२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी

‘सेल्टरमा खानाको चिन्ता छैन, बिजुली र इन्टरने ट रहेकाले बुबाआमासँग नियमित सम्पर्क भइरहेको छ’–बाराका सकिल शेख
होम कार्की

काठमाडौँ — टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए, त्यतिखेर हिउँ परिरहेको थियो ।

टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी

‘पहिलो झड्कामा ३५–४० सेकेन्ड जोडले हल्लायो, त्यसपछि कुदेर बाहिर निस्कियौं । शरीरमा एकसरो मात्रै लुगा थियो,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘एकछिन हल्लाउन छाडेपछि हत्तपत्त कोठाभित्र छिरेर आपत्कालीन ब्याग निकालेँ । कतिपय साथी भित्र जानै पाएनन् ।’

यस विश्वविद्यालयको होस्टलमा ५ हजार विद्यार्थी बस्थे । बिदा भएकाले करिब चार हजार विद्यार्थी घर गएका थिए, सकिल भने त्यहीं थिए । उनीहरू बसेको होस्टलबाट १० किलोमिटर टाढा रहेको सहर गाजिन्यान्टेपलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पले विश्वविद्यालयका पर्खाल भत्किएका छन् । होस्टल भवन चर्किएको छ ।

अस्थायी सेल्टरमा सकिल शेख ।

‘अहिले मसहितका विद्यार्थीलाई नजिकैको म्युजियममा ल्याएर राखिएको छ । यो म्युजियम पूर्ण भूकम्पप्रतिरोधक हो,’ सकिलले भने, ‘बाहिर बस्ने अवस्था छैन । यहाँ वरिपरिका मान्छे पनि आएर बसेका छन् ।’ सोमबार दोस्रो पटक दिउँसो २ बजे पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको उनले सुनाए । त्यतिखेर उनी म्युजियमभित्रै थिए । ‘बिहान नगरपालिकाले नास्ता ल्याएर दियो, खानाको पनि चिन्ता छैन,’ उनले भने, ‘म्युजियमभित्र बिजुली र इन्टरनेटको व्यवस्था छ । नेपालमा बुबाआमासँग नियमित सम्पर्क भइरहेको छ ।’

सकिल तीन वर्षदेखि इलेक्ट्रिकल इन्जिनियर पढिरहेका छन् । उनीसँग तीन नेपाली विद्यार्थी पनि सम्पर्कमा छन् । ‘पाल्पाकी मारिया शाह नर्सिङ पढ्छिन्, नेपालगन्जका नूर उच्च माविको पहिलो वर्षमा अध्ययनरत छन्, अर्का साथी पनि सम्पर्कमा छन्,’ उनले भने, ‘हामी एउटै सहरको अलगअलग सेल्टरमा छौं ।’ टर्कीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पर्कमा चार विद्यार्थीबाहेक तीन जना घरेलु महिला कामदार पनि सम्पर्कमा आएका छन् । उनीहरू सबै सकुशल छन् । ‘भूकम्पको इपिसेन्टरमा ठूलाठूला भवन भत्किएको खबर छ । धेरै मानिस हताहत भएका छन् । सयौंको संख्यामा घाइते छन्,’ सकिलले भने, ‘अहिलेसम्म नेपाली परेको खबर छैन ।’

एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले गाजियान्टेपमा घरेलु कामदारका रूपमा रहेकी कुसुम राईको टोलीसँग सम्पर्क गरेको बताए । ‘उनीहरू सेल्टरमा सुरक्षित छन् । तीन जना एकै ठाँउमा छन्,’ उनले भने । उनका अनुसार भूकम्पबाट प्रभावित क्षेत्र युरोपको ग्रिस छिर्ने नाकाको बाटोभन्दा फरक ठाउँ हो । दुबईबाट इरान हुँदै इस्तानबुलबाट युरोप छिर्न टर्कीलाई नेपालीले ट्रान्जिट देशका रूपमा प्रयोग गरिरहेका छन् । ‘ऐतिहासिक, पर्यटन र खेतीपातीको काम गर्ने हिसाबले साम्ले उर्फामा नेपाली हुन्छन् । यो चिसो मौसम भएकाले खेतीपाती र चिया बगानमा काम हुँदैन । होटल पनि बन्द हुन्छ । गाजियान्टेपमा भने घरेलु कामदार छन्,’ उनले भने, ‘यस्तो बेला भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीसँग सम्पर्क बढाउने प्रयासमा छौं ।’

अदानामा घाइतेको उद्धार गरिँदै । तस्बिर : एएफपी

टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायमा क्षति भए/नभएको खबर आइनसकेको जनाएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपास अधिकारीले आफूहरूले नेपालीबारे सूचना संकलन गरिरहेको बताए । ‘अहिलेसम्म नेपालीको कुनै अप्रिय खबर आएको छैन,’ उनले भने । टर्कीमा तेस्रो बाटो प्रयोग गरी जाने भएकाले कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन । घरेलु कामदारमा भने म्यानपावर ब्यवसायीले श्रम स्वीकृति लिई पठाइरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या करिब २ हजार ५ सय पुगेको छ । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको भूकम्पले अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । प्रभावित ८ प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउन निर्देशनसमेत दिएका छन् । टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जान सक्ने जोखिमयुक्त क्षेत्रका रूपमा संसारकै सबैभन्दा संवेदनशील क्षेत्रमा टर्की पनि पर्छ, जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

प्रकाशित : माघ २४, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?