२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

१४ मिटर बाँकीमै रोकियो नागढुंगा सुरुङमार्ग

स्थानीयको अवरोधले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम २५ दिनदेखि ठप्प
समाधानका लागि सरकारले सुरु गरेन पहल
विमल खतिवडा

काठमाडौँ — ‘ब्रेक थ्रु’ हुन १४ मिटर मात्र बाँकीको अवस्थामा स्थानीयको अवरोधका कारण रोकिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम २५ दिनदेखि अघि बढ्न सकेको छैन । अन्तिम समयमा आएर स्थानीयले विभिन्न माग राख्दै काम रोकेका हुन् । अवरोधले फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका मात्र प्रभावित भएको छैन, काम सुचारु गर्न सरकारले पहल नगर्दा झनै अनिश्चित बनेको छ । 

१४ मिटर बाँकीमै रोकियो नागढुंगा सुरुङमार्ग

मुख्य सुरुङ २.६८८ किमिमध्ये २.६७४ किमि पूरा भइसकेको छ । यो नेपालको पहिलो यातायात सुरुङ हो, जसले गर्दा यसको निर्माणमा सबैको चासो छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिनेछ । नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यात्रुले सास्ती खेप्नुपर्ने छैन ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार काम रफ्तारमै भएकाले गत फागुन २३ मा सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । ‘तर यही बेला स्थानीयले नयाँ/पुराना माग अघि सारेर काम गर्न दिएनन्,’ उनले भने, ‘अब पनि काम गर्न पाए एक साताभित्र ब्रेक थ्रु गर्न समस्या हुनेछैन ।’

सुरुङ निर्माण गर्दादेखि नै राखेका माग अहिलेसम्म आयोजनाले सम्बोधन नगरेका कारण काम रोकिएको स्थानीयहरूको भनाइ छ । आयोजना अधिकारीका अनुसार स्थानीयले सिधै मन्त्री रघुवीर महासेठसँग वार्ता गर्ने अडान राखेका छन् । महासेठले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हालेको एक साता बिते पनि कुनै पहल थालेका छैनन् । स्थानीयको अवरोधकै कारण धादिङ र काठमाडौं दुवैतर्फ काम हुन नसकेको श्रेष्ठले बताए ।

यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । निर्माण थालेयता ६ मन्त्री फेरिइसके । सातौं नम्बरमा उनै महासेठ नेतृत्वमा आएका छन् । सुरुङको शिलान्यास गर्दा भौतिकमन्त्रीका रूपमा महासेठ नै थिए । आयोजना सुरु भएयता ३ वटा अन्डरपास,४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् ।

स्थानीयको अवरोधले थानकोटमा निर्माणाधीन फ्लाइओभरको काम पनि ठप्प छ । उनीहरूले पानीको मुहान सुकेको भन्दै पिउने र सिँचाइ गर्ने पानीको व्यवस्थापन गर्नुपर्ने विषयलाई पहिलो मागका रूपमा अघि सारेका छन् । दुईवटा बोरिङ पहिल्यै बनाइसकिएको र अहिले स्थानीयले तेस्रो बोरिङ बनाउन माग गरेकाले त्यो बनाउन आयोजना तयार हुँदासमेत काम गर्न नदिइएको गुनासो आयोजनाको छ । सुरुङको ९७ प्रतिशत भूभाग चन्द्रागिरि नगरपालिका–२ मा पर्ने भएकाले यसलाई प्रभावित क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने माग स्थानीयको छ । चर्किएका घरको क्षतिपूर्ति पाउनुपर्ने माग पनि उनीहरूको छ । अर्को माग सुरुङ प्रयोग गर्दा उठाइने शुल्कको केही रकम वडालाई दिनुपर्ने रहेको छ । ‘पहिला ६ वटा माग थिए, अहिले बढाएर दर्जन पुर्‍याइएको छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘केही माग आयोजनाले पूरा गर्न सक्ने खालकै छैनन् ।’

मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठले मन्त्री र आन्दोलनरत पक्षलगायत सरोकारवाला निकायबीच वार्तामार्फत समस्या समाधानका लागि पहल भइरहेको बताए ।

काम रोकिएकाले म्याद थप गर्नुपर्ने माग निर्माण व्यवसायीले अघि सारेको समेत आयोजना प्रमुख श्रेष्ठले बताए । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ‘निर्माण व्यवसायीले म्यादको कुरा पनि उठाएका छन्,’ उनले भने, ‘यो कुरा प्रारम्भिक रूपमा आएको भए पनि कति म्याद थप्ने भनेर कुनै निर्णय भइसकेको छैन ।’ सुरुङबाट गाडी सञ्चालन गर्न ०८१ माघ पुग्ने आयोजनाको भनाइ छ । सुरुङ खनिसकेपछि त्यसको फिनिसिङ गर्न थप समय लाग्नेछ । सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल भने चल्न पाउने छैनन् । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो ।

गत असोजमा सुरुङ नजिकै भ्वाङ परेपछि केही समय काम रोकिएको थियो । त्यस्तै गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको उक्त सुरुङको अहिले फिनिसिङको काम भइरहेको छ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र सरकारले ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

प्रकाशित : चैत्र १, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?