हामीलाई जोगाउन आउँदै छन् लामखुट्टे

टिमोथी सी वाइनगार्ड

यो संसारमा करोडौं वर्षदेखि आधिपत्य कायम राख्न सकेको एउटा आवाज छ— त्यो हो, लामखुट्टेले आफ्नो पखेटा फडफडाउँदा निस्कने ‘भुउँ’ । भुउँ गर्दै आएको लामखुट्टे बिस्तारै हाम्रो शरीरको खुला भागमा बस्छ, ब्लेडजस्ता दुइटा तीखो सुइरोले छालामा प्वाल बनाउँछ र त्यसका अन्य दुई रिट्र्याक्टरले त्यसको प्रोबोसिक्स (रगत चुस्ने सुइरो) का लागि बाटो बनाइदिन्छन् ।

यही सुइरोको मद्दतले लामखुट्टेले हाम्रो रगत चुसिरहँदा छैटौं सुईले र्‍यालजस्तो पदार्थ भित्र पठाउँछ, जसले गर्दा रगत जम्न पाउँदैन । यो प्रक्रिया यति छिटो हुन्छ, हामीले त्यसलाई प्याट्ट मार्न पनि भ्याउँदैनौं !

पोथी लामखुट्टेलाई अन्डा बनाउन हाम्रो रगतको आवश्यकता पर्छ । त्यसैले यसले जोसुकैलाई टोक्ने गर्छ । लामखुट्टेले पुरुषका तुलनामा महिलालाई बढी टोक्छ वा कालो कपाल हुनेलाई भन्दा खैरो कपाल हुनेप्रति बढी आकर्षित हुन्छ भन्नेजस्ता कुरा केवल कथन मात्रै हुन् । त्यसमा कुनै सत्यता छैन । यद्यपि लामखुट्टेलाई अन्यको तुलनामा ‘ओ पोजिटिभ’ रगत भने मन पर्छ ।

गन्हाउने खुट्टाबाट निस्कने ब्याक्टेरियाको गन्ध पनि लामखुट्टेलाई मन पर्छ । त्यसैले आफूलाई मन पर्ने स्थानमा बसेर छुट्टिँदा त्यसले चिलाउने डाबर (लामखुट्टेको र्‍यालको एलर्जिक रियाक्सन) र त्योभन्दा पनि खतरनाक रोगहरूको संक्रमण, जस्तै– डेंगु, मलेरिया, जिका आदि, उपहारका रूपमा दिने गर्छ ।

लामखुट्टेहरू हाम्रो शीर्ष शत्रु हुन् । पृथ्वीमा मानिसहरूको सबैभन्दा खतरनाक सिकारी । लगभग एक हजार खर्ब लामखुट्टेले विश्वको प्रायः हरेक इन्च जमिनमा निगरानी गरिरहेका हुन्छन् । यसका कारण विश्वमा लगभग हरेक वर्ष ७ लाख मानिसको मृत्यु हुन्छ । शोधकर्ताहरूको दाबी मान्ने हो भने, २ लाख वर्षभन्दा बढीको इतिहासमा लामखुट्टेले ५४ अर्ब मानिसलाई मारिसकेका छन् ।

एक्लै उड्ने लामखुट्टेले सीधा कसैलाई पनि क्षति पुर्‍याउन सक्दैन । यसका कारण फैलने रोगले भने भयावह रूप लिन सक्छ । यसको सहायताबिना धेरै कीटाणुको अस्तित्व नै समाप्त हुन्छ होला । लामखुट्टे नभएका भए मानव इतिहास पहिचान नै गर्न नसकिने गरी भिन्न हुन्थ्यो होला । लामखुट्टे र त्यसले बोक्ने रोगहरूले विश्वमा सदियौंदेखि व्यापारी, यात्री, सैनिक र स्थानीय बासिन्दालाई सिकार बनाएका छन् । विश्वमा निर्मित कुनै पनि हतियारले भन्दा लामखुट्टेका कारण धेरैले ज्यान गुमाएका छन् ।

पोन्टाइनको सिमसारमा मलेरिया बोकेको लामखुट्टेले रोमन राज्यको उदय र पतन दुवैमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सुरुमा यसले सुन्दर सहरलाई भिसिगोथ्स, हन्स र भ्यानडाल्सबाट जोगायो र पछि त्यही खतरनाक सुइरो रोमनतर्फ तेर्स्यायो । लामखुट्टेले नै क्रुसेड्सको समयमा पवित्र भूमिलाई जोगाउन क्रिस्टियन सैनिकलाई मद्दत गरेको थियो ।

त्यसले युरोपेली सैनिकलाई मलेरिया र ‘यल्लो फिभर’ लगाएर लडाइदिएको थियो । यस्तै, १८ औं र १९ औं शताब्दीमा भएका अमेरिकी क्रान्तिमा यसले धेरै उलटफेर गराइदियो । योर्कटाउनमा बेलायतीहरूले आत्मसमर्पण गर्नुपर्नाको मुख्य कारक नै लामखुट्टे थियो ।

लामखुट्टेले मलेरिया मात्रै नभई डेंगु,वेस्ट नाइल, जिका र विभिन्न प्रकारकाइन्सेफ्लाइटिस जस्ता रोग पनि सार्छ । खासमा यी रोग लाग्नेबित्तिकै मानिसको ज्यान त जाँदैन, तर यसले गर्दा आउने ज्वरोका कारण कलेजोलाई हानि हुन सक्छ, नाक–मुख र आँखाबाट रक्तस्राव हुन सक्छ र मान्छे कोमामै पनि जान सक्छ ।

आज विश्वभरमा करिब ४ अर्ब मानिस लामखुट्टेका कारण हुने रोगबाट पीडित हुने गरेका छन् । हाम्रा पुर्खाहरूझैं हाम्रो पनि लामखुट्टेसँग जीवन–मृत्युको लडाइँ जारी छ । र लाग्छ, अहिले यो लडाइँ निकै अगाडि बढेको छ ।

‘साइलेन्ट स्प्रिङ’ मा रासेल कार्सनले लेखेकी छन्, ‘बोटबिरुवा र जनावरप्रति हाम्रो धारणा निकै संकुचित छ । कुनै कारणले हामीलाई उनीहरूको अस्तित्व मन परेन वा कुनै मतभेद भयो भने त्यसलाई पूर्ण रूपमा समाप्त पार्न लागिपर्छौं ।’ उनले सायद त्यति बेला जीनलाई नै सम्पादन गर्ने प्रविधि (क्रिस्पर) बारे कल्पनासम्म पनि गरेकी थिइनन् ।

२०१२ मा विश्वले थाहा पाएको क्रिस्पर यस्तो प्रविधि हो, जसले डीएनएको सिक्वेन्सबाट एउटा जिनलाई अर्कोबाट प्रतिस्थापन गरिदिन्छ । यो आविष्कारलाई ‘विलुप्त पार्ने मेसिन’ को संज्ञा पनि दिइएको छ । किनभने यसले हामीलाई कुनै पनि जीवको प्राकृतिक उदयलाई रोक्न सक्ने क्षमता प्रदान गरेको छ । यही प्रविधिको उपयोग गरेर भविष्यमा प्रजनन गर्न नसक्ने लामखुट्टेको लार्भा उत्पादन गराइँदै छ । त्यस्ता लामखुट्टेलाई खुला गरिदिने हो भने विश्वबाट केही समयमै पीडक लामखुट्टे विलुप्त हुनेछन् । त्यसपछि मान्छेलाई लामखुट्टेको कहिल्यै डर हुनेछैन ।

र यसको अर्थ के पनि हो भने, कुनै बेला विज्ञानको कल्पना मानिने विषय अहिले वास्तविकतामा परिणत हुने भएको छ । ‘हामी ऊनैऊनले छोपिएको म्यामथदेखि टोक्दै नटोक्ने लामखुट्टे भएको नयाँ संसार बसाउन सक्छौं,’ स्ट्यान्फोर्ड युनिभर्सिटीमा सेन्टर फर ल एन्ड बायोसाइन्सेसका निर्देशक हेनरी ग्रिलीले स्मिथसोनियन म्यागजिनलाई भनेका छन् । अब प्रश्न उठ्न सक्छ, ‘हामीलाई त्यसबारे कस्तो लाग्छ ? हामी प्रकृतिमा बस्न चाहन्छौं कि डिज्नील्यान्डमा ?’

हामीले चाहेको कुरा केही हदसम्म सही पनि होला, तर त्यसले पार्ने प्रभावबारे समयमै सतर्क हुन भने जरुरी छ । हामी रोग सार्ने लामखुट्टेलाई पूर्ण रूपमा हटाउन सफल भयौं भने के अन्य लामखुट्टेका प्रजाति वा कीराहरूले त्यसको स्थान लेलान् त ? के एउटा रोगनिमिट्यान्न पारेर अर्को रोग निम्त्याउनु ठीक हो ? लामखुट्टे पूर्ण रूपमा हट्दा जैविक सन्तुलनमा कस्तो असर पर्ला ?

तर अहिले पनि हामीले लामखुट्टेको क्षमतालाई कम आकलन गरिरहेका छौं । इतिहासमा लामखुट्टे डीडीटीको वर्षालाई परास्त गरेर अगाडि बढेको जीव हो र यसले क्रिस्परलाई पनि मात दिँदैन भन्न सकिँदैन । इतिहासले देखाएकै छ, लामखुट्टेले अस्तित्व जोगाउन विज्ञानको आँखामा छारो हालेकै हो । विश्वमा लाखौं–करोडौं वर्षदेखि दबदबा राख्दै आएको जीवले अहिलेको विश्वलाई पनि हल्लाइरहेकै छ ।

न्युयोर्क टाइम्सबाट अनूदित ।

प्रकाशित : भाद्र २६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

जातवादी गणतन्त्र

डेटलाइन तराई
चन्द्रकिशोर

तीन ‘प’ अर्थात् पेसा, पुर्खा र प्रतिबद्धताका आधारमा कसैलाई गैरबराबरी हुनु हुन्न । तर यिनैका कारण भुइँतहमा व्यक्तिको तेजोवध भइरहेकै छ । लोकतन्त्रमा पनि, जातजस्तै श्रमको श्रेणीक्रम र श्रेष्ठताको सामाजिक मनोविज्ञानले निरन्तरता पाइरहेकै छ ।

पारम्परिक रूपमा आर्जित ज्ञानका आधारमा निर्वहन गरिने उत्पादनमूलक कार्यमा, जातगत ढाँचाका कारण गहिरो विभेद र विभाजन छ । जुन जातविशेषलाई तिनमा भएको श्रममूलक ज्ञानले पहिलो सामाजिक शिक्षक बनायो, ती नै छुवाछूतको सिकार भए । श्रम नै वास्तविक शिक्षा हो र हो असली अर्थशास्त्र । तर हामीकहाँ श्रमको गरिमा स्थापितहुन सकेको छैन । समाजका लागि अत्यावश्यक पारम्परिककाम गर्नेहरू सामाजिक व्यवस्थामा आज पनि तल्लोश्रेणीमै छन् ।

जातीय विभाजन हामीकहाँ धार्मिक वा वर्गीय विभाजनभन्दा गहिरो छ । वर्गको निर्माण व्यक्तिको आर्थिक परिस्थितिमाथि निर्भर हुन्छ । त्यसैले व्यक्तिविशेषको वर्गीय स्थिति फेरबदल हुने गर्छ । आज हलो जोत्ने व्यक्तिले भोलि ट्र्याक्टर चलाउन सक्छ । सीप विकाससँगै उसको अर्थोपार्जन बढ्न सक्छ र मध्यम वर्गमा दाखिला हुन्छ । त्यस्तै, जो आज जग्गावाल छ, ऊ भोलि ऋणले थिचिएर मजदुरी गर्न बाध्य हुन सक्छ ।

धार्मिक परिचय पनि फेरिन सक्छ । कुनै पनि जन्मिँदा स्वतन्त्र हुन्छ, तर समयसँगै उसलाई आफ्नो परिवारका आधारमा खास धर्मका रीतिरिवाजसँग परिचित गराउँदै लगिन्छ । पछि परिवारका निर्णायक सदस्यले वा आफैले मान्यता फेरेपछि ऊ साबिकको पहिचानबाट अलग हुन सक्छ । तर जातका आधारमा निर्मित चिनारी उसले वर्ग परिवर्तन गर्दा पनि फेरिंँदैन । आफ्नो जातलाई छोडेर कोही पनि अर्को जातको बन्न सक्दैन ।

सामाजिक मनोभावले भन्छ— जातको उत्पत्ति अलग–अलग कुलबाट भएको हो र प्रत्येक जातले लामो कालखण्डसम्म आफ्नो रगतको शुद्धता जोगाइराखेको हुन्छ । जात पूर्वाग्रह, विशिष्ट पहिचान र श्रेष्ठताबोधका आधारमा मौलाउँछ । यो मनोविज्ञान अहिले सामाजिक गतिशीलताका लागि चुनौती भएको छ । जातगत झगडाले हाम्रो साझा भविष्यमाथि जोखिम खडा गरेको छ ।

भनिन्छ, अतीतमा ब्राह्मणहरूको श्रेष्ठता दुई कारणले भयो । पहिलो, उनीहरू विभिन्न संस्कारमा उपस्थित भइदिन्थे, किनकि उनीहरूका हातमा सामाजिक मूल्य निर्धारण गर्ने संहिता थियो । दोस्रो, उनीहरूले नवोदित राजवंशको वंशावली तयार गरेर तिनलाई उच्च वर्णमा प्रतिष्ठापित गर्न सक्थे । नवोदित राजवंशलाई आफ्नो सत्ताको स्वीकृतिका लागि यस प्रकारको वंशावली अत्यन्त महत्त्वपूर्ण मानिन्थ्यो । विभिन्न समुदायले राजकीय सत्ता पाएपछि वर्णोन्नति गरेका छन् ।

तिनले विगतमा तरबारको बलमा आफ्ना लागि नयाँ श्रेणीक्रमको धर्सो कोरे । अब संविधानले यस्तो छुट दिएको छैन, उसको नजरमा सबै बराबर छन् । तर उत्कृष्ट भनिएको संविधान लागू भएको देशमा दलितले पनि किन हेपिनु परिरहेको छ ? किन अहिले पनि दलितबाट प्रतीकात्मक व्यक्तिलाई प्रतिनिधिका रूपमा प्रस्तुत गरेर समावेशितालाई नकार्ने विधि कायमै छ ?

महेन्द्रपथकै जातवादी अवयव गणतन्त्रकालमा पनि अनुसरण गर्ने रणनीति काम लाग्छ भन्ने निर्क्योल तथ्य र तर्कभन्दा पनि पूर्वाग्रह एवं अहंकारमा अडिएको छ । विविधतायुक्त समाजमा समानुपातिक समावेशिताको विकल्प छैन । समान मताधिकारले मात्र यस्तो नहुने रहेछ, किनभने दलित सङ्ख्याबल राम्रै भएर पनि छलमा परे ।

खास–खास जातद्वारा निर्वहन हुँदै आएका धेरैजसो पारम्परिक पेसा र व्यवसाय अद्यापि छन् र आवश्यक पनि छन् । गढीमाईको मेलामा बलि दिँदा मानवीय जनशक्ति चाहिन्जेल कसै न कसैले त्यो काम गर्नैपर्छ । तर जब सिनो फाल्नका लागि कसैको सामाजिक मर्यादा अवमूल्यन गरिन्छ, त्यतिखेर त्यो समूह विरोधी कित्तामा उभिन्छ । त्यसै गरी अहिले स्थानीय तहहरूले कुचीकार नियुक्ति गरेका छन् । कुचीकारहरू प्रायः जातविशेषका छन् ।

गाउँटोल, सहरबजार सरसफाइको आवश्यकता भएरै तिनको प्रबन्ध गरिएको हो, तर तलब न्यून छ, सेवा अनिश्चित छ, व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि अत्यावश्यक सामग्री उपलब्ध छैनन् । प्रायः पालिकाको अवस्था यस्तै छ । प्रादेशिक सरकारहरूले पनि कुचीकारको सम्मान र सुरक्षाबारे अपेक्षित ध्यान दिएका छैनन् । कुचीकारको तह निर्धारण भई आकर्षक सेवासुविधा उपलब्ध गराउन थालेपछि मात्र सबै जातजातिका मानिस त्यता लालायित हुन सक्छन् र परिस्थिति बदलिन सक्छ ।

इतिहासले भन्छ— जात व्यवस्थामाथि दुई पटक गम्भीर धक्का लाग्यो । पहिलो पटक जैन र बौद्ध धर्म फैलिने बेला अनि दोस्रो पटक भक्ति आन्दोलनका बेला । तर ती धक्काको आफ्नै सीमा थिए, जसले गर्दा त्यसबाट उत्पन्न आँधीहुरीले चक्रवातको रूप लिन सकेन । जातप्रथालाई अहिलेसम्म जेजति चुनौती मिलेको छ, त्यसमा वैचारिक र भावनात्मक आधार नै बढी छ । जबकि ब्राह्मणवाद एउटा विचार मात्र होइन, यो बलियो आर्थिक व्यवस्थामा टिकेको छ । कृषि संस्कृति यसको मुहान हो ।

यतिखेर ब्राह्मणवाद तथा मनुवादको निन्दा गरिन्छ, सामाजिक न्यायको कुरा गरिन्छ, आरक्षणबारे विमर्श चालू छ, तर जातविहीन समाजको संकथन उठ्दैन । रोचक के भने, यस्तो कुरा नेपालका कम्युनिस्टले पनि गर्दैनन्, जो सैद्धान्तिक रूपमा सामाजिक–आर्थिक वर्गविरुद्ध छन् । हिन्दु राष्ट्रको सपना देख्नेहरू हिन्दु एकताको कुरा त गर्छन्, तरयो सवालमा मौन बस्छन् ।

अर्को कोणबाट हेरौं । वर्गसङ्घर्षको लक्ष्य वर्गशत्रुको सफाया गर्नु हो र तिनबाटज्यादा लाभ लिनु हो । जातविहीनतातर्फ बढ्नु भनेको स्वीकार्यता, सम्मान र सामञ्जस्य स्थापित गर्नु हो । मधेसी अधिकारको कुरा गर्नेहरू पनि जातप्रथाको समाप्ति चाहँदैनन्, किनभने अहिलेको मधेसी राजनीति खासमा केही जात समूहको गठबन्धन हो ।

गैरसवर्ण समुदायले अब जातका आधारमा विशेषाधिकार खोज्दै छ । पिछडा वर्ग, दलित, बहुजन जस्ता पहिचानजन्य संकथनले जातलाई कायम राख्न सघाएका छन् । कथित उच्च जातको सामाजिक विशेषाधिकार रहेका बेला जातप्रथाको सर्पले मुखैले टोक्थ्यो भने, अचेल पुच्छरले हिर्काउँछ । प्रतीकात्मक नै सही, दलित राष्ट्रपति बन्ने सहज र सन्निकटको यात्रामा पूर्णविराम लगाउने को हुन्, लुकेको छैन ।

आरक्षण वा सङ्घीय राजनीतिले जात व्यवस्थामाथि थोरै प्रहार गर्दै छ । जात व्यवस्था एउटा कोणबाट हेर्दा वर्ग व्यवस्था पनि हो । यसले दलितमा एउटा सम्पन्न वर्गको उदय हुँदै छ । दलितसँग हुने अन्तरजातीय विवाहको छिटपुट घटनाले मात्र कुनै प्रवृत्तिको रूप लिन सक्दैन । यो त लामो र दुरूह प्रक्रिया हो । वास्तवमा अन्तरजातीय विवाह नयाँ प्रकारको सामाजिक गतिशीलता हो । आज जुन वर्णसंकरतालाई कतिपयले नीच नजरले हेर्छन्, त्यसले नै भोलिको सुन्दर नेपाल निर्माण गर्ने प्रारूप खडा गर्छ ।

अहिले कृषितन्त्र खलबलिएको छ । गाउँबाट सहर जानेहरूको नयाँ श्रेणी उदाएको छ । सहरी रोजगार र पेसागत गतिशीलताका कारण श्रेणीक्रममा मुनि मानिएकाहरूको आर्थिक हैसियत उक्लिरहेको छ र त्यसले सामाजिक हैसियतको पारम्परिक व्यवस्थालाई प्रभावित पारेको छ । सहरी रोजगारीले नगदी आयमा बढोत्तरी भएसँगै तिनमा मोलमोलाइ क्षमता थपिएको छ । यही कारण यो समूह जसरी संगठित हुँदै गएको छ, त्यसबाट सामाजिक विमर्शमा नयाँ संकथन पनि सुरु भएको छ ।

यससँगै आधुनिक विचारले एउटा वर्गको जीवन फेरिदिएको छ, तर यो रूपान्तरण निजी जीवनमा बढी देखिएको छ । यसले सामाजिक आन्दोलनको रूप लिन भने सकेको छैन । यस मामिलामा नेपालको मध्यम वर्गले निकै निराश पारेको छ । अर्कातिर, अहिले त जातका आधारमा संगठित हुने र जातप्रथालाई औचित्य दिने काम पनि त्यत्तिकै बढिरहेको छ । राजनीतिक दलहरू बदलिँदो ध्रुवीकरणलाई भोटबैंकमा अनुवाद गर्न हतारिएका छन् ।

कानुनी ढाँचा र बढ्दो चेतनाले कतिपय सन्दर्भमा विगतका पर्खालहरूलाई भत्काउँदै गएको छ । गैरदलितले पनि दलित सरोकारका कुरा उठाउन थालेका छन् । सङ्ख्याको राजनीतिले वर्चस्वशाली जातिहरूको अभ्युदय भएको छ । मधेसमा हुने अपराधकै सामाजिक अध्ययन भयो भने, त्यसले निकै चाखलाग्दो सूचक दिन्छ ।

नयाँ सामाजिक व्याकरणले शक्ति सन्तुलनमा हस्तक्षेप गरिरहेको छ । अनेक जातगत समूह अस्तित्वमा आउँदै छन् र ती सबैले अन्ततोगत्वा राजनीतिक तागत नै खोजेका छन् । यसले केही सम्भावना र सीमाको लक्ष्मणरेखा कोरिदिएको छ । जातप्रथा सधैं टिकिरहन्छ भन्ने त होइन, तर अहिले नै समाप्त हुने लक्षण पनि देखिँदैन । राज्यसत्तामापहुँच, प्रतिनिधित्व र प्रभुत्वले नै दलितहरूलाई ढाँचागत परिवर्तनमा सार्थक हस्तक्षेपका लागि ऊर्जा दिन सक्छ । तर हाम्रो गणतन्त्र त जातवादीलाई प्रश्रय दिने सोपानतन्त्रमा अनूदित भएको छ !

datelineterai@gmail.com

प्रकाशित : भाद्र २६, २०७६ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्