समृद्ध बन्ने हतारो

आफन्त, छिमेकी र चिनजानका मानिसको नजरमा समृद्ध हुने, देखिने चाहना नयाँ होइन । पहिला थियो, अहिले छ र पछि पनि रहनेछ । एउटा परिवारको लागि समृद्धि भनेको के हो भन्दा सायद सबैको मनमा आउने उत्तर हुनसक्छ, आफ्ना समकक्षीको नजरमा एउटा राम्रो घर, त्यो पनि सहरमा ।

समृद्ध बन्ने हतारो

एउटा राम्रो गाडी (मोटर), राम्रो स्कुलमा पढ्दै गरेका छोराछोरी, अरुका अगाडि मन खोलेर खर्च गर्नसक्ने खर्चालु हैसियत । यति गर्नसक्ने जोकोही मानिस समाजको नजरमा सम्मानित, हैसियतवाला, धनी, सम्पन्न, समृद्ध कहलिन पुग्छन् । त्यसैले सबैको सपना बन्ने गर्छ, यो अवस्थामा पुग्ने वा यस्तो अवस्थालाई आफैले प्राप्त गर्ने । यो चाहना आफैमा नराम्रो होइन । मिहेनत गर्दै जाँदा यति कुरा पूरा हुँदैन भन्ने पनि छैन । तर यो अवस्थामा पुग्न धेरैलाई हतारो छ ।

उद्यम, पेसा, व्यवसाय, नाफा, सञ्चय, लगानी, फेरि नाफा, सेवा, पौरख आदिको माध्यमबाट यो चाहना पूरा गर्न नसकिने होइन । यो बाटोबाट पनि समाजमा केही मानिसले आफ्नो समृद्धिको चाहना पूरा गरेका छन् । यो एकदमै स्वाभाविक, दिगो र टिकाउ बाटो हो । तर यो बाटो अलि लामो हुन्छ । मानिसलाई हतार छ । चाँडै अरुको अगाडि समृद्ध देखिनुछ । सम्मानित हुनुपरेको छ । त्यसैले धेरै मानिस यो लामो र घुमाउरो बाटोभन्दा छोटो, सजिलो बाटो रोज्ने गर्छन् । त्यसैले देखिने धेरै समृद्ध व्यक्ति, परिवारको समृद्धिको आधार निकै कमजोर छ ।

वर्तमान समाजमा देखिने केही समृद्धिका नमुनाहरू यस्ता छन् : केही वर्ष पहिलेसम्म साधारण परिवार, तर अहिले गाउँभन्दा अलि परको सहरमा राम्रो पक्की घर, घर अगाडि चारपांग्रे गाडी, छोराछोरी राम्रै स्कुलमा पढेर विदेश गएका छन्, विदेशबाट पैसा आएको होइन, बरु बेलाबखत पैसा विदेशमा भएकालाई पठाउने गरेको सुनिन्छ । खर्चालु दैनिकी र जीवनशैली अरुलाई लोभ्याउनेगरी छ ।

यस्तै हुने जब धेरैको सपना हो भने यो आश्चर्य होइन । तर चासोको विषय कसरी ? यत्तिको सम्पन्नता अर्थात समृद्धिको जोहो गर्नसक्ने व्यक्ति वा परिवारको देखिने वा नियमित स्रोत, पेसा, सेवा, व्यवसाय आदि के छ भनेर हेर्दा त्यसलाई धान्ने अवस्था देखिँदैन । कतिको देखिने आम्दानी केही हुँदैन । कतिको आम्दानीले धान्ने अवस्था नै देखिँदैन । तर पनि यो समृद्धि छ ।

गाउँ/देहातको जग्गा बेच्ने र सहरमा घर बनाउने, गाडी किन्ने, बच्चाबच्चीलाई राम्रो बोर्डिङमा पढाउन चाहने र जागीर खाने अनि छिट्टै कमाउन चाहनेहरूको समृद्धि धेरै भएको छ आजभोलि । राजनीतिक नेता/कार्यकर्ताहरू जसको कुनै आम्दानीको स्रोत छैन, सँधै जनताको काम गरिदिने भनेर कुदेका छन् तिनको पनि काठमाडौंमा घर छ, कतिको त गाडी पनि छ र बच्चाबच्ची महंगो स्कुल, कलेजमा पढाएका छन् । तिनको पनि समृद्धि राम्रै छ । मान–सम्मान बढेकै छ ।

यस्तो प्रवृत्तिमा उभिएको हाम्रो समृद्धिको जग अहिले निकै कमजोर छ । परिस्थिति फेरिँदै जाँदा समृद्धिको आधार फेरिँदै जाने पक्का छ । अहिले गाउँमा समृद्धि ल्याउन सहयोग गरेको बढ्दो जग्गाको मूल्य र वैदेशिक रोजगारी एकदमै अस्थिर र अस्थायी आम्दानी हो । दण्डहीनताको अन्त्य र सुशासनको जग बलियो बन्दै जाँदा अराजकतामा चुलिएको सीमित संख्याका व्यक्ति र परिवारको समृद्धिले निरन्तरता नपाउने पक्का छ । त्यो अवस्थामा अहिले देखिने र देखाउने गरेको समृद्धिको हालत के हुन्छ ?

सबैका लागि समान समृद्धि हुँदैन, तर समान अवसर हुनुपर्छ । उत्पादन, न्यायोचित सेवा, मूल्यमा आधारित पेसा र व्यवसायसँग नजोडिएको समृद्धिले न समाजको हित गर्छ, न दिगो हुन्छ । त्यसैले समृद्धिको मात्रै होइन, दिगो समृद्धिको कुरा गर्दा यसको जग बलियो बनाउन सबैको ध्यान जानुपर्छ । सबै तहका सरकारले यसतर्फ बढी पहल गर्नुपर्छ ।

प्रकाशित : पुस २५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?