कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल्यहीन जनस्वास्थ्य 

घम्बर नेपाली

काठमाडौँ — गत भदौको अन्तिम साता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ का श्रीछाप र संसारीडाँडा सामुदायिक वन उपभोक्ता समूहले स्वास्थ्य शिविर आयोजना गरेका थिए । १२ सय ८२ घरधुरी रहेको यो वडाका प्रत्येक घरमा एक न एक रोगी रहेका र भूकम्पयता १६ जनाले आत्महत्या गरिसकेकाले शिविर लगाइएको थियो ।

मूल्यहीन जनस्वास्थ्य 

अखाद्य वस्तुको मन्दविष

शिविरमा आएमध्ये महिला र वृद्धवृद्धा बढी थिए । दुई सयभन्दा बढी सहभागीमध्ये सबैजसोले चाउचाउ, बिस्कुट, चकलेट बढी खाने गरेको बताए । अन्तरक्रिया क्रममा एक महिलाले भनिन्, ‘हाम्रा बच्चाहरू चाउचाउ, बिस्कुटको लागि ज्यानघातै गर्छन् ।’ अर्की सहभागीले बच्चाहरूको स्वास्थ्य राम्रो गराउन हर्लिक्स, बर्नभिटा खुवाउने गरेको बताइन् । अरू खाजा बनाउन अल्छी लाग्ने हुँदा चाउचाउ, बिस्कुट खाने–खुवाउने गरेको धेरै सहभागीले सुनाए ।


सिन्धुपाल्चोकको यो घटना सानो उदाहरण मात्र हो । पूरै देशवासी मन्दविषको सिकार बन्न बाध्य छन् । बजारले यी मन्दविषलाई आफ्नो बलियो स्रोत र शक्तिको दुरुपयोग गरेर व्यापक बनाएको छ । हामी उपभोक्ताहरू बजारले सिर्जना गरेको यो सञ्जालबाट उम्कन सक्ने ठाउँ छैन । उल्टै, हाम्रा सञ्चार माध्यममा अखाद्य वस्तुको चर्काचर्का भ्रामक विज्ञापन आइरहेका हुन्छन् । सरकारले ती भ्रामक कुरालाई नियन्त्रण गर्नुभन्दा झन् प्रवर्धन गरिरहन्छ । अनि गलत कुराको सकारात्मक प्रचार–प्रसार भएपछि आमजन त्यही झुटको प्रभुत्व (हेजेमोनी) स्विकार्न बाध्य भइरहेका छन् ।

आधुनिक खेती प्रणालीको मार

चौतारा साँगाचोकगढी–१३ का बासिन्दाले बालीनालीमा युरिया र विकासे मलको प्रयोग गर्ने रहेछन् । रासायनिक विषादीको प्रयोग पनि उत्तिकै गर्दा रहेछन् । केही घरपरिवारले अर्गानिक खेतीको सुरुआत गरे पनि अधिकांश किसान रासायनिक मल र विषादी प्रयोगमा अभ्यस्त रहेछन् । बीउबिजन आफै उत्पादन गर्नेभन्दा बजारबाट किन्दा रहेछन्, जसले गर्दा कहिले बीउ नै नअंकुराउने त कहिले बोटमा फलै नलाग्ने हुँदो रहेछ ।


उत्पादन बढाउने यस्तो विषादीप्रेमले आम जनतालाई लाभभन्दा विलाप बढी दिइरहेको छ । पहिलो असर त परम्परागत अर्गानिक खेती प्रणाली ध्वस्त भएको छ । आफैले पालेका गाईवस्तुको मलबाट कृषि उत्पादन राम्रो गर्न सकिन्छ भन्ने आत्मविश्वास नै हराएको छ, अचेल । यथेष्ट पैसा र समय खर्चिएर रासायनिक मल, विषादी, बीउ किन्न बजार धाउनुपर्ने बाध्यता एकातिर छ भने, अर्कातिर चाहिएका बेला ती सामान नपाउँदा झन् पिरलो थपिएको छ । दोस्रो, वनजंगलसँंगको पुरानो साइनोमा चिरा पर्दै गएको छ ।


कृषि र वनबीच रहेको नङमासुको सम्बन्ध बिरानो हुँदै गएको छ । खेतीमा वनको सोत्तर, पातपतिंगर आदिको प्रयोग हुनै छाडेको छ । तेस्रो, विषाक्त खाद्यान्नबाट जनस्वास्थ्य बिग्रँदै गएको छ । विषाक्त अन्न, तरकारी, फलफूल आदिका कारण आम जनतामा शारीरिक मात्र नभएर गम्भीर मानसिक रोगहरू बढ्दै गएका छन् । अनि रासायनिक मल र विषादीको प्रयोगले माटोको अम्लीयपन बढेर खेती नै गर्न नमिल्ने भइसकेको छ । पारिस्थितिक प्रणालीमै नकारात्मक असर परिरहेको छ ।


बजार र अस्पताल मालामाल

अहिले हामी पूरै बजारमा निर्भर छौं । गर्भमा रहँदादेखि मृत्युसम्म पनि हामी बजारबाट अलग हुनै नसक्ने अवस्थामा छौं । धेरैजसोले बच्चा अस्पतालमै जन्माउँछौं । बच्चाले खाने दूध, लिटो, लगाउने तेल सबै बजारले दिन्छ । हाम्रो हरेक आवश्यकता बजारसंँग जोडिएको छ । बजार बिनाको जीवन सोच्नसम्म सक्ने स्थिति छैन ।

अस्पताल पनि बजारको एउटा महत्त्वपूर्ण अंग भएकाले यसको उद्देश्य पनि मुनाफा कमाउनु नै हो । त्यसो त अस्पतालले अनेकलाई नयाँ जीवन दिन्छ, तर त्यसबापत पैसाको खोलो बगाउनुपर्छ ।


जति रोग बढ्यो, त्यति बिरामी बढ्छन् । जति बिरामी बढ्छन्, त्यति अस्पताल बढ्छन्, स्वास्थ्यकर्मी बढ्छन् । आधुनिक स्वास्थ्य पद्धतिको विकास भएको दुई सय वर्षकै बीचमा भएको विश्व स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ । नेपालका सहरी क्षेत्रमा अस्पताल खोल्ने होडबाजी चल्नुका पछाडि मुनाफा कमाउने मनसाय प्रस्ट छ । अहिले अस्पताल आकर्षक कमाइको क्षेत्र भएकाले व्यापारीहरूको मुख्य लगानीको केन्द्र बन्न गएको छ ।

स्वास्थ्यको अर्थ–राजनीतिक असर

देश संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेपछिको अवधिलाई हेर्दा थाहा हुन्छ, हाम्रो स्वास्थ्य क्षेत्रको राजनीतीकरण । यसको प्रमुख उदाहरणका रूपमा डा. गोविन्द केसी स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनपिच्छे अनशन बस्नुलाई लिन सकिन्छ । जनताको सेवा गर्न राजनीति गरेको भन्नेहरूमै मेडिकल क्षेत्रमा लगानी गरेर मुनाफा कमाउने मोह बढी छ । आम जनताको चुनावी अभिमतलाई निश्चित आसेपासे र नातागोताको स्वार्थपूर्तिका लागि दुरुपयोग गर्ने प्रवृत्ति यसबीच झनै झाँगिएको छ । मूल नै फोहोर भएपछि धारामा सफा पानी आउने आश कसरी गर्न सकिन्छ ? सत्तासीनहरू मेडिकल माफियाको चंगुलमा फस्दै गएका छन् ।


यस्ता माफियाहरूको सञ्जाल शक्तिशाली छ । यिनीहरूले राजनीति, प्रशासन, कानुन लगायतका सबै संयन्त्रलाई सजिलै आफ्नो स्वार्थ मुताबिक चलाउने हैसियत राख्छन् । अनि बजारमा उपलब्ध हुन्छन्— कथित स्वास्थ्यवर्धक तयारी चाउचाउ, बिस्कुट, हर्लिक्स, बर्नभिटा आदि । अखाद्य र गुणस्तरहीन वस्तुको उपभोगले बिरामी हुने निश्चित नै छ । बिरामी नबढे सहरी क्षेत्रमा च्याउजस्तै खोलिएका मेडिकल संस्थाको धन्दा कसरी चल्छ ? यही दुश्चक्रभित्र आमजनको स्वास्थ्य दैनन्दिन पिल्सिँदै गइरहेको छ ।


अबको बाटो

यहाँनेर ‘सबै थोकको निर्माणकर्ता जनता नै हुन्’ भन्ने उक्ति सान्दर्भिक हुन आउँछ । दूषित पानी पिउन बाध्य उपभोक्ताहरू नै सचेत र सक्रिय हुन जरुरी छ । वास्तविक समस्या भोग्नेहरूको सचेत हस्तक्षेपबाट मात्र अवस्थालाई अनुकूल बनाउन सकिन्छ । स्वास्थ्य क्षेत्रको रूपान्तरणको थालनी पनि नागरिककै तहबाट गर्नुको विकल्प छैन । माथि उल्लिखित सिन्धुपाल्चोकको घटना हेर्दा नागरिकमा स्वास्थ्य चेतनाको अभाव व्याप्त रहेको छर्लंगिन्छ । सिन्धुपाल्चोक समग्र देशको एउटा प्रतिविम्ब मात्र हो । त्यसैले सचेत नागरिकहरू, स्वास्थ्य चेतना सम्बन्धी अभियान आजैदेखि सुरु गरौं ।


प्रकाशित : कार्तिक १८, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?