कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड-१९ परीक्षणको सरलीकृत तथा विश्‍वसनीय विधि

ग्रामीण भेगका सामान्य प्रयोगशालाबाटै यस्तो विधिमार्फत परीक्षण गर्न सकिन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न यो निकै प्रभावकारी हुन सक्छ।

कोरोना भाइरस रोग (कोभिड-१९) मानिसको श्वासप्रश्वास नलीलाई संक्रमण गर्ने रोग हो। यो बिटा कोरोना भाइरस समूहमा पर्ने 'सार्स-कोरोन भाइरस-२' नामक एउटा त्यान्द्रा हुने आरएनए सूक्ष्म जीवाणुले गराउँछ। यो रोग चीनको वुहान सहरबाट २०१९ को अन्ततिर सुरु भई अहिले विश्वव्यापी फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई ३० जनवरीमा 'विश्वव्यापी संकट' र ११ मार्चमा 'विश्वव्यापी महामारी' घोषणा गरेको छ। 

कोभिड-१९ परीक्षणको सरलीकृत तथा विश्‍वसनीय विधि

यो रोग २९ मार्च सम्ममा १९९ वटा देशमा फैलिएर ६ लाखभन्दा बढीलाई संक्रमित गरिसकेको र ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। कोभिड-१९ ले पछिल्लो २४ घण्टामा मात्रै संसारमा ६६ हजारभन्दा बढी मानिसलाई संक्रमित पार्दै करिब ३ हजार ५ सयको ज्यान लिएको छ । महामारीका कारण विश्वमा धेरै ठूलो आर्थिक संकट पनि परिसकेको छ।

अहिले कोभिड-१९ संक्रमण रोक्न अमेरिका, युरोप, भारतलगायत सम्पूर्ण विश्वले आफ्नो देशका हवाई, तटीय तथा सडकमार्ग बन्द गरेका छन्। संसारका धेरै देशझैं नेपाल सरकारले पनि संक्रमण रोक्न एक साताका देशभर 'लकडाउन' गरेको छ।

वैज्ञानिक अध्ययन र दस्तावेजअनुसार कोभिड-१९ का धेरैजसो संक्रमित सामान्य रुघाखोकी लागेर मात्रै निको हुन्छन् भने करिब १४ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने र ५ प्रतिशतलाई सघन उपचार कक्षमा राख्नुपर्ने स्थिति आइपर्छ। समयमै संक्रमणलाई नरोके बिरामीको संख्या अस्पतालले धान्नै नसक्ने गरी बढ्छ र अतिआवश्यक स्वास्थ्य सुविधाको अभावमा धेरैजसोको मृत्यु हुन्छ।

विश्व स्वास्थ्य संगठनले सबै श‌ंकास्पद बिरामी र तिनका सम्पर्कमा आएकालाई समयमै कोभिड-१९ को संक्रमण भए/नभएको शीघ्र परीक्षण गर्न सल्लाह दिएको छ।

शंकास्पद बिरामीको समयमै नमुना लिई परीक्षण गर्न सके यसले रोकथाम र नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्छ। विश्व स्वास्थ्य संगठनले बिएसएल-२ स्तरको प्रयोगशालामा रियल टाइम पोलिमेरेज चेन रियाक्सन (आरटी पीसीआर) बाट यस रोगको परीक्षण गर्न सिफारिस गरेको छ। यी विधि केही महँगो पर्छ किनभने पीसीआर उपकरण विदेशबाट ल्याउनुपर्ने हुन्छ। साथै रसायन तथा सञ्चालन गर्दा लाग्ने लागत साह्रै उच्च हुनुको साथै विज्ञ र दक्ष प्राविधिक चाहिन्छ। त्यसो हुँदा अहिलेको परिस्थितिमा नेपाल जस्तो गरिब देशलाई कोभिड-१९ फैलिए सबै शंकास्पदको जाँच गर्न धेरै संकट पर्ने देखिन्छ। यसका अलावा आवश्यक भौतिक पूर्वाधार तथा यस रोगप्रतिको सामाजिक पूर्वाग्रह पनि कोभिड-१९ परीक्षणका बाधक तत्व हुन्।

त्यसैले अहिलेको साधनस्रोत सीमित रहेको अवस्थामा अर्को सजिलो तथा कम जोखिमयुक्त तरिका अपनाउन जरुरी हुन आउँछ। यसरी कम समयमै सही परीक्षण गर्न सके रोगीले रोग सार्न सक्ने समय तथा परीक्षण गर्न यात्रा गर्दाको जोखिम घटाउन सकिन्छ। हालसालै चीन, अमेरिका तथा दक्षिण कोरियाका अनुसन्धानकर्ताले कोभिड-१९ को परीक्षणका लागि सरलीकृत उपाय सुझाएका छन्। हुन त यो विधि 'लुप-मेडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन' (एलएएमपी) जापानका वैज्ञानिक नोतोमी र उनको टोलीले सन् २००० मै विकसित गरेको विधि हो, जुन क्षयरोग, कुष्ठरोग, मलेरिया, औलोजस्ता धेरै किसिमका रोग पत्ता लगाउन प्रयोग गर्ने गरिन्छ। तर अहिले यसको उपयोग कोभिड-१९ का लागि पनि गर्न सकिन्छ भनेर अनुसन्धान कृतिहरु प्रकाशित भएका छन्।

यिन्ह्वा चाङ र उनको अनुसन्धान समूह चिनियाँ विज्ञान प्रतिष्ठान र न्यू इंग्ल्यान्ड बायोल्याब्स अमेरिकाले यो विधि अपनाएको छ। कोभिड-१९ संक्रमितको नमुनाबाट भाइरसको आरएनए निकालेर ३ जोडी प्राइमर्स तथा आवश्यक रिएजन्ट प्रयोग गरी समान ६५ डिग्री सेल्सियस तापक्रममा आधा घन्टा प्रतिक्रिया गराई नमुनाको परिणामलाई आरटी पीसीआरको परिणामसँग तुलना गर्दा शतप्रतिशत समानता देखिएको अनुसन्धानात्मक शोधकृतिमा दाबी गरिएको छ। उच्चस्तरीय र विश्वसनीय अनुसन्धान कृति जस्तै: ब्युमोन्ट हेल्थ सिस्टम, मिसिगनका लौरा ई ल्याब तथा न्यु इंग्ल्यान्ड बायोल्याब्स, मासाचुसेट्समा यी लेख प्रकाशित छन्। लेखमा यिन्ह्वा चाङले बिरामीको खकार जस्ता नमुना सिधै ट्युबमा राखेर परीक्षण गर्न सकिने बताएका छन्।

यी परीक्षणका नतिजा पनि नांगो आँखाले हेरेर नै निर्क्योल गर्न सकिने भएकाले यस्ता परीक्षण विधि हाम्रोजस्तो मुलुकमा अति नै उपयोगी हुन सक्ने देखिन्छ। महँगो उपकरणको आवश्यकता नभई एउटा ट्युबमा एउटा सीमित तापक्रम (६०-६५ डिग्री सेल्सियस) मा सामान्य प्रयोगशालाबाट गर्न सकिन्छ। साथै यो विधिको नतिजामा भाइरस चिन्न सक्ने विशेषता र संवेदनशीलता पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उपयोग गरिँदै आएको आरटी पीसीआरको जस्तै समानता (९९% भन्दा बढी) देखिन्छ।

नेपालमा पनि यो विधि प्रयोग गरिए नमुना परीक्षण लागत चार-पाँच गुणा कम हुन आउँछ। र, अहिलेको परिस्थितिमा कोभिड-१९ को परीक्षणको जोखिमलाई हदैसम्मको न्यूनीकरण गर्न अत्यन्तै उपयोगी साबित हुन सक्छ।

सुरक्षित परीक्षणको अर्को महत्वपूर्ण पक्ष भनेको बायोसेफ्टी अथवा जैविक सुरक्षा पनि हो। जैविक सुरक्षा भनेको सम्भाव्य खतरा अथवा हानिकारक जैविक सामग्रीको सुरक्षित विधिबाट प्रयोगशालाका कर्मचारीलाई हुन सक्ने जोखिम तथा भाइरस वातावरणमा छुट्न सक्ने जोखिमलाई न्यूनीकरण गर्ने पूर्वाधार र विधिलाई बुझिन्छ। बायोसेफ्टी सामान्यतया परीक्षणका सही विधि अपनाएर, उचित भौतिक संरचनाको प्रयोग गरेर, परीक्षणस्थलको उपयुक्त रचना गरेर तथा प्रयोगशालाका कामदारको उपयुक्त प्रशिक्षण गरेर हासिल गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ जस्ता जोखिमयुक्त नमुना जाँचका लागि बायोसेफ्टी लेभल-२ को प्रयोगशाला उपयोग गर्न सल्लाह दिएको छ। तर नेपालजस्ता विकासशील राष्ट्रमा यस प्रकारका प्रयोगशाला धेरै छैनन्। छिटो समयमा यस्ता प्रयोगशाला निर्माण गर्न पनि कठिन हुन्छ। ‍त्यसैले हाम्रोजस्तो गरिब देशले अहिलेको समयमा यहीँका सरकारी तथा निजी अस्पताल, विश्वविद्यालय र अन्तर्राष्ट्रिय रेडक्रसजस्ता संस्थाको सहयोग लिएर सामान्य प्रयोगशाला सञ्चालन गरी एलएएमपी विधिबाट नमुना परीक्षण गर्दा अति उत्तम हुन्छ।

शंकास्पद बिरामीको नमुना उचित ढंगबाट संकलन गरी प्रयोगशालामासम्म सही तरिकाबाट पुर्‍याउनु पनि उत्तिकै महत्वपूर्ण छ। एलएएमपी विधिबाट ग्रामीण भेगमा रहेका सामान्य प्रयोगशालाको सेटअपमै परीक्षण गर्न सकिन्छ। यसका लागि सरकार तथा सरोकारवालाले तुरुन्त प्रारम्भिक अध्ययन गरी उपयोगी साबित गरी कार्यान्वयनमा ल्याए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ।

यो विधि क्षयरोग, कुष्ठरोग, मलेरिया आदिको नमुना परीक्षण तथा प्रमाणीकरण गरी ग्रामीण तहमा समेत नियमित नमुना परीक्षणका लागि पनि कार्यान्वयनमा ल्याउन सकिन्छ। साथै, भविष्यमा आइपर्ने कोभिड-१९ जस्तै अन्य महामारी रोगहरुको परीक्षणका लागि पनि यो विधिले टेवा दिन सक्छ।

-डा. दुलाल आणुवांशिक वैज्ञानिक, जबरा आणुवांशिक अनुसन्धानकर्ता र गिरी बायोइन्फर्मेटिक्स वैज्ञानिक हुन्।

प्रकाशित : चैत्र १६, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?