२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अष्ट्रेलियन सहायकमन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ — अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका छन् ।  उक्त सामग्री संघको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेष्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिनेछ ।

अष्ट्रेलियन सहायकमन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण

सहायक मन्त्री वाट्सले संघलाई अष्ट्रेलियाली सरकारको तर्फबाट अष्ट्रेलियाली र अन्य नागरिकहरुलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

‘हिमालयन उद्धार संघ र नेपाल सरकारका अधिकारीहरुले पदयात्रा तथा हिमाल आरोहणमा आउने अष्ट्रेलियालीहरुलाई गरेको सहयोगका लागि अष्ट्रेलिया हार्दिक धन्यावाद ज्ञापन गर्दछु,’ उनले भने ।

उनले नेपाल सहासीक पर्यटनका लागि एक मनपराइएको गन्तब्य रहेको बताए । प्रत्येक वर्ष करिब २७ हजार अष्ट्रेलियालीहरु नेपाल भ्रमण गर्ने र यो वर्ष अष्ट्रेलिया नेपालको चौथो ठूलो पर्यटकको श्रोतको रुपमा रहेको पनि उनले बताए ।

मन्त्री वाट्सले पर्यटन क्षेत्र तंग्रिरहेको अवस्थामा अझै धेरै अष्ट्रेलियालीहरुले यो वर्ष नेपाल भ्रमण गर्ने अपेक्षा गरेको बताए । ‘तेञ्जिङ नोर्गे र सर एड्मन्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ७० औं वार्षिकोत्सव मनाइरहँदा सगरमाथा शिखरमा पुग्ने प्रयास गर्दा विभिन्न घटनाहरुमा ज्यान गुमाउने ३०० भन्दा बढी पर्वतारोहीहरुको स्मरण गर्दछौं,’ सहायक मन्त्री वाट्सले भने,‘गत महिना खुम्बुको हिउँ पहिरोमा भएको घटनामा ज्यान गुमाउने शेर्पा पथप्रदर्शकहरु र अन्यहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु । यस्ता दुःखद घटनाहरुले अष्ट्रेलिया र हिमालयन उद्धार संघसँगको जारी सहकार्यको महत्वलाई अझै उजागर गर्दछ ।’

अष्ट्रेलियाको बार्टलेट उत्पादकले उत्पादन गरेको उक्त पीएसीले तत्काल र सुरक्षित रुपमा होचो स्थानमा झर्न कठिनाइ हुने र बिरामी हलचल गर्न नसक्ने गरी लेक लागेको अवस्थामा यो अवस्थालाई तत्कालीन व्यवस्थापन गर्न सहयोग गर्ने काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ ।

‘नेपाली र विदेशी नागरिकहरुलाई दुर्गम उच्च हिमाली क्षेत्रहरुमा राम्रो गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि यसअघि अष्ट्रेलियाले संघलाई स्याटलाइट फोन र अन्य उपकरणहरु सहयोग गरेको छ,’ दूतावासको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?