२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कुटपिट र तोडफोडपछि केएमसीका डाक्टरहरु त्रसित

घनश्याम खड्का

काठमाडौँ — डा. विनिता प्रधान अचेल बिरामीको उपचार गर्न डराउँछिन् । आकस्मिक कक्षमा पुग्दा उनका खुट्टा काँप्छन् । हुलमुलमा एक किसिमको असुरक्षाको भावले उनी असिनपसिन हुन्छिन् ।

कुटपिट र तोडफोडपछि केएमसीका डाक्टरहरु त्रसित

‘त्यस दिनदेखि मेरो मनमा गहिरो डर पसेको छ,’ काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालको आकस्मिक विभागकी प्रमुख डा. विनिता भन्छिन्, ‘कसैले आएर कुटिहाल्छ कि भन्ने डरले तर्सिरहन्छु, यस्तो भइरह्यो भने म कसरी काम गर्न सक्छु र ?’

गत वैशाख १७ गते उक्त शिक्षण अस्पतालमा विरामकिा आफन्तले उनी र उनी मातहतका अरु चिकित्सकमाथि कुटपिट मात्रै गरेनन्, आकस्मिक कक्षमा हिंसात्मक प्रदर्शन गरेर तोडफोड पनि गरे ।

‘अस्पतालका सहकर्मीले मलाई हत्तपत्त तानेर भित्र नलगेको भए त्यस दिन भीडले मेरो ज्यानै पनि लिन सक्थ्यो,' विनिता भन्छिन्,‘इमानदार भएर उपचारमा खट्दाखट्दै यस्तो असुरक्षा आएपछि मनमा आघात पर्दोरहेछ, म काम गर्नै सकिरहेको छैन ।’

सोमबार उनी अस्पतालस्थित आफ्नो कार्यकक्षमा त्रासपूर्ण अवस्थामा दिन गुजारिरहेकी थिइन् । महिला डाक्टरहरुमाथि बारम्बार भइरहेको हातपातले चिकित्सा क्षेत्र असुरक्षित बन्दै गइरहेको भन्दै उनी तोडफोडमा संलग्नलाई राज्यले कारबाही नगरेकाले स्वास्थ्यकर्मीहरुमा आम रुपले त्रास झन् बढ्दै गएको बताउँछिन् ।

अस्पताल प्रशासनका अनुसार चिकित्सकको निगरानीमै ‘कार्डियो एरेस्ट’ भएर ढलेपछि ६२ वर्षीय पदमलाल रिमालको मृत्यु भएको थियो । सँगै अस्पताल आएका ज्वाईं छोरीकै अघिल्तिर उनी ढलेको र दुई घण्टासम्म सीपीआर (मुटुको अवरुद्ध रक्तसञ्चार चालु गराउन छातिमा दबाब दिएर बिरामीलाई गरिने आकस्मिक उपचार) गराउँदा पनि होस नखुलेपछि मृत घोषित गर्दा परिवारजन र उनीहरुले बोलाएर जम्मा भएको भीडले डा. विनितामाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेको थियो ।

‘त्यस दिनदेखि हामी काम गर्न सकिरहेका छैनौं,' आकस्मिक कक्षमा झ्याल तोडफोड हुँदा छातीमा सिसाले काटेपछि त्रसित केएमसीकी अर्की डा. पूजा शाह भन्छिन्, ‘भीड देख्यो कि डर लागेर आउँछ ।’

घटनापछि के भएको रहेछ भनेर सिसिटीभी फुटेजको अध्ययन गर्दा बिरामीका आफन्त आएर एक्कासी चिकित्सकहरुमाथि कुटपिट गरेको देखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले उपलब्ध गराएको सिसिटीभी फुटेजमा सेतो लुगा लगाएका एक व्यक्ति अन्य दुई जनाका साथ आकस्मिक कक्षमा छिर्छन् । हिँडेरै आएका बिरामीलाई आकस्मिक कक्षको ‘ग्रिन जोन’ मा राख्नु पर्ने मेडिकल प्रोटोकल छ ।

‘हामीले त्यसै गरेका थियौं, बेडमा राख्नु बित्तिकै के भयो बुबा भनेर मैले सोधेँ’ डा. कुशल पौडेल भन्छन्, ‘धेरै चिया पिएँ आज, ग्यास्ट्रिक भयो क्यार भन्नु भयो उहाँले, अनि मैले सँगै आएका आफन्तलाई ट्राइसिन जेल भन्ने ग्यास्ट्रिकको औषधी किन्न पठाएँ र उहाँलाई मुटुमा समस्या छ कि भनेर इसिजी गर्न पर्छ भनेर कपडा खोल्न भनेँ ।’

सिसिटीभी फुटेजमा डा. कुशलले भनेझैं पदमलाल सुतिरहेको अवस्थाबाट शय्यामा बसेर इसिजीका लागि सर्ट फुकाल्न थाल्छन् । त्यसै क्रममा एक्कासी उनी भुईँमा झर्छन् । अस्पतालको आकस्मिक कक्षमा होहल्ला चल्छ र चिकित्सक र स्वास्थ्यकर्मीहरु हुर्रिँदै उनी लडेतिर पुग्छन् । अनि, सबै मिलेर अचेत अवस्थाका उनलाई शय्यामा राख्छन् । त्यसलगत्तै सिपिआर गर्न सुरु गर्दै स्वास्थ्यकर्मीहरु बिरामी सुताइएको शय्या वरपर पर्दा लगाउँछन् ।

‘सिपिआर गर्दा पर्दा लगाउनु पर्ने मेडिकल प्रोटोकल नै हो’ डा. विनिता भन्छिन्, ‘बिरामीलाई बचाउन सकिन्छ कि भनेर अन्तिम समयसम्म हामीले मुटुको रक्तसञ्चार खुलाउने प्रयत्न गर्‍यौं, तर उहाँ बौरिनु भएन ।’

यही कुरा आफूले मृतकसँगै आएका र यो सब देखेका छोरी ज्वाईंलाई भन्दा उनीहरुले सामान्य रुपमा लिएको, पछि मृतकका छोरा देवेन्द्र रिमाल आएपछि पनि उनलाई पदमलालको दुःखद निधन भएको जानकारी गराएको र देवेन्द्र बाहिर निक्लेको केही पछि मानिसहरु बटुलेर आई एक्कासी आफूलाई टाउकामा मुक्का प्रहार गर्दा आफू भुईंमा ढल्न पुगेको विनिताले बताइन् ।

केएमसीले कान्तिपुरलाई उपलब्ध गराएको फुटेजमा पनि एक युवाले अचानक डा. विनितामाथि सांघातिक आक्रमण गरेको र त्यस लगत्तै अस्पतालमा व्यापक तोडफोड भएको देखिन्छ । प्रहरीहरु घटनाको समयमा त्यहीँ भए पनि भीड नियन्त्रण गर्न कुनै पलह नगरेकामा केएमसीका चिकित्सकहरु आक्रोशित छन् ।

‘कार्डियो एरेस्ट भयो भने मष्तिस्कमा रगत पुग्दैन र बिरामी बेहोस् हुन्छ, कतिपय अवस्थामा सिपिआर गरे पनि होस फर्काउन सकिन्न, पदमलालजीको केसमा भएको त्यही हो’ डा. विनिता भन्छिन्, ‘हामी डाक्टर कुनै भगवान होइनौं, प्रोटोकल फलो गरेर उपचार गर्दागर्दै पनि मृत्यु हुन सक्छ, मैले यही प्रक्रिया मृतकका आफन्तलाई बताउँदा बताउँदै संघातिक आक्रमण भयो, आक्रमणकारीले मेरो घर परिवारलाई सिध्याएर छाड्छु भनेको छ, त्यो सुन्दा मलाई घरमा पनि असुरक्षित महसुश भइरहेको छ ।’

अस्पतालमा तोडफोड भएको खबर सुनेपछि मात्रै आफूहरु पुगेकाले घटना रोक्न नसकिएको गौशाला प्रहरीको प्रतिक्रिया छ । ‘केही प्रहरीहरु अस्पतालको सुरक्षामा खटिएका त हुन्छन्, तर त्यस दिन उनीहरुको विदा परेकाले त्यहाँ अस्पतालका गार्ड बाहेक सुरक्षा दिने प्रहरी कोही पनि रहेनछ,’ थेवे भन्छन्, ‘घटना भयो रे भन्ने सुन्ने बित्तिकै हामी त्यहाँ पुगेका थियौं ।’

चिकित्सकले गरेको उपचारमा चित्त नबुझे मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने प्रावधान हुँदाहुँदै कुटपिटमा उत्रनुलाई नेपालको कानूनले फौजदारी अपराध मानेको छ ।

‘केएमसीमा जे भएको छ त्यो दण्डनीय नै हो, किनभने सरकारले यस्तो काममा संलग्नलाई ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ’ डिएसपी थेवे भन्छन्, ‘सरकारले अध्यादेश ल्याएरै यो व्यवस्था गरेपछि डाक्टरहरुमाथि कुटपिट घटेको थियो, तर अझै पनि फाट्टफुट्ट घटना चाहिँ भइरहेको छ ।’

सम्बन्धित डाक्टरले जाहेरी दिए कुटपिट गर्नेलाई कानुनी कारबाहीमा ल्याउन प्रहरी तयार भएको उनले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?