सकेन ।

निर्वाचन प्रणाली र प्रक्रिया : निर्वाचन अति खर्चिलो भयो । दलको घोषणापत्र र कार्यक्रम वा उम्मेदवारको योग्यता र क्षमताभन्दा पैसाले निर्वाचन परिणाममा प्रभाव पार्‍यो । पैसा नभएका इमानदार राजनीतिज्ञ पाखा परे । निर्वाचित निकायहरू अपराधी तत्त्वको पकडमा पर्न थाले । चुनावको टिकट लिन नै नेतृत्वलाई थैली बुझाउनुपर्ने भयो । दलका उम्मेदवारले निर्वाचनमा आफ्नै दलका कार्यकर्ता किन्नुपर्ने भयो । चुनावको पराजयमा दलकै अन्तर्घात प्रमुख कारक तत्त्व बन्न थाल्यो । निर्वाचनको प्रतिस्पर्धा उम्मेदवार वा दलहरूबीच भन्दा बेसी आआफ्ना पक्षका उम्मेदवारलाई समर्थन गर्ने चन्दादाता वा डनडनका बीचमा हुन थाल्यो । समानुपातिक प्रणालीलाई नेतृत्वको कार्यशैलीले बदनाम गरायो । यसका उम्मेदवार र विजेताको छनोटमा संविधानको मर्मविपरीत लिलामी वा आसेपासे वा नातागोतालाई प्राथमिकता दिइयो । संविधानको उद्देश्यमाथि कुठाराघात भयो, यसको धज्जी उडाइयो । महँगो निर्वाचन ठूला भ्रष्टाचार र अनेक व्यभिचारको जननी बन्यो ।

३. यस्तो स्थिति किन आयो त ?

यस्तो अवस्था आउनमा पक्कै बहुकारण र पात्र छन्, तिनको आधार र कारणको विवेचना नगरिएका कुनै दिन वा मिडिया छैनन् । त्यसैले उनै कुरा दोहोरिने गरी थप व्याख्या र विश्लेषण नगरी सुझावका विषयमा प्रवेश गर्न चाहन्छु ।

दल : दलहरूलाई हामीले चाहिनेभन्दा बेसी महत्त्व दियौं । उनीहरूका पछाडि यस्तो अन्धभक्त भयौं, आफ्ना ठानेकाले गरेका जेजस्ता कामकुरालाई पनि ठीक मात्र देख्यौं । दलका नेताहरूको देवत्वकरण गर्‍यौं । जुनसुकै कुराको समाधानको अन्तिम शक्ति यिनै दललाई ठान्यौं, तर जिम्मेवार र जवाफदेही बनाउनबाट चुक्यौं वा आवश्यक ठानेनौं । दल सञ्चालनका लागि खर्च चाहिन्छ, जसको व्यवस्था राज्यले गरेन बरु हामीले तिम्रो दलको सञ्चालन चन्दा उठाएर गर भन्यौं । राजनीतिक फन्डका नाममा चन्दा लिनेदिने वा जस्तोसुकै अनैतिक काम गरेर पैसा कमाए पनि दललाई चन्दा दियो भने त्यसबाट संरक्षण पाइन्छ भन्ने संस्कार र संस्कृतिको विकास गर्‍यौं । अनि भ्रष्टको संरक्षण गरी भ्रष्टाचारलाई संस्थागत गरियो । दलका नेताले भ्रष्टाचार वा व्यभिचार गरेका कुरा कसैले उठाएमा तिनका भरौटेहरू त्यसको सत्तोसराप गर्न मात्र होइन, दोहोलो काढ्नमै रमायौं । तिनीहरूलाई कानुनमाथिको ठानी जुनसुकै अपराधमा उन्मुक्ति दियौं । दलभित्रका आशा गरिएका र ऊर्जावान्हरूले दलभित्रका विसंगतिविरुद्ध आवाज उठाउने प्रयास गर्दा उनीहरूको राजनीति पत्तासाफ पारियो । परिणामस्वरूप विरोध गर्नेभन्दा तिनै नेताको परिक्रमा गर्दै भजन गाउँदै तिनलाई खुसी पारेर आआफ्ना व्यक्तिगत इच्छापूर्ति गर्ने प्रवृत्तिले प्राथमिकता पाउँदै गयो । दल वा तिनका नेतृत्व तहबाट भएका कुराको प्रतिकार गौण बने । समाजका सबै तह र तप्का (कर्मचारी, व्यापारी, उद्योगी, पेसागत समूह, बुद्धिजीवी, नागरिक समाज, सुरक्षाकर्मी आदि) दल र नेतृत्वको नजिक साखुल्ले बनेर आआफ्ना स्वार्थसिद्धिमै रमाए । राज्यशक्तिको दुरुपयोगको नियन्त्रण र सन्तुलन गर्न सृजना गरिएका विभिन्न निकाय (संसद्, अदालत, अन्य संवैधानिक अंग) निरीह देखिए । ती दलहरूको कृपापात्र बन्नमै रमाए । अघिल्लाले गरेको विकृति सुधार्नेभन्दा त्यस्ता विकृति नै मानक बन्न थाले र झनै बिगार्ने होडबाजीमा लागे ।

राजनीतिक दलहरूले राज्य र दलबीचको भेद बुझेनन् । स्वार्थ बाझिने कुराको ख्याल राख्न जरुरी ठानेनन् । त्यसको परिणाम भोग्नुपरेन र यस्तो दण्डहीनताले उद्दण्डता निम्त्यायो । दलको नेता भएपछि जे पनि गर्न छुट छ, राज्यको जेजति दोहन गरे पनि हुन्छ, लाजसरम केही मान्नुपर्दैन र कसैले छुन सक्दैन भन्ने अहम्ले गाँज्यो ।

संसद् : निर्वाचन प्रणाली, महँगो निर्वाचन, मन्त्री हुने लोभ, दलको ह्विप र शासकीय रवैयाले संसद् र सांसदलाई कमजोर बनायो । संविधानको मर्मभन्दा आफूलाई स्थापित गराइराख्न सांसदलाई तीन कुरामा केन्द्रित हुन बाध्य पारियो । ती हुन्— (क) मन्त्री हुन वा अन्य फाइदाका लागि दलको नेतालाई खुसी बनाउन, (ख) मतदातालाई खुसी पार्न र आआफ्ना निर्वाचन क्षेत्रमा योजना पार्न, नियुक्ति–सरुवा–बढुवा वा नियमित प्रक्रियाबाट गर्न नमिल्ने काम कानुन, प्रक्रिया र पद्धतिबाहिर गई निर्णय गर्न–गराउन सिफारिसका लागि त्यस्ता स्रोतमा धाउन वा दबाब दिन, र (ग) गत निर्वाचनमा गरेको खर्च उकास्न र अर्को निर्वाचनका लागि चाहिने खर्चको जोहोका लागि स्वार्थ समूहको हितरक्षा गर्न । दुई तहका सांसद रहे, सांसदबीचमै विभेदको अवस्था रह्यो । सरकारले विधेयक ल्याउने परिपाटीले गर्दा सरकारले चाहेको विषय र समयमा मात्र विधेयक आउने गरे । सांसद आफैंले यस्ता विधेयक ल्याउने आवश्यकता ठानेनन्, बरु सरकारलाई दोष दिएर पानीमाथिको ओभानो बन्ने प्रयत्न गरे र लामो समयसम्म काम दिइएन भन्दै संसद्को बैठकै राखिएन । दलीय ह्वीपको आधिक्यका कारण सांसदको शक्ति क्षीण भयो, विवेक र मतदाताको आकांक्षाभन्दा दलको आदेश सर्वोच्च शक्ति बन्यो । जसरी पनि योजना आआफ्ना क्षेत्रमा पार्न तथा आफूलाई थप सुरक्षित बनाउन सांसद विकास कोषजस्ता संविधानको मर्मविपरीतका कामकुरामा प्राथमिकता दिनुपर्ने अवस्था आयो ।

सरकार : दल र राज्यशक्ति प्रयोगको अन्तरसम्बन्धमा स्पष्टता नहुँदा जहिले पनि दल र सरकारबीचको तनाव र द्वन्द्वले गर्दा अहिलेसम्मका सरकारले उन्मुक्त हिसाबले म्यान्डेटअनुसार काम गर्न पाएनन् । यिनै आन्तरिक द्वन्द्वका कारण कुनै पनि सरकार स्थिर हुन सकेन । स्पष्ट बहुमतका सरकार आन्तरिक कारणले नै ढले, गले वा कमजोर बनाइए वा बनाइँदै छन् । सरकार प्रमुख यी र अन्य विविध कारणले गर्दा सधैं कमजोर रहे, अस्थिर बने तथा कसरी जोडघटाउ गरेर सत्तालाई निरन्तरता दिने भन्ने कुरा नै उनका उच्च प्राथमिकतामा परे । नियन्त्रण र सन्तुलनको अभावमा कार्यकारीमा तानाशाही प्रवृत्ति हावी भयो, अनि ती झनै गैरजिम्मेवार बने । असल नियतले राज्यका संवेदनशील विषयमा मुलुकको हित हुने गरी काम गर्ने शक्ति दिन व्यवस्था गरिएको नीतिगत निर्णयको अपव्याख्या गरी यसलाई मुलुक लुट्ने हतियारका रूपमा प्रयोग गरियो, जसले गर्दा बदमासी गर्नेलाई कानुनको दायराबाहिर पार्न, जोगाउन, उन्मुक्ति दिई चोख्याउन खोजियो । जसले जित्छ उसैको सबै हुने ‘विनर्स टेक अल’ को मानसिकता संस्कारका रूपमा बस्यो र यही कारण शक्तिका लागि हानथाप बढ्दै गयो । प्राथमिकता सत्ता, शक्ति र पैसामा रह्यो । जेजस्तो माध्यमबाट पनि शक्तिमा रहूँ, कमाऊँ, पैसा भएपछि जसलाई पनि किन्न सकिन्छ भन्ने मान्यता र व्यवहार नै यी अधिकांश विकृतिको जड हुन पुग्यो । अर्थात्, सदाचारको खडेरी पर्‍यो । इमानदार पाखा परे, बेइमानको हालीमुहाली बढ्यो ।

४. सुधारका केही क्षेत्र

यी पृष्ठभूमिमा हामीसँग दुई विकल्प छन् । पहिलो— शिशु लोकतन्त्र छ, संविधान भरखरै लागू हुँदै छ, यो छोटो समयमा ठूला परिवर्तनका कुरा गर्न हतारो हुन्छ भन्दै केही समय कार्यान्वयन भएपछि मात्र थप सोच्ने, अहिले हेर र पर्खको अवस्थामा रहने । वा, दोस्रो— हामीले प्रजातान्त्रिक अभ्यासको यात्रा सुरु गरेको र अभ्यास गरेको तीस वर्ष भैसकेको छ । यसबीच दल, संसद्, निर्वाचन र सरकारबारे धेरै अनुभव बटुलिसकेका छौं । संविधान नयाँ भए पनि दल, संसद्, निर्वाचन र सरकारका आधारभूत संरचनामा तीस वर्षकै निरन्तरता छ । यस स्थितिमा तीस वर्षदेखि भोगिँदै आएका अनुभवका आधारमा सुधारका कुरामा थप बहस चलाउने ।

मेरो विचारमा, तीस वर्षका हाम्रा क्रियाकलाप र अनुभवको राम्रो मूल्यांकन गरी यी चारै विषयका मूल संरचनामै आधारभूत सुधार गर्ने विभिन्न विकल्पबारे गम्भीर रूपमा बहस चलाउन अब ढिला गर्नु हुन्न । किनकि हामीले तीस वर्षमा व्यवस्था, संरचना, पात्र परिवर्तन गर्‍यौं । तर अनुभवले देखाएको छ, ‘प्रवृत्ति परिवर्तन नभई पात्र परिवर्तनले मात्र’ सुधार सम्भव छैन । यस अवस्थामा, नयाँ गरिने सुधारबाट आउने पात्रलाई संरचनाले नै त्यस्तो प्रवृत्ति रोक्न मद्दत गरोस् । यो वा त्यो बहानामा अब पनि हामी यी विषयमा बहस गर्न पछि पर्‍यौं भने नेपालीको यति ठूलो त्याग र बलिदानबाट सिर्जित नयाँ परिपाटी नै संकटमा नपर्ला भन्न सकिन्न । यसर्थ वर्तमान संविधानभित्रैबाट समयमै निकास खोज्नुपर्छ र सकिन्छ पनि ।

व्यवस्थाका यी मौलिक विषयमा बहस चलाउने कुरा राख्ता व्यवस्थाविरोधी, अस्थिरताको खेती गर्न पल्केको, परिवर्तनविरोधी, राजनीतिको मूल मर्मविपरीतको विचार राखेको, पूर्वाग्रही, दुराशयी मनबाट आएको जस्ता आरोप पक्कै लाग्नेछन् । तर, अब पनि यो वा त्यो बहानामा प्रणाली सुधारका अहं विषयमा बहस गर्न ढिला गर्‍यौं भने भोलि तपाईं–हामीसँग पश्चात्तापबाहेक केही नरहने दिन नआउला भन्न सकिन्न । संवैधानिक माध्यमबाटै ढिला नगरी निकास खोजौं, सडक वा अन्य माध्यमको पुनरावृत्तिबाट ठूला परिवर्तनको क्रमभंग गरौं । बहस यी प्रमुख सवालमा चलाउनुपर्छ—

दल

  • राजनीतिक दल र निर्वाचित सरकारबीचको अन्तरसम्बन्ध स्पष्ट गरी दुवै आआफ्ना सीमामा रही जिम्मेवारी वहन गर्ने र हालको खिचडीको अवस्था अन्त्य गर्न कानुनबाटै लक्ष्मणरेखा कोर्ने र अनुगमनको संरचना निर्माण गर्ने,
  • राजनीतिक दलहरूको आन्तरिक सुशासन वृद्धिका लागि बाह्य अनुगमनलगायत दण्डको व्यवस्थासहितको विशेष कानुनी व्यवस्था गरी उनीहरूलाई जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउने,
  • दल सञ्चालनका लागि राज्यले अनुदान दिने, राजनीतिक फन्डका नाममा चन्दा उठाउने वा नीतिगत भ्रष्टाचारका शृंखलाको अन्त्य गर्न त्यसको ढोका बन्द गर्ने, दलको आम्दानी खर्चको अडिट महालेखा परीक्षकले गर्ने गरी आवश्यक कानुन निर्माण गर्ने,
  • अति राजनीतीकरणको अन्त्यका लागि दलका भ्रातृ संगठनका रूपमा शैक्षिक, उत्पादनमूलक, प्रशासकीय, स्वास्थ्य लगायतका कुनै पनि क्षेत्रमा संगठन बनाउन पूर्णतः रोक लगाउने र कर्मचारीका सबै किसिमका संघ–संगठन खारेज गर्ने ।

संसद्

  • हालको निर्वाचन प्रणालीको साटो बहुसदस्यीय निर्वाचन क्षेत्र वा पूर्ण समानुपातिक प्रणालीमा जाने,
  • कानुन र दीर्घकालिक नीति बनाउन र राज्यका अन्य अंगलाई जिम्मेवार बनाउने भूमिकामा केन्द्रित गर्न सांसदलाई मन्त्री नबनाउने, सांसदकै भूमिकामा दह्रो रहने बनाउने,
  • संसद्मा दलीय ह्वीपको अन्त्य गर्ने, सांसदले निर्भयसाथ विवेकसम्मत निर्णय गर्न सक्ने आधार तयार गर्ने,
  • रक्षा र बजेटसम्बन्धी बाहेकका अन्य विधेयक सांसदहरूले नै निजी विधेयकका रूपमा प्रस्तुत गर्ने,
  • निर्वाचन क्षेत्र विकासका लागि दिइने विकास बजेट बन्द गर्ने र हाल छुट्याइएको रकमलाई संसद् र सांसदको क्षमता विस्तारमा लगाउने ।

सरकार

  • कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट छान्ने,
  • कार्यकारी प्रमुखले आफ्नो नीति कार्यान्वयन गर्न चाहिने मन्त्रीहरूको टिम स्वतन्त्र विज्ञहरूबाटै चयन गर्ने, तर संसद्बाट तिनको अनुमोदन हुनुपर्ने,
  • उच्च राजनीतिक तहलगायत सबैलाई कारबाही गर्न सक्ने गरी अख्तियार दुरुपयोग आयोगको संरचनामा पुनरावलोकन गर्ने,
  • संवैधानिक अंग/निकायहरूमा संविधानको मर्मअनुसारको व्यक्तिको नियुक्तिका लागि संवैधानिक परिषद्लाई सिफारिस गर्न स्वतन्त्र र स्वच्छ छविका अति विशिष्ट व्यक्तिहरूको समूह गठन गर्ने ।

निर्वाचन प्रणाली

  • हालको प्रणालीको विकल्पमा संसद्का लागि बहुसदस्यीय निर्वाचन क्षेत्र (कम्तीमा नौ जना वा बेसीको निर्वाचन क्षेत्र) मा जाने र यसैबीचबाट समावेशी व्यवस्थापन गर्ने या पूर्ण समानुपातिक प्रणालीमा जाने,
  • पूर्ण समानुपातिकमा जाने अवस्थामा उम्मेदवारी छनोटका स्पष्ट आधार तथा दुरुपयोग हुन नदिने आधार कानुनमै तोक्ने र सोको अनुगमनको व्यवस्था गर्ने,
  • स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई स्वतन्त्र आधारमा हुने व्यवस्था गर्ने,
  • उम्मेदवारको छनोट दलहरूले प्राइमरी निर्वाचनका आधारमा गर्ने,
  • निर्वाचनको खर्च मात्र होइन, आम्दानीको स्रोतलाई पनि पारदर्शी बनाउने बाध्यकारी व्यवस्था गर्ने ।

स्मरण रहोस्, हामीले अँगालेको जस्तै प्रणालीबाटै अन्य मुलुकमा भर्खरको युवा नेतृत्वले मुलुक हाँक्न पाएकै छ । निर्वाचन वा अन्य विशेष परिस्थितिको अवस्थामा मात्र राजनीतिक दल देखिन्छन् र अरू समयमा सुषुप्त भूमिकामा रहन्छन् । दलको सभापति भैरहेका वा भैसकेका व्यक्ति दलका अरू नेताको नेतृत्वमा सरकारमा गएकै छन् । हामीले यिनबाट कहिले सिक्ने ?

अन्त्यमा, मूलतः समाजका सबै वर्गमा सदाचारको चरम खडेरी आजको मूल समस्या हो । भोलिको पुस्तालाई बचाउन, सदाचारी समाज र जनसंख्या उत्पादन गर्न शिशु अवस्थादेखि नै सदाचार प्रवर्द्धनमा लगानी बढाउनु जरुरी छ । यो आजको भोलि हुने कुरा पनि भएन । त्यसैले, तत्कालका लागि, माथि देखाइएका प्रणालीगत सुधारमा अब कुनै पनि बहानामा पन्छिने प्रयास नगरौं । जुनसुकै कुराको पनि विकल्प हुन्छ भन्ने ठन्डा दिमागले सोचौं । मलाई हिजो अमुक प्रणालीबाट फाइदा भएकाले त्यही नै सत्य हो भन्ने भ्रमबाट मुक्त होऔं । सबैले देश र आम नागरिकलाई अगाडि राखेर उपयुक्त विकल्पको खोजी गरौं । विकारहरूको अन्त्यका निमित्त प्रतिबद्ध बनौं ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×