कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कैलाश सिरोहियाको पक्राउमा राज्यको प्रतिशोध देखियो : आईपीआई नेपाल च्याप्टर

काठमाडौँ — इन्टरनेसनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले कान्तिरपुर पब्लिकेशन्स्‌का अध्यक्ष कैलाश सिरोहियालाई उनकै कार्यकक्षबाट गरिएको गिरफ्तारीप्रति गहिरो चासो व्यक्त गरेको छ ।

कैलाश सिरोहियाको पक्राउमा राज्यको प्रतिशोध देखियो : आईपीआई नेपाल च्याप्टर

महासचिव शिरोमणि ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै कान्तिपुरले सहकारीको रकम हिनामिनाका विषय प्रकाशन/प्रसारण गरिरहेको बेला अध्यक्ष सिरोहियालाई पक्राउ गर्नुले राजनीतिक प्रतिशोधको आशंका गर्ने ठाउँ दिएको बताएका छन् । ‘जुन समयमा सिरोहिया पकाउ परेका छन्, त्यसले सरकारको रवैयामाथि प्रश्न उठेको छ । यो कदम राजनीतिक प्रतिशोधको लागि लिइएको त होइन भन्ने आशंकासमेत गर्न सकिने ठाउँहरू छन्,’ विज्ञप्तिमा भनिएको छ ।

आईपीआई नेपाल च्याप्टर प्रतिशोध र राज्यशक्तिको दुरुपयोगबाट निर्देशित भएर गरिने कार्यहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुने बलियो विश्वास राख्ने उल्लेख गरिएको छ । सरकारलाई यस प्रकारको क्रियाकलाप नगर्न र मिडिया जगतलाई डरबिना काम गर्ने वातावरण सृजना गर्नसमेत च्याप्टरले आग्रह गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रतासहित राजनीतिक सहभागिता, पारदर्शीता, स्वायत्त संस्थाहरुको प्रवर्द्धन र जवाफदेहीता लगायतको सुनिश्चितताले मात्रै लोकतन्त्र बलियो हुनसक्ने उनले बताए । ‘यस सन्दर्भमा आईपीआई नेपाल च्याप्टर सरकारलाई लोकतन्त्रको मूल्यमान्यतामा पूर्ण प्रतिबद्ध रहँदै प्रेस स्वतन्त्रता र जनताको सूचनाको हकको लागि उपयुक्त वातावरण सृजना गर्न अपिल गर्दछ,’ विज्ञप्तिमा छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा सम्भावित संलग्नताबारे कान्तिपुर र अंग्रेजी भाषाको द काठमाडौं पोष्टमा श्रृंखलाबद्ध समाचारहरू प्रकाशित भइरहेकै समयमा नेपाल प्रहरीले सिरोहियालाई मंगलबार केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?