२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सहकारीपीडितको उजुरी छानबिन गर्न गृहको निर्देशन

जीबी राईसहित चारविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी 

काठमाडौँ — गृह मन्त्रालयले सहकारीपीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार गृहसचिव, सहसचिवलगायत मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् । 

सहकारीपीडितको उजुरी छानबिन गर्न गृहको निर्देशन

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी, प्रशासनबाट कमीकमजोरी हुन नदिन गृहमन्त्रीले निर्देशन दिएको बताए । ‘प्रहरीले अनुसन्धान गरेर अदालतबाट प्रक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्था पनि छ,’ उनले भने, ‘छानबिन र कारबाही प्रक्रियालाई तीव्रता दिएर कानुन कार्यान्वयनमा लाग्न भनेका छौं ।’ छलफलमा सहकारीले गरेको ठगीविरुद्ध गृहप्रशासन सशक्त रूपमा प्रस्तुत हुने निष्कर्षसमेत निकालिएको गृह स्रोतले जनायो ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेर सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छ । उनी संलग्न रहेको चितवन, वीरगन्ज, नेपालगन्ज र बुटवलका सहकारीबाट करोडौं रुपैयाँ हिनामिना भएको गुनासो बचतकर्ताले गर्दै आएका छन् । ती सहकारीका पीडितहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र स्थानीय तहहरूमा उजुरी दिएका छन् । स्रोतका अनुसार प्राप्त उजुरीमाथि छानबिनसहित कारबाही प्रक्रिया अघि बढाउन ढिलासुस्ती भएकाले प्राथमिकता दिएर अनुसन्धान गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन गरिएको छ । ‘उजुरी आए पनि अनुसन्धानमा केही अलमल देखिएको समीक्षा भयो । पीडितको गुनासो बढ्दै गएकाले उनीहरूलाई न्याय दिन ढिलासुस्ती गर्न नहुने कुरा भएको छ,’ बैठकमा सहभागी गृह मन्त्रालयका एक अधिकारीले भने ।

यसैबीच, राईसहित चार जनाविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजी प्रक्रिया अघि बढाएको छ । सूर्यदर्शन सहकारीका करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले अनुसन्धान अघि बढाएसँगै राई फरार छन् । उनीसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।

चार जनासहित १९ विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की अदालतमा मुद्दा विचाराधीन छ । तर, मुद्दाका मुख्य अभियुक्त नै भेटिएका छैनन् ।

प्रहरी स्रोतका अनुसार आरोपितहरू मलेसिया, सिंगापुर, दुबई र हङकङ भागेको आशंका छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा आरोपित चारै जनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्ने गरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा प्रहरीले प्रतिवादीमध्येका चारलाई इन्टरपोलमा आबद्ध राष्ट्रका प्रहरीको सूचीमा फरार राखेर डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको हो । गत असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनेका १९ मध्ये हालसम्म कुमार रम्तेल मात्रै पक्राउ परेर अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएको बताए । ‘जिल्ला प्रहरी कार्यालयहरूको सहयोगमा खोजबिन गर्दा नभेटिएपछि आरोपितमध्येका चार जनालाई इन्टरपोलमार्फत खोज्न अनुरोधसहितको पत्र प्रहरी प्रधान कार्यालय पठाएका हौं,’ उनले भने । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले कास्की प्रहरीबाट फरार अभियुक्तविरुद्ध डिफ्युजन नोटिसका लागि अनुरोध भई आएको बताए । केही दिनमै निर्णय गरेर इन्टरपोललाई पत्र पठाइने ती अधिकारीले जनाए ।

फरारमध्येका जीबी राई गोरखा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी टेलिभिजनका अध्यक्ष पनि हुन् । उनीसहित कैलाशकुमार दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । अन्य जिल्लामा खोलिएका आधा दर्जन सहकारीको रकम हिनामिना प्रकरणमा समेत जीबी राईसहितका व्यक्ति जोडिएका छन् ।

प्रकाशित : पुस १२, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?