सिखहरूबाट सिकौँ

सुजीव शाक्य

अमृतसर, पन्जाब र सिखहरूको कुरा गर्दा नेपाल र नेपालीहरू स्वत: जोडिन पुग्छन् । गुरु नानक करिब ५ सय वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन मल्ल राजाहरूले उनलाई यहाँ स्वागतमात्र गरेनन्, गुरुद्वारा बनाउन जग्गा पनि दिए । त्यसपछि उन्नाइसौं शताब्दीमा उनीहरू लाहोर गएर राजा रंजितसिंहको सेनामा भर्ना हुनथाले । ‘लाहुरे’ शब्दको उपज त्यहींबाट भयो ।

महाराजा रंजितसिंहकी बहिनी नेपाल आएपछि उनीसँगै धेरै सिख नेपालमा आई बसोबास गरे । गोर्खाली र सिखहरू सैनिक कलामा निपुण भएका कारण धेरै युद्ध साथसाथै लडे । भारतमा अहिले पनि सिख र गोर्खा रेजिमेन्टलाई उत्कृष्ट मानिन्छ । धर्म, भाषा र संस्कृतिमा धेरै फरक देखिए पनि आपसी सम्बन्धमा निकट रहँदै आएका छन् । हालसालै भारतीय राजदूत मन्जिवसिंह पुरीको अगुवाइमा यही सम्बन्ध विषयमा पुस्तक पनि निकालेका छन् ।

स्वर्णमन्दिर, अमृतसर
दिल्लीदेखि अमृतसरसम्मको दूरी मात्र ४५० किलोमिटर छ भने पाकिस्तानको लाहोर मात्र ५० किलोमिटर । अमृतसर सिख धर्मावलम्बीहरूका लागि पवित्रस्थल हो । हरिमन्दिर साहेब जसलाई प्रचलित रूपमा ‘गोल्डेन टेम्पल’ भनिन्छ, यही सहरको मूल गन्तव्यको रूपमा अवस्थित छ । सन् १५७७ तिर बनेको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । मन्दिर परिसरमा स्वर्णमन्दिर बाहेक अन्य घरहरू पनि छन्, तर तीमध्ये अकाल तख्त सबभन्दा महत्त्वपूर्ण छ । यी सिखहरूका ५ तख्त मध्येको एक हो । सिख धर्ममा कुनै मूर्ति पूजा हुँदैन । गुरु ग्रन्थ साहेबलाई मन्दिर परिसरभित्र ल्याउने र लाने निशदीन पूजाचर्या हुने गर्छ र भक्तहरू यिनै ग्रन्थको दर्शन गर्ने गर्छन् । मन्दिर परिसरमा चार द्वार छन् र प्रतिदिन हजारौं र कहिलेकाहीं लाखौं भक्तहरू आउने गर्छन् ।

सफाइ र व्यवस्थापन सिकौँ
हिन्दु मन्दिहरू जाँदा भारतमा होस् या नेपालमा फोहोर, बढी पैसा तिरेर लाइन मिच्न सक्ने कुराको सम्झना आउने गर्छ । उच्च ओहदामा बस्नुको मूलकारण एउटा पहिलेदेखि चलिआएको विशिष्ट पाहुना हुन पाउनु पनि हो । नेपालमा पनि यस्ता धेरै देखिने गर्छन् । सेना वा पुलिसका उच्च पदाधिकारीहरूले विशेष सुविधा पाउने धेरै मन्दिरका नियमहरू छन् । भारतको पुरी होस्, गया होस् वा तिरुपति, राजनीतिक हर्ताकर्तासँग गयो भने लाइनमा नबसी सिधै दर्शन गर्न पाइन्छ । धेरै ठाउँमा पुलाल (पुजारी/दलाल) हरूलाई पैसा दिएर लाइन मिच्न सक्छ भने कति ठाउँमा धनको भरमा दर्शनको ‘भीआईपी लाइन’ पनि छ । तर शिख धर्मावलम्बीहरू त्यसो गर्दैनन् । जानेहरू सबैलाई समान व्यवहार गरिन्छ ।मन्दिर परिसरमा कुनै हुलमुल, ठेलमठेल हुँदैन । हामी नवमीको दिन स्वर्णमन्दिर जाँदा करिब दुई लाख मानिसले दर्शन गरेको बताइयो । सफा मन्दिरमा सायद भगवानलाई पनि आउँ–आउँ लाग्छ । हामीले सफाभन्दा चोखो हुनेमा जोड दियौं । फोहोरको डंगुरमा पनि चोखो पानी छर्के चोखो हुन्छ भनी मान्छौं हामी ।

स्वयंसेवकहरूले चल्ने
स्वयंसेवकहरूको राम्रो व्यवस्था भएकाले तिनैबाट व्यवस्थित ढंगले स्वर्णमन्दिर चल्दोरहेछ । मन्दिर परिसर पस्नुअघि हिन्दु मन्दिरहरूमा झैं जुत्ता राख्ने र पूजा सामग्री बेच्ने माफियाहरू छैनन् ।चिवर ग्रहण गरेर बौद्ध श्रामणेर हुँदा पनि हाम्रो पहिलो ध्यान कोठा बाहिरको जुता मिलाउनेतिर हुने गर्छ ।

मन्दिरमा आउने प्रत्येकले चाहेमा ‘लंगर’ खान सक्छन् । दिनमा लाखौंलाई नि:शुल्क खुवाउनसक्ने गजबको आर्थिक व्यवस्थापकीय दक्षता हो । यो भान्छा कसरी चल्छ ? कसरी स्वयंसेवकहरू लाम लगाएर जुठा थालहरू लिएर धुने गर्छन् भन्ने कुरो नेसनल जियोग्राफिकको मेघा किचेन कार्यक्रममा हेर्न सकिन्छ । हामीले पनि त्यहाँनेवा: भोज खाँदाजस्तै पलेटी कसी स्वाद लिएर खायौं । सिखहरूको खुवाउने दक्षताले गर्दा आपद्–विपद्‌मा उनीहरू ठाउँ–ठाउँमा गएर ‘लंगर’ लगाउने गर्छन् । नेपालमा पनि २०७२ बैसाखकोभूकम्पपछि धेरै ठाउँमा ‘लंगर’को व्यवस्था गरिएको थियो । अहिले पनि कुपन्डोलको गुरुद्वारामा प्रत्येक शनिबार ‘लंगर’को व्यवस्था हुने गर्छ ।

मन्दिर परिसर व्यवस्थापन
यो मन्दिर परिसरमा ‘अपरेसन ब्लुस्टार’ अन्तर्गत सेना परिचालन पनि भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्रीइन्दिरा गान्धीको समयमा त्योअपरेसन गरिएको थियो ।

अहिले मन्दिर परिसर वरिपरिका धेरै पसल र घरहरू भत्काएर गाडीलाई प्रतिबन्द गरिएको छ । युरोपका पुराना सहरहरूमा झैंपोष्ट/‘बोलार्ड’हरू राखेका छन् । चाहेको बखत आपत्कालीन प्रयोगमा आउने वाहनहरू आउन सक्छन् । युरोपमा झैं ‘वाकिङ सिटी’/‘हिंँड्ने सहर’ को रूपमा विकसित हुँदैछ । नेपालको पाटनको पुरानो भूभागमा झैं एकनासका झ्याल–ढोकाहरू लगाउने गरेको छ भने आँखा विझाउने, घिनलाग्दा होर्डिङ बोर्डहरू हटाएका छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई पनि मिलाएर मात्र बोर्ड लगाउन दिइएको छ ।

मन्दिर परिसरमा मदिरापान र धूमपान निषेध गरिएको छ । नेपालका मन्दिर भएका क्षेत्रमा जाँदा बियर, भोड्का र ह्विस्कीका बोर्डहरूले ढाकेको देखिन्छ । स्वर्णमन्दिर वरिपरि साकाहारी भोजनमात्र उपलब्ध हुन्छ । हुन त नेपालमा बलि दिने ठाउँमा मासु बेच्न रोक्न त सकिन्न, तर अन्य मन्दिर परिसर वरिपरि पनि खुला रूपमा मासुरमाछा बेच्ने र सेकुवाको बोर्डले लोभ्याउने काम कति ठिक हो ? लुम्बिनी परिसर वरिपरिको होर्डिङ, पसल, ठूलो आवाजमा बज्ने गाना र सेल्फी आतंक सबै कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा स्वर्णमन्दिरको व्यवस्थापनबाट सिक्न सकिन्छ ।

नेपालको धार्मिक पर्यटन विशेषगरी चिनियाँपर्यटकहरूको आगमनले निकै बढ्नेछ । यद्यपि हामीले बौद्ध स्तुपा वरिपरि र लुम्बिनी क्षेत्रलाई शान्त र माछा, मासु, मदिरारहित राख्न सक्नुपर्छ । यो कुरा स्वर्णमन्दिरको व्यवस्थापनबाट सिक्न सकिन्छ ।
www.sujeevshakmya.com

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल चिनाउनुछ

प्रतिभा सुवेदी

हाम्रो देश अझ विश्वसामु चिनाउन बाँकी नै छ । हाल भारतले आफ्नो नक्सामा सीमा अतिक्रमण गरी लिम्पियाधुरा र कालापानी लगायतका भूभाग समेटेपछि विश्वभर छरिएर रहेका नेपालीहरू एकस्थानमा आएका छन् । विश्वसामु आफ्नो देशको सीमा अतिक्रमणबारे घोर अन्याय र थिचोमिचो भएको भनेर आवाज उठाइरहेका छन् । 

एक पटकको कुरा— क्यानाडाको एउटा महिला संस्थाले एकपटक मलाई पनि वक्ताको रूपमा निम्ता पठायो । उक्त संस्थाले नेपाल र विभिन्न मुलुकमा साझेदारी गरेको थियो । विभिन्न मुलुकका अनुभव आदान–प्रदानका लागि मलाई क्यानाडा निम्त्याइएको थियो । त्यतिबेलासम्म नेपाल आजजति चिनिएकै थिएन । मलाई क्यारेबियन देश ट्र्रिनिडा टोबेगोबाट आएकी एक महिलासँग एउटै कोठामा राखिदिएका थिए, आयोजकले । हाम्रो भेट राति कोठामा भयो । उनले मलाई कुन देशबाट आएको भनी सोधिन् । मैले जवाफ दिएँ, नेपालबाट । मैले पनि सोधेंँ, तिमी कुन देशबाट ? उनले जवाफ दिइन्, ट्रिनिडा टोबेगोबाट । म त्यो देशको नामबाट र भौगोलिक अवस्थितिबाट अनभिज्ञ । उनी पनि मेरो देशको नामबाट अनभिज्ञ । दुवै जनाले आ–आफ्नो देश कहाँ पर्छ भनेर बुझाउन अलमल भएपछि मैले विश्वको एटलासमा हुनेजस्तो नक्सा बनाएँ अनि उनले पनि त्यसै गरिन् । त्यो दुबै जनाले कोरेका कागजका टुक्रा जोडेर निर्क्योल गरेका थियौं, हामी भूगोलको कुन गोलार्धमा रहेछौं भनेर । बल्ल मैले नेपाल विश्व नक्सामा कहाँ छ भनेर बुझाउनसकेँं । मैले धेरै समूहसँग नेपाल सगरमाथाको देश अनि बुद्धको जन्मस्थान भनी चिनाउनुपरेको छ ।

तीन दशक अघिसम्म नेपाल कहाँ छ भनेर प्रश्न गरेका सुन्दा म छक्क पर्थें । नेपाल कहाँ छ भनेर सोध्नेहरूलाई हाम्रो देश भारत र चीन बीचमा अवस्थित छ भन्नपर्थ्यो । त्यतिबेला मेरो मनमा भने नेपाल किन यसरी लुकेको होला जस्तो लाग्थ्यो । देश पनि चिनाउनैपर्ने रहेछ, नेपाल यति सुन्दर हुँदाहुँदै विश्वमा अपरिचित रहेछ जस्तो लाग्थ्यो ।

कतिपय पश्चिमा विश्वविद्यालय पुग्दा नेपालबारे धेरै अनभिज्ञ नै देखिन्थे । हालका दिनहरूमा नेपाल धेरै चिनिएको छ । केही राम्रा र केही नराम्रा व्यक्तित्वहरू र घटनाका कारण । दरबार हत्याकाण्डका समयमा अनि माओवादी द्वन्द्वका समयमा पनि नेपाल केही हदसम्म चिनिएको हो । चिकित्सा, समाजसेवा, विभिन्न क्षेत्रका व्यक्तित्व, शेर्पादेखि साइकलयात्रीसम्मले नेपाल चिनाएका छन् । विभिन्न तह र क्षेत्रका नेपालीबारे राम्रा समाचार पनि सञ्चार माध्यममा आउन थालेका छन् । ‘नेपाली वमन राइजिङ’ सन् १९९३ मा प्रकाशनपछि म पश्चिमा मुलुकहरू र त्यहाँका विश्वविद्यालयहरूमा अनुभव आदान–प्रदानका लागि बोलाइएँ ।

नपालको चिन्ने–चिनाउने कामसँग मलाई एउटा पुस्तकको सम्झना हुन्छ । ‘द विन्ड अफ चेन्ज इन अ माउन्टेन भिलेज इन नेपाल’ शीर्षकमा सन् १९९६ मा प्रकाशित पुस्तकमा जापानी लेखिका याओरी मात्सुईले बेथानचोक काभ्रेका महिलाहरूले गरेका संघर्षका कथा र आर्थिक उन्नतिबारे वर्णन गरेकी छिन् । उनले साडी र पटुकीको पहिरनमा भारी बोकेर उकालो उक्लिरहेका नेपाली महिलाहरूलाई भेट्दै अन्तर्वार्ता गरेकी थिइन् । सामुदायिक भावना भएको हाम्रो गाउँघरमा जीविका कठिन भए पनि सहरमा जस्तो व्यक्तिवादी प्रवृत्ति हावी भैसकेको थिएन । विविध संस्कृति र हावापानी भएको रमणीय देश । जो पत्रकार र पर्यटकका रूपमा नेपाल आउँथे, उनीहरू हाम्रो सामुदायिक भावना अनि आतिथ्य सद्भावबाट प्रभावित थिए । उनीहरू भन्थे— तिमीहरूको देश सुन्दर र शान्त छ । म भने मनमनै सोच्थें— जीवनचाहिँ कष्टकर छ । आजभोलि यता आउने विभिन्न पत्रकार र पर्यटकहरू नेपाल रूपान्तरणको स्थितिमा छ भन्छन् । अहिले समाजमा धेरै–थोरै खैलाबैला छ, केही निराशा छ, केही आशा छ । जे भए पनि नेपाल चिनिँदो छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×