कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

यस्तै छ साथी, न्युयोर्कको हाल

मच्छेदेवी गुरुङ

कोरोना भाइरसको असहज अवस्थाबीच अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइट्समा बस्ने नेपालीलाई संक्रमण भएको हल्ला फैलियो ।

यस्तै छ साथी, न्युयोर्कको हाल

संक्रमित भए वा नभएको पुष्टि नभएसम्म बुझ्ने काम जारी रह्यो । अमेरिकामा कोरोनाको इपिसेन्टर न्युयोर्कलाई मानिएको छ । न्युयोर्कमा पनि सबैभन्दा बढी संक्रमित क्विन्समा छन् । त्यसैले पनि क्विन्स इपिसेन्टरको पनि इपिसेन्टर घोषणा गरिएको छ । कोरोना संक्रमित नेपाली मेरै साथी भन्ने थाहा पाएपछि मलाई झनै पीडा भयो । साथीका छोराहरू सानै छन् ।


केही दिनअघि मात्रै अनिल सुब्बाको उपचारकै क्रममा अस्पतालमा निधन भयो । सुब्बाको शव अस्पतालमा नै राखियो । उनका २ छोरा, १ छोरी र श्रीमती घरैमै क्वारेन्टाइनमा थिए । सुब्बाको मृत्युले परिवारलाई निकै क्षति पुग्यो । कोरोना भाइरस अरूलाई पनि सर्न सक्छ भन्ने त्रासले सुब्बाको अन्तिम बिदाइमा श्रीमती र सन्तानसमेत जान पाएनन् ।


आवश्यक प्रक्रिया पूरा गरी अस्पतालले नै अन्तिम संस्कार गर्‍यो । श्रीमान् र बुबालाई गुमाउनुको पीडा एकातिर छ, अर्कोतिर शवसमेत देख्न र छुन नपाउनु अनि अन्तिम बिदाइ पनि गर्न नपाउनु कतिसम्मको दुर्भाग्य होला ? कल्पनै गर्न सकिँदैन । यति मात्र होइन, यो परिवारलाई भाइरससँग लडेर आफू बच्नुपर्ने पहाडजस्तो अग्लो, चुनौती पनि आइपरेको छ । मृत्यु स्वाभाविक प्रक्रिया हो । तर, कोरानाले मृत्युलाई पीडादायी, भयानक र एक्लो बनाइदियो । यतिसम्म कि सुब्बाले मलामीसमेत पाएनन् ।


न्युयोर्कका कवि मणि बाङ्देलले फेसबुकमा पछिल्लो १२ दिनभित्र उनको घरबेटीले भोगेको घटना लेखे । बाङ्देलको घरबेटीले केही दिनअघि औषधि ल्याइदिन अनुरोध गरेका रहेछन् । अनुरोध मान्दै उनले १६ बोतल इन्सुर नामक प्रोटिन किनेर लगिदिए । औषधि ल्याइदिएको ३ दिनपछि घरबेटी बुबालाई एम्बुलेन्समा अस्पताल लगियो । त्यसपछि घरबेटी आमा बिरामी भइन् । बाङ्देलले नै अस्पताल पुर्‍याइदिए ।


अहिले बाङ्देलको घरबेटी बुबाको मृत्यु भइसक्यो । घरबेटी आमाको उपचार भइरहेको छ । न्युयोर्क राज्य कोरोनाले बन्द छ । घरबेटी बुबाको लास अरूलाई नै जलाउन भनिएको छ । केही दिनअघिसम्म सँगै बाँचेका बूढाबूढी मर्ने बेला एक जना एकातिर, अर्को अर्कातिर भएर एकअर्कालाई नदेखी छुट्टिए । यो कस्तो नियति र मृत्यु ! बिहेमा जन्ती र मर्दामा मलामी कमाउनुपर्छ भन्ने नेपाली उखान लागू गर्न निर्दयी कोरोनाले दिएन । कोरोना आफन्त र मृतकबीच पर्खाल बनेर उभिएको छ । कोरानाले एकै परिवारका सदस्यबीच पनि दूरी बनाइदिएको छ । साथीभाइलाई चाहेर पनि भेट्न सक्ने स्थिति छैन । भेट्न, स्पर्श गर्न र माया देखाउन कोरोनाले निषेध गरेको छ ।


नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत दक्षिण एसियाली मुलुकका आप्रवासीको बाक्लो बस्ती रहेको न्युयोर्कको क्विन्स अवस्थित ज्याक्सन हाइट्स अहिले सुनसान छ । कोरोना संक्रमितको संख्या दिन दुगुना रात चौगुना बढेपछि न्युयोर्कमा संकटकाल घोषणा गरियो ।


संकटकाल घोषणापछि अस्पताल, बैंक, प्रहरी, सुरक्षा, यातायात, बिजुलीलगायतका अत्यावश्यक सेवाबाहेक सबै बन्द छन् । रेस्टुरेन्ट व्यवसाय र अन्य व्यापारिक केन्द्रहरू पनि बन्द छन् । विद्यालय तथा विश्वविद्यालय बन्द भएपछि अधिकांश विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेका छन् । बस तथा ट्रेन सेवा सञ्चालनमा आए पनि एकदमै कम यात्रु देखिन्छन् । ग्रोसरी स्टोरमा अधिकांश ग्राहकले पञ्जा र मास्क लगाएको देखिन्छ ।


बानेश्वर, पुलतीसडक जत्तिकै व्यस्त हुने ज्याक्सन हाइट्समा पहेंलो र हरियो ट्याक्सी अनि उबर मुस्किलले देख्न सकिन्छ । तर, उबरमा काम गर्ने प्रायः सधैं व्यस्त हुन्छन् । र, व्यस्त हुनेमा अधिकांश आप्रवासी हुन्छन् । औषधि पसलमा मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामान छैनन् ।


हेन्ड वास, ट्वाइलेट पेपर र पेपर टाबेलसमेत बजारमा सजिलै पाइँदैन । संक्रमतिको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ । ठाउँ नपुगेर बिरामीलाई टेन्ट टाँगेर पनि राखिएको छ । स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने पीपीई, एन–९५ मास्क मात्र होइन, उपचार उपकरणको पनि अभाव रहेको समाचार आएका छन् । ज्याक्सन हाइट्समा अवस्थित अस्पतालको आकस्मिक सेवामा कार्यरत चिकित्सक कोलिन स्मिथले विश्वकै शक्तिशाली मुलुकमा पनि बिरामीको उपचारका लागि आवश्यक सामग्री अभाव भएको र सरकारले सहयोग नगरेको न्युयोर्क टाइम्सलाई बताएकी थिइन् ।

अमेरिकी सरकारले सबै ठीक हुन्छ भने पनि समयमै आवश्यक उपकरण उपलब्ध नगराउँदा बिरामीको अवस्था झनै कठिन र खराब बन्दै गएको छ । त्यस्तै मृत्यु संख्या पनि बढिरहेको छ । दैनिक २ सय बिरामी उपचार गर्ने आकस्मिक कक्षमा अहिले ४ सय बिरामी आउने गरेका छन् । अस्पतालमा भेन्टिलेटर अभाव छ । कोरोना परीक्षणको लागि आउने बिरामीको लाइन पनि अस्पताल परिसर बाहिर पुगेको छ ।


कोरोनाले मानिसको दैनिकी यस्तो डरलाग्दो बनाइदिएको छ । साथी भेट्दासमेत मुख फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ । र, नाता–सम्बन्ध अनि मानवताको परिभाषालाई सीमित दायराभित्र खुम्च्याइदिएको छ । आफन्त संक्रमित भए रेखदेख गर्न र भेट्नसमेत सकिँदैन ।


अहिले विश्वमै न्युयोर्कलाई कोरोनाको केन्द्र मानिँदै छ । र, न्युयोर्क चरम संकटमा छ । यो आलेख लेखिरहँदा अमेरिकामा १ लाख ८८ हजार ५ सय संक्रमित छन् । न्युयोर्कमा ७५ हजार ७ सय ९५ छन् । १३ हजारभन्दा बढी क्विन्समा देखिएको छ । जसले गर्दा क्विन्सलाई एकदमै संवेदनशील स्थान मानिएको छ । कोरोना नियन्त्रणका लागि अमेरिकी सरकारले पहल गरिरहेको राष्ट्रपति, राज्यका गभर्नर, मेयरलगायतले बताए पनि संक्रमितको संख्या दिनदिनै हजारौंको संख्यामा बढिरहेको छ ।


विश्वमा शक्तिशाली मानिएको राष्ट्र अमेरिकामा आवश्यक उपचार हुन नसक्दा बिरामीको मात्र होइन, उपचारमा संलग्न नर्सको समेत ज्यान गयो । सरकारको कमजोर व्यवस्थापनको मूल्य कोरोना संक्रमित र उपचारमा दिनरात खटिने नर्सले चुकाउनुपर्‍यो । अमेरिकाको वर्तमान अवस्था मध्यनजर गरी हाम्रोजस्तो मुलुकले बेलैमा पूर्वतयारी अपनाएर नागरिकको ज्यान जोगाउनुपर्छ ।

प्रकाशित : चैत्र १९, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?