कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गृहमन्त्रीको राजीनामा माग्दै कोटेश्वरमा तरुण दलको राँके जुलुस

काठमाडौँ — सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सत्ता र शक्तिको रवैया देखाएको भन्दै नेपाल तरुण दलले बिहीबार राँके जुलुस निकालेको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै कोटेश्वरमा तरुण दलको राँके जुलुस

लामिछानेमाथि संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने र लामिछानेले तत्काल गृहमन्त्रीबाट राजीनामा दिएर अनुसन्धानका लागि सघाउनुपर्ने भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले लामिछानेको राजीनामा समेत मागेको छ ।

काठमाडौंको कोटेश्वरमा निकालिएको राँके जुलुसको अध्यक्ष विद्वान गुरुङले सुरुवात गरेका थिए । सो क्रममा नेता कार्यकर्ताहरुले 'नालायक गृहमन्त्री राजीनामा दे, जीबी राई कहाँ छ ?, कैलाश सिरोहियालाई रिहा गर, प्रेस स्वतन्त्रता जिन्दावाद' भन्दै नाराहरु लगाएका थिए ।

तरुण दलको प्रदर्शनलाई लक्षित गरेर कोटेश्वरमा बाक्लो प्रहरी परिचालन गरिएको थियो । र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय सदस्य अशोक झाले गृहमन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गरी आफू संलग्न रहेको सहकारी ठगी छिपाउन खोजेको र त्यसबारे समाचार लेखेकै आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई पक्राउ गरेको भन्दै विरोध जनाए ।


संसद्‌मा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै अवरोध गरिरहेको कांग्रेसले बुधबार केन्द्रीय समिति बैठकबाट सहकारी ठगी विरुद्ध देशभर विरोध प्रदर्शन गर्न भ्रातृ संस्थाहरुलाई आह्वान गरेको थियो भने काठमाडौंमा कांग्रेसले जेठ १३ गते बृहत् जनप्रदर्शन गर्ने जनाएको छ ।


प्रकाशित : जेष्ठ १०, २०८१ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?