२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

नागढुंगा सुरुङ ५२५ मिटर मात्र खन्न बाँकी

चार महिनामा मुख्य सुरुङ र साउनभित्र आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुने
विमल खतिवडा

सिस्नेखोला, धादिङ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा २.१६३ किमि खनिएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि हो । अब ५२५ मिटर खनिए सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुन्छ । आपत्कालीन सुरुङ पनि २.५०१ किमि खनिसकिएको छ, जुन सुरुङको कुल दूरी २.५५७ किमि हो । आपत्कालीन सुरुङ खन्न पनि ५६ मिटर मात्र बाँकी छ । यही रफ्तारमा काम हुन सके चार महिनामा मुख्य सुरुङ र साउनभित्र आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुने बताइएको छ । 

नागढुंगा सुरुङ ५२५ मिटर मात्र खन्न बाँकी

निर्माणमा कुनै समस्या नआए ०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ । अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । काठमाडौं (पूर्वी खण्ड) तर्फ ९६९.८० र धादिङ (पश्चिम खण्ड) तर्फ ११९३.२० मिटर सुरुङ खनिसकिएको छ ।

समग्रमा सुरुङ खन्ने काम ८९.२० प्रतिशत सकिइसकेको छ । सुरुङको प्रगति अवस्था बुझ्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईंसहितको टोली मंगलबार निर्माणस्थल पुगेको थियो । टोलीले पूर्व–पश्चिम दुवै खण्डको स्थलगत अनुगमन गरेको छ । कुनै समस्या नआए चार महिनाभित्र मुख्य सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुने मन्त्री ज्वालाको दाबी छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको सम्झौताअनुसार ४२ महिनाभित्र काम सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो । कोभिडका कारण तोकिएकै समयभित्र निर्माणको काम नसकिएको आयोजनाको भनाइ छ । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिने भएपछि दोस्रो पटक फेरि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । निर्माण थालेको चार वर्षमा समग्र आयोजनाको भौतिक प्रगति भने ५५.१३ प्रतिशत छ । सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भए पनि यातायात सञ्चालन गर्न थप एक वर्ष समय लाग्ने बताइएको छ । कारण ‘ब्रेक थ्रु’ भएपछि सुरुङभित्र अक्सिजन, बत्ती व्यवस्थापनलगायत काम गर्न समय लाग्नेछ ।

नेपालको यातायात चल्ने सुरुङमार्ग पहिलो भएकाले छिटो सक्ने गरी काम भइरहेको भौतिकमन्त्री ज्वालाको भनाइ छ । ‘यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ, गुणस्तरीय काम हुनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म राम्रो काम भइरहेको भए पनि सन्तोष गर्न लायक प्रगति अझै देखाउन सकेका छैनौं ।’ आयोजना चाँडो सक्न कामलाई व्यवस्थित गरेर योजनाबद्ध रूपमा अगाडि बढाइने उनी बताउँछन् ।

काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माण गर्ने क्षेत्रमा करिब १६ आना जग्गाको मुआब्जा दिन बाँकी छ । त्यस्तै आयोजनाको पूर्वपट्टि ६० वटा घर चर्किएको भन्दै स्थानीयले पटकपटक निर्माणको काम बन्द गर्दै आएका छन् । यस्तो समस्या समाधानका लागि समिति गठन भई भवन विभागमार्फत अध्ययनको काम थालिएको जनाइएको छ । त्यस्तै टुटीपाखा क्षेत्रका स्थानीयले सुरुङ निर्माण थालेपछि पानीका मुहान सुकेको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् । धादिङतर्फ पनि सुरुङ निर्माणस्थल नजिकै पहिरोको समस्या छ ।

मुआब्जासँगै सुरुङ निर्माणस्थल आसपास केही समस्या रहेकाले त्यसलाई टुंग्याउने प्रक्रिया चलिरहेको मन्त्री ज्वालाले बताए । ‘ठुल्ठूला समस्या समाधान गरेर काम अघि बढाएका छौं,’ उनले भने, ‘बाँकी केही समस्या छन्, तिनलाई छिट्टै समाधान गरेर बिनाअवरोध निर्माणको काम सक्छौं ।’ अहिले तीव्र रूपमा निर्माणको काम भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठको भनाइ छ । उनका अनुसार बलम्बुमा फ्लाई ओभर निर्माणको काम भइरहेको छ । त्यस्तै यही क्षेत्रको पश्चिमपट्टिको पहुँच सडकमा टेवा पर्खाल निर्माण थालिएको छ । यसको निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो ।

निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । निर्माणमा १३ अर्ब २० करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ ।

सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, ग्यास बुलेटहरूले भने आवतजावत गर्न पाउने छैनन् ।

प्रकाशित : श्रावण ३, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?