उच्च व्यावसायिक नेतृत्व

सुजीव शाक्य

काठमाडौँ — नम्र स्वभावका, जहिले पनि चिटिक्क देखिने, सबैलाई आदर गर्ने उद्योगपति थिए– प्रभावकर शमशेर राणा । उनीसंँग मेरो करिब ३० वर्षको यात्रा विविध संस्मरण र सम्झनाले भरिएका छन् । ग्लोबल नेपाली : मेरो उनीसँगको प्रथम भेट म सोल्टी होटलमा तालिम लिन जाँदा भएको थियो । उनीसँगको मेरो गहकिलो भेटचाहिँ चार्टर्ड एकाउन्टेन्ट बनेर बधाई लिँदाको थियो ।

उनले प्रोत्साहनसाथै नेपालमा केही गर्न आह्वान पनि गरेका थिए । त्यसबेलासम्म नेपालमा काम गर्ने कि अन्य देशबाट प्राप्त अवसर अँगाल्ने भन्ने दोधारमा थिएँ म । उनीसित जति नजिकिंँदै गएँ, त्यति ग्लोबल नेपालीका रूपमा यहीं बसेर गर्न सक्छु भन्ने विश्वास बलियो हुँदै गयो ।

सायद उनको समयमा नेपालमा धेरै कम व्यक्ति थिए, जसले दिल्ली, लन्डन र वासिङगटन डिसीमा काठमाडौंमा झैं आफ्नो नेटवर्क बनाएर बसे । बेस्मेन्टमा रहेका अफिसका कोठाहरूलाई उनले विश्वको महत्त्वपूर्ण कोठा बनाइसकेका थिए । जहाँ संसारका बिभिन्न ठाउँबाट नाम चलेका व्यक्तिहरू आउँथे र भलाकुसरी गरिन्थ्यो । सत्ता दाउपेचका कुरासम्म हुन्थे । नेपालमै बसेर ग्लोबल हुन सकिन्छ भनी प्रभाकरले सिकाए ।

व्यापारिक शैली ः उनी व्यापारी बनेर जन्मेका पनि होइनन्, तर व्यापारसँंग जोडिँदै गएपछि लगानीकर्ता बनेका हुन् । उनी आफ्नो ‘करिअर’ परराष्ट्र मन्त्रालयबाट सुरु गरेको सुनाउँथे । तर त्यसलाई छाडेर पछि सोल्टी होटलमा म्यानेजर भए । जागिरे भएको २० वर्षपछि लगानीको अवसर आउन थाल्यो र उनी त्यसैका लगानीकर्ता बने । व्यस्थापनमा रहँदा उनले व्यवस्थापकको भूमिका निर्वाह गरे भने लगानीकर्ता बनेपछि लगानीकर्ताको रूपमा बोर्डको भूमिकामा आफूलाई सीमित राखे ।

व्यवसाय प्रोफेसनलहरूलाई चलाउन दिए । व्यवस्थापनमा अब्बल सहयात्रीहरू चाहिने कुरामा जोड दिए । होटल व्यवसायमा उनले ओबराय र पछि इन्टरकन्टिनेन्टलसँंग साँठगाँठ गरे । जलविद्युतमा अमेरिकी कम्पनीसंँग साझेदारी गरे । स्वमित्व र व्यवस्थापनलाई छुट्टै रूपमा हेरे । व्यवस्थापकहरूलाई उनी निकै छुट दिन्थे ।

सायद नेपालमा व्यापारी घरानाहरूले प्रोफेसनल व्यवस्थापकहरूलाई जिम्मा दिएर उद्योग, व्यापार चलाउने देखासिखी भएको भए सिन्डिकेटको आडमा विदेशी लगानीको विरोधमा उत्रेर व्यवसाय गर्नुपर्ने अवस्था आउने थिएन । उनी मसँग सोधिरहन्थे, ‘हाम्रो कर्पोरेट कल्चर देखासिखी गरेर होटल, हाइड्रो, गाडी डिलर गर्नेहरू किन अघि नबढेका होलान् ?’ त्यो प्रश्नको जवाफम खोजिरहेछु ।

नेतृत्व र मार्गदर्शक : नेतृत्वको कुरा गर्दा हामीले गुरु–चेलाको रूपमा हेर्ने गरेका छौं न कि मेन्टर र मेन्टी । सायद यो अवधारणामा विश्वास नगर्ने भएर होला, हामीले यसको नेपाली शब्दहरू पनि बनाएनौं ।

मेरा निम्ति प्रभाकर राणा जागिर दिने व्यक्तिमात्र थिएनन्, मार्गदर्शक थिए । सोल्टीमा पदका भर्‍याङ चढ्दै जाँदा जीवनका अनेक खुड्किलामा उनले प्रभाव पारे । समयको महत्त्व बुझाए । भेटघाट ठिक समयमा सुरु हुने प्रथा बसाले । ९ बजेको बैठक हो भने ८ः५७ सम्ममा बसिसक्नुपर्ने सिकाए । डायरीमा ६ महिना, ९ महिनापछिका कार्यक्रमको समय नोट गर्न सिकेँ । यात्रा गर्दा लबीमा ठ्याक्क समयमा भेटेर बैठकमा जान सिकेँ । आफूले गरेका कामको प्रतिक्रियामा उनी विश्वास राख्थे ।

त्याग्न सक्ने क्षमता : भनिन्छ, मानिसलाई त्याग्न सक्ने क्षमता आउन धेरै गाह्रो पर्छ । तर उनीबाट सबैले सिक्नपर्ने भनेकै त्याग्ने कसरी भन्ने हो । धेरै व्यापारिक घराना, राजनीतिक र अन्य संस्थामा एक पिढीकाले अर्को पिढीलाई नेतृत्व हस्तान्तरण नगर्दा समस्या धेरै आएका छन् । उनी भने कार्यभार त्यागेपछि कहिलै दख्खल दिन फर्कंदैनथे । पेसा, व्यवसाय छोरा सिद्धार्थलाई सुम्पेपछि उनले आफूलाई लागेका विषयमा समय बिताए । छोरालाई भार थाम्न सक्ने भएपछि मात्र नेतृत्व हस्तान्तरण गरे ।

सुशासन र पारदर्शिता ः सुशासन र पारदर्शिताको कुरा आउने बित्तिकै हामीलाई दातृ संस्थाका कुनै प्रतिवेदनको सम्झना हुन्छ । किनकि हामीले यी दुई शब्दलाई धर्ममा मोक्षजस्तो कुरा गर्न सकिने, तर प्राप्त गर्न नसकिने कुराको रूपमा सोचेका छौं । तर उनले नेपालमै बसेर यी दुई शब्दलाई अँगाले ।

उनी भन्थे, ‘कर बढी छ, लगाएको तरिका गलत छ । सरकारले त्यो पैसाको दुरुपयोग गर्न सक्छ भनेर कर तिर्दिन भन्न मिल्दैन ।’ कानुनी रूपमा गलत छ भने कानुनी रूपमै लड्नुपर्ने उनको सोच थियो । तर कर तिर्दिन भन्न मिल्दैन भन्थे । त्यही सिद्धान्त अनुरुप उनले स्थापना गरेका कम्पनीहरू अहिले पनि वर्षेनि कर विभागबाट पुरस्कृत हुन्छन् ।

प्रभाकरसंँगै एउटा युगको अन्त्य भयो । उनका बारे कसैले पुस्तक लेख्लान् । उनको जीवनबाट हामीले सिक्ने कुरा धेरै छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विदेशमा लगानी किन रोक्ने ?

सुजीव शाक्य

काठमाडौँ — माघे संक्रान्तिमा तरुल खाँदा किन हो कुन्नि तरलताको कुरा मनमा आयो । शायद तरुलजस्तो जमिनमुनि बसेका अनेक डलरको सम्झनाले हो कि ! नेपाललिक्सबाट यी तरुल इन्द्रचोक र कति छिमेकी मुलुक हुँदै स्वीट्जरल्यान्डमा बास बसेको थाहा पाइयो ।

कतिचाहिँ भूउपग्रहको माध्यमबाट ब्रिटिस भर्जिन आइल्यान्डमा गएर फेरि त्यही भूउपग्रहको माध्यमबाट नेपाल फर्केछन् । यी १५३ वर्ग किलोमिटरका टापुहरूमा ३५ हजार मानिस बस्छन् । तर तिनले संसारको लगानी चलाउने निपुणता हासिल गरेका छन् । कतिले मलाई सोध्ने गर्छन्, के यी तरुलहरू विदेशिएर तरलता अभाव भएको हो ? अलिअलि असर होला, तर नेपालमा तरलताको विषयमा छलफल जरुरी छ ।

कसको बैंक, को बैंकर
‘अर्थात् अर्थतन्त्र’ किताब लिएर देशका विभिन्न ठाउँमा मैले छलफल गर्दा एउटा सवाल उठ्ने गथ्र्यो । व्यवसायीले बैंकहरूलाई ब्याजदर उच्च भयो, बैंकहरूले धेरै नाफा गरे भनेर गाली गर्छन् । कतिले चोर, डाँका पनि भन्छन् । मेरो जवाफ रहन्छ– बैंकको सेयरमा लगानी नगर्नेहरूले हात उठाउनुपर्‍यो । केही हातमात्र उठ्छन् । बैंकहरूले बेसरी नाफा गरेरबोनस र लाभांश बाँड्दा ङिच्च हाँस्छन् । त्यसबखतसेयरधनीहरूले बैंकलाई नाफा धेरै भयो, लिने ब्याज र दिने ब्याजमा अन्तर धेरै भयो भनेनन् । यी प्रश्न ठिकसमयमा नगरेकाले नेपालमा बैंकहरूबाट लगानीकर्तालाई दिने लाभ उच्च बनाउने प्रतिस्पर्धा भयो । यसबाट अर्थतन्त्रमा ठूलो असर भयो । अरु देशमा पनि घरमा सबभन्दा धेरै गाडी हुनेले ट्राफिकको गुनासो गर्छ । सबैले गाडी संख्या घटायो भने त जाम कम भइहाल्छ ।

नेपाल त्यो केही देशमध्ये एक हो, जसमा व्यापारीले बैंक पनि चलाउन पाउंँछ । धेरै देशमा यस्तो छैन । पसले मानिसले दिमाग पसल चलाउने जस्तै लगाउने भयो । तरकारी किनबेच जस्तै बैंकको सेयर किनबेच गर्नुपर्‍यो । बैंक ठिकसंँग चले–नचले के मतलब ! एटीएम मेसिन चले–नचले केको लिनुदिनु ! कार्ड चलाउँदा रेस्टुराँमा सजिलो कि गाह्रो, के मतलब ! बोर्डमा बसे भत्ता आउनुपर्‍यो, लगानीकर्ता भए बोनस सेयर आउनुपर्‍यो र कर्मचारी भए बोनस आउनुपर्‍यो र भएछ भने विदेशतिर ट्रेनिङमा जानुपर्‍यो । बैंकको सेवा र ग्राहकले पाउने सुविधा ठिक छ कि छैन, बुझ्ने कसलाई चासो वा फुर्सत ? धेरै बैंकका लगानीकर्ता सहकारीतिर पनि लागेका छन् । नेपालको समाजवादको परिभाषामा बैंकभन्दा सहकारी महत्त्वपूर्ण । यसलाई सरकारी अनुगमनबाट पनि छुट छ ।

तरलताको विषयमा बैंकहरूको रुचि धेरै हुनुपर्ने हो । यसमा अनुसन्धान र विश्लेषण जरुरी छ । बसको जस्तो सिन्डिकेट बनाएर र भत्काएर हल हुने छैन । ५० खर्बदेखि १०० खर्बको भ्यालु भएका बैंकहरूले जसरी सिंगल माल्ट ह्विस्की खान राम्ररी सिके, अब बैंकभित्र इकोनोमिस्ट र इकोनोमिक युनिट कसरी राख्न सिक्नपर्‍यो । सुरु–सुरुमा नेपालमा स्थित थिंकट्यांकहरूसंँग सहकार्य गर्ने हो कि ?

चालु पुँजी चाहियो
हामी नेपाली ससाना कुरामा लाग्दालाग्दै देशको अर्थतन्त्रको साइज दस वर्षमा दोब्बर भएको थाहै पाएनौं । हामी जग हालिसकेपछि बाथरुम कहाँ निकाल्ने भनेर सोच्छौं । जति व्यवसाय बढ्यो, त्यति धेरै चालु पँुंजी चाहिन्छ । ३० अर्ब डलरको अर्थतन्त्र ५ प्रतिशतले मात्र बढ्दा पनि डेढ अर्ब डलर अर्थात् डेढ खर्ब रुपैयाँ चाहिन्छ । त्यो नेपालको पुँजीले भ्याउँदैन, नत दाताको सहयोगले ।

त्यसका लागि विदेशी लगानी चाहिन्छ । गत तीस वर्षमा विदेशी लगानीबिना अर्थतन्त्रलाई उच्च वृद्धितिर धकेल्नसकेको देश संसारमा छैन । नेपालले जुन राष्ट्रवादको नाममा विदेशी लगानीलाई अप्ठ्यारो बनाउने गरिएको छ, त्यो सोचबाट निस्कनु पर्नेछ । लगानीका निम्ति गुठी भोजजस्तो लगानी मेला गरेर मात्र हुँदैन । कानुन, प्रक्रियामा भएका समस्यालाई हटाउनुपर्छ । सिन्डिकेटले बाधा–अड्चन ल्याएको छ भने त्यसलाई भंग गर्नुपर्छ । म:म: व्यवसायमा झैं जसले पनि व्यवसाय सुरु गर्नसक्ने र नचले बन्द गर्नसक्ने हुनुपर्‍यो ।

नेपालमा लगानी गर्न कोही लाइन लागिरहेको छैन । हामी अरु देशसँंग प्रतिस्पर्धा गर्दैछौं। लगानी भित्र्याउन देश बाहिर पनि धेरै प्रयास गर्नुपर्छ । विदेश भ्रमणमा जाँदा पार्टीका सम्पर्क समिति, नेपाली विद्यार्थी र सयौं नेपाली संस्थामा गएर भेट्नु र भाषण दिनुभन्दा लगानीकर्तालाई भेट्ने गर्नुपर्‍यो । दूतावासमा तीजको पार्टी गरेर लगानीकर्ता आउने छैनन् ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन संशोधन गर्नुपर्छ । नेपालीले बाहिर गरेको
लगानीबाट आउने फाइदाले तरलताको समस्यासुल्झाउन सहयोग गर्छ ।

नेपालको विषयमा बोल्न सक्नुपर्‍यो । सहयोगको भिखभन्दा लगानीका अवसरहरूबारे चर्चा गर्न सक्नुपर्‍यो । त्यसका निम्ति पढ्नपर्‍यो र प्रस्तुति कसरी गर्ने हो भनेर सिक्नुपर्‍यो । भाषण मात्र दिने बानी गर्‍यो भने कुराकानी गर्न र प्यानलमा बसेर कुरा गर्न कति गाह्रो हुँदोरहेछ भन्ने बोध मानिसलाई भइरहेको छ । त्यसका निम्ति भाषामा निपुणता पनि चाहिन्छ ।

विदेशी टाई लगाउन सिक्यौं, विदेशी कमोडवाला ट्वाइलेट चलाउन सिक्यांै, विदेशी लेबलका मदिरा पिउन सिक्यौं र विदेशमा छोराछोरीलाई पढाउन सिक्यौं, ग्रिन कार्ड र पीआर लिन पनि सिक्यौं । तर किन अंग्रेजी भाषा राम्ररी बोल्न–सिक्न समस्या ? अंग्रेजी बोले नेपाली बिर्सिइँदैन । अंग्रेजी भाषाको ज्ञानलेनेपाली अझ निखारिनेछ । नेपालमा पैसाको तरलता बढाउन विदेशी लगानी चाहिन्छ । त्यस निम्ति हामीले नेपाललाई मार्केट गर्न सिक्नुपर्छ ।

विदेशमा लगानीले फाइदा
लुकी–लुकी रक्सी खाने र खाइरहेको छ भनेर थाहा पाउने समाज छ । लुकी–लुकी विदेशमा लगानी गर्ने र थाहा पाएर पनि नपाएको जस्तो गर्ने समाज हुनु आश्चर्य भएन । विदेशमा नेपाली लगानी दुई किसिमको हुन्छ । एउटा कानुनी रूपमा गर्न नमिलेर बिभिन्न बाटोबाट गर्न बाध्य हुने लगानी र अर्को नेपालमा कर छलेको तथा भ्रष्टाचारबाट आर्जन गरेको रकम विदेशमा गरिएको लगानी वा नेपालै फर्काएर ल्याउने पैसा । दोस्रो प्रकारको लगानीलाई कानुनी प्रावधानमा ल्याउन गाह्रो छ ।

किनकि यसमा राजनीतिक पैसा हुने गरेको पाइन्छ । सिधा हेर्ने हो भने नेपालमा दस प्रतिशत कमिसनतन्त्र छ, वर्षमा यो गैरकानुनी पैसा ६–७ हजार करोड हुने गर्छ । यसको एक चौथाइमात्र बाहिर गयो भने पनि धेरै हुन्छ । लगानीका लागि जाने पैसालाई जान दिनुपर्‍यो, तर राष्ट्र बैंकको स्वीकृतिमा । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन संशोधन गर्न प्रस्ताव एक दशकअघि तयार छ ।

यो प्रस्ताव अनुरुप ऐन संशोधन गर्नुपर्छ । नेपालीले बाहिर गरेको लगानीबाट आउने फाइदाले तरलताको समस्या हल गर्न धेरै सहयोग गर्छ । भारतमा पनि यो संकुचित मनसाय नब्बेको दशकमा बदलियो । अहिले टाटा कम्पनीले चीनमा लगानी गरेर वर्षको १२ खर्बको व्यापार गरेर रकम भारत भित्र्याउँछ ।

नेपालको अर्थतन्त्र पहिलेजस्तो होइन । यो गरिब मुलुक पनि होइन । यसको समस्या छिटो–छिटो बढ्ने बच्चाको जस्तो हो । धेरै कुरामा ध्यान दिनुपर्छ, विशेषगरी पोषणको । तरलता अर्थतन्त्र वृद्धिका निम्ति चाहिने पोषण हो । यो पार्टीगत, जातिगत कुरा होइन । न यो एनजीओको गोष्ठीबाट समाधान हुने समस्या हो । यसलाई नेपाली अर्थतन्त्रको समृद्धितिर कसरी लाने भनेर नयाँ लेन्सबाट हेर्न जरुरी छ ।

प्रकाशित : माघ १७, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT