मेला–मेलामा भलिबल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेला–मेलामा भलिबल

कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा आयोजना हुने भलिबल प्रतियोगिताले मेलाको रौनक मात्र बढाइरहेका छैनन्, अन्तर्राष्ट्रियस्तरकै खेलाडी पनि जन्माएका छन्, यस्ता मेलामा राखिएका लाखौं राशिका पुरस्कारले खेलप्रति स्थानीयलाई लोभ्याइ रहेको छ
रूकुम पश्चिम र जाजरकोटको जिल्लास्तरीय भलिबल टिम ४० को दशकमा मध्यपश्चिम क्षेत्रमै अब्बल थियो, २०५२ पछि सशस्त्र द्वन्द्वका कारण बन्द भएका स्थानीय मेलापात राजाको शाही शासनकालमा झनै ठप्प भए तर पछिल्ला वर्ष यस्ता प्रतियोगिता ब्युँतिएका छन्
हरिहरसिंह राठौर, हरि गौतम, वसन्तप्रताप सिंह

जाजरकोट, रुकुम पश्चिम र बझाङ — गाउँमा कुनै मेला पर्वमा भलिबल प्रतियोगता हुने भयो भने बाँफिकोट गाउँपालिका–५ की २२ वर्षीया बेलकुमारी रिजालको व्यस्तता बढिहाल्छ । बाँफिकोटको महिला भलिबल समूहको नेतृत्व गरिरहेकी उनी समूहका साथीलाई प्रतियोगिताबारे खबर गरिहाल्छिन् । अनि त सुरु भइहाल्छ, एक साता लामो तयारी । पहाडी जिल्ला भएर के भो, बेलकुमारीहरू गाउँकै सामुदायिक विद्यालययका चौरमा भेला हुन्छन्, अनि तयारीमा जुट्छन् ।

महिला भएर भलिबल खेल्ने भन्ने प्रश्न बेलकुमारीले कति पटक सुनिन्, त्यसको हेक्का छैन । तर, पहाडी जिल्लाका अनेक मेलामा मुख्य आकर्षणको रूपमा रहने भलिबल प्रतियोगितामा सहभागिता बढाउँदै अनेक पदक र पुरस्कार जित्न थालेपछि प्रश्न गर्नेहरू आफैं चुप हुँदै गए । ‘फाट्टफुट्ट खेल हुँदा हाम्रो चासो पनि कम थियो, अहिले सबैजसो मेलामा भलिबल खेलिन्छ,’ उनले भनिन्, ‘सानातिना मेलामा सहभागी हुँदैहुँदै हाम्रो टिमले जिल्लाका सबैजसो प्रतियोगितामा भाग लिइरहेको छ ।’ पछिल्ला वर्ष त प्रतियोगिता हुँदा पालिकाले नै उनीहरूलाई खेल सामग्री र पोसाक उपलब्ध गराउने गरेको छ ।

मध्यपश्चिमदेखि कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा विभिन्न पर्वका अवसरमा आयोजना हुने भलिबल प्रतियोगिताले मेलाको रौनक मात्रै बढाइरहेका छैनन्, स्थानीयस्तरमा खेलाडी पनि जन्माइरहेका छन् । कतिपय यस्ता मेलामा राखिएका लाखौं रुपैयाँ धनराशिको पुरस्कारले खेलप्रति स्थानीयको आकर्षण बढाइरहेको छ । यस्तो आकर्षणले बेलमाया जस्ता स्थानीय महिला खेलाडीको पनि उत्पादन गरिरहेको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ खदीका ३४ वर्षीय महेश परियारले गाउँमा आफ्नो नेतृत्वमा भलिबल टोली बनाएका छन् । उनको समूहले जिल्लाभित्र र जाजरकोट, डोल्पा, सल्यानलगायत छिमेकी जिल्लामा आयोजना हुने अधिकांश प्रतियोगितामा भाग लिइरहेको छ । जिल्लाभित्र मेलापर्व आयोजना हुँदा केही समयअघि गाउँ बाहिर रहेका खेलाडी गाउँ फर्कन्छन् र तयारीमा जुट्छन् । उक्त समूह सुरुमा आठबीसकोट–९ राडीमा आयोजना हुने चौतारा मेलाका लागि बनाइएको थियो । हरेक वर्ष तिहारपछि चौतारा मेलामा महत्त्वपूर्ण इभेन्ट बनेको छ– भलिबल । ‘मेलाहरूमा खेल्दाखेल्दै हाम्रो टिम जिल्लामै नमुना बनिसक्यो,’ महेशले भने, ‘स्वस्फूर्त रकम उठाएर टिम बनाएका हौं, कुनै मेला पर्व आए कम्तीमा २ सातादेखि नै तयारीमा जुट्छौं ।’

पछिल्ला वर्ष कर्णाली प्रदेशका विभिन्न मेलापर्व र नाचगानसँगै प्रतियोगितात्मक भलिबल प्रतियोगीता पनि नयाँ आकर्षणका रूपमा रहने गरेको छ । कर्णालीका पहाडी र हिमाली जिल्लामा दसैंतिहारसँगै विभिन्न मेला सुरु हुन्छन् । भलिबलमा धेरै जिल्लाका धेरै समूहले भाग लिन थालेपछि १/२ दिनसम्म चल्ने मेला तीन दिनसम्म सञ्चालन हुन थालेका छन् । ‘भलिबल आयोजना गरिए कम्तीमा १०/१५ वटा टिम त सहभागी हुन्छन् नै,’ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नरजंग बुढाले भने, ‘एकै दिनमा सबै समूहको खेल नसकिने भएपछि मेलाको अवधि पनि बढिरहेको छ ।’ उनले विगत वर्षमा एकै दिन सकिने बेल्टापु मेला अहिले ३ दिनसम्म लाग्ने गरेको उदाहरण सुनाए ।

रुकुम पश्चिम र जाजरकोटको जिल्लास्तरीय भलिबल टिम ४० को दशकमा मध्यपश्चिम क्षेत्रमै अब्बल थियो । २०५२ पछि सशस्त्र द्वन्द्वका कारण बन्द भएका स्थानीय मेलापात राजाको शाही शासनकालमा झनै ठप्प भए । तर पछिल्ला वर्ष यस्ता प्रतियोगिता ब्युँतिएका छन् । चौरजहारीका पदम लामिछानेले यस्ता मेलामा भलिबलले छुट्टै रौनक थप्ने गरेको बताए । ‘युवाहरू विदेश र जिल्लाबाहिर भएपछि खेलप्रति सामान्य रुचि राख्नेबीच नै प्रतिस्पर्धा हुन थालेको छ,’ उनले भने, ‘यहाँ हुने प्रतियोगितामा पेसेवरभन्दा अरू नै खेलाडीका रूपमा सहभागी हुने गरेका छन् ।’ उनका अनुसार पछिल्लो समय कर्मचारी, जनप्रतिनिधि, व्यापारीलगायत बीच प्रतियोगिता हुन थालेको छ ।

दसैंलगत्तै जाजरकोट र रुकुम पश्चिममा मेला सुरु हुन्छन् । तीमध्ये बारेकोटको रामीडाँडा मेला, खलंगाको रमाइलो मेला, रुकुमपश्चिमको राडीज्युला मेला, चौरजहारीस्थित शंखपिपल मेलालगायतमा भलिबल प्रतियोगिता रोचक हुने गरेको छ । गत कात्तिकमा आठबीसकोट–९ स्थित चौतारा मेलामा आयोजना गरिएको भलिबलमा प्रथम हुने समूहले २ लाख पुरस्कार पायो भने उपविजेतालाई १ लाख १० हजार रुपैयाँ दिइयो ।

‘भलिबललाई अहिले राम्रो अवसरका रूपमा लिइएको छ,’ भलिबल रेफ्री रुकुम पश्चिमका सुधीरविक्रम शाह भन्छन्, ‘भलिबल खेल र खेलाडीका लागि जति राम्रो अवसर छ त्यतिकै खेलको विकास हुन भने सकेको छैन ।’ उनका अनुसार जिल्लामा एक महिनामै भलिबलका ३ वटासम्म खेल भइरहेका छन् । प्रतियोगिता आयोजना गर्ने अधिकांशले ५० हजारभन्दा माथि राशिको पुरस्कार विजेतालाई दिने गरेका छन् । उनका अनुसार एउटा प्रतियोगितामै ५ लाख रुपैयाँसम्म पुरस्कार रकम खर्च हुने गरेको छ ।

पुरस्कार राशि बढी हुन थालेपछि जिल्ला बाहिरबाट समेत खेलाडी ल्याउन थालिएको डाँफेमुनाल युवा क्लबका अध्यक्ष नरेश पुनमगरले बताए । ‘पुरस्कार राशि बढ्दै गएपछि प्रतियोगिता जित्नका लागि खेलाडी किन्ने क्रम पनि बढिरहेको छ,’ उनले भने, ‘केही समूहले त खेलाडीलाई राम्रो पारिश्रमिक दिएरै जिल्लाबाहिरबाट बोलाइरहेका छन् ।’ एउटा प्रतियोगितामा सहभागी खेलाडीलाई २० हजारसम्म पारिश्रमिक दिन थालिएको छ ।

अहिले मेलाको शैली फेरिएको जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत कर्मचारी खगेन्द्र बोहरा बताउँछन् । ‘पहिलेका मेलामा मौलिक नाचगान मात्र हुन्थे,’ उनले भने, ‘अहिले भलिबलले स्थानीय मेलामा युवाको आकर्षण बढाएको छ ।’ उनका अनुसार अहिले मेलामा गर्रा, सिंगारु, टप्पा, ख्याली, देउडा, खाँडो, बन्गारी, झ्याउरेलगायत नाचगान पनि देखाइन्छन् । बारेकोटस्थित रामीडाँडा मेला आयोजक समितिका सदस्य एवं पूर्वखेलाडी दलबहादुर बुढाका अनुसार बर्सेनि मेलामा आयोजना हुने भलिबलमा विजेता समूहलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरिएको छ । उनले खेलाडी व्यवस्थापन, रेफ्री, खेल सामग्रीलगायत शीर्षकमा भलिबल प्रतियोगिता सञ्चालन गर्दा १५ लाख रुपैयाँसम्म खर्च हुने गरेको बताए । ‘पुरस्कार रकमको आधाजति खर्च त गाउँपालिकामा प्रस्तावना पेस गरेर ल्याउँछौं,’ उनले भने, ‘बाँकी रकम चन्दा संकलन, दाताबाट र खेलाडीको प्रवेश शुल्कबाट उठाइन्छ ।’ उनले खेलाडी टिमबाट ५ हजार रुपैयाँ शुल्क लिने गरिएको जानकारी दिए । गत वर्ष बारेकोट गाउँपालिकाले मेलामा भलिबल प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँ छुट्याएको थियो ।

जति ठूलो पुरस्कार राशि भए पनि खेलाडीको व्यवस्थापनमा भने समस्या हुने गरेको चौरजहारी भलिबल टिमका प्रशिक्षक यदु आचार्यले बताए । ‘जति ठूलो पुरस्कार राशि भयो खेलाडीले उति धेरै सुविधा खोज्छन्,’ उनले भने, ‘हामी त जति खर्च भए पनि इज्जतका लागि पनि भलिबल प्रतियोगितामा भाग लिन्छौं ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्माले प्रतियोगिताहरूले खेलाडीलाई सशक्त बनाइरहेको बताए । उनका अनुसार स्थानीय सरकारले भने खेल प्रवद्र्धनका लागि बेवास्ता गरिरहेका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी खेलाडी र खेल क्षेत्रलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन महत्त्वका साथ बजेट विनियोजन भइरहेको बताउँछन् । उनका अनुसार यो वर्ष विभिन्न प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘पहाडी क्षेत्र भएकाले अरुभन्दा बढी भलिबलमा युवाको आकर्षण छ,’ उनले भने, ‘हामीले जतिसक्दो राम्रा खेलाडी उत्पादन होउन् र राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलमा सहभागी बनुन् भनेर हरेक वर्ष खेल क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिरहेका छौं ।’

अन्तर्राष्ट्रिय खेलाडी जन्माउने मेला

गत भदौ २० देखि सुरु भई एक साता चलेको बिर्सती मेलामा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता भयो । कुल २ लाख ७२ हजार ३ सय ६० नगद पुरस्कारसहितको यो प्रतियोगितामा प्रथम हुने बिक्युब कठायत स्पोर्ट्स क्लबले १ लाख २० हजार ९२० रुपैयाँ जित्यो । दोस्रो स्थान प्राप्त गरेको बान्नी मस्टा युवा क्लबले ६० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

जिल्लाका विभिन्न पालिकाका २१ टिमको सहभागिता रहेको ‘बिर्सती कप’ जित्नका लागि राम्रो भलिबल खेल्ने तर रोजगारीका लागि भारत गएकादेखि राष्ट्रिय टिममा खेलिरहेका खेलाडी बझाङ आएका थिए । यो प्रतियोगितालगत्तै कोजाग्रत पूर्णिमाका दिन सदरमुकाम चैनपुरमा लाग्ने मेलाको सिलदेवी कप भलिबलको पुरस्कार सार्वजनिक भयो । उद्योग वाणिज्य संघ बझाङले आयोजना गर्ने यो प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ५५ हजार ७ सय ७७ हुनेछ भने प्रथम हुने टिमले १ लाख ३१ हजार १११ नगद पुरस्कार पाउनेछ । संघले पुरस्कार राशि घोषणा गरेको दुई दिनपछि थलारामा हुने दसैं कप भलिबलको राशि घोषणा भयो । यो प्रतियोगिताको कुल पुरस्कार ३ लाख ५३ हजार ८० छ ।

गत साउनमा यस्तै प्रतियोगिता सुर्मा गाउँपालिकामा लाग्ने बिरिजात मेलामा भएको थियो । कुल १ लाख ६७ हजार पुरस्कार राशिको यो प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार बिक्युब कठायत स्पोटर््स क्लबले जितेको थियो । यो प्रतियोगिताका लागि नेपालको तर्फबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका त्रिभुवन आर्मी क्लबका खेलाडी हरिहजुर थापा, राजेन्द्र विष्ट, दुर्गाबहादुर खड्कालगायत सुर्मा आएका थिए ।

सुर्माको बिरिजात मेलाबाट सुरु भएको प्रतियोगिताको यो शृंखला आगामी नयाँ वर्ष (बिसुपर्व) सम्म चल्नेछ । बिर्सतीपछि खप्तड छान्नाको सैनडाँडा, मस्टा गाउँपालिकाको घचाया, सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हुँदै छबिस पाथीभेराको बान्नीचौरमा लाग्ने बान्नीकी चैतलीसम्म आइपुग्दा पुरस्कारको राशि बढाउने प्रतिस्पर्धा हुने गरेको छ । नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा मनाइने बिसु पर्वमा जिल्लाभर साना–ठूला प्रतियोगिता भएपछि जेठ र असारका लागि यो शृंखला रोकिन्छ ।

‘झुम्राको बल बनाएर भलिबल सिकेको हुँ । यस्तै मेलामा हुने प्रतियोगिताले मलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याएको हो,’ बंगलादेशमा भएको एसिएन भलिबल च्यालेन्ज प्रतियोगितामा सहभागी दिनेश गिरीले भने, ‘मेरो भलिबलको गुरु भने पनि प्रशिक्षक भने पनि यस्तै मेलामा हुने प्रतियोगिता थिए ।’ सशस्त्र प्रहरी क्लबका तर्फबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेलिसकेका गिरी अहिले भलिबल प्रशिक्षकको रूपमा धनगढीमा कार्यरत छन् ।

बझाङका विभिन्न मेलापर्वमा भएका भलिबल प्रतियोगिता । फाइल तस्बिर : वसन्तप्रताप/कान्तिपुर

जिल्लाभित्र सरकारी र गैरसकारी क्षेत्रबाट भलिबल सिकाउने कुनै पनि प्रशिक्षण केन्द्र छैनन् । तर पनि मेला पर्वमा हुने प्रतियोगिता स्थानीय खेलाडी जन्माउने कारखाना जस्ता भइरहेका छन् । अहिले नेपाल पुलिस क्लबमा आबद्ध दुर्गाथली गाउँपालिका–७, गैराका विशाल विकले इन्डोनेसियामा भएको अठारौं एसियाली खेलकुद, १३ औं दक्षिण एसियाली खेलकुद र एसियाली भलिबल च्यालेन्ज (एभीसी सेन्ट्रल जोन) जस्ता प्रतियोगितामा भाग लिइसकेका छन् । ‘बिर्सती मेलामा नै मैले जीवनको पहिलो भलिबल प्रतियोगिता फेस गरेको थिएँ,’ उनले भने, ‘मेलामा पाएको सफलताले भलिबल क्षेत्रमा लाग्न प्रेरणा दिएको हो ।’

दुर्गाथली गाउँपालिकाकै दिपक जोशी पनि अहिले नेपाल पुलिस क्लबभित्र होनहार भलिबल खेलाडीका रूपमा गनिन्छन् । अठारौं एसियाली खेलकुद प्रतियोगिता, एभिसी सेन्ट्रल जोनदेखि लिएर डेनमार्कलगायत विभिन्न देशका टिमसँग भलिबल खेलेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइसकेका जोशी पनि बझाङका मेलापर्वमा हुने प्रतियोगिताले आफूलाई खेलाडी बनाएको बताउँछन् । ‘मेलामा भलिबल प्रतियोगिता हुने भयो भने दाइहरू जाली बाँधेर भलिबलको प्राक्टिस गर्थे,’ उनले बाल्यकाल सम्झिए, ‘हामी झुम्राको बल बनाएर डोरी टाँगेर उनीहरूको सिको गर्थ्यौं ।’

बझाङमा यस्तै मेला पर्वमा हुने प्रतियोगिताबाट भलिबल सिकेका ज्ञानबहादुर मल्ल, अम्मर गिरीले पनि दक्षिण एसियाली खेलकुदमा नेपालको तर्फबाट खेलेका थिए । पछिल्लो समय पुलिस क्लबमा आबद्ध हेमन्त मल्ल पनि राम्रो सम्भावना भएका खेलाडीमा गनिन्छन् । यी खेलाडी बझाङबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेल खेल्न पाउने खेलाडीमा पर्छन् ।

स्थानीय मेलापर्वमा हुने प्रतियोगितामा चम्केका सबै खेलाडीले अगाडि बढ्ने अवसर भने पाएका छैनन् । ‘हामी भाग्यले क्लबमा छिर्न पायौं । यहाँ तालिम प्रशिक्षण पाएर यो ठाउँमा पुग्यौं,’ नेपाल पुलिस क्लबका विशाल विक भन्छन्, ‘हाम्रोभन्दा राम्रो खेल्ने साथीहरू पनि थिए, उनीहरूले अवसर पाएनन् ।’

लामो समयदेखि सुर्मादेवी क्लबमा आबद्ध चन्द्रबहादुर सिंहले बलियो सरकारी पहलको अभावमा मेलापर्वबाट उदाएका राम्रा खेलाडी अगाडि बढ्न नसकिरहेको बताए । जिल्लामा खेलकुद विकास समिति भए पनि त्यो राजनीतिक भर्ती केन्द्र मात्रै उनको भनाइ छ । ‘जिल्लामा अहिलेसम्म एक जना पनि प्रशिक्षक ल्याउन सकेका छैनन् । प्रशिक्षक भइदिएको भए बझाङले निकै राम्रा खेलाडी उत्पादन गर्न सक्थ्यो ।’

खेल विकासका लागि प्रदेश र स्थानीय सरकार उदासीन भएका कारण भलिबल खेलाडीले आफ्नो क्षमता देखाउने अवसर मेलापर्वमा मात्रै सीमित भएको बझाङ खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया बताउँछन् । अहिले प्रदेश मातहत रहेको समितिका अध्यक्ष रोकायाले आफूले प्रशिक्षक पठाइमाग्न प्रदेश सरकारसँग थुप्रै पटक अनुरोध गर्दा पनि वास्ता नगरेको बताए । ‘प्रदेशमा गयो भने कोटा छैन भन्छन् । जनप्रतिनिधिमा खेलकुद भनेको मनोरञ्जनको साधन मात्रै हो भन्ने बुझाइ भएका कारण हामी पछि परेका हौं,’ उनले भने, ‘नभए पालिकालाई पनि त प्रशिक्षक नियुक्त गरेर, अरू पूर्वाधार बनाएर खेल क्षेत्रको विकास गर्नुपर्ने हो नि ।’

प्रकाशित : आश्विन १५, २०७९ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्

छथरले मलामी खर्च दिने

कान्तिपुर संवाददाता

तेह्रथुम — छथर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मलामी खाजाका लागि आर्थिक सहयोग गर्ने भएको छ । न्यून आय भएकाका सदस्यको निधन हुँदा मलामीका लागि खाजाको व्यवस्था गर्न बढीमा ५ हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने नीति लिइएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए । कार्यपालिका बैठकले यो कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको छ ।

उक्त पालिकाका प्रवक्ता राजन नेपालीले स्थानीय सरकारले थोरै भए पनि शोकमग्न विपन्न परिवारलाई सहयोग गर्ने नीति लिएको बताए । मृतकका परिवार र आफन्तले तत्कालका लागि भने रकम आफैं जोहो गर्नुपर्ने छ । उक्त रकम प्राप्त गर्नका लागि वडा कार्यालयबाट मृत्यु दर्ता गराएर आएका मृतकका परिवारजनलाई तत्कालै सहयोग रकम दिने व्यवस्था गाउँपालिकाले मिलाएको छ ।

मलामी खाजाका लागि चन्दा उठाउन नपरोस् भनेर यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । गरिब परिवारलाई किरिया खर्चसमेत उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । साथै, नवविवाहिता र नवजात शिशु स्वागतसँगै जनही १ हजार रुपैयाँ सहयोग पनि गर्ने भएको छ । जन्म, विवाह र मृत्यु जस्ता संस्कारमा जनसरोकारका कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×