२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आइतबार अपराह्न स्वदेश फर्किएका छन् । 

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित यूएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए ।

यही मंसिर १४ गतेदेखि कोप–२८ दुबईमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मंसिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी भएका थिए । साथै उनले मंसिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री दाहाल यूएईको ५२औँ एकता दिवसका अवसरमा यूएईले आयोजना गरेको समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी भएका थिए । उनले मंसिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गरेका थिए ।


प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबईमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपतिलगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

यूएईमा रहँदा प्रधानमन्त्रीले अवुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गरे भने नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि आह्वान गरेका थिए ।

प्रधानमन्त्री दाहाल यही मंसिर १३ गते यूएईतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित : मंसिर १७, २०८० १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?