भूकम्प जहिल्यै आउन सक्छ

शिव सुवेदी

२०७२ को भूकम्पले केन्द्रविन्दु गोरखाको बारपाकभन्दा पश्चिममा नभई पूर्वतिर बढी क्षति गर्‍यो । गोरखासंँग जोडिएको लमजुङमा भन्दा सिन्धुपाल्चोकमा धेरै क्षति किन भयो भने, भूकम्पको दरार (रेप्चर) कुन दिशामा छ भन्ने कुराले नोक्सानीको मात्रा निर्धारण गर्छ । त्यस बेला भूकम्पको दरार बारपाकबाट पूर्वतर्फ गएकाले पश्चिममा ठूलो क्षति हुन पाएन ।

पश्चिमतिर किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ । सामान्यतया भूकम्प गइरहने स्थानको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । जस्तो— पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा धेरै भएको छ । जमिनमुनिको अवस्था अध्ययन गर्न स्थानविशेषमा धेरै सेस्मोमिटर जडान गर्नुपर्छ । गत भूकम्पपछि धेरै वैज्ञानिकको ध्यान पश्चिम नेपालतिरै गएको छ ।


भूकम्प जत्रो भए पनि यो आफैले हामीलाई मार्ने होइन, हाम्रा वरिपरि बनाइएका संरचनाहरू भत्किनाले मानव मृत्यु हुने हो । त्यसैले आफू बस्ने संरचना भूकम्पप्रतिरोधी बनाउने र पूर्वतयारीबारे नियमित रूपमा जानकार रहने हो भने क्षति कम गर्न सकिन्छ ।


भूकम्पको पूर्वानुमान

नेपाली समाजले धेरै सोधेको एउटा प्रश्न हो— विकसित देशमा जसरी नेपालमा भूकम्प आउनुपहिल्यै त्यसको जानकारी गराउन सकिन्न ? भूकम्पको पूर्वानुमान सम्भव छैन । सम्भाव्यतासम्बन्धी केही अध्ययन भने भएका छन्, जुन पर्याप्त छैनन् ।


विकसित देशहरूमा सयौंको संख्यामा उच्च क्वालिटीका सेस्मोमिटर जडान गरिएका हुन्छन्, जसले भूकम्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भरमा पठाउँछन् । वैज्ञानिकहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्निचुडको जस्ता कुरा पत्ता लगाउँछन् । भूकम्प हो भन्ने निश्चित भएपछि प्रभावित हुन सक्ने क्षेत्रमा सावधानी सन्देश पठाउँछन् । अनि जनधनको क्षति कम हुन्छ । तर, यसका लागि त्यस्तो तरङ्ग भूकम्पै हो भनी पत्ता लगाउने र सन्देश पठाउने समयभन्दा भूकम्प गएको ठाउँबाट त्यसको तरङ्ग मानव बसोबास क्षेत्रमा जान लाग्ने समयबीच धेरै अन्तर हुनुपर्छ । यसलाई भूकम्प पूर्वचेतावनी प्रणाली भनिन्छ । यो प्रणालीले कति समयअगाडि सन्देश पठाउन सक्छ, यो कुरा भूकम्पको केन्द्रविन्दुबाट स्थानविशेषको दूरीमा भर पर्छ । यस्तो प्रणालीयुक्त देशहरूमा भूकम्प केन्द्रविन्दुको दूरीका आधारमा तरङ्ग आउनुभन्दा सामान्यतया केही सेकेन्ड (वा एक–दुई मिनेट) अगाडि सन्देश पठाउन सकिएको छ ।


नेपालमा पनि पूर्वजानकारी असम्भवै त छैन, तर यसका लागि सेस्मोमिटरको पर्याप्त जडान, विषयविज्ञहरूको नियमित उपलब्धता, भूकम्प सम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्तरीय सञ्चार प्रविधि लगायतले ठूलो अर्थ राख्छन्, जसका लागि नेपाल तयार भैसकेकै छैन । जापान र अमेरिका (विशेष गरी क्यालिफोर्निया) ले यो प्रणालीको सफलतापूर्वक प्रयोग गरिरहेका छन् । तथापि यो प्रणाली कहिलेकाहीं असफल भएको छ । गत वर्ष इन्डोनेसियाको पालुमा भूकम्प र त्यही कारण आएको सुनामीको पूर्वचेतावनी असफल भएको थियो । त्यो किनभने, स्थानीय बासिन्दाका मोबाइलमा सूचना पुग्नुपहिल्यै बिजुली र सञ्चार पूर्वाधार भत्किसकेका थिए ।


कसैले ‘आज भूकम्प जान्छ भन्यो’ भने त्यो सत्य हुन्छ, किनकि विश्वमा दैनिक विभिन्न म्याग्निचुडका सयौं भूकम्प गैरहेका हुन्छन् । नेपालको परिवेशमा सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ पनि भन्न सकिएला । तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निचुडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन ।


२०७२ को पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् । पश्चिम नेपालमा कुन म्याग्निच्युड स्केलको भूकम्प जान सक्छ भनेर धेरै अध्ययन भएका छन् । उक्त क्षेत्रमा विगत ५०० वर्षभन्दा धेरै समय महाभूकम्प वा विनाशकारी भूकम्प नगएको, उक्त ठाउँमा गएको भूकम्प फेरि आउन सक्ने समय, उक्त जमिनमुनिको प्लेटको गति (४ सेन्टिमिटर प्रतिवर्ष) पूर्वी नेपाल र मध्य नेपालको जत्ति नै भएको, जमिनमुनिको अवस्था लगायत अन्य धेरै कुराको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प (म्याग्निच्युड ८ वा त्योभन्दा ठूलो) जान सक्छ भने निष्कर्षमा पुगेका हुन् । यो अनुमान मात्र हैन । तसर्थ भविष्यमा आउन सक्ने भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आजैदेखि तयारी थाल्नु बुद्धिमत्तापूर्ण हुन्छ ।


कीर्तिपुर काठमाडौंभन्दा सुरक्षित

काठमाडौं पहिले ताल थियो र मञ्जुश्रीले काटेको वा कुनै कारणले चोभारबाट पानी बगेर गएपछि मानवबस्ती बस्न सुरु भएको हो भनी पढ्न पाइन्छ । भौगर्भिक अध्ययनहरूले पनि काठमाडौंमुनि ६०० मिटरसम्म बालुवा प्रकारको कमजोर चट्टान भएको देखाएका छन्, जसले पृथ्वीमुनिबाट आएको भूकम्प तरंगको असर बढाउन सजिलो बनाइदिन्छन् । तर, कीर्तिपुरमुनिको चट्टान काठमाडौंको भन्दा बलियो छ, जसले गर्दा उही भूकम्पको असर काठमाडौंमा धेरै र कीर्तिपुरमा थोरै पर्ने हुन्छ । कीर्तिपुरमा भूकम्प जान्न भन्ने चाहिँ हैन ।


भूकम्पको धक्का पशुपक्षीले पहिले थाहा पाउने हुन् ?

भूकम्प जाँदा कुकुर भुक्छन्, माछा पानीको सतहमा उत्रिन्छन्, चरा कराउँछन् जस्ता कुरा हामीले सुन्दै आएका छौं । सामान्यतया माछा मान्छेभन्दा केही मिटर भए पनि तल बस्छन्, भूकम्पको तरङ्ग जमिनमुनिबाट आउने भएकाले केही सेकेन्डअगाडि तिनले अनुभव गर्न सक्छन् । त्यस्तै, चरा र कुकुरका केही तन्तु मानिसको भन्दा बढी संवेदनशील हुन सक्छन् । तर, पशुपक्षीको व्यवहारका आधारमा उनीहरूले मानिसले भन्दा पहिला भूकम्पको झड्का अनुभव गर्छन् भनी विज्ञानले पुष्टि गर्न सकेको छैन । केही घटनामा एउटै जनावरले भूकम्प जाँदा कहिले प्रतिक्रिया जनाउने त कहिले नजनाउने गरेको पनि पाइएको छ ।


सुवेदी स्विटजरल्यान्डको युनिभर्सिटी अफ लुजानमा भूकम्पशास्त्रमा विद्यावारिधि गर्दै छन् । प्रकाशित : माघ २, २०७६ ०८:१२

प्रतिक्रिया
पठाउनुहोस्

दिलीपको आवाज

चन्द्रकिशोर

धनुषा, मिथिला–५ का दिलीप महतोलाई अवैध उत्खनन भइरहेको औरही खोलामा टिपरले किचेर हत्या गरियो । उनको अपराध थियो— साँचो कुरालाई दुनियाँसामु उजागर गर्दै जानु, गलत कामको ठाउँको ठाउँ प्रतिरोध गर्नु । सत्य बोल्दा, इमानदार प्रतिरोध गर्दा आफ्नो बलि दिनुपर्ने अवस्था आयो ।

उनको हत्यासँगै एक उदाउँदो संरक्षणकर्मी, जागरूक नागरिक, प्रतिबद्ध प्राविधिकको अवसान भएको छ । एउटा पुरानो आहान छ, ‘सत्यको मुख स्वर्ण आवरणले छोपिएको हुन्छ ।’ हो पनि, अहिले बेथिति गर्ने, सत्ता र शक्तिको दुरुपयोग गर्ने, सार्वजनिक सम्पत्ति हाकाहाकी मास्नेहरू सत्यलाई किन्न खोज्दै छन् । प्रलोभन र प्रभावमा पारेर सत्यलाई छल्न खोज्दै छन् । त्यतिले नपुगे त्रसित पार्नसम्म पछि पर्दैनन् । धम्कीको बावजुद दिलीपले आफ्नो गाउँवरिपरि उत्खननको विरोध गर्न छोडेनन् ।

आफ्नो खेतछेउ बालुवा निकालिरहेको थाहा पाएपछि उनी विरोध गर्न क्रसर उद्योग भए ठाउँ पुगेका थिए, जहाँ टिपरले किचेर उनको हत्या गरियो । मिथिला नगरपालिकाभित्रका अधिकांश खोलानदीमा अवैध उत्खनन व्याप्त छ । दिलीपको अन्तिम पलसम्म एउटै आवाज रह्यो— सत्यलाई भन्दै गर, लगातार प्रतिरोध गर्दै गर ।

भुइँतहमा बेथिति, अराजकता र अन्यायको विरोधले मात्र लोकतन्त्रलाई ज्युँदो राख्न सक्छ । दिलीपले नदीमाथिको अन्यायलाई विराम दिन जुन आँट गरे, त्यसले लामो समयसम्म युवाहरूलाई स्पन्दित गरिरहनेछ । नदी दोहन, जंगल फँडानी, स्रोतको हिनामिना, निर्वाचित प्रतिनिधिको गैरजवाफदेहिता, सार्वजनिक सम्पत्तिको गैरकानुनी प्रयोगजस्ता सवाल नेपाली लोकतन्त्रमा जनताका लागि अभिशाप बन्दै गइरहेछन् । यसबाट मुक्ति दिलाउने क्षमता कसैमा छ भने त्यो युवा वर्गमै छ । दिलीपले युवक हुनुको दायित्व पालना बिनाकुनै प्रचार गरे । संज्ञा विशेषणात्मक शब्द ‘युवक’ को पहिलो अक्षर ‘यु’ ले ‘युयुत्सा’ तर्फ संकेत गर्छ, जसको अर्थ हुन्छ— संघर्षशील क्षमता तथा त्यसका लागि सदैव तत्परता । मध्य अक्षर ‘व’ ले विवेकको साइनो राख्छ । अन्तिम अक्षर ‘क’ कर्मठताको द्योतक हो । ग्रामीण क्षेत्रका यी अभियन्ताले समग्रमा युवक हुनुको मूल्य स्थापित गरे ।

उर्वर भूमि छ, सहज पानी उपलब्ध छ, अनि पो मधेस छ । फैलिंँदो बालुवाकरण र पानीको संकट गहिरिँंदै गयो भने मधेसको अस्तित्व रहँदैन । नदीमाथि खेलबाड गरेर तबाहीको इतिहास लेख्ने तयारी हुँदै छ । स्थानीय सरकारहरू राजस्व र विकासको दुहाइ दिएर पर्यावरणीय सरोकारको उपेक्षा गर्दै छन्, बलमिच्याइँले सीमा नाघ्दै छ । अहिले समाज र नदीबीच सरकार प्रवेश गरेपछि यसलाई केवल आन्तरिक आम्दानीको दरिलो स्रोत मान्न थालिएको छ । ‘परम्परा’ शब्दलाई अहिलेको शासकीय वृत्तले मानौं ‘पछौटेपन,’ ‘पुरानो तौरतरिका’ वा ‘पुरानो सोच’ को पर्याय ठानेको छ । अहिलेको विकास र राजस्वले हाम्रो जल संरचनामाथि अतिक्रमण गर्दै छ । पानीको स्वभावलाई आगोसित तुलना गर्ने गरिन्छ । तर खोलानदीहरूको दोहनको स्थिति यस्तै रहिरहे पानीले समेत आगो सल्काउन सक्छ । पूर्वाधारको बरबादी, बाढी, डुबान, कटान र पानी संकटको एउटा कारण नदीमाथिको ज्यादती पनि हो ।

नदीजन्य पदार्थको मनपरी दोहन गरिंँदा हालका लागि गाउँ र सहरको एउटा वृत्त राम्रै गुलजार भए पनि अन्ततोगत्वा त्यसले उजाडलाई निम्त्याउनेछ । बीसौं र एक्काइसौं शताब्दीका नदीहरूको चरित्रमा ज्यादै अन्तर आएको छ, जुन समय परिवर्तनले गर्दा होइन कि यस शताब्दीमा भएका घटनाहरूका कारण भएको हो । लामो कालखण्डसम्म नदीको स्वभाव फेरिएन, तर पछिल्ला केही दशकभित्र ठूलो हेरफेर भयो । निर्वाचित सरकार आएपछि सोच्नै नसकिने गरी यिनको विनाश भइरहेको छ । पर्यावरणको आँखाले हामीले पछिल्ला गतिविधिलाई नियाल्यौं भने धेरै चीजलाई अस्वीकार गरिएको पाउँछौं ।

मधेसी समाजमा दुइटा शब्द निकै मिल्दाजुल्दा छन्— आँख (आँखा) र पंख (पखेटा) । भन्न खोजिएको के हो भने, पहिला समाजमा यस्तो परम्परा थियो जहाँ व्यक्तिले आफ्ना आँखाले आफूलाई हेर्थ्यो र पखेटाभन्दा माथिबाट पनि एउटा विहंगम दृश्य अवलोकन गर्थ्यो, आफ्नो समाजको । अर्थात्, व्यक्तिका साथसाथै समाजको हितलाई समेत हेक्का राखिन्थ्यो । जहाँ जीविका वा खेती–किसानी राम्रो छ, त्यहाँ पानीको प्रचुरता रहेछ भन्ने बुझिन्थ्यो । यसरी सामाजिक विकासक्रमले आकार प्राप्त गर्थ्यो । अहिलेको विकासको गतिविधि नितान्त एकाकी हुँदै छ, जहाँ एउटा सीमित वर्गले लाभ बटुल्छ, बाँकी सबै केवल कोलाहल गरेर बाँच्छन् । यस्तो कठिन परिवेशमा दिलीपहरू आफ्नो बस्ती र खेत–खलिहान जोगाउन जुरमुराउँछन् ।

दिलीपको गाउँमा निर्वाचित जनप्रतिनिधिहरू छन् । विभिन्न दलका कार्यकर्ता छन् । छेउमै प्रहरी चौकी छ । तर कसैले पनि अवैध क्रसर सञ्चालनको विरोधमा चुँ गरेनन् । सबै मिलीभगतमा थिए वा नदीजन्य वस्तुहरूको अवैध उत्खननलाई सामान्य ठान्थे । बुझ्नुपर्ने के हो भने, टिपरले किचेर हत्या गर्ने आँट उनीहरूले विकसित सामाजिक तन्त्रबाटै पाएका हुन् । यही हो माफियाराज । यो राज बहुतहको सरकारबाट संरक्षित छ । धन्न, कुनै राजनीतिक दलको प्रतिनिधि दिलीपको लासमा च्यादर ओढाउन पुगेन ! यसको दुइटा प्रस्ट संकेत छ । एक, टिपर अर्थतन्त्रका अंशियार दलहरू छन् । दोस्रो, टिपर आतंकविरुद्ध जनताका साझा मुद्दा बोकेर दिलीप स्वतन्त्र लडाइँ लड्दै थिए ।

खास गरी अहिले तराईमा टिपर र डोजर अर्थतन्त्र मौलाएको छ । नदीजन्य वस्तुहरूको अवैध उत्खननले एक खालको आर्थिक–सामाजिक आकार ग्रहण गरेको छ । त्यसै गरी विकासको ‘डोजर मोडल’ को चारैतिर अनुकरणका पछाडि छोटो बाटोबाट विकासको भ्रम छर्न र तत्काल कमाउन सक्नु नै हो । यसो गर्दा त्यस गतिविधिमा संलग्न सबै पक्षको भागमा घ्युको लड्डु पर्छ । तर दुइटैको समानता हो— शक्तिको आडमा राज्यको दोहन गर्नु । फुनगीदेखि भुइँयासम्मका सरकारले प्राकृतिक स्रोतको लुटमा आफ्नो शासकीय सफलता देखिरहेका छन् ।

बाढी, डुबान र कटानको समस्या कम गर्न थुप्रिएको नदीजन्य पदार्थको ‘ओभर डिपोजिट’ लाई एउटा निश्चित तह निर्धारण गरेर वर्षेनि हटाउनुपर्ने तर्क गर्दै स्थानीय सरकारहरूले उत्खननका लागि छुट दिँदा देखिएका समस्या धेरै छन् । ठेक्का नै नलगाइएको ठाउँबाट समेत नदीजन्य पदार्थ निकाली राजस्व छली गर्नु, सरकारले क्रसर उद्योग सञ्चालन गर्न तोकेको मापदण्ड पूरा नगरिनु, उद्योगहरूमा उपयुक्तभन्दा बढी मौज्दात रहनु, पोखरी खन्ने बहानामा खोला दोहन गर्नु, समयबद्ध नवीकरण नगराई क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालन भइरहनु, खोस्रिने ठाउँमा मनपरी गरिनु, राजस्वको दाखिला सही तरिकाले नगरिनु, अनुगमन निष्क्रिय हुनु, प्रतिनिधिहरूकै संलग्नतामा क्रसर उद्योग सञ्चालनमा रहनु त्यस्ता समस्या हुन् । नदीजन्य पदार्थबाट लाभ लिन स्थानीय सरकारहरूबीच अस्वस्थ होड चलिरहेको छ । खोलाबाट बालुवा, गिट्टी उत्खनन लुकीछिपी गरिने काम होइन, दिन होस् कि रात, निरन्तर भइरहेको छ । अनुगमन गर्ने निकाय सक्रिय रहेको भए दिलीप अगाडि सर्नुपर्दैनथ्यो । यस अर्थमा त्यहाँको स्थानीय सरकार त्यतिकै दोषी देखिन्छ । तर प्रकृति दोहनको यस्तो अपराध अहिले तराई र चुरे क्षेत्रमा जताततै हुँदै छ ।

सत्ता र संगठित शक्तिले जब जनअपेक्षा वा जनआवाज सुन्दैन, त्यतिखेर कोही न कोही दिलीपले प्रतिरोध गर्छ नै । खास गरी जनप्रतिनिधिहरूले उपेक्षा, अलमल वा बलमिच्याइँ गर्न थाल्दा भुइँतहमा साना–ठूला संघर्ष हुन थाल्छन् । यहींनिर ‘नोटिस’ मा लिने कुरा हो, दिलीपको संघर्ष अहिंसात्मक थियो । कतिपय ठाउँमा बेथिति र ज्यादतीविरुद्धको संघर्ष फुटकर हिंसामा बदलिन पुग्छ । यस्तोमा आन्दोलनको लोकतान्त्रिक आधार कमजोर हुन पुग्छ ।

शान्तिपूर्ण आन्दोलनलाई कुनै तहको सरकारले बल प्रयोग गरेर दबाउन खोजे त्यो सत्ता प्रतिष्ठानको कमजोरी ठहरिन्छ । सडकमा हुने सार्वजनिक आचरणले सरकार र संघर्षशील पक्षको चरित्रलाई उजागर गर्छ । केही समययता नागरिक तहमा हुने प्रतिरोध शान्तिपूर्ण र संयमित हुने गरेको छ । काठमाडौं उपत्यकामा नेवार समुदायको प्रतिरोध होस् वा उखु किसानहरूको प्रदर्शन, त्यसले नेपाली समाजलाई सगोलमै तरंगित बनायो । हाम्रो शासन व्यवस्थाको स्वराजीकरणका लागि दिलीपको सत्याग्रहले प्रतिरोधको तरिकालाई आयामित गरेको छ ।

अचेल हाम्रो जीवनमा हिंसा बाक्लिँदै गएको छ । यस्तोमा दिलीपको आहुतिमार्फत भुइँतहमा प्रतिरोधको बदलिँंदो शैली र पात्रहरूको पहिचान भएको छ । सत्ता र शक्तिले आफ्नो जिम्मेवारीका तमाम मर्यादा भङ्ग गर्न लाग्दा आम नागरिकहरू नै प्रतिरोधमा अघि सर्छन् । दिलीपको आवाज त्यसैको एउटा रूप हो । निर्वाचित सत्ताको जडतालाई धक्का दिन अब यस्तै दिलीपहरूले लोकतान्त्रिक हस्तक्षेप गर्दै रहे नेपाली जनतन्त्रले उत्तरायणको बाटो समाउने आश गर्न सकिन्छ । दिलीपले न्याय पाउन हत्याराहरूलाई कारबाहीका लागि दबाब दिएर मात्र हुँदैन । बहुतहका सरकारका लापरबाही, अनियमितता र अतिक्रमण जसले जहाँ देख्यो, त्यहीं हल्ला गरे सत्ता हच्किन्छ । एक्लो दिलीपलाई मार्न, दबाउन र तर्साउन सकिन्छ, तर सामूहिक प्रतिरोधलाई थिच्न जुनसुकै सत्तालाई पनि गाह्रै हुन्छ ।

प्रकाशित : माघ २, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×