त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दुई धार

–प्रधानमन्त्री दाहाल बराल र माओवादीको दोस्रो तहका केही नेता बुढाथोकीलाई उपकुलपति बनाउने पक्षमा

फाल्गुन ९, २०८०

सुदीप कैनी

There are two sides within the Maoists on the appointment of the University Vice Chancellor

काठमाडौँ — सत्तारूढ माओवादी केन्द्रभित्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनमा दुई धार देखिँदा नियुक्तिमा ढिलाइ भएको छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र माओवादी केन्द्रका दोस्रो तहका केही नेताले त्रिवि शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीलाई नियुक्त गर्न चाहेकाले नियुक्तिमा ढिलाइ भएको स्रोतले जनाएको छ ।

मेरिटअनुसार क्रमशः बुढाथोकी, बराल र गणित विभागका पूर्वप्रमुख टंकनाथ धमलाको नाम छनोट तथा सिफारिस समितिले सिफारिस गरेको छ । बुढाथोकी र बराल माओवादीनिकट हुन भने धमला एमालेनिकट मानिए पनि उनी स्वतन्त्र रहेको दाबी गर्छन् । माओवादी कोटाबाटै नियुक्त गर्न खोजिएकाले सत्ता गठबन्धनमा त्रिवि उपकुलपति उसको भागमा परेको र छनोट प्रक्रिया शंकास्पद रहेको आशंका शिक्षाविद्हरूले गर्दै आएका छन् । प्राध्यापकलगायत सरोकारवालाहरूले उपकुलपति छनोट र सिफारिससम्बन्धी प्रक्रियाका विषयमा प्रश्न उठाइराख्दा सिफारिस समितिले पहिलो नम्बरमा पार्न बुढाथोकीलाई अस्वाभाविक रूपमा सबैभन्दा बढी अंक दिएको आरोपसमेत लागेको छ । स्रोतका अनुसार २० पूर्णाङ्कको प्रस्तुतीकरणमा उनले १८ (९० प्रतिशत) नम्बर पाएका छन् । व्यक्तिगत विवरण, कार्ययोजना र सोचपत्रको मूल्यांकनमा उनीभन्दा बढी अंक पाएका केही प्रतिस्पर्धीलाई भने ७ अंक (३५ प्रतिशत) मात्र दिएर बुढाथोकीलाई ३ जनामध्ये उत्कृष्टमा पारिएको स्रोतले जनायो ।

कुल ३५ पूर्णाङ्कको प्रस्तुतीकरण र अन्तर्वार्तामा तजबिजका आधारमा अंक दिने व्यवस्था गरिएको थियो । ‘कमजोर बुढाथोकीलाई सिफारिसमा पार्न अन्तर्वार्तामा न्यूनतम अंक दिए पनि पुग्ने गरी प्रस्तुतीकरणमा अंक दिइयो,’ उपकुलपति छनोट तथा सिफारिस समितिनिकट स्रोतले भन्यो, ‘अन्तर्वार्तामा ३५ प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा बढी अंक दिँदा कारण खुलाउनुपर्ने व्यवस्था थियो । तर प्रस्तुतीकरणमा जति पनि अंक दिन सकिने व्यवस्था राखेर कार्यविधि बनाउँदै त्रुटि गरिएको थियो । त्यहीँ चलखेल भयो ।’

दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । सिफारिस समितिका सदस्य तथा शिक्षासचिव सुरेश अधिकारीले विज्ञ नियुक्त गरेर पारदर्शी र निष्पक्ष रूपमा समितिले ३ जनाको नाम सिफारिस गरेको बताए । १४ जनामध्ये स्मार्ट, उत्कृष्ट प्रस्तुतीकरण र अन्तरवार्ता दिनेहरू मध्येबाट नियुक्तिका लागि सिफारिस गरिएको उनको भनाइ छ । कार्यविधिअनुसार छनोट प्रक्रियामा कुनै आशंका नगर्नसमेत उनले आग्रह गरे । तर, पूर्वविद्यार्थी नेतासमेत रहेका कांग्रेस सांसद प्रदीप पौडेलले छनोट विधिमाथि प्रश्न गर्दै प्रक्रिया सार्वजनिक गर्न आग्रह गरेका छन् । खुला र पारदर्शी प्रतिस्पर्धामा नियुक्त गरिने भने पनि छनोट कर्मकाण्डी मात्रै भएको उनको भनाइ छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार बुढाथोकीलाई पहिलो नम्बरमा सिफारिस गरेर उपकुलपति नियुक्ति गराउन शिक्षामन्त्री अशोककुमार राई र पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले विज्ञ नियुक्तिदेखि नै दबाब दिँदै आएका थिए । माओवादी नेता पौडेललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उपकुलपति नियुक्तिका विषयमा सहजीकरण गर्न जिम्मा दिएका थिए । राई उपकुलपति छनोट तथा सिफारिस समितिका संयोजक हुन् । बुढाथोकी र माओवादी नेता पौडेल बागलुङ जिल्लावासी हुन् । बुढाथोकीकी श्रीमती धना थापा र शिक्षामन्त्री राईले नेकपा माले पार्टीमा ३० वर्षअघि सँगै राजनीति गरेका थिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत बुढाथोकीलाई पहिलो नम्बरमा पार्न दबाब दिएको स्रोतले जनायो । पुन, पौडेल र शिक्षामन्त्री राईले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई नियुक्ति गर्न दबाव दिएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेको उनको सचिवालयका एक सदस्यले बताए । ‘पूर्व अनुभव, क्षमताका आधारमा प्रधानमन्त्री दोस्रो नम्बरमा सिफारिस परेका प्राध्यापक केशरजंग बराललाई उपकुलपति बनाउन चाहनुहुन्छ,’ उनले भने, ‘तर पार्टी भित्रकै नेताहरुले आफूअनुकूल व्यक्ति रोज्दै बुढाथोकीलाई छानेपछि नियुक्तिमा व्यावधान आएको छ ।’

माओवादी नेता तथा पूर्वशिक्षामन्त्री पौडेलले ३ जनामध्ये १ जना छान्न र नियुक्ति गर्न प्रधानमन्त्री स्वतन्त्र रहेको बताए । तर खुला प्रतिस्पर्धा गरिसकेपछि एक नम्बरमा जो पर्छ, उसैलाई चयन गर्दा उपयुक्त हुने उनको भनाइ छ । ‘खेलकुद प्रतियोगिताको दौडमा जो पहिले पुग्छ उही पहिलो हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो, हामीले पहिलोलाई उपकुलपति बनाउँदा राम्रो सन्देश जान्छ भनेर सुझाव मात्र दिएका हौं । स्वनिर्णय गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ,’ उनले भने । त्यसबाहेक उपकुलपति छनोट र नियुक्तिमा आफ्नो कुनै भूमिका नभएको उनले बताए । खुला प्रतिस्पर्धा भनेपछि सिफारिस समितिले नै १ जनाको मात्र नाम सिफारिस गरेको भए उपयुक्त हुने समेत उनले औंल्याए ।

सोमबार बुढाथोकी पहिलो नम्बरमा सिफारिसमा परेपछि उपकुलपतिमा नियुक्ति भएको भन्दै उनी निकटले सामाजिक सञ्जालमा प्रचारबाजी गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले मंगलबार उपकुलपति नियुक्ति प्रक्रियामै रहेको प्रष्टीकरण सञ्चारकर्मीहरुलाई दिए । बुढाथोकीलाई उपकुलपति बनाउने विषयमा भने त्रिविभित्रै माओवादी निकट प्राध्यापक, विद्यार्थी र कर्मचारीमा पनि असन्तुष्टि छ । बराल र बुढाथोकी दुवै जनजाति (मगर) समुदायका हुन् । माओवादीको जनजाति संगठनले बुढाथोकीलाई नियुक्त गर्न लबिइङ गर्दै आएको एक नेताले बताए । त्रिविका माओवादी निकट प्राध्यापकहरुको एक समूहले भने प्रधानमन्त्रीलाई भेटेर बुढाथोकीलाई उपकुलपति नियुक्त नगर्न आग्रह गरेको छ । उनी माओवादीभित्र जुनियर प्राध्यापक रहेको र उनीभन्दा सिनियरलाई पन्छाएर नियुक्त दिन नमिल्ने तर्क गरिएको छ ।

बुढाथोकी यसअघि पनि माओवादी कोटाबाट शिक्षा संकायको डिन चुनिएका थिए । गत साउनमा नियमविपरीत काम गरेकोमा प्राज्ञिक परिषद्बाट कारबाहीमा परेका व्यक्तिसमेत हुन् । उनलाई त्यतिबेला सचेत गराइएको थियो भने त्यही कारण परिषद्को सदस्यबाटै हटाउने निर्णय गरेको थियो । उनले पाठ्यक्रम स्वीकृति नै नगराई एमएड कार्यक्रममा विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गरेकोमा कारबाही गरिएको परिषद्ले जनाएको छ । स्वीकृति बिनैविशेष आवश्यकता शिक्षा विषयको नाम परिवर्तन गरी समावेशी शिक्षा विषय कायम गरेकोमा यस्ता काम पुनः नगर्न सचेत गराउने निर्णय भएको थियो ।

उच्च अंक प्राप्त गरेकै आधारमा प्रधानमन्त्रीले नियुक्त गरे उनी २० औं उपकुलपति बन्नेछन् । तर ३ जनाको नाम सिफारिस भएकाले मेरिटका आधारमा नियुक्ति गर्नुपर्ने बाध्यता प्रधानमन्त्रीलाई नरहेको सिफारिस समितिले जनाएको छ । त्रिवि ऐनमा छनोट भएका मध्ये १ जनालाई नियुक्त गर्न सकिने व्यवस्था छ । ‘बुढाथोकी सर क्षमताभन्दा पनि माओवादी कोटामा डिन नियुक्त हुनुभएको थियो,’ त्रिविका एक पूर्वपदाधिकारीले भने, ‘कार्यसम्पादनचाहिँ उत्कृष्ट देखिँदैन ।’ राम्रो गरी डिनको समेत जिम्मेवारी पूरा गर्न नसकेकाले संकटग्रस्त अवस्थामा रहेको त्रिविमा उपकुलपति बनेर सुधार होला भनेर विश्वास गर्न नसकिने उनले औंल्याए ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा विद्यावारिधि गरेका बुढाथोकी सहायक डिन हुँदै डिन नियुक्त भएका थिए । पढाइमा भने अब्बल भएका कारणले १४ जनामा उनी छनोट भएको शिक्षा संकायका प्राध्यापकहरु बताउँछन् । मूल्यांकनका लागि आवश्यक कार्ययोजना र सोचपत्र उनले टिम बनाएर तयार पारी सिफारिस समितिमा बुझाएका थिए । पोखरा विश्वविद्यालयमा २०६४ देखि २०६८ सालसम्म उपकुलपति रहेका बराल त्रिविअन्तर्गतको पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायबाट दुई वर्षअघि अवकाश प्राप्त प्राध्यापक हुन् । पाल्पा स्थायी घर भएका उनलाई प्रधानमन्त्रीले त्रिविको उपकुलपति बनाउन चाहेको उनीनिकटले बताए ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully