१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

सुर्खेत — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । 'माओवादीले यसपटक कांग्रेसलाई मात्र होइन, मतदातालाई पनि धोका दिएको छ,' उनले भने, 'राजनीतिक रुपमा वास्तवमा मतदातालाई ठूलो धोका भएको छ ।'

माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशनमा उपसभापति खड्काले आममतदाताले समय आउँदा यसको जवाफ दिने बताए ।

उनले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानून निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गर्दै माओवादीले धोका दिएको बताए ।

उनले असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको विषय स्मरण गराए ।

खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको समेत दाबी गरे । 'एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ,' उनले भने, 'बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला ।'

प्रकाशित : फाल्गुन २७, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?