कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रिडी तटबन्ध : म्याद सकिएको दुई वर्षसम्म पनि काम सकिएन

५६ करोडको लागत इस्टिमेट, ३४ करोड २० लाखमा ठेक्का लिएका व्यवसायीले म्याद सकिनुअघि नै हस्तान्तरण गर्ने घोषणा भाषणमै सीमित 
माधव अर्याल

पाल्पा — पाल्पा र गुल्मीको सिमाना रूरू क्षेत्रमा रिडी खोलाले कटान गरेको जमिन संरक्षण गर्न सुरु गरेको तटबन्धको काममा दुई वर्ष ढिलाइ भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पामार्फत ठेक्का लागे पनि पछिल्लो समयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामार्फत रेखदेख भइरहेको छ ।

रिडी तटबन्ध : म्याद सकिएको दुई वर्षसम्म पनि काम सकिएन

तटबन्ध निर्माणमा प्रदेश सरकारले संघीय सरकारको समपुरक बजेट ५६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । तर निर्माण व्यवसायीले घटेर ३४ करोड २० लाख रुपैयाँमा ठेक्का सकारेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख आविद हुसैनले बताए ।

कालीगण्डकी नदी र रिडी खोलाले पाल्पा र गुल्मीतर्फका जमिन कटान गरेपछि त्यसको समस्या समाधान गर्न केन्द्र र प्रदेश सरकारको समपुरक बजेटबाट तटबन्ध निर्माणको काम सुरु गरेको हो । आर्थिक वर्ष २०७६/७७ मा भएको ठेक्का सगुन शर्मा जेभी निर्माण कम्पनीले ३४ करोड २० लाख ६० हजारमा ठेक्का लिएको थियो । अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको डिभिजन कार्यालयले जनाएको छ । सगुन शर्मा जेभी निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले शिलान्यासका बेला तत्कालीन मुख्य मन्त्रीकै सामुन्नेमा तोकिएको म्यादअघि नै काम सक्ने दाबी गरेका थिए ।

२०७८ मंसिर १० गते सकिनुपर्ने तटबन्ध योजनाको काम अझैसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा १६ करोड बजेट रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । म्याद थप भएर काम अघि बढेको र चालु आर्थिक वर्षमा काम नसके बजेट नै नआउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख हुसैनले बताए ।

रिडी खोलामा लगाएको तटबन्धले ५० हेक्टर जमिनको संरक्षण गर्नेछ । गुरुयोजनाअनुसार काम हुने हो भने साढे २ हेक्टर नदी उकास जमिन तयार हुनेछ । नदी क्षेत्रमा २ हजार ८ सय २० मिटर लम्बाइका साथै सात मिटर उचाइ रहेको आरसीसी टेवा पर्खाल लगाउने काम भइरहेको छ । प्रदेश सरकारले रूरू क्षेत्र धामको गुरुयोजना तयार गरेर काम अघि बढाएको हो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले यो योजना अघि सारेका थिए । योजनाअनुसार काम सम्पन्न गर्न भने तीन अर्ब बढी लाग्नेछ । गुरुयोजनाअन्तर्गत जलाशय, धार्मिक तथा पर्यटकीय पार्क, मठमन्दिरलगायत निर्माण हुनेछ । तत्कालीन अवस्थामा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गुरुयोजना तयार गरेको थियो । गुरुयोजना मन्त्रालयले स्वीकृत गरी बजेट व्यवस्थापन गरी ठेक्का लगाए पनि काममा ढिलाई भएको कार्यालयले जनाएको छ ।

रूरू धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजना गुरुयोजनाअनुसार सुरु गरे पनि निर्माण व्यवसायीले ढिलाइ गर्दा काम सुस्त गतिमा भएको हो । पहिलो चरणमा रूरू क्षेत्रमा कालीगण्डकी नदी र रिडी खोलाको कटान रोक्ने काम भइरहेको छ । त्यसबेला प्रदेश सरकारले जिल्ल स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत योजना अघि बढाएको थियो ।

गुरुयोजनाअनुसार ऋषिकेश मन्दिर रहेको पाल्पातर्फ कालीगण्डकी र रिडी खोलामा २ सय ८८ मिटर लामो प्यारापिट निर्माण हुनेछ । तटबन्धनपछि यस भेगका १० हजार बासिन्दा लाभान्वित हुने अनुमान गरिएको छ । रूरूक्षेत्र गाउँपालिका पूर्व अध्यक्ष नलकण्ठ गौतमका अनुसार हरेक वर्ष कम्तीमा १५ लाख खोला तथा नदी कटान नियन्त्रणमा खर्च हुँदै आएको छ । भएको खर्चले यसको सही सदुपयोग हुन सकेको थिएन ।

‘समयमा निर्माण व्यवसायीले काम गर्ने हो भने यो आयोजनाले रूरूक्षेत्रको मुहार नै फरक पार्ने विश्वास लिइएको छ,’ उनले भने, ‘यसका लागि हामी सबैको खबरदारी जरुरी छ ।’ कालीगण्डकी नदी र रिडी खोलाको कटानले सयौं रोपनी जमिन कटान गरेको छ । यहाँका ५० बढी घर विस्थापित भइसकेको तानसेन नगरपालिका–१४, अर्गलीका पूर्ववडाध्यक्ष कमल रानाले बताए । विगतमा खोला र नदीले गरेको कटानले बजार क्षेत्र नै बिस्थापित भएको उनले बताए ।

रूरू धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धामको बृहत् गुरुयोजना ५ वर्ष अघि तयार भएको हो । तटबन्धनले जमिन उत्खनन् गर्ने र खोला नदीबाट हुने कटान रोक्न सहयोग पुग्ने ऋषि मन्दिर व्यवस्थापन समिति तानसेन–१४, अर्गलीका अध्यक्ष परसुराम भट्टराईले बताए । पहिलो चरणको काम सकेपछि दोस्रो चरणमा मठमन्दिर, पाटी पौवा, गुम्बा बन्ने योजना रहेको उनले बताए । ‘तटबन्धका साथै अन्य काम सकिँदा यो क्षेत्र गुल्जार हुनेछ,’ उनले भने, ‘यसले रिडी अर्थात् रूरू क्षेत्रको धार्मिक महिमा पनि फैलाउन सहज हुनेछ ।’

मुलुकका चार धाममध्ये एक रूरू क्षेत्र हो । यहाँ नदी र खोलाले कटान गरेको जमिन संरक्षण र धार्मिक पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जमिन सुरक्षित हुन सकेको छैन । यही कामका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अग्रसरता देखाएको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोककुमार शाहीले बताए । उनले भने, ‘नदी र खोलाको कटान साथै नदीको पानी सुकेर पछि परेको यस क्षेत्रलाई गुल्जार बनाउने योजना धेरै राम्रो हो ।’

रूरू क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि प्रारम्भिक काम तटबन्ध नै भएको तानसेन नगरपालिका–१४, अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले बताए । यसपछि हुने कामले धार्मिक एवं सांस्कृतिक, पर्यटकीय क्षेत्र बन्ने रिडी पुस्तौंदेखिको व्यापारिक केन्द्र र ऋषिकेशव रूरू क्षेत्र धार्मिक भएको उनले बताए । यस क्षेत्रलाई अब विकास गर्न धार्मिक पर्यटकीय क्षेत्र बनाउन जरुरी रहेको स्थानीय दुर्गादत्त रेग्मीले बताए ।

प्रकाशित : माघ १४, २०८० १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×