कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला हिंसा झन्–झन् बढ्दै

लक्ष्मी बखाद्यो

काठमाडौँ — कहीँ कतै कुनै अपराध भएको सुनिए त्यसमा कुनै पुरुषकै हात होला भन्ने पहिलो अनुमान धेरैजसोले गर्ने गर्छन् । त्यो अपराधमा महिलाको संलग्नता होला भनेर कमैले सोचेका हुन्छन् । हाम्रा धर्मग्रन्थ अनुसार दुर्गा, सरस्वती, काली, लक्ष्मी सबै देवीले जनकल्याण नै गरेका छन् । दानव पुरुष नै हुने गरेका छन् ।

महिला हिंसा झन्–झन् बढ्दै

महिलालाई दानवका रूपमा उल्लेख गरिएका धर्मग्रन्थ विरलै छन् । आपराधिक मानसिकता हुन्न भन्ठानेरै महिलालाई माया र स्नेहको खानी मान्ने गरिएको हो ।


प्रायः फौजदारी मुद्दाको पक्ष महिला भए ती महिला पीडितका रूपमा हुन्छिन् । तथ्यांकले पनि यही दर्शाउँछ । प्रत्येक जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाका लागि छुट्टै सेल हुनु र पीडित महिलाका लागि आकस्मिक आश्रयस्थलको व्यवस्था गरिनुले पनि महिला विरुद्धका अपराध धेरै हुने गरेको प्रस्ट पार्छ ।


केन्द्रीय प्रहरी कार्यालय नक्सालले प्रकाशन गरेको बुलेटिन अनुसार, जबर्जस्ती करणीका १५५ मुद्दा फागुनमा मात्रै दर्ता भएका थिए । मानव बेचबिखन तथा ओसारपसार, बहुविवाह, बालविवाह, बाल यौन दुराचार, जबर्जस्ती करणी, बोक्सीको आरोपमा कुटपिट, घरेलु हिंसाजस्ता अपराधहरूको तथ्यांक पनि बढेको पाइयो । उक्त कार्यालयले २२ वर्षयताको महिला तथा बालबालिका विरुद्धको अपराधको तथ्यांक अन्वेषण गर्दा पनि अपराधको संख्या निरन्तर बढेकै दर्शिएको छ (हेर्नुस् तालिका) ।


अपराधमा महिला पनि बढ्दै

महिला विरुद्ध अपराध बढेझैं अपराधमा महिला पनि बढिरहेका छन् । कारागारमा महिला कैदीहरूको संख्या बढ्दै गएको छ । कारागार व्यवस्थापन विभागको तथ्यांक हेर्दा, नेपालका सबै ७४ कारागारमध्ये २२ वटामा बाहेक अन्यत्र महिला कैदी छन् । २०७२ चैतसम्म महिला कैदीको संख्या १,३०३ थियो भने २०७५ फागुनसम्म यो संख्या बढेर १,३७१ पुगेको छ ।


‘नेपाल कानुन पत्रिका’को हालैको अंकमा २०६६ देखि २०७५ माघसम्मका ५०८ फौजदारी मुद्दाका नजिर प्रकाशित छन् । त्यस्ता २११ मुद्दामा महिलापक्ष छन् । तीमध्ये १४० मुद्दामा महिला पीडित छन् भने ७१ वटामा अभियुक्तका रूपमा । जबर्जस्ती करणीलाई साधारणतया महिला विरुद्ध अपराध मानिन्छ । नेपाल प्रहरीको २०७४ को वार्षिक प्रतिवेदनले भने अर्कै चित्र प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७३–७४ मा घटित जबर्जस्ती करणीका मुद्दाका १,२८० अपराधीमध्ये २७ जना महिला थिए ।


भलै महिला अपराधीको संख्या पुरुषका दाँजोमा न्युन छ, तथापि यसलाई बेवास्ता गर्न भने सकिँदैन । मानव बेचबिखन, कर्तव्य ज्यान, ठगी, जालसाजी, किर्ते, बैंकिङ कसुर, अपहरण, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, लागुपदार्थ ओसारपसार आदि प्रकृतिका अपराधमा महिलाको संलग्नता बढी पाइएको छ । महिला अपराधीले आफ्नै पति, सन्तान, नातागोतालाई बढी पीडित बनाइरहेको पनि तथ्यांकले देखाउँछ ।


महिलाले जब कैद जीवन बिताइरहेका हुन्छन्, तब उनीहरूमा आश्रित बालबालिका पनि कारागार परिसरभित्र रुमलिन बाध्य हुन्छन् । बुबा कारागारमा रहे बालबालिकालाई आमाले हेरविचार गरिरहेकी हुन्छिन्, तर आमै कैद भोग्नेमा पर्दा नाबालक सन्तानको बिचल्ली नै हुन्छ ।


तसर्थ महिला अपराधमा संलग्नताको विषय तिनमा आश्रित बालबालिकाको पनि हो । सुधारात्मक दण्ड प्रणालीको बहस चलिरहेको अहिलेको समयमा अपराध दिन–प्रतिदिन बढिरहेसँगै तिनमा महिलाको संलग्नता बढ्नु चुनौतीको विषय हो ।


लेखक काठमाडौं स्कुल अफ लकी उपप्राध्यापक हुन् ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?