कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनको छाउ डरलाग्दो

‘हामीले महिनावारी बार्नै हुँदैन भन्न हुँदैन । महिनावारीकै बहानामा कम्तीमा चार दिन भान्सा छिर्नु नपरे महिलाले सुख पाउँछन् नि !’
प्रतिमा सिलवाल

सुदूरपश्चिममा भकाभक छाउगोठ भत्काइँदै छन् । अर्कातिर, प्रहरी–प्रशासनले त्यसरी कानुनको त्रास देखाएर भत्काएका छाउगोठ अझ जोखिमपूर्ण तरिकाले पुनर्निर्माण पनि हुँदै छन् ।

मनको छाउ डरलाग्दो

उपर्युक्त घटनाबारे पढिरहँदा म आफ्नै जीवनमा महिनावारीका कारण भएका परिघटना सम्झिरहेछु । परिवारको अन्तिम सन्तानका रूपमा हुर्कंदै गर्दा मैले कहिल्यै छोरी हुँ भन्ने बोध गर्नुपरेन । भलै छोराकै पर्खाइमा म छैटौं सन्तानका रूपमा जन्माइएकी हुँ । सानैमा बुबा गुमाएकाले पनि हुनसक्छ, आमाले बुबाआमा दुवैको भूमिका निभाउनुपर्दा कहिल्यै ‘छोरी हो, यो गर्न सक्दिनस्’ भन्नुभएन ।


पहिलो चोटि महिनावारी हुँदा मलाई डर लागेन, किशोरावस्था प्रवेशसँगै हुने सामान्य प्रक्रिया हो भन्ने स्कुलमा पढिसकेकाले । आफ्नै गाउँमा माध्यमिक तह पढ्न विद्यालय नभएकाले घरबाट टाढा मलेखुमा डेरा बस्नुपर्‍यो । त्यसैले म महिनावारी भएको न घरपरिवार न छरछिमेकमा हल्ला भयो ।


आमाले थाहा पाएपछि चाहिँ यो विषय इस्यु बन्न थाल्यो । त्यसपछि सुरु हुन थाल्यो महिनावारीका नाममा विभेद । करिब १५ वर्षअघि महिनावारी भएकै कारण आफूले आफैलाई गरेको धिक्कार सम्झेर आज पनि अत्यासिन्छु म । अनि महिनावारी भएपछि घर बस्नै मन नलाग्ने भयो । सुतेको ओछ्यान छोड्नुपर्ने । खाने भाँडा फरक । दाइलाई छुन नहुने । प्रजननका लागि प्राकृतिक रूपमा भएको तयारीलाई स्वघोषणा गरेर अछूत बन्नुपर्ने । बढेकी छोरी हरेक महिना महिनावारी भई कि भइन ? दृष्टिगोचर गर्दै बस्छ समाज । महिनावारीको स्वघोषणाले समाजको यही निगरानीलाई पुष्टि गर्नुपर्ने बाध्यतामा अद्यापि छन् महिला ।


बाध्यतामा पनि के भनूँ, हामी महिलाले आफैलाई जित्न सकेका छैनौं । अघिल्लो शनिबार दिदीकहाँ बिहानको खाना खाने तय भएको थियो । पूर्वसन्ध्यामा दिदी महिनावारी हुनुभएछ । त्यो खबर मकहाँ आइपुग्यो । दिदीले खाना बनाउन नहुने भएकाले हाम्रो योजना रद्द भयो । यसपछि दिदीको महिनावारी खबर ममा मात्रै सीमित रहेन ।


करिब दुई महिनाअघि चितवनमा महिनावारीबारे एउटा अन्तरसंवादमा भाग लिने अवसर मिलेको थियो । विषय थियो— परिवारको महिला सदस्य महिनावारी हुँदा पुरुषको भूमिका कस्तो हुन्छ ? आयोजकले पनि कार्यक्रमको उद्देश्य स्पष्ट पारेको थियो— महिनावारीका समयमा महिला सम्मानित महसुस हुने वातावरण बनाउन पुरुष सदस्यले कस्तो भूमिका निभाउँछन् ? छलफलका क्रममा चितवनमा महिला हिंसाविरुद्ध सक्रिय मीना खरेलले निर्धक्क भन्नुभयो, ‘महिनावारीका बेला भान्सा वा पूजाकोठामा पस्ने–नपस्ने, महिलाको कुरा हो । हामीले महिनावारी बार्नै हुँदैन भन्न हुँदैन । महिनावारीकै बहानामा कम्तीमा चार दिन भान्सा छिर्नु नपरे महिलाले सुख पाउँछन् नि !’


समानताका लागि वर्षौंदेखि क्रियाशील एक अभियन्ताको यस्तो बुझाइ ? हो, कुप्रथा गढेपछि सहजै त्यसबाट निस्किन सकिँदैन । आफूले स्वयंलाई जित्न सजिलो कहाँ छ र ? तर, एउटा कुप्रथा अन्त्य गर्न नसकेर भातभान्छाको असमानतालाई झनै बढावा दिनु सुहाउँदिलो कुरो होइन ।


स्वयंलाई जित्न सक्नु संसार जितेभन्दा सानो हुन्न । स्वयंलाई कुसंस्कारको जालोबाट निकाल्न संघर्ष गर्नैपर्छ । जो महिनावारी भन्ने थाहा पाउने भएदेखि छाउगोठ नछोडेका आमाहरूको वर्तमानमा हुर्किएका छन्, तिनले कसरी भत्काउन सक्छन् मनभित्रका छाउगोठ ? के कानुनले उनीहरूभित्रको जीवनप्रतिको त्रास हटाउन सक्छ ? स्वयंले खराब भन्ने बोध नगरेसम्म कारबाहीको त्रासले कुसंस्कार अन्त्य सम्भव छैन ।


भत्किएका छाउगोठभित्र त्रस्त हुँदै रात काटिरहेका आमाहरूलाई पहिले बुझाउन जरुरी छ । बोलीले हुन्न, व्यवहारमा देखाउनुपर्छ । उनीहरूको अस्तित्वलाई जगाउन जरुरी छ । महिलाले स्वअस्तित्व बुझेपछि यस्ता कुप्रथा हट्दै जान्छन् । आज पनि आफ्नै लम्बाइभन्दा छोटो र उचाइभन्दा होचो छाउगोठमा असुरक्षित रात बिताइरहेका आमा दिदीबहिनीहरू, एक पटक आफूलाई जितेर त हेर । आफूलाई जिते संसार जितिन्छ ।

प्रकाशित : माघ २८, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?