नियमन बाहिर तयारी कक्षा 

निजामती सेवा प्रवेशका लागि तयारी कक्षा चलाउने संस्थाहरूले मनोमानी शुल्क लिन्छन् । उच्च तहका कर्मचारीले अनुमति नलिई प्रशिक्षण दिन्छन् ।
ज्योत्सना आचार्य

काठमाडौँ — काठमाडौं उपत्यका र जिल्ला सदरमुकाममा निजामती सेवा तथा अन्य सरकारी र संस्थानको जागिर प्रवेशका लागि तयारी कक्षा पढाउने संस्था बाक्लै देखिन्छन् । रोजगारीको आशका कारण महँंगो भए पनि त्यस्ता कक्षामा युवाको आकर्षण बढ्दो छ ।

विभिन्न गैरसरकारी तथा जातिगत संस्थाहरूले पनि कहिलेकाहीं तयारी कक्षा चलाउने गरेका छन् । कतै–कतै स्थानीय निकायले समेत यस्ता कक्षा चलाएको पाइन्छ । निजामती सेवा लगायत अन्य सरकारी निकायमा सेवा प्रवेशका लागि तयारी कक्षा लिनैपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ ।


तयारी कक्षाहरू प्राय: बिहान–बेलुका हुन्छन् । कतिपयले दिउँसोसमेत चलाउँछन् । प्रशिक्षकहरू अधिकांश निजामती कर्मचारी हुने गर्छन् । निजामती सेवा ऐन, २०४९ को दफा (४९ क) ले निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्नेगरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन भनेको छ ।


उपदफा २ (ङ) ले अख्तियारवालाको पूर्वस्वीकृति लिई कार्यालय समय बाहेकको समयमा शैक्षिक, प्राज्ञिक वा प्रशिक्षण संस्थामा प्रशिक्षण वा अनुसन्धान गर्न सक्ने भनेको छ । तर तयारी कक्षामा अधिंकाश निजामती सेवाका मूलत: शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारी अख्तियारवालाको स्वीकृति नलिई निजामती पोसाकमै प्रशिक्षण दिइरहेका हुन्छन् ।


कति तयारी कक्षा सञ्चालन गर्ने संस्थामा निजामती सेवाका उच्च तहका कर्मचारीको लगानी र व्यवस्थापकीय संलग्नता देखिन्छ । तिनै उच्च कर्मचारीको नाम जोडेर परीक्षामा सहज हुने भ्रम सिर्जना गरी विद्यार्थी आकर्षण गरिन्छ । अभिमुखीकरण कक्षामा फलाना सचिव, फलाना सहसचिव आउने भनी प्रचार गरिन्छ । उनीहरूले लोकसेवामा प्रश्नपत्र यसरी बनाइन्छ, उत्तर पुस्तिका परीक्षण गर्न सक्छौँ भन्छन् र अन्तर्वार्तामा आफू कैयनपटक बसेको पनि सुनाउँछन् । यसो भन्नु कतिको जायज हो ? सम्बन्धित निकायलाई कत्तिको बोध छ ?


बिहान १०/११ बजेसम्म तयारी कक्षामा पढाउने अनि खाना खाएर ढिला कार्यालय जाने, दिउँसो मिलाएर फेरि त्यतै धाउने कर्मचारी पनि देखिन्छन् । कतिपय भने बेलुका पनि छिटै कार्यालय छाडी सरकारी सवारी साधनमा तयारी कक्षामा लम्कन्छन् । प्रशिक्षणमा उनीहरू आफूलाई आदर्श पात्रका रूपमा देखाउन खोज्छन् । कोही–कोहीले सरकारी गोप्य सूचनासमेत प्रवाह गरिरहेका हुन्छन् । मन्त्रालयमा भेट्न, बोल्न नमान्ने सचिव, सहसचिवहरूले तयारी कक्षामा साथीजस्तो बनी व्यहार गर्छन् ।


करिब २ घन्टा प्रशिक्षण दिए बापत ३५ सयदेखि ५ हजार रुपैयाँ पाउने हँुदा यस्ता तयारी कक्षामा उच्च तहको कर्मचारीको आकर्षण बढेको हो । तयारी कक्षा चलाउने संस्थाहरू शुल्क निर्धारण मनोमानी छ । शाखा अधिकृतको तयारी कक्षा दिनको दुई घन्टाका दरले करिब ३ महिना गराइन्छ । एक कक्षामा ८० देखि १०० जनासम्म राखिन्छ । शुल्क भने प्रशिक्षार्थीले संस्था हेरी ४० हजार रुपैयाँसम्म तिर्नुपर्छ । ‘कमाण्डो कक्षा’ नाम दिएर १५ दिने प्रशिक्षणका लागि महँगो शुल्क पनि लिने गरिन्छ ।


केही वर्ष पहिले निजामती सेवा ऐनको चौथो संशोधन गर्दा यस्ता केही संस्थाका कारण अनुमति लिएर यस्ता संस्थामा निजामती कर्मचारीले प्रशिक्षण गर्न पाउने व्यवस्था गरेको विभिन्न मिडियाबाट सुनिएको थियो । यस्ता प्रशिक्षण संस्था सोझो रूपमा व्यापारिक केन्द्र हुन् । तिनीहरूको त्यही अनुरुप अनुगमन गर्न जरुरी छ । संघीय निजामती सेवा ऐनले यस्ता व्यापारिक प्रशिक्षण संस्थामा प्रशिक्षक बन्न निजामती कर्मचारीलाई पूर्ण रोक लगाउने व्यवस्था गर्न जरुरी छ ।


लोकसेवा आयोग तुलनात्मक रूपमा निष्पक्ष रहेको मानिन्छ । यसका परीक्षा पद्धति, नतिजा, सिफारिसमा धेरैले विश्वास गर्छन् । केही वर्षदेखि निजामती सेवा बाहेक प्रहरी, सेना, संस्थान आदिका लिखित परीक्षामा लोकसेवा आयोगले जिम्मेवारी पाएको छ ।


के तयारी कक्षाका नाममा खुलेका प्रशिक्षण संस्थामा नपढी, नधाई लोकसेवाका परीक्षा उत्तीर्ण गर्न सकिँदैन ? के त्यस्ता प्रशिक्षण संस्थामा पढाउने प्रशिक्षकहरूले भनेझैं तिनको पहुँचमा प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्तामा सामेल र भनसुन हुन्छ ? तयारी कक्षामा पढाउने र सिकाइने कुराको सुगा रटानबाट मात्रै लोकसेवाका परीक्षा उत्तीर्ण भइन्छ ? यसतर्फ लोकसेवा आयोगले पनि सोच्नुपर्छ । यस्ता प्रशिक्षण संस्था नधाई स्वअध्ययन, विश्लेषणबाट सम्भव हुने परीक्षा प्रणाली लोकसेवा आयोगले अवलम्बन गर्नुपर्छ । प्रकाशित : पुस ३०, २०७५ ०७:४७

प्रतिक्रिया
पठाउनुहोस्

वन्यजन्तुलाई हिउँद मुस्किल

हिउँदे समय धेरै लम्बिँदा वा अति चिसो हुँदा बसाइँ–सराइ गर्न नसक्ने जीवहरू शरीरको तापक्रम स्थिर गर्न नसकेर मर्छन् । 
पुष्पराज आचार्य

काठमाडौँ — पर्वतीय भूगोल भएकाले नेपालमा स्पष्ट ग्रिष्म र हिउँदकालीन मौसम हुन्छ । गर्मी समय प्राणीहरूका लागि अनुकूल समय हो भने हिउँद प्रतिकूल । हिउँदमा वातावरणको तापक्रममा अत्यधिक कमी आउँछ । यो मौसममा बाँच्न जीवहरूले उपयुक्त रणनीति अपनाउन सक्नुपर्छ । कतिपय जीवहरू चिसो सामना गर्न नसकेर मर्छन् । कतिपय बसाइँ सर्छन् । कुनै शीत निद्रामा बस्छन् । 

प्राणीशास्त्रमा जीवहरूलाई चिसो र तातो रगत भएका गरी दुई वर्गमा विभाजन गरिन्छ । तातो रगत भएका प्राणीहरूले आफ्नो शरीरको आन्तरिक तापमान वर्षैभर स्थिर कायम राख्न सक्छन् । चिसो रगत भएका प्राणीका शरीरको आन्तरिक तापक्रम वातावरणमा हुने तापक्रमको उतार–चढाव अनुसार बदलिने गर्छ । तातो रगत भएका जीवहरू स्तनधारी र पन्क्षी वर्गका हुन् । सर्प (सरिसृप), उभयचर (भ्यागुता वर्ग), मत्स्य (माछा वर्ग) र अन्य ढाड भएका प्राणी, किराहरू, चिप्लेकिरा, जंगलका जुका आदि चिसो रगत भएका जीव हुन् ।

चिसो रगत भएका प्राणी हिउँदभर सुरक्षित स्थान सुषुप्त अवस्थामा बस्ने गर्छन् । यी जीव हिउँद अवधिभर लामो शीत निद्रामा लुक्ने गर्छन् । तातो रगत भएका स्तनधारी या पन्क्षीहरू कतिपयले हिउँद लागेपछि उष्णीय क्षेत्रमा बसाइँ–सराइ गर्छन् । बसाइँ–सराइ गर्नेमा पन्क्षी विशेष मानिन्छन् । हिउँदको महिनामा चिसो छल्न साइबेरियादेखि चराहरू नेपालका विभिन्न सिमसार क्षेत्रमा आउने गरेको पन्क्षीविदहरूले बताउँदै आएका छन् । स्तनधारी जनावरहरूमा कतिपय ठूला हुन्छन् भने कतिपय साना । शरीरको तापक्रम स्थिर पार्नका लागि साना स्तनधारी जीवहरूलाई मुस्किल हुने गर्छ । बसाइँ–सराइ गर्न सक्ने जीवहरू उष्ण वातावरणतिर लाग्छन् ।

काठमाडाैंको लैनचौरस्थित प्टेरोपस जातिका फलहारी चमेराहरू अंग्रेजी नयाँ वर्षको आसपासमा काठमाडौं छाडेका छन् । यिनीहरूले काठमाडाैंको ठन्डी वातावरणको जैविक सूचकको काम गरेका छन् । कतिपय साना प्रजातिका चमेराहरू चरा या ठूला प्रजातिका चमेराजस्तो बसाइँ–सराइ गर्न सक्दैनन् । तिनीहरू साविकको ठन्डी वातावरणमा हिउँद बिताउन बाध्य हुन्छन् ।

यस्ता जीवहरूको वजन हिउँद अगाडि सर्वाधिक हुने गर्छ । हिउँद पश्चातको वजन सबैभन्दा न्युन हुने गर्छ । कारण के हो भने हिउँदको ठन्डी मौसमभर यिनीहरू आफ्नो शरीरको बोसोमा स्टोर भएको ऊर्जा खपत गर्छन् र शरीरको तापमान स्थिर राख्ने गर्छन् । हिउँदे समय धेरै लम्बिने हो भने अथवा वातावरणको तापक्रमम अति न्युन हुने हो भने यी जीवहरू ठन्डीका कारण मर्ने गर्छन् । जीवविज्ञानमा यो समस्यालाई हाइपोथर्मिया भनिन्छ । यतिबेला काठमाडौंका मन्दिर या बाटाघाटामा परेवा मरेको भेटिन्छ । त्यो हाइपोथर्मियाका कारण हुनसक्छ ।

हाइपोथर्मियाबाट बाँच्न जीवहरू काँप्ने गर्छन् । छोटो–छोटो अवधिका लागि शीत निद्रामा जाने गर्छन् । मौरी, पुतली, गाइनेकिराहरू थरथर काँप्नुको कारण पनि शरीरको तापक्रम बढाउनलाई हो । यतिबेला पहाडी भेगका गुफा, पहरा, घरका भित्ता, चेप, रुखका प्वाल, होर्डिङ बोर्डका चेपमा लुकेर थुर्पै जीवले तातो वातावरणको खोजी गरिरहेका हुन्छन् । कतिपय जंगली जनावर किफायती तवरले सिकार गर्नका लागि गाउँ, गोठ छेउछाउ बस्ने गर्छन् । हिउँदको समयमा पहाडी क्षेत्रमा गाई, बाख्रा, भैंसी आदि घरपालुवा जीव बढी आक्रमणमा पर्ने कारण पनि यही हो ।

नेपालमा हिउँद महिनामा वन्यजन्तुको सिकार बढ्ने गर्छ । ठन्डी मौसमका कारण एक त जीवहरूमा निस्क्रियता बढ्छ । मांसाहारी जीवहरू जस्तो– स्याल, चितुवा, ब्वाँसो, भालु, हिउ चितुवा आदि कुनै खास आहारका लागि निश्चित ठाउँमा ढुकेर बस्ने गर्छन् । यी जीवहरू सीमित क्षेत्रमा चिसो मौसम सामना गरेर बस्ने हँुदा चोरी सिकारीको जोखिममा हुन्छन् । उच्च हिमाली भूभागमा हिमपात भएपछि मृग, घोरल, नाउर, कालिज, डाँफेजस्ता जीव ओरालो लाग्छन् । यही मौकामा सिकारको जोखिममा पर्ने गर्छन् ।

मंसिर र पुस महिनाभर अखबारमा देशका विभिन्न भूभागमा कालिजको अवैध सिकार भएका समाचार आएका छन् । हिउँदको समयमा जंगल झाडीमुक्त हुने गर्छन् । पहाडका जंगलदेखि तराईका घाँसे मैदानहरू हिउँदमा सफा र सुक्खा हुन्छन् । सिकारीलाई जंगलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ । मकवानपुर, चितवन, धादिङ क्षेत्रमा चिउरीको फूलमा रस चुस्न आउने चमेराहरू महिनाभर स्थानीय सिकारीको फन्दामा पर्ने गरेका छन् ।

वन्यजन्तु सिकारको राजकीय र राणाकालीन अभ्यासहरू पनि हिउँदमै हुने गरेको पढ्न पाइन्छ । ढोरपाटन सिकार आरक्षणमा हिउँदे महिनामै सिकार गर्न पर्यटक आउने गर्छन् । यसर्थ वन्यजन्तु चोरी सिकारी रोक्ने हो भने हिउँदमा सम्बन्धित सबै निकाय अत्यन्त चनाखो हुनुपर्छ । सामुदायिक वन व्यवस्थापक, स्थानीय मानिस, प्रहरी प्रशासन, विद्यार्थी, अनुसन्धानकर्ता सबैको ध्यान यसमा जान जरुरी छ ।

वन्यजन्तुका लागि हिउँदको समयमा वातावरणीय प्रतिकूलता छ । त्यस प्रतिकूलताबाट बच्न मानव सिर्जित वातावरणको नजिक आउँदा तिनीहरू उल्टो आक्रमणमा पर्ने जोखिम छ । यो उनीहरूका लागि मुस्किलको समय हो । हामीले आफ्नो वातावरणमा वन्यजन्तुलाई सक्दो सहयोग गर्न सक्नुपर्छ । घर, मठमन्दिर आसपासमा चराका लागि कृत्रिम घर बनाइदिन सकिन्छ । जस्तो कि गाैंथलीको गुँड प्राय: घरहरूमा हुने गर्छ ।

गुफा, पहरा, रुखका टोड्का, जमिनभित्रका प्वाल आदिमा वन्यजीव भए तिनलाई संरक्षण गर्न आवश्यक छ । नेपालमा अत्यधिक चोरी सिकारीमा परेको जीव सालक हिउँद मौसममा खेतबारीको जमिनमा प्वाल बनाएर गुटुमुटु परी बस्न सक्छ । कृषकहरू समेत चनाखो हुनुपर्छ ।

लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा कार्यरत छन् ।

प्रकाशित : पुस ३०, २०७५ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×