रविको छलाङ- समाचार - कान्तिपुर समाचार

रविको छलाङ

राजनीतिक दल खोलेको ६ महिनामै संसद्को चौथो शक्ति, सरकारमा उपप्रधानसहित गृहमन्त्री
मातृका दाहाल, स्वरूप आचार्य

काठमाडौँ — एमालेसहित सात दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सर्वसम्मत प्रधानमन्त्रीमा प्रस्ताव गरेसँगै आइतबार शक्ति बाँडफाँटमा अनेक अड्कलबाजी चलेका थिए । कांग्रेससँगको डेढ वर्ष लामो सत्ता गठबन्धन तोडेर माओवादी अध्यक्ष दाहाल ‘नाटकीय रूप’ मा एमाले गठबन्धनमा सामेल भएपछि पद बाँडफाँट कसरी अघि बढ्छ भन्ने चासो धेरैमा थियो । तर, राजनीति सुरु गरेको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मारेको छलाङले भने धेरैलाई आश्चर्यचकित बनाएको छ ।

शक्तिशाली र विकासे मन्त्रालयमा जान साझेदार दलबीच हानथाप चलेपछि सोमबार दिनभर संसद् भवन बानेश्वरमा गठबन्धन दलको संयुक्त बैठक बसेको थियो । प्रधानमन्त्रीमा दाहाललाई सघाएको राप्रपाले बाहिरै बसेर समर्थन दिने निर्णय गर्‍यो । बाँकी दलबीच गृह, अर्थ, भौतिक पूर्वाधार, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालयको भागबन्डा मिलाउन दिनभर सकस पर्‍यो । सत्ता गठबन्धनको तेस्रो शक्ति रास्वपाले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय भागबन्डा विषय थप पेचिलो बनेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले र माओवादीले रास्वपालाई सेवाप्रवाहसँग प्रत्यक्ष जोडिएका केही मन्त्रालय दिएर चित्त बुझाउने प्रयास गरेका थिए । तर, रास्वपा सभापति लामिछानेले त्यसलाई अस्वीकार गरे । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले गृह मन्त्रालय ताकेका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने र बाँकीमा सहमति गरेर मन्त्रालय भागबन्डा मिलाउने पूर्वयोजना लामिछानेको अडानपछि बदलियो ।

गृह मन्त्रालय प्रहरीसमेत हेर्ने तालुक निकाय भएकाले अनुसन्धानमा स्वार्थ बाझिने जोखिम रहन्छ । स्रोतका अनुसार बैठकमा स्पष्ट रूपमा नउठे पनि एकातिर पहिलो पटक सरकारमा आएका र नागरिकता/राहदानी विवादको मुद्दा खेपिरहेकाले लामिछानेलाई गृह मन्त्रालय दिइहाल्ने पक्षमा एमाले–माओवादीले अनिच्छा गरेका थिए । तर, लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी नछोडेपछि बैठक लम्बियो । गृहमा आफ्नो दाबी गर्दै उनी बैठक स्थलबाट बीचमै बाहिरिएका थिए ।

२० सिटसहित प्रतिनिधिसभाको चौथो र सत्ता गठबन्धनको तेस्रो ठूलो शक्ति रास्वपा दाहाल नेतृत्वको सरकारलाई अंकगणितका हिसाबले महत्त्वपूर्ण छ । त्यही कारण मन्त्रालय भागबन्डामा विवाद गर्नुभन्दा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री दाहाल उपप्रधानसहित गृहमन्त्रीमा लामिछानेलाई ल्याउन सहमत भए । त्यसपछि मात्रै प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणमा सहभागी हुन नेताहरू शीतलनिवासतर्फ लागेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि गृह मन्त्रालयमा पदभार सम्हाल्न पुगेका लामिछानेले आफूले देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हाल्दै उनले ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेर माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले गृह मन्त्रालय ताकेका थिए, लामिछानेको अडानपछि बदलियो भागबन्डाआफ्नो सत्ता यात्रा सुरु गरेका छन् । निर्मला प्रकरणमा हालसम्म भएको विवरण पनि पेस गर्न उनले गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिए । ०७५ साउनमा बलात्कारपछि निर्मलाको हत्या भए पनि घटनामा संलग्नबारेको मुद्दा अझै टुंगिएको छैन ।

पार्टी स्थापनाको ७ महिना नपुग्दै लामिछाने सत्ता साझेदार गठबन्धनको एक घटकका रूपमा मात्रै सीमित रहेनन्, प्रधानमन्त्रीपछि सबैभन्दा शक्तिशाली मानिएको गृह मन्त्रालयको बागडोर पनि सम्हाल्न पुगेका छन् । राजनीतिक अनुभव र पृष्ठभूमिका हिसाबले उनका लागि यो कठिन र नयाँ जिम्मेवारी हो । अपराध अनुसन्धान, नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापनलगायत आन्तरिक सुरक्षा जिम्मेवारी मात्रै होइन, बाह्य सुरक्षाको आन्तरिक व्यवस्थापनमा पनि जटिल विषय हो । कानुन कार्यान्वयन, सुशासन कायम, प्रहरी र सशस्त्र प्रहरी बल सञ्चालन, राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वय र यससँग जोडिएका अरू थुप्रै विभाग र निकायको तालुक अड्डा गृह मन्त्रालय साधन/स्रोत र शक्तिका हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ ।

चुनौतीपूर्ण सत्तायात्रा

लामिछानेलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न त्यति सहज छैन । विदेशी नागरिकता र राहदानी भएकै बेला कानुनविपरीत नेपाली राहदानी र नागरिकता लिएको आरोपमा उनीमाथी कानुनी र नैतिक प्रश्न त छँदै छ, आरोपको अनुसन्धान गर्ने प्रहरीको तालुक निकायमा नै उनी स्वयं आइपुगेका छन् । यद्यपि पदभार ग्रहणपछि गृह मन्त्रालयमा सञ्चारकर्मीसँग त्यस विषयमा अनुसन्धान गर्ने निकायलाई निष्पक्ष रूपमा काम गर्न आफूले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए । शान्ति सुव्यवस्थामा गृह प्रशासनले गर्ने जुन भूमिका हुन्छ, त्यसमा आफूहरूले सबैभन्दा बढी काम गर्न चाहेकाले गृह मन्त्रालय प्राथमिकतामा परेको उनको भनाइ थियो ।

‘सञ्चारकर्मी भएर काम गर्दाखेरि सबैभन्दा बढी काम गर्नुपर्ने मन्त्रालय, त्यसअन्तर्गतका विभाग/कार्यालय गृह प्रशासन थियो,’ लामिछानेले भने, ‘त्यसमा अलिक बढी नागरिकको गुनासो थियो । आम नागरिकको न्यायमा गृह र प्रहरी प्रशासनले धेरै मद्दत गर्न सक्छ । जेजति गरिएको छ, त्योभन्दा बढी अझ गर्न सक्छु भन्ने लागेर गृह मन्त्रालय रोजेको हुँ ।’

नागरिकता/राहदानी विवादबारेको विषयमा स्वतन्त्र रूपमा अनुसन्धान/छानबिन हुनुपर्ने उनले बताए । ‘स्वतन्त्र रूपमा सबैलाई बराबर ढंगले हेरेर कुनै विभेद नगरीकन न्याय सम्पादन/कार्यसम्पादन गर्ने अधिकार आजैबाट छ जहिल्यै पनि छ । चाहे म हुँ, चाहे अरू कोही होस्, चाहे क्याबिनेटका कोही मन्त्री/सचिवहरू हुन्, कसैसँग विभेद नगरी स्वतन्त्र ढंगले हरेक कुराको निष्पक्ष छानबिन गर्ने अधिकारमा मेरो सहयोगबाहेक कुनै हस्तक्षेप हुँदैन । कुनै पनि किसिमको सम्झौता हुँदैन ।’

शान्ति सुरक्षा व्यवस्थापन, आम नागरिकले देख्ने गरी अमनचयन कायम, गृह प्रशासनबाट प्रवाह हुने सेवालाई चुस्त पार्ने र सुरक्षा निकायमाथि हुने राजनीतिक हस्तक्षेप, सरुवा/बढुवामा अपारदर्शी निर्णय जस्ता विकृति अन्त्य गर्नु उनका लागि प्रमुख चुनौती हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गृह मन्त्रालय मातहतका सुरक्षा संगठन हुन् । दुवै सुरक्षा निकायमा कायम सेवा अवधि, पदावधि, उमेर हदबारेका बहस र विवाद अनि त्यसमा राजनीतिक स्वार्थ समूहले लिने नाजायज लाभ अन्त्य गर्न नीतिगत सुधार आवश्यक छ । गठबन्धन सरकार भएका कारण लामिछाने आफैंले चाहेर मात्रै यी काम गर्न त्यति सहज छैन ।

एउटा सरकार आउँदा अमूक सुरक्षा अधिकारी र प्रशासकको हित हुने निर्णय, अर्को आउँदा अर्कैको अनुकूल निर्णय गर्ने प्रवृत्ति २०४८ यता गृह प्रशासन र सुरक्षा संगठनमा झाँगिएको बेथिति हो । लामिछाने यसलाई प्रणालीभन्दा बाहिर गएर निर्णय गर्दाको नतिजा रहेको बताउँछन् । ‘जब प्रणाली र भएका कानुनभन्दा बाहिर गएर काम गरिन्छ, जब आफन्तलाई राख्न काम गरिन्छ, जब आफ्ना मान्छेलाई हेर्ने कुरा आउँछ, मुद्दा/विषयमा आग्रह/पूर्वाग्रह हुन्छन्, त्यतिखेर मात्रै बेथिति आउने हो,’ उनले भने, ‘व्यक्तिलाई नहेरी प्रणालीलाई मानेर गयौं भने कहीं पनि समस्या छैन । विगतमा भएका राम्रा कुरा सिक्छौं । गलत चीजलाई दोहोर्‍याउँदैनौं ।’

आफूले सकेजति सुधारका प्रयास गर्ने र मन्त्रिपरिषद्मै आवश्यक परे प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न पछि नपर्ने लामिछानेले बताएका छन् । ‘जसलाई प्रधानमन्त्रीका रूपमा स्वीकारिन्छ, संवैधानिक प्रक्रिया छ, त्यो प्रक्रियामा त जानैपर्ने हुन्छ । तर काम गर्ने मान्छेलाई काम गर्न सानै स्पेस पनि ठूलो हुन्छ भने गृह मन्त्रालयजस्तो स्पेसमा बसेर धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘योभन्दा अघि पनि हामी खबरदारी गर्ने नै काममा थियौं । अरूले गरेको कुरामा होमा हो गर्न हामी आएका होइनौं । यसबारे नेताहरूसँग मैले स्पष्ट भनेको छु ।’

सुरक्षा निकायको आधुनिकीकरण, भौतिक सुधार, नीतिगत सुधार पनि गृह प्रशासनका लागि प्रमुख जिम्मेवारी हो । सरुवा/बढुवामा सत्ता र शक्ति निकटको घर धाउनुपर्ने प्रवृत्ति रोक्न गृहमन्त्रीको भूमिका महत्त्वपूर्ण रहन्छ । गृहमन्त्री आफैं यस्ता गलत गतिविधिमा सामेल नहुने हो भने सुधारका लागि बाटो खोलिन्छ । तर, उपल्लो अधिकृतदेखि कार्यालय सहयोगीसम्मको सरुवा/बढुवामा राजनीतिक वृत्तबाट हुने हस्तक्षेप रोक्न आवश्यक छ ।

सञ्चारकर्मीका रूपमा काम गर्दैगर्दा अमेरिका गएर उतैको नागरिकता/राहदानी लिएका लामिछाने नेपाल आएर ६२ घण्टा लगातार ‘टक शो’ चलाएर विश्व कीर्तिमान राखेपछि थप चर्चामा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आफ्ना योजना सुनाउँदै उनले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन राजी गराएका थिए । त्यसपछि नै लामिछानेले १४ वर्षको अमेरिका बसाइ छोडेर स्वदेश फर्किएका हुन् ।

ओली प्रधानमन्त्रीबाट हटेर दाहाल प्रधानमन्त्री बने, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ पनि बन्द भयो । त्यसपछि उनले न्युज २४ बाट ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत नागरिकका आवाज उठाउन थाले । देश/विदेशमा नेपालीले पाएका दुःखलाई राज्यका जिम्मेवार निकायसम्म पुर्‍याउने मात्र होइन, भ्रष्टाचार र सेवा प्रवाह चुस्त नभएकामा सरकारविरुद्ध निरन्तर खबरदारी गरिरहे । ०७६ साउन २० मा पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेपछि प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा चलायो । पछि उक्त मुद्दामा अदालतबाट सफाइ पाए । उनलाई पक्राउ गर्दा ‘राज्यले ज्यादती गरेको’ भन्दै लामिछानेको पक्षमा चितवनमा जनस्तरबाटै सरकारविरुद्ध प्रदर्शन र नाराजुलुस भएको थियो ।

प्रहरी हिरासतबाट बाहिरिएपछि नै उनले चितवनबाट आमनिर्वाचनमा विजयी हुने आधार बनाएको देखिन्छ । ११ दिन हिरासत बसेर धरौटीमा छुटेका उनले नारायणी किनारमा समर्थन गर्नेहरूलाई धन्यवाद दिन राखेको कार्यक्रममा हजारौं सर्वसाधारण सहभागी भएका थिए । त्यही भीड नै उनको राजनीतिक फड्को मार्ने आधार बनेको कतिपय बताउँछन् ।

०७७ फागुनमा लामिछानेले न्युज २४ टेलिभिजन छोडेर ग्यालेक्सी फोरके सञ्चालनको घोषणा गरे । ०७८ असोज १५ बाट प्रसारणमा आएको ग्यालेक्सीमार्फत पनि उनले जनसरोकारका विषय अघि सारिरहे । टेलिभिजन पत्रकारिता छाडेर उनले गएको असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे । हालै सम्पन्न निर्वाचनमा उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरले विजयी भएका थिए ।

प्रकाशित : पुस १२, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण अफ्रिकीलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिका हुँदै आउने विदेशीलाई समेत कोरोना परीक्षण रिपोर्ट र औचित्यका आधारमा मात्रै भित्र्याइने  
 कूटनीतिक, सरकारी र आपत्कालीन काममा आउनेलाई भने छुट,  उच्च सतर्कता अपनाउन डब्लूएचओद्वारा सचेत
मातृका दाहाल, स्वरूप आचार्य

काठमाडौँ — कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ । गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिलो पटक यो भेरिएन्ट पुष्टि भएको थियो ।

त्यसयता विभिन्न अफ्रिकी, युरोपेली र एसियाली मुलुकमा समेत यसका संक्रमित फेला परेपछि गृह मन्त्रालयले सतर्कता अपनाउन भन्दै दक्षिण अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘कूटनीतिक, सरकारी र आपत्कालीन कार्यका लागि आउनेबाहेक सबै अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउन सम्बन्धित सबै कार्यालयलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘निर्देशनमा दक्षिण अफ्रिका हुँदै आएका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षण रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन भनिएको छ ।’ गृहको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका कार्यालयलाई परिपत्र गरेको जनाएको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपालमा त्यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत पहिलो साताबाट अन्तर्राष्ट्र्रिय नाकामा स्वास्थ्य परीक्षण र आवागमन व्यवस्थापनको पहल थालेको थियो । चैत ११ बाट देशव्यापी लकडाउन नै घोषणा गर्दै केन्द्रमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन र जिल्ला तहमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय र निर्देशनबाट विदेशी आवागमन व्यवस्थापन मिलाइयो । त्यसपछिको डेढ वर्षजति सरकारले सीमा नाका सिल गर्दै ‘नियन्त्रित अवधारणा’ अन्तर्गत विदेशीलाई आवागमनको व्यवस्था मिलाएकोमा २०७८ असोज ५ मा मन्त्रिपरिषद् बैठकले बन्द सीमा नाका खोल्ने निर्णय गरेको थियो । त्यसपछि भने भारतीयले परिचयपत्र र तेस्रो देशका नागरिकले भिसाका आधारमा प्रवेश पाउँदै आएका थिए ।

गृहको पछिल्लो निर्देशनपछि भने अब दक्षिण अफ्रिकालाई ट्र्रान्जिट बनाएर आउने विदेशीका हकमा समेत कडाइ गरिने भएको छ । अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले मन्त्रालयको निर्देशनसँगै अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाका हुँदै संक्रमणको जोखिम देखिएका मुलुकबाट आउने विदेशीलाई प्रवेशमा कडाइ गरिएको बताए । यद्यपि कूटनीतिक, सरकारी र अत्यावश्यक कामका सिलसिलामा आउनेको हकमा भने तोकिएको जनस्वास्थ्य मापदण्डका आधारमा निर्णय लिइने उनले जानकारी दिए ।

‘कोरोना महामारीको नयाँ भेरिएन्ट देखिएका मुलुकबाट समेत विदेशी नागरिक नेपाल आउन सक्ने जोखिमलाई ध्यानमा राखेर सीमा नाकामा कडाइ गर्न मातहत संयन्त्रहरूलाई निर्देशन दिएका छौं,’ निर्देशक ढकालले कान्तिपुरसँग भने, ‘आउनैपर्ने अत्यावश्यक अवस्था भएमा त्यसलाई दृष्टिगत गरेर होटल क्वारेन्टिनमा बस्नुपर्ने, दुवै मात्रा खोप लगाएको प्रमाणपत्र र पीसीआर रिपोर्ट भएको अवस्थामा फिल्डमै स्थानीय प्रशासनको आदेशअनुसार निर्णय लिइनेछ ।’

नेपालमा दक्षिण अफ्रिकाबाट कूटनीतिक, सरकारी र पर्यटक भिसामा मासिक सरदर २ सयको हाराहारीमा आगमन हुने गरेको अध्यागमन विभागको तथ्यांकबाट देखिन्छ । विभागका अनुसार दक्षिण अफ्रिकाबाट सन् २०२० मा २ हजार ३ सय ६, सन् २०१९ मा २ हजार २ सय ६४, सन् २०१८ मा २ हजार ३ सय ९८ र सन् २०१७ मा २ हजार १ सय १ जना नेपाल आएको देखिन्छ ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबारको बैठकमा समेत ओमिक्रोनलाई नेपाल भित्रिन नदिनका लागि अपनाउनुपर्ने उपाय तथा नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे छलफल भएको छ । सीसीएमसीसीकी प्रवक्ता सुनीता नेपालका अनुसार समितिमा यसबारे छलफल भए पनि ठोस निर्णय भने भएन । ‘अहिले सीसीएमसीसीले आफैं केही निर्देशन दिन मिल्दैन । हामीले छलफल गरेर सिफारिस मात्रै गर्ने हो । छलफल भएको छ, केही निर्णय भएको जानकारी मैले प्राप्त गरेको छैन,’ उनले भनिन् ।

हाल दक्षिण अफ्रिका तथा त्यसका छिमेकी मुलुक हुँदै यात्रा गरेकाहरूमा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि हुन थालेपछि विश्वभर त्रास बढाएको छ । यस्ता संक्रमितहरू नेदरल्यान्ड्स, इटाली, बेल्जियम, बेलायत, अस्ट्रेलिया, अमेरिका र इजरायलमा फेला परिसकेका छन् । भारतको बैंग्लोरमा समेत दक्षिण अफ्रिकाबाट आएका २ जनामा संक्रमण देखिएपछि थप परीक्षण भइरहेको बताइएको छ । ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक रहेको अनुसन्धानकर्ताहरूको भनाइपछि विश्वका विभिन्न मुलुकले यसको नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरू लिन थालेका छन् ।

इजरायलले १४ दिनका लागि विदेशीलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ भने युरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाई उडान पूर्णरूपमा रोकेका छन् । केही मुलुकले अफ्रिकी मुलुक हुँदै यात्रा गर्नेहरूलाई अनिवार्य क्वारेन्टिन र परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×