डिजिटल युगमा यौन हिंसा

कैलाश सत्यार्थी

अमेरिकाको बाल्टिमोरका एक २६ वर्षीय युवकलाई दुईजना १५ र १६ वर्षका बालिकाको खरिद–बिक्री गरेको र यौन व्यवसायमा संलग्न गराउन अनलाइनमा विज्ञापन गरेको आरोपमा अमेरिकी संघीय कानुन अनुसार दण्डित गरिएको छ । ती व्यक्ति १६ वर्षीय बालिका र अर्को एक महिलासँगै लजमा बसेका थिए ।

उनले दुवैजनालाई यौन व्यवसायमा संलग्न गराउँथे र कुनै ग्राहक आएपछि मात्रै कोठाबाट बाहिरिन्थे । एकजना ग्राहकले उनलाई त्यहाँबाट उद्धार गरेर आफ्नो बहिनीसँग बस्नका लागि अर्कै सहर लिएर गएका थिए । ती बालिका यस अर्थमा भाग्यमानी थिइन् । किनभने विश्वभरमा १० लाखभन्दा बढी बालिका यौन दुर्व्यवहारको सिकार हुन्छन्, तर धेरैको उद्धार हुँदैन ।

विश्वभरमा मानव बेचबिखनबाट डेढ खर्ब डलर नाफा हुने देखिएको छ । जसको दुई तिहाइभन्दा बढी हिस्सा जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराए बापत प्राप्त हुन्छ । डिजिटल प्लेटफर्महरूको व्यापक बढोत्तरीले बालबालिका बेचबिखनलाई पनि बढाउँदै लैजाने देखिएको छ । यसलाई रोक्न विश्व समुदायले नै एक भएर यस विरुद्ध कदम चाल्न आवश्यक छ ।

आज लगभग विश्वका साढे ४ अर्ब मानिससँग इन्टरनेटको पहुँच र त्यसमा पनि तीनमध्ये एकजनाको उमेर १८ वर्षभन्दा कम छ । तसर्थ अनियन्त्रित अनलाइनको दुनियाँ यौनजन्य क्रियाकलापका लागि बालबालिकाको खरिद–बिक्री गर्ने सुरक्षित स्थान बनेको छ । मानव बेचबिखनको दलाली गर्नेहरूका लागि केवल एउटा ल्यापटप वा स्मार्टफोन तथा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध भए पुग्छ ।

दलालहरूले त्यसपछि सजिलै चलेका सामाजिक सञ्जालमार्फत बालबालिकासँग सम्पर्क स्थापित गर्न सक्छन् । सामाजिक सञ्जालमा एक्लोपन, तनाव वा पारिवारिक समस्या दर्शाउने बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । दलालहरूले कैयौं बालबालिकासँग इन्टरनेटकै माध्यमबाट सामिप्यता बढाउँछन् र झुठा वाचाहरूसहित तिनका तस्बिरहरू हात पार्छन् । यस्ता सामग्री हात पारेसँगै बालबालिकाहरू दलालहरूको चंगुलमा पर्छन् र यौन दासमा परिणत हुन्छन् ।

बालबालिकाको शरीर बेचबिखन गर्ने दलालहरूले यौनजन्य क्रियाकलापको विज्ञापन हुने वेबसाइटमा आफ्नो चंगुलमा परेकाहरूको विज्ञापन गर्छन् । तिनले अधिकांश अवस्थामा पीडितहरूलाई उनीहरू रहेकै स्थानमा बेचिन दबाब दिन्छन् । केही पीडितले आफ्नो घर, होस्टेल वा अन्य सुरक्षित स्थानबाट भिडियो लाइभ गरेर पनि यौनजन्य क्रियाकलापमा संलग्न हुन्छन् ।

त्यसको बदलामा यौन पिपासुहरूले क्रिप्टोकरेन्सीको माध्ययमबाट पैसाको भुक्तानी गर्छन् । दलालहरूले बालबालिकालाई आफ्नो चंगुलमा पार्न मोबाइलको बिल तिरिदिनेदेखि अनलाइन साइटहरूबाट उपहार खरिद गरेर पठाउने पनि गर्छन् । त्यसपछि उनीहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न हुनका लागि फकाउँदै लगिन्छ ।

अनलाइन बालबालिका बेचबिखन अहिले मौलाउँदै गरेको नयाँ संगठित अपराध हो । यसलाई नियन्त्रण गर्न बृहत कानुनी, राजनीतिक, सामाजिक र प्राविधिक प्रयास आवश्यक पर्छ । सुरुवातका लागि सबै देशले अनलाइन बालबालिका बेचबिखनलाई अपराध करार दिँदै त्यसलाई आफ्नो राष्ट्रिय अपराध संहिता ऐनमै समावेश गर्न जरुरी छ । यससँगै यो अपराधमा कुनै पनि प्रकारमा संलग्न विरुद्ध कडा सजायको व्यवस्था गर्नुपर्छ ।

यस विरुद्ध सबैलाई जागरुक बनाउन उत्तिकै अपरिहार्य छ, त्यो पनि खास गरेर विकासोन्मुख देशमा जहाँ अशिक्षा र गरिबी धेरै छ र बालबालिकाहरूले समयमै यौनशिक्षा प्राप्त गर्न सक्दैनन् । अभिभावकहरूले पनि आफ्नो बालबालिकाको क्रियाकलाप निगरानी गरेर उनीहरूको समस्या सुनिदिने वातावरण निर्माण गर्नुपर्छ ।

धर्मगुरुहरूले पनि आफ्ना अनुयायीहरूलाई यस समस्याबारे जानकार रहन प्रेरित गर्नु राम्रो हुन्छ । पुरुषार्थको सकारात्मक पक्षहरू प्रचार गर्दै, यथोचित परामर्श र राम्रो अभिभावकत्व प्रदान गर्न प्रोत्साहित गर्ने हो भने धेरै हदसम्म अनलाइनमा हुने बालबालिकाको शरीरको मोलतोललाई रोक्न सकिन्छ ।

नागरिक समाजले पनि शारीरिक तथा मनोवैज्ञानिक परामर्शका साथै पीडितहरूलाई सामाजिक सहयोग प्रदान गर्न सक्नुपर्छ । कानुनका रक्षकहरूलाई यस सम्बन्धी कानुन बनाउन र लागू गर्नका लागि घचघच्याउनुपर्छ । उनीहरूको पहरेदारीले इन्टरनेट प्रदायक संस्था, सरकार र सुरक्षा निकायलाई प्रविधिको विकास गर्न, कानुन बनाउन र लागू गर्न नैतिक दबाब सिर्जना हुन्छ ।

यो अपराध नियन्त्रण गर्न सामाजिक सञ्जालको भूमिका झनै महत्त्वपूर्ण छ । उनीहरूले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्राइभेट च्याट रूपमा प्रवेशमै बन्देज लगाउन सक्छन् । साथै बालबालिकाको अश्लील सामग्री देखिने बित्तिकै तुरुन्तै हटाउने संयन्त्र विकास गर्न सक्छन् । अनलाइन पेमेन्टका लागि प्रयोग हुने कम्पनीले सुरक्षा संयन्त्रसँग सहकार्य गरेर कसले त्यस्तो वस्तु वा सामग्री अनलाइनमा खरिद गरिरहेको छ भनेर निगरानी बढाउन सक्छन् ।

सुरक्षा निकाय, निजी कम्पनी, नागरिक समाज, स्वास्थ्य संस्था, युवा सञ्जालहरू बीचको सहकार्यमा मात्रै बालबालिका मैत्री विश्वको निर्माण सम्भव छ । यो सोचले नै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई पनि हासिल गर्न मद्दत गर्छ ।

मैले व्यक्तिगत रूपमा विश्वका नेताहरूसँगको भेटमा बालबालिकामाथि अनलाइनका माध्यमबाट यौन दुर्व्यवहार सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानुन बनाउनका लागि आग्रह गर्ने गरेको छु । बालबालिकामाथि अनलाइनका माध्यमबाट यौन दुर्व्यवहार विरुद्ध काम गरिरहेका हामी सबैले आफ्ना सकारात्मक अनुभवहरू साटासाट गरेर यसबाट बृहत कार्ययोजना निर्माण गर्न पनि जरुरी देख्छु ।
शताब्दीयौं लगाएर भएको विज्ञान तथा प्रविधिको विकासले नै स्वतन्त्र मानव समाज निर्माण भएको हो ।

अहिले भइरहेको डिजिटल विकासले पनि भविष्यमा प्राप्त हुने व्यक्तिगत स्वतन्त्रताको आशा जगाएको छ । यद्यपि दलाल तथा मान्छेलाई दास बनाएर नाफा कमाउन पल्केकाहरू त्यही प्रविधिको प्रयोग गरेर लाखौं निर्दोषलाई यौन हिंसाको सिकार बनाउन तल्लिन छन् । सबै पीडितहरू हाम्रा आफ्नै सन्तान हुन् र उनीहरूलाई जोगाउनु हाम्रो कर्तव्य हो ।

प्रोजेक्ट सिन्डिकेटबाट अनूदित।

प्रकाशित : भाद्र २, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

रासायनिक मल नेपालमै सम्भव

सुरेन्द्रकुमार प्रधान

नेपालमा खेतीको मौसममा वर्षेनि रासायनिक मलको अभाव हुँदै आएको छ । मल अभाव किसानका लागि स्वाभाविक परिघटना जस्तै भएको छ । मागको दाँजोमा रासायनिक मलको आपूर्ति कम छ । नेपालमै फिनल्यान्डमा विकास गरिएको प्रविधिको प्रयोगले फोहोरबाट रासायनिक मल उत्पादन गरे धेरै हदसम्म आत्मनिर्भर हुन सकिन्छ । 

काठमाडौं उपत्यकामा करिब ५० लाख जनसंख्या छ । एक व्यक्तिले दिनमा औसत ३१७ ग्राम फोहोर उत्पादन गर्छ । त्यसमध्ये करिब ६० प्रतिशत प्रांगारिक (कुहिने) फोहोरहुन्छ । तसर्थ प्रत्येक व्यक्तिले दिनहुँ १९० ग्राम प्रांगारिक फोहोर वातावरणमा फ्याँक्ने गर्छ । यस अनुसारउपत्यकामा दैनिक ९५० मेट्रिक टन त्यस्तो फोहोर जम्मा हुने गरेको छ । अर्थात्, वार्षिक करिब ३ लाख ४७ हजार मेट्रिक टन ।

प्रांगारिक फोहोर कुहाएपछि निस्कने मिथेन ग्यासलाई घरायसी र औद्योगिक प्रयोजनमा लगाउन सकिन्छ । बायोग्यास निकालिएपछिको फोहोरको बाँकी थेग्रामा नाइट्रोजन, फोस्फरस र अन्य बिरुवाका लागि चाहिनेपोषण प्रचुर मात्रामा पाइन्छ । फोहोर पानी, मानव मलमूत्र, गोबर, कुखुराको मल आदिबाट सहजै रासायनिक मल तयार गर्न सकिन्छ ।

फिनल्यान्डमा चक्रीय अर्थतन्त्र अवधारणा प्रचलित छ । यही कारण बायोग्यास कम्पनी बढिरहेका छन् । फिनल्यान्डले तरल इन्धन र विद्युत् पनि उत्पादन गर्छ । बायोग्यास निखारिएपछिको तरल थेग्रा (डाइजेस्टेड) मा गह्रौं धातु र जीवाणु पनि प्रशस्तै पाइन्छन् । यो तरल मललार्ई खेतसम्म ढुवानी गर्नु कठिन र खर्चालु हुन्छ ।

हालै हामीले विकास गरेको नाइट्रोजन–फोस्फरस हार्भेस्ट प्रविधिका माध्यमले भने तरल मललाई उपचार गरी त्यसबाट एमोनियम सल्फेट, एमोनियम फस्फेट र क्याल्सियम फस्फेट जस्ता रासायनिक मल उत्पादन गरिएको छ । यी उत्पादन खनिज मलजस्तै छन् । कम्पोस्ट झोल र मानव मूत्रबाट पनि खनिज मल उत्पादन भइरहेको छ ।

काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष करिब ५ लाख ५० हजार क्युबिक मिटर मानवमूत्र संकलन गर्न सकिन्छ, जसबाट २० हजार टन एमोनियम सल्फेट रासायनिक मल उत्पादन हुन्छ । यसले ५ हजार बिघा खेतीयोग्य जमिनलाई उर्वर बनाउन सकिन्छ । तर मानवमूत्र थोरै मात्र संकलन गर्न सकिएको छ । प्रांगारिक मलको असर ढिलो हुने हुँदा ठूलो मात्रामा रासायनिक मल आवश्यक पर्छ । नाइट्रोजन–फोस्फरस हार्भेस्ट प्रविधि नेपालका लागि निकै उपयोगी हुन्छ ।

काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार, ५ सय लिटर क्षमताको एउटा चलायमान शौचालयबाट करिब २५ हजार रुपैयाँ प्रतिमहिना नाफा कमाउन सकिन्छ । यस्ता ४८ शौचालय सहरका विभिन्न भागमा राख्न सकिन्छ । सहरमा चलायमान शौचालयको संख्या बढाउनु राम्रोविकल्प हुनसक्छ ।

सुपरमार्केट, विमानस्थल जस्ता सार्वजनिक ठाउँमा मूत्रछुट्याउने शौचालय बनाउन प्रोत्साहित गर्नुपर्छ । काठमाडौंबाहेक अन्य ठूला सहरमा पनि यो विधि प्रयोगमा ल्याउन सकिन्छ । संकलित मानवमूत्रलाई उपचार र पुनर्प्रयोग गर्ने व्यवस्था नेपालमा छैन । त्यसैले बहुमूल्य मानवमूत्र ढलका रूपमा खेर गइरहेको छ ।

मल बनाउने प्रविधि भित्र्याउन सकिए मानवमूत्रलाई पनि पुनर्प्रयोग गर्न सकिन्छ । फोहोर व्यवस्थापनका लागि पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडल दिगो उपाय हुन सक्छ । यो मोडलमा निजी क्षेत्रले नगरपालिकाको ठोस फोहोर र मानव मलमूत्र संकलन तथा प्रशोधन गरी बायोग्यास उत्पादन गर्न सक्छ । यसबाट निष्कासित थेग्रा तरल मललाई प्रशोधन गरी रासायनिक मल उत्पादन गर्न सकिन्छ ।

नेपालमा कसरी काम गर्ने ?
फोहोरको मात्रा र किसिम तथा बजारको माग बमोजिम विभिन्न फोहोरबाट फरक विधिले खनिज मल उत्पादन गर्न सकिन्छ । फोहोरबाट खनिज मल बनाउने व्यवसायलाई पीपीपी मोडलमा सञ्चालन गर्नु बढी उपयुक्त देखिन्छ, यसमा स्थानीय निकायको प्रमुख भूमिका हुन्छ । निजी क्षेत्रको सहभागितामा यो कार्य दिगो हुनेछ ।

यद्यपि फोहोरबाट खनिज मल बनाउने प्रविधिको पूर्ण रूपमा परीक्षण त गरिएको छैन, तैपनि प्रयोगशाला स्तरमा यसको लागत मूल्य निर्धारण गरिएको छ । विभिन्न तत्त्व (जस्तै— फोहोरको किसिम, ढुवानी दूरी, मौसमी अवस्था आदि) ले लागत मूल्यलाई फरक पार्छन् । नेपालमा वार्षिक औसत तापक्रम ३० डिग्री सेन्टिग्रेड हुने हुँदा यो विधिले कम ऊर्जार् खपत गर्छ ।

खनिज मललाई सुकाउन सौर्य ऊर्जार् उपयोग गर्न सकिन्छ । तर फिनल्यान्डमा सौर्य ऊर्जार्को कमीले प्रशस्त ऊर्जार् खनिज मल सुकाउन खर्च हुन्छ । यो प्रविधिमा खनिज मल उत्पादन गर्न २३ हजार रुपैयाँ प्रतिटन लागत लाग्छ । यो विधिमा २८ हजार रुपैयाँ प्रतिटनको दरमा आम्दानी हुन्छ । यस हिसाबले ५ हजार प्रतिटन नाफा कमाउन सकिन्छ ।

सन् २०१८ मा ७ लाख मेट्रिक टन रासायनिक मलको माग भएकामा नेपालले केवल ३ लाख २५ हजार मेट्रिक टन आयात गरेको थियो । विदेशबाट आयात गर्नुपर्ने परिमाणमध्ये केही भारतसँंगको खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिन्छ । नेपालमा विशेष गरी भारतबाटै अधिक परिमाणमा रासायनिक मल भित्र्याइन्छ । नेपाल र भारतको एउटै मनसुन वर्षा प्रणाली भएको हुँदा एकै समयमा मुख्य खेतीपाती हुने गर्छ । भारत आफैले रासायनिक मलको अभाव झेलिरहेको छ । त्यसैले चाहेर पनि भारतले नेपाललाई पर्याप्त मल दिन सक्दैन ।

नेपालमा लगभग ३१ लाख बिघामा खेती गरिन्छ ।सहरी फोहोरलाई प्रशोधन गरी रासायनिक मल उत्पादन गर्ने हो भने करिब ७८ प्रतिशत खेतीयोग्य जमिनलाई उर्वर बनाउन सकिन्छ ।

नेपालको ४२ प्रतिशत जनसंख्या सहरमा छ । प्रत्येक वर्ष करिब ५ प्रतिशतका दरले यो बढिरहेको छ । सहरी क्षेत्रमा ठूलो मात्रामा निस्कने फोहोर कृषि जमिनको अभावमा ज्यादै कम मात्रामा कम्पोस्ट मलका रूपमा पुनर्प्रयोग हुने गर्छ । त्यसैले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई भिन्न दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।

नेपालमा रासायनिक मल कारखाना छैन । आवश्यक मल भारतसहित टर्की, इजिप्ट, चीनबाट आयात गरिन्छ । नेपालले वैकल्पिक मल रणनीति अपनाउनुपर्छ । त्यो भनेको सहरी फोहोरलाई पुनर्प्रयोग नै हो । जैविक रासायनिक मल (कम्पोस्ट मल र रासायनिक मलको मिश्रण) को उत्पादन अर्को विकल्प हुनसक्छ ।

यो मलमा पोषणको मात्रा बढी हुने भएकाले धेरै उत्पादन दिनसक्छ ।जैविक–रासायनिक दाना मलले अहिले बन्ने रासायनिक मलभन्दा ५० प्रतिशत कम ऊर्जा प्रयोग गर्छ । यसले ऊर्जार् बचाउ गर्नुका साथै हरितगृह ग्यासको उत्सर्जनमा पनि कमी ल्याउँछ । हामीले त्यागेका मूत्र संकलन गरी युरिया उत्पादन गर्ने हो भने, हाम्रा किसानलाई आवश्यक पर्ने युरिया मल आयात गर्नुपर्नेछैन ।

लेखक फिनल्यान्डकोआल्तो विश्वविद्यालयका अनुसन्धाता हुन् ।
surendra.pradhan@gmail.com

प्रकाशित : भाद्र २, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्