लकडाउन, क्‍वारेन्टाइन र मानसिक तनाव

डा. रितेश थापा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वका धेरै मुलुक अहिले ‘लकडाउन’ मा छन् । संक्रमण नफैलियोस् भनेर राज्यको निर्देशनअनुसार मानिसहरू घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन् ।

यसअघि विभिन्न कालखण्डमा विभिन्न मुलुकमा फैलिएको इबोला, सार्स र मर्स जस्ता माहामारीको समयमा पनि सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालीका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन जस्ता कुरा नयाँ हुन् । लकडाउन के हो, क्वारेन्टाइन कस्तो हो भन्ने कौतुहलताले गर्दा यसको पहिलो दोस्रो दिन मानिसहरू रमाए, यसलाई या कुनै छुट्टीझैं मनाए ।


पहिलोपटक भएकाले अलिअलि डर लाग्नु, धेरै जिज्ञासा हुनु स्वाभाविक हो । तर,कवारेन्टाइन समउअवधि लम्बिँदै जाँदा अब मानिसहरू निरास हुन थालिसकेका छन् । आत्तिन थालिसके जस्तो पनि देखिन्छ । कतिलाई लकडाउन अझै कतिदिन हुने हो भनेर दिक्क लागिसक्यो । दिक्क मानेर या लकडाउनको गाम्भीर्यता नबुझेर घरबाहिर निस्केको र प्रहरीको कारबाहीमा परेका कुराहरू पनि सञ्चारमाध्यममा आइरहेका छन् । महामारीको संक्रमण रोक्ने पहिलो उपाय होम क्वारेन्टाइन हो । तर यसले नजानिदो ढंगले मानसिक रोग पनि निम्त्याउँछ, निम्त्याइरहेको छ ।


सरकारले बिनातयारी चार दिन अघि साँझको समयमा लकडाउन घोषणा गर्यो । सर्वसाधारणले खाद्यान्न,औषधिलगायत घरायसी सामानहरूको जोहो गर्ने मौकै पाएनन् । महामारी फैलिएको अरू मुलुकमा लकडाउन गर्ने केही दिनअगाडि नै घोषणा गरेर तयारी गर्ने मौका दिन्छन् । हाम्रोमा अघिल्लो दिनको साँझ एकैचोटि भोलिदेखि घरभित्र बस भनियो । सर्वसाधारण घरभित्र त बसे तर खानेकुरा सकिँदै जान थालेपछि चिन्तित हुन थालेका छन् । लकडाउन अझै बढ्दै गयो भने के खाने कसो गर्ने भन्ने तनाव छ । मुख्यतया दिनभरि मजदुरी गरेर बिहानबेलुकाको छाक टार्ने सर्वसाधारणलाई मानसिक बोझ धेरै छ । घरै बस्दा दैनिक काम रोकियो, व्यापार व्यवसाय घाटामा गयो, यत्रो घाटा अब कसर पूर्ति गर्ने भनेर तनाव लिने छुट्टै समूह छ । यस्तै तनावले चिट्चिटहापन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसके जस्तो हुने वा उदास हुने जस्ता समस्या देखिन्छ ।


सामान्य र स्वस्थ भनिने व्यक्तिमा त यस्ता समस्या देखिन थालेका छन् नै जो पहिल्यैदेखि मनोरोगी थिए उनीहरूको समस्या अझै बढेको छ । लामो समयदेखि मानसिक रोगको औषधि सेवन गरिरहेका एक जना बिरामीले गोरखाबाट फोन गरेका थिए । नियमित खाने औषधि सकिएपछि के गर्ने भन्ने तनावमा हुनुहुन्थ्यो । गाडी चलेको छैन, औषधि किन्न काठमाडौं नै आउनुपर्छ । ओहो, औषधि पाइएन भने म फेरि पहिलेकै अवस्थामा फर्किन्छु कि भनेर डराउनु भएको थियो । यतिखेर कोरोना भाइरसको भन्दा पनि कुनै गम्भीर खाले बिरामी भइहालियो भने कहाँ जाने भन्ने चिन्तामा छन् मानिसहरू । स्वभाविक पनि हो अस्पतालहरूको ओपीडी सेवा बन्द छ । आकस्मिक परे मात्रै अस्पताल आउनु भनिए पनि अस्पतालसम्म पुग्न यातायात छैन ।


क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी कुराहरू पढ्ने, अफवाह फैलाउने खालका झुटो समाचार बढी पढ्ने बानीले पनि मानिसलाई मानसिक बिरामी बनाउँदै लैजान सक्छ । पहिले दिनभरि काम गरिन्थ्यो, यताउता दौडधुप हुन्थ्यो । यस्ता कुरामा धेरै अल्झिने फुर्सद हुँदैनथ्यो । घरमै बसेपछि कोरोनाकै बारेमा पढ्ने, यसकै कुरा गर्ने सोच्ने भइरहेको छ । यसले एन्जाइटी बढाउने तथा नयाँ खाले मानसिक बिरामी जन्माउने सम्भावना बढी छ । जबजब रोगव्याधी या प्राकृतिक विपद् आएको छ यसले स्वतः मानसिक रोग केही हदसम्म बढाएको छ । जसरी १० वर्षे जनयुद्ध र भूकम्पले बिरामी बढेका थिए । हरेक उमेरका व्यक्तिमा यस्ता समस्या देखिन सक्छन् । बालबालिकामा पनि यस्ता समस्या धेरै देखिएका छन् ।


रोगले अल्पकालीन या दीर्घकालीन दुवै रुप लिन सक्छ । सन् २०१३ मा प्रकाशित ‘डिजास्टर मेडिसिन एण्ड पब्लिक हेल्थ प्रिपेयर्डनेस्’ शिर्षकको अनुसन्धानले महामारीको बेला क्वारेन्टाइनमा बसेका र नबसेका बालबालिकामाथि गरेको अध्ययनले क्वारेन्टाइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ ।


कोरोना भाइरसबाट बच्ने पहिलो उपाय हात धोइरहनु भनेको छ । ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भएका व्यक्तिमा यसको असर छुट्टै हुन्छ । उनीहरू बाहिरबाट घरभित्र छिर्ने पाहुनालाई हात धोइरहन लगाउन या नुहाइरहन लगाउने गर्छन्, आफू पनि त्यस्तै गर्छन् । सरकारले क्वारेन्टाइनमा बस्नु भन ेपनि यसका नियमहरूबारे सर्वसाधारणलाई राम्ररी बुझाएको अवस्था छैन । अन्योलले गर्दा केही व्यक्तिहरूले यसलाई खेलाँची मानेर बेवास्ता गरिरहेका छन् भने कसैले बढी नै सजगता अपनाइरहेका छन् । कसैले त ‘लकडाउन’ लाई आकस्मिक अवस्थामा पनि घरबाहिर निस्कन मिल्दैन, कोहीसँग बोल्यो कि कोरोना सरिहाल्छ भनेर बुझेका छन् । हावाबाट पनि रोग आउँछ भन्ने सुन्नेदेखि झ्यालढोका र पर्दा लगाएर थुनिएर बस्ने पनि छन् । शंका गर्ने र भ्रम हुने कडा खाले मानसिक रोग ‘सिजोफ्रेनिया’का बिरामी यस्तो व्यवहार गर्छन् ।


अनावश्यक डरत्रास, रोगसम्बन्धी कम ज्ञान, नकारात्मक सोचले डिप्रेसन र एन्जाइटीका बिरामीलाई झन् एक्लो बनाएका ेछ । उनीहरू उदास भएका छन् । बिरामीले फोनमार्फत ‘एक्लोपन महसुस हुन्छ, गाह्रो भइसक्यो, एक महिना लकडाउन भए के गर्ने ?’ जस्ता गुनासो पोख्छन् । पुराना महामारीको समयमा क्वारेन्टाइन बस्दा मानसिक समस्या बढेकै कारण आत्महत्या गरेका घटना पनि छन् । डिप्रेसनका बिरामीको नियमित उपचार रोकिँदा दिमागमा नकारात्मक कुराहरू खेलेर उनीहरू आत्महत्यातर्फ लाग्ने जोखिम हुन्छ । हिजो अस्ति मात्रै यूकेको क्वारेन्टाइनमा बसेकै बेला एक नर्सले कोरोना संक्रमण हुने डरका कारण आत्महत्या गरिन् । पहिले विश्वमा फैलिएका महामारीको समयमा क्वारेन्टाइन बस्दा मानसिक समस्याकै कारण आत्महत्या गरेका धेरै उदाहरण छन् ।


क्वारेन्टाइनमा बस्दा छुट्टै त्रास हुन्छ । महामारी सकिएर क्वारेन्टाइनबाट निस्केपछि पनि यसको असर रहिरहन्छ । यसमा धेरै जसोलाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’ भएको पाइएको छ । महामारी नभए पनि भएजस्तो महसुस गर्ने, सपनामा पनि ती घटना देख्ने, बढी नै संवेदनशील वा चनाखो हुने, पहिलेका घटनाका बारेका कुरा गर्न नखोज्ने, निन्द्रामा झस्किने, तर्सिनेलगायत ,मुटुको चाल बढ्ने, संक्रमणको कुरा गदा फेरि संक्रमण भयोझैं आत्तिने, रुने गर्छन् ।


स्वास्थ्यकर्मीमा बढी मानसिक समस्या

क्वारेन्टाइनमा बस्दा सामान्य मानिसमा त समस्या हुन्छ नै । अझ बढी यसमा प्रत्यक्ष संलग्न हुने चिकित्सक र स्वास्थ्यकर्मीमा बढी समस्या देखिने गरेको छ । इबोला, सार्स, मर्स जस्ता महामारीको समयमा संक्रमित बिरामीको उपचार गर्ने धेरै स्वास्थ्यकर्मी आफै संक्रमित भए । स्वास्थ्यकर्मीबाटै घरसमुदायमा संक्रमण नफैलियोस् भनेर संक्रमित स्वास्थ्यकर्मी अस्पतालकै क्वारेन्टाइनमा राखियो । परिवारसँग दूरी टाढा भयो, कुराकानी कम भयो र दीर्घकालीन रुपमा उनीहरू डिप्रेसनमा गए ।


क्वारेन्टाइनबाट निस्केपछि ‘मभित्र अझै रोग बाँकी छ कि, अब मैले सबैलाई सारेर मार्छु कि’ भन्ने शंका अथवा ग्लानी भइरहन्छ । ग्लानीले गर्दा कति स्वास्थ्यकर्मीले चिकित्सा पेसा नै त्यागेका पनि छन् । पेसा छोडे पनि उनीहरू खोक्ने, हाच्छ्यूँ गर्ने व्यक्तिको नजिक पर्न डराउँछन् । शंकालु रोगले उनीहरू समाजबाट सँधै टाढै बस्ने, एक्लै बस्न रुचाउने खालको रोगी बन्न सक्छन् जसलाई डिप्रेसन र एन्जाइटी भनिन्छ । सार्स महामारीको दुई तीन वर्षसम्म यस्ता असर देखिएका थुप्रै अध्ययनहरू छन् ।


हाम्रो देशमा पनि कोरोनाले महामारीको रुप लिइहालेमा यस्तै नहोला भन्न सकिँदैन । महामारीबाट हुने सम्भावित मानसिक असर रोक्ने एकमात्र उपाय सही सूचना नै हो र क्वारेन्टाइन व्यवस्थापन हो । जुन नेपालमा अभ्यास गरिए जस्तो देखिँदैन ।


क्वारेन्टाइनको जीवनशैली स्वस्थ हुनुपर्छ

क्वारेन्टाइनमा बस्ने भनेको महामारीको सम्भावित खतरा न्यूनीकरण गर्ने भनिएको हो । तर, मानिसहरूले यसलाई दशैं या कुने चाडपर्व जस्तो मनाएको पनि देखिन्छ । बढी माछामासु र जाँडरक्सी खाने, धेरै सुत्ने, व्यायाम नगर्ने देखिन्छ । दिनभरि घर बसेपछि धेरै जसो मानिस सुत्छन् । दिउँसो सुतेपछि रातभरि जागिन्छ । यसले निन्द्रामा गडबड हुने समस्या निम्त्याउँछ । निन्द्रा गडबडीले दीर्घकालीन रुपमा मानसिक रोगी नै बनाउँछ ।


क्वारेन्टाइनलाई पनि सिर्जनशील बनाउन सकिन्छ । संक्रमणबारे धेरैभन्दा सही सूचना लिनेदिने, समयमा सुत्ने, सन्तुलित खाना खाने, योगा गर्ने, खाली समयलाई सिर्जनशील बनाउने, परिवारसँग समय बिताउने, करेसा भए फूलबारी बनाउने, सागसब्जी रोप्ने गर्दा त्रास कम हुन्छ । दिमागमा नकारात्मक कुरा बढी आउँदैन । र, यसले पछिसम्म हुने मानसिक समस्या न्यूनीकरण गर्छ ।


क्वारेन्टाइनमा बस्दा मानसिक रुपमा स्वस्थ्य भइयो भने पछि हुने समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ । सरकारले भने क्वारेन्टाइनको अवधि छोट्याएर अथवा लकडाउन समयमा पनि खाद्यान्न, औषधि अनि अत्यावश्यक वस्तुको सहज आपूर्ति गरेर सर्वसाधारणलाई सम्भावित मानसिक समस्याबाट जोगाउन सक्छ । जस्तो, विदेशमा घरघरै खाद्यान्न पुर्याएर यसको समाधान निकालिएको छ ।


क्वारेन्टाइनमा बस्दा कसरी मानसिक रूपमा स्वस्थ हुने ?

  • परिवारसँग रमाइलो समय बिताउने
  • पोषणयूक्त खानेकुरा खाने
  • जाँडरक्सी अथवा लागूपदार्थबाट टाढा रहने
  • सामाजिक सञ्जालबाट विश्राम लिने
  • कोरोनासम्बन्धी समाचार धेरै नपढ्ने
  • किताब पढ्ने वा फिल्म हेर्ने
  • रचनात्मक काम गर्ने
  • घरमै व्यायाम र योगा गर्ने
  • पर्याप्त सुत्ने
  • दिनभरिको योजना बनाएर काम गर्ने
  • क्वारेन्टाइन यो अस्थायी हो भन्ने सकारात्मक सोच राख्ने


-मानसिक रोग विशेषज्ञ डा. रितेश थापासँग फातिमा बानुले गरेको कुराकानीमा आधारि प्रकाशित : चैत्र १५, २०७६ ०९:४४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामाजिक दूरी कायम राख्‍ने अनेक उपाय [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — विश्वभरि चिकित्सक र सम्बद्ध विशेषज्ञले कोभिड–१९ को सम्भावित फैलावट रोक्न सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गर्न सुझाव दिइरहेका छन् । विश्‍व स्वास्थ्य संगठनले पनि २ जनाबीच कम्तीमा एक मिटरको दूरी कायम राख्‍नुपर्ने सुझाव दिएको छ ।

नेपालमा पनि कतैकतै दैनिक उपभोगका सामान खरिदबिक्रीका बेला सम्पर्क दूरी बढाउन विभिन्न उपाय अपनाइएका छन। कतै उभिने चिन्ह लगाएर त कतै कुर्सीले घेरेर सामाजिक दूरी कायम राखिएको छ ।

काठमाडौंका विभिन्‍न ठाउँमा यस्तो प्रयास भइरहेको पाइए पनि बेलुकीपख किनमेलका लागि खाद्यान्न, तरकारी र माछामासु पसलमा मानिसको घुइँचो देखिन्छ । किनमेल वा बाटोमा हिँड्ने क्रममा एकअर्काबीच दूरी कायम गरेको देखिँदैन ।


प्रकाशित : चैत्र १५, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×