कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान उत्सवको सान्दर्भिकता

उहिले पहाडमा मुखिया, जिम्वाल र बडाहाकिमका उर्दी गाउँलेलाई सुनाउन कटुवालले घोक हाल्ने चलन थियो । डाँडामाथिबाट दमाहा र कर्नाल बजाएर सुनाइने यस्ता उर्दी पञ्चायत कालसम्म पनि गाउँलेलाई खबर दिने चलनका रूपमा चली नै रह्यो । गाउँलेलाई सामुदायिक कामको खबर गर्न यस्ता उर्दी अहिले पनि कतैकतै चलनचल्तीमै छन् ।

संविधान उत्सवको सान्दर्भिकता

यो चलनकै सिको गर्दै संघीय सरकारको गृह मन्त्रालयले संविधान दिवस मनाउने उर्दी जारी गरेछ । उर्दीबाट थाहा भयो— सरकारले यसपल्ट संविधान दिवस तीन दिनसम्म घरघरमा दीपावली गर्दै, झन्डा र टिसर्टसहित जुलुस निकालेर भव्य रूपमा मनाउने निधो गरेछ । यसका लागि सरकारी र गैरसरकारी कर्मचारी मात्र हैन, आम नागरिकलाई समेत राष्ट्रिय झन्डासहितको टिसर्ट लगाउन भन्दै टिसर्टको नमुनासमेत प्रचार भएको छ ।

स्कुले बेलाको कुरा हो । पञ्चायत कालमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै टन्टलापुर घाममा हिँडेको सम्झना अहिले पनि ताजै छ । यो कुरा आजका रैतीले बिर्से कि भनेझैं गरी अहिले सरकारले संविधान दिवस मनाउन आम नागरिकलाई दीपावली र जुलुसमा हिँड्न उर्दी गर्नु शोभनीय देखिएन ।

संविधान, संघीयता र लोकतन्त्र बलियो बनाउन गर्नुपर्ने न्यूनतम कामसम्म नगरेको आरोप खेपिरहेको संघीय सरकारले यस्तो उर्दी गर्नु एक अर्थमा लोकतन्त्रको खिल्ली उडाउनु हो । यो यस अर्थमा आम नागरिकको दृष्टिमा कम्युनिस्ट सरकारको लाजमर्दो काम पनि हो । लोकतन्त्रमा कुनै दिवस मान्ने या नमान्ने कुरा सरकारले उर्दी लगाएर हैन, आम नागरिकको स्वस्फूर्त उत्साह र उमंगबाट आउने वातावरण बनाउनुपर्छ ।

यो संविधानको मात्र कुरा गर्ने हो भने, यसको संशोधन र परिमार्जन चाहनेले समेत संविधान दिवस मनाउने उत्साहजनक वातावरण बनाउन सक्नुपर्छ । यसो गर्न सकिएन भने, यो दिवस मनाउन आउने या त बाध्यतामा आएका कारिन्दा या सत्ताका अन्धभक्त रैती हुन् भन्ने सोझो अर्थ लाग्छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रमा गरिएको यो सरकारी उर्दीमाथि मात्र हैन, यो सत्ता सञ्चालन गर्ने सत्तासीन पार्टी, प्रतिपक्षी र यसको नियतमा समेत प्रश्न उठ्छ, चाहे यो जति नै असल नियतले गरिएको किन नहोओस् ?

सरकारले उर्दी गर्ने नै भए कुनै एकदिवसीय जुलुस र दीपावलीको हैन, आम नेपालीलाई नतमस्तक भएर मुलुकलाई समृद्ध बनाउन, भ्रष्टाचार, अनियमितता, विभेद र शोषणविरुद्ध समानता र समावेशिता अभ्यास गर्न, शिक्षा, जनस्वास्थ्य, खानेकुरा जस्ता जीवनका आधारभूत आयामहरू सपार्ने काममा सहयात्राका लागि सादर आह्वान गरोस् । यस्तो आह्वानमा सबै नागरिक उत्साहपूर्वक सहभागी हुनेछन् । यसमा कुनै द्विविधा नराखे हुन्छ ।

विडम्बना, सार्वभौम नागरिकलाई उर्दी दिने यो सरकारले संघीयता, लोकतन्त्र र समाजवाद–उन्मुख संविधानको मर्म र आफ्नो औकातसमेत बिर्से जस्तो छ । यदि यो उर्दी दुई वर्षअघि जितेको निर्वाचन या दुईतिहाइको दम्भ हो भने, यो मर्ने बेलामा कमिलाको प्वाँख पलाए जस्तै हो । मत दिने जनताले सधैं सबै कुरामा साथ दिन्छन् भन्ने हुँदैन ।

यो कुरा त गुठी विधेयकविरुद्धको आन्दोलनबाट पनि थाहा पाउनुपर्ने हो । २१ औं शताब्दीको सचेत नागरिक मध्ययुगीन सामन्तीका रैतीजस्तो आदेशको शिरोपर गरेर आफूखुसी सडक जाम गर्दैनन् । यस्तो उर्दी गर्ने सरकार कि अहंकार र दम्भले ग्रस्त छ कि यो निरंकुश शासकहरूजस्तै कायर छ भनेर अर्थ्याउँदा अनर्थ हुँदैन ।

डा. गोविन्द केसीको भोक हडताल मत्थर भयो । निर्मला पन्तको बलात्कार र हत्याको विरोधको स्वर पनि मसिनो हुँदै गयो । ३३ किलो सुन, वाइड बडी घोटाला, एनसेल कर छली घामछाया जस्तै आउने–जाने गरेका छन् । बालुवाटारको घडेरी र गुठी बहस आफ्नै कार्यकर्ताको कर्तुत थियो, सेलाउँदै गयो ।

अब त जे गरे पनि हुन्छ भन्ने लागेको हो भने बेग्लै कुरा, अन्यथा यी र यस्ता सवाल भने माइतीघर मण्डेलादेखि वानेश्वर चोकका परिदृश्य र आम नागरिकका मनमा जिउँदै छन् । यो सरकार यी सवाल सेलाएको भ्रममा अहंकार र दम्भले हौसिएको हो भने, यसको ठूलै मूल्य चुकाउन बाँकी नै छ । हैन निरंकुश शासकजस्तै कायर भएर गरिएको उर्दी हो भने, यो निरंकुश पञ्चायत सम्झाउन पर्याप्त छ ।

नेपाली नागरिकले सात दशकभन्दा बढी राजनीतिक आन्दोलनलाई साथ दिएको आजको जस्तो उर्दी सुन्न कदापि होइन, न त श्रीपेच नलगाएका राजारजौटाको अर्ती सुन्न हो । समाजवाद–उन्मुख संविधानको दिवस मनाउन उर्दी लगाउने सरकारले शिक्षा सुधार गर्न, खेतीपाती र खानालाई विषादीमुक्त बनाउन किन आह्वान गर्दैन ? कि निजी स्कुल–कलेजका सञ्चालक र रसायन विषादीका व्यापारी यो सरकारका ज्वाइँचेला हुन् ? अहिले यिनले उनैको गुन तिर्दै छन् भन्न हिचकिचाउनुपर्दैन । अख्तियारदेखि अदालतसम्म, ठेकेदारदेखि बिचौलियासम्मको भ्रष्ट चलखेलले यही बताउँछ ।

अर्को कुरा, अहिले मूलप्रवाहका पार्टी अर्थात् दलहरूको साख फर्काउन नै मुस्किल हुने गरी गुमेको छ । यिनको आन्तरिक लोकतन्त्र सबैभन्दा संकटमा छ । समग्रमा यिनको रेफ हटेको छ र यी ‘पार्टी’ हैन, अब ‘पाटी’ भएका छन् । साथै यी पाटीका नाइकेहरू आपसको अविश्वासको दलदलमा फसेका छन् । धेरै पार्टीमा बस्नेहरूलाई राजनीतिको दर्शन, विचार र दृष्टिकोणको कुनै अर्थ छैन । मुर्कुटा संस्कृतिमा रमाउने यो जमातलाई आफ्नो स्वार्थ मिलेसम्म जोसुकै र जुनसुकै पाटीमा बास बसे हुन्छ । विगतमा देखिएको पाटीको बसाइँसराइ त्यसैको परिणाम हो, जुन अहिले पनि निरन्तर छ ।

नाभिको कस्तूरी हराएको ठान्ने हिमाली मृगजस्तै आन्तरिक लोकतन्त्रको त ठूलै खडेरी छ, यी पार्टीहरूमा । नेता–कार्यकर्ता रैतीजस्तै निरीह छन् । यिनमा भएका सबै नेता आफै सामन्ती नभए पनि यस्तो संस्कार बोकेका नेताहरूको बोलवाला छ । उनीहरूले आफ्नै सेवामा रमाउने रैती नेता–कार्यकर्ता उत्पादन गर्ने मध्ययुगीन चलन फेरेका छैनन् ।

आफूलाई खाँटी समाजवादी भन्ने धेरैले यस्तो प्रवृत्तिको सामना गर्ने आँट गुमाइसकेका छन् । यस्ता पार्टीहरूमा आ–आफ्नै बेसुरमा हराएका रमितेको जमात मात्र देखिन्छ । पाटीलाई पार्टी बनाउन र लोकतन्त्रको बीउ रोप्न नसक्ने हो भने यी र यस्तैबाट धेरै आश गर्नैपर्दैन । संविधान दिवस मनाउँदैमा यो प्रवृत्ति फेरिँदैन ।

केही सत्ता र शक्तिको आडमा लुटपाटमा रमाएको जमातबाहेक अहिले सबैतिर निराशा र नकारात्मकता व्याप्त छ । सुदखोर राजनीतिक गुट र भ्रष्ट कर्मचारीतन्त्रको तालमेल अपवित्र क्रियाकलापमा मात्र सीमित छ । यदि संविधान, संघीयता र गणतन्त्रमा कतैबाट अप्ठेरो पर्छ भने, यिनका आफ्नै अक्षमता र कुकर्मले मात्र पर्नेछ । यस्ता उर्दीका बर्कोले मात्र यिनलाई ढाक्न सकिँदैन ।


बेथिति पालनपोषण गर्ने प्रवृत्ति सबै तहमा नफेरी संविधान दिवस मनाउँदैमा हाम्रो संविधान, संघीयता, लोकतन्त्र जोगिँदैन र नेपाली समाज पनि फेरिँदैन । समाज र देश बनाउने हो भने अब फेरिने पालो हामी सबैको हो । त्यसमा पनि समाजको अगुवाइ गर्ने राजनीतिक अगुवाहरूको । लियो टाल्सटायले कुनै बेला भनेका थिए, हामी सधैं अरूलाई बदल्ने कुरा गर्छौं, तर आफूलाई बदल्ने कुरा कहिल्यै गर्दैनौं । यस अर्थमा हामी नफेरिने अनि समाज र देश फेरिएन भनेर रोइलो गर्नु बकवास मात्र हो ।

फेरि पनि यो फेरिने प्रतिबद्धता र फेर्ने दबाब दुवैको नेतृत्व राजनीतिक वृत्तबाटै हुने हो । बदलिएको परिवेशमा नयाँ ढंगले राजनीतिलाई परिभाषित र परिमार्जन गर्दै भविष्यमुखी यात्राको विकल्प छैन । तर सँंगसँगै विचारणीय पक्ष के छ भने, अहिलेकै नेपाली समाजको चेतना स्तरमा आन्तरिक विवादहरूको लोकतान्त्रिक व्यवस्थापन र विश्वपरिवेशमा खास गरी दुई ठूला छिमेकीबीचको हाम्रो पहिचान र सहयात्रालाई विवेकपूर्वक सामना गर्न सक्षम नेतृत्वको निर्माण नै अहिलेको मुख्य चुनौती हो ।

मुलुकको राजनीतिक भविष्य परस्पर निर्भरता र सद्भावको मूल्य–मान्यता, आफ्नै मौलिकतामा आधारित समृद्धिका आधारहरूको पहिचान, परिचालनको दूरदृष्टि र मार्गचित्र, नेतृत्वको संरचना र व्यक्तिगत आचरण कस्तो छ भन्नेमा निर्भर हुन्छ । यी कुरा आत्मसात् गर्दै नयाँ राजनीतिक यात्राको नेतृत्व गरेर आफूलाई फेर्नुपर्ने दबाबमा रहेका राजनीतिक पार्टीहरू र यिनको नेतृत्वलार्ई लोकतान्त्रिक, सुशासित, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन दबाब दिन यस दिवसले प्रेरणा देओस् । कम्तीमा यो दिवस लोककल्याणकारी राजनीति अहंकारले हैन, त्याग र योगदानको मर्म आत्मसात् गरेको फराकिलो सामाजिक मान्यताबाट स्थापित हुन्छ भन्ने बुझ्न प्रेरणादायी होओस् ।

अहिलेका मुख्य पार्टीहरूभित्र लोकतन्त्रको फूलबारीमा समावेशी फूल फुल्ने अवस्था बनाउन निकै ठूलो आँट चाहिन्छ । यो एक प्रकारले निकै कठिन काम हो । यिनैको सिको गरेर बनाइने वैकल्पिक दलहरू पनि बन्दै जालान् । तर यी पनि यस्तै गलगाँड बोकेका पार्टीजस्तै भए भने अबको पुस्ता यीसँग हिँड्न कति तयार हुन्छ होला ? तसर्थ यो संविधान दिवसले यी कुराको मनन गर्ने सद्बुद्धि सबै राजनीतिक पार्टी र कार्यकर्तामा दिनेछ भन्ने आश गरौं । यही नै संविधान दिवस मनाउनुको सार्थकता हुनेछ ।

अन्त्यमा, आम नागरिकका लागि बहुमतको कम्युनिस्ट सरकारले गरेको दीपावली र जुलुसमा समावेश हुने उर्दी मध्ययुगीन रैतीहरूका लागि जस्तो नहोओस् । स्वाभिमानी नेपालीले गर्व गर्नलायक होओस् । यसमा पाखण्ड र विवशता दुवै नझल्कियोस् । मध्ययुगीन दासता पनि नझल्कियोस् ।

प्रकाशित : भाद्र २६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?