कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्र उकास्न तीनखुट्टे रणनीति

अहिले परम्परागत माग मात्रै गरिरहनुभन्दा नयाँ अवसरको खोजीमा बढी ध्यान दिनु जरुरी छ । नयाँ पहल गर्दा मात्रै परिणाम पनि नयाँ हासिल हुन सक्छ ।
दीपकराज जोशी

कोरोना महामारीले स्वास्थ्यसम्बन्धी समस्यासँगै जनजीविका र सामाजिक-आर्थिक पक्षमा ठूलो चुनौती थपिदिएको छ । संक्रमण रोकथाम र सामाजिक-आर्थिक पुनरुत्थान लगायतलाई एकसाथ व्यवस्थित र सम्बोधित गर्न सकिएन भने महामारीपछिको अवस्था झनै डरलाग्दो हुनेछ ।

अर्थतन्त्र उकास्न तीनखुट्टे रणनीति

महामारीको यथाशक्य रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सरकारी संयन्त्र, स्वास्थ्य क्षेत्र, स्थानीय सरकार र सुरक्षा निकाय अग्रपंक्तिमा लडिरहेका छन् । त्यसबाहेकको राजनीतिक, सरकारी एवं कर्मचारीतन्त्र, व्यावसायिक क्षेत्र, नागरिक समाज, सञ्चार क्षेत्र लगायतको सिंगो समुदाय यस संकटलाई अवसरमा बदल्ने प्रयासमा लाग्नु आवश्यक छ ।

हरेक संकटपछि पुनरुत्थान भएको अवस्था (न्यु नर्मलपछिको नेक्स्ट नर्मलको अवस्था) मा सामाजिक-आर्थिक वृद्धि पहिलेभन्दा बढी नै उकासिने गर्छ । जसरी शक्ति कहिल्यै नाश हुँदैन र एउटाबाट अर्कोमा ट्रान्सफर मात्रै हुन्छ, त्यसरी नै व्यवसाय, समृद्धि, अर्थतन्त्र लगायत पनि निमिट्यान्न हुँदैनन् ।

उत्पादन, बजार र अर्थतन्त्र पनि कुनै अर्को देश, समुदाय वा वर्गमा ट्रान्सफर हुन्छन् । यस्तो संकटका बेला धेरै अर्थतन्त्र खस्किँदै गरेको शक्तिलाई तान्ने अभ्यासमा दह्रो ढंगले प्रयासरत रहन्छन्, नयाँ अवसरको खोजी गर्दै ।

यस्ता अवस्थाले सृजना गर्ने अवसर हामीले पटकपटक गुमाएका छौं । जहिले पनि दैनिक जीविकोपार्जनका ससाना माग राख्नमा मात्रै सारा शक्ति केन्द्रित गर्ने गरेका छौं । यसपल्ट पनि त्यही भइरहेको छ । सदाझैं समुदायले सरकारबाट खाद्यान्न र रोजगारी मागिरहेको छ, राजनीतिक नेतृत्व निर्वाचन क्षेत्रमुखी गतिविधिमै सीमित छ, व्यावसायिक क्षेत्र कर छुट/भाडा छुट/ब्याज र ऋण सहुलियतजस्ता मागमै व्यस्त छ, कर्मचारी र कामदार वर्ग पारिश्रमिक र ज्यालाकै माग गरिरहेका छन् । हुन त राहत प्याकेज चाहिन्छ नै, तर सानो कार्यदलले समन्वय गरी व्यवस्थापन वा सहजीकरण गर्न सक्ने यस्ता काममा समग्र देश लाग्नु हुन्न । सारा देश यत्तिमै सीमित भए ठूला अवसरको खोजी कहिले गर्ने ? त्यसैले अहिले परम्परागत मागहरूमा मात्रै रुमलिइरहनुभन्दा नयाँ अवसरको खोजीमा बढी ध्यान दिनु जरुरी छ । नयाँ पहल गर्दा मात्रै परिणाम पनि नयाँ हासिल हुन सक्छ ।

बृहत्तर आर्थिक विकासका लागि बन्दाबन्दीको अवस्थामा पनि हामी सक्रिय रहनु अत्यावश्यक छ । वर्तमान अवस्थामा देशमा पुँजीको कमी रहेको हुँदा निम्न तीनखुट्टे रणनीति बनाई अघि बढ्नु उपयुक्त हुनेछ- १) समृद्धिका लागि वैदेशिक लगानी, २) संरक्षणका लागि योगदानमा आधारित अर्थव्यवस्था, र ३) सबलीकरणका लागि उत्पादन र उत्पादकत्वमुखी कार्यक्रम ।

लगानी प्रवर्द्धन

ठूलो लगानी र धेरै रोजगार सृजना गर्ने परियोजनाबिना देशले छिटो विकास गर्न सक्दैन । मलेसियालाई विकसित बनाउने मोहम्मद महाथिरको मोडल यस सन्दर्भमा सफल उदाहरण मानिन्छ । लगानीका लागि पुँजी चाहिन्छ जुन वैदेशिक लगानीकर्ताबाट भित्र्याउन सकिन्छ । संकटपछि लगानीकर्ताले जहिले पनि नयाँ गन्तव्य हेरिरहेका हुन्छन् ।

अहिले पनि हाम्रै वरिपरिका चीन, भारत, बंगलादेश, म्यानमार, भियतनाममा रहेका थुप्रै अमेरिकी, युरोपेली, जापानी लगानीकर्ताहरूले विकल्प खोजेका हुन सक्छन् । खास गरी वर्तमानमा देखिएको राजनीतिक र कूटनीतिक कारण, कोरोना भाइरससँग जोडिएको मनोगत धारणा, मुलुकभित्रैको उत्पादन क्षमतामा आउन सक्ने कमी, आवश्यक जनशक्तिको अभावजस्ता पक्षले यो सम्भावना बढाएका छन् । ठूलै मात्रामा वैदेशिक लगानी रहेको चीन संसारकै ठूलो आपूर्तिकर्ता हो । संसारको कुल निर्माण सामग्री उत्पादनको २० प्रतिशत हिस्सा चीनको मात्रै छ ।

नयाँ परिवेशमा यो अवस्था खलबल्याउने प्रयास हुने देखिन्छ । यस बेला त्यस्ता कम्पनीहरू आकर्षित गर्न नयाँ पहल गर्न सकिन्छ । आर्थिक वृद्धिको तीव्र गतिमा हिँडिरहेको बंगलादेशमा लगानी गरेकाहरूमा पनि यस्तो सोच आउन सक्छ । हामीले करिब १५/१६ वर्षअघि गुमाएको गार्मेन्ट व्यवसाय फेरि फर्काउन सकिन्छ ।

नेपालमा लगानीकर्ता आकर्षित हुन सक्ने अर्को कारण युवा जनशक्ति हो । लाखौंको संख्यामा विदेसिएको नेपालकै जनशक्ति फर्किरहेको छ । भारतका उत्तरप्रदेश, बिहार, झारखण्ड, पश्चिम बंगालजस्ता प्रदेशको जनशक्ति र बजार पनि ठूलो छ । भर्खरै उत्तरप्रदेशका मुख्यमन्त्रीले चीनमा लगानी गरेका फेडेक्स, युपीएस, सिस्को, एडोब, हनिबेलजस्ता कम्पनी आफूकहाँ आए थुप्रै सुविधा दिने प्रस्ताव राखेका छन् । हामीले पनि आफ्नै लगानीकर्तालाई प्रोत्साहनसहित वैदेशिक लगानी आकर्षण, प्रवर्द्धन र संरक्षण गर्न ढिलो गर्नु हुँदैन । ठूलो पुँजी लिएर आउने, धेरै राजस्व तिर्ने, छिटो पूर्वाधार निर्माण गर्ने र उल्लेख्य रोजगारी सृजना गर्ने खालको लगानी भित्र्याउन हदैसम्म उदार हुनुपर्छ ।

योगदानमा आधारित अर्थव्यवस्था

आर्थिक वर्ष २०७७/७८ लाई दिने वर्षका रूपमा योगदानमा आधारित अर्थव्यवस्थाको एक प्रणालीका रूपले अघि बढाऔं । हामी कामदारले रोजगारदातासँग, रोजगारदाताले सरकारसँग र सरकारले बाह्य दाताहरूसँग सहयोगका लागि अनुरोध गर्नमै बढी केन्द्रित छौं । तर अहिले कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्था छैन । आफ्नो घर सुरक्षित छ भने मात्र मैले छिमेकीको घरमा लागेको आगो निभाउन सहयोग गर्न सक्छु । व्यावसायिक प्रतिष्ठानहरूका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

व्यावसायिक क्षेत्रमा क्रेडिट नोटको अवधारणाबमोजिम यस्तो अभ्यास चल्न सक्छ । त्यसैले सबैले आ-आफ्नो ठाउँबाट जति दिन सकिन्छ दिने प्रणाली विकास गर्नुपर्छ । जस्तै- कुनै कामदारले मासिक बीस हजार पारिश्रमिक पाउँथ्यो भने पाँच हजार राज्यले, पाँच हजार रोजगारदाताले र बाँकी १० हजार कामदारका तर्फबाट हुने योगदानका हिसाबले सम्झौता गरेर एक वर्ष काम गर्न सक्ने वातावरण बनाउन सकिन्छ ।

त्यसै गरी कुनै कम्पनीले एक वर्षमा गर्ने आयमा दिने करमा केही छुट वा अन्य उपाय खोजी गर्न सकिन्छ । राज्य, लगानीकर्ता, कामदार सबैले संकटको अवस्थाबाट जीविका र व्यवसाय बचाइराख्न आफ्नातर्फबाट जति सकिन्छ योगदान गर्ने वातावरण बनाऔं । यसले हामीलाई बचाएर संकटपछिको अवस्थामा पुनरुत्थानका लागि बलियोसँग जुट्न सक्षम पनि बनाइराख्नेछ । यसरी गरिने योगदानलाई हालको लगानीका रूपमा पनि चित्रित गर्न सकिन्छ र त्यसपछिका वर्षहरू प्रतिफल पाउन थाल्ने वर्ष भैहाल्नेछन् ।

उत्पादन र उत्पादकत्वमुखी प्राथमिकता

राज्यले साना तथा मझौला व्यापारीका लागि पनि व्यवसाय र लगानीमैत्री वातावरण बनाउन उत्तिकै ध्यान दिनुपर्ने हुन्छ, दिगो विकासका लागि ।

व्यवसाय गर्ने सानाठूला सबै उद्यम र उद्यमी राज्यको नेटवर्कमा हुनैपर्छ तर उनीहरूप्रतिको व्यवहार कर-असुली र राजस्वमुखी मात्रै नभई उत्पादन र उत्पादकत्व अभिवृद्धिमुखी हुँदा समग्रमा देशले बढी लाभ पाउँछ । हरेक संकटपछि आउने अवसरलाई नवीन र सृजनशील प्रयासहरूबाट प्राप्त गर्न सकिन्छ । यसका लागि राज्य र स्थापित व्यावसायिक प्रतिष्ठानहरूबाट हाल प्रचलनमा रहेका नवीन र सृजनशील सोचसहितका उद्यमहरू जन्माउन स्टार्टअप वा सिडक्याम्पमार्फत युवाहरूमा हाल रहेको जागिरमुखी मानसिकताबाट निकालेर पेसागत विशेषज्ञता बढाउने र उद्यमी बनाउने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । नेपालका सन्दर्भमा पूर्वाधार, पर्यटन, कृषि/जडीबुटी/मसला, खानपिन, वातावरण, स्वास्थ्य, सीप र प्रविधिजस्ता क्षेत्रमा नयाँ व्यवसायको ठूलो सम्भावना रहेको सन्दर्भमा व्यवसाय फस्टाउने रणनीतिका साथ यथाशीघ्र काम गर्नुपर्ने हुन्छ ।

राजनीतिज्ञ, सरकार, कर्मचारी, व्यवसायी र सञ्चारकर्मी सबै राज्यका प्रमुख खेलाडी हुन् ।देशको सफलता वा असफलता उनीहरूकै गतिविधि र नियतमा भर पर्छ । आज नेपालमा व्यवसायीमा मात्रै हैन, बाँकी सबै खेलाडीमा पनि अर्थतन्त्र र उद्यमशीलताको ज्ञान हुनु उत्तिकै जरुरी छ । समृद्धि त्यति बेला आउँछ, जब सबै तह र तप्कामा उदार अर्थतन्त्रको बुझाइ र उत्तरदायी उद्यमशीलताको सोचाइ बढ्छ । यसका लागि परम्परागत माग र सम्बोधन गर्ने शैलीभन्दा नयाँ पहल थाल्ने परिपाटीलाई प्रोत्साहित र प्रवर्द्धित गर्दा देश समृद्ध र देशवासी सुखी हुनेछन् ।

जोशी नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?