समयमै पाङ्ग्रा नकिन्दा निगमको दिल्ली उडान फेरि रोकियो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमै पाङ्ग्रा नकिन्दा निगमको दिल्ली उडान फेरि रोकियो 

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगम व्यवस्थापनले बेलैमा वाइडबडी जहाजका लागि एउटा पाङ्ग्रा जुटाउन नसक्दा दिल्लीका लागि बिहान १० बजेदेखि विमानस्थल पुगेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । 

निगमका एक इन्जिनियरका अनुसार पाङ्ग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको उडान प्रभावित भएको यो दोस्रो घटना हो । यसअघि साउन पहिलो साता पनि निगम व्यवस्थापनले बेलैमा पाङ्ग्रा खरिद नगर्दा दिल्लीकालागि बेलैमा जानुपर्ने २ सय ५० जना यात्रु काठमाडौंमा अलपत्र परेका थिए भने उताबाट फर्किने यात्रु पनि दिल्लीमा घन्टौं कुर्न बाध्य भएका थिए ।

वाइडबडीको पछाडिका ८ वटामध्ये फेर्नुपर्ने एउटा पाङ्ग्रा बेलैमा उपलब्ध नहुँदा दिल्लीका लागि साढे १ बजे उड्नुपर्ने निगमको वाइडबडी अहिलेसम्म मर्मत नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकले आरए २१७ उडान साँझ ५ बजेसम्म हुने र आजै साँझ दिल्लीबाट फर्किने बताए । निगमको तालिकाअनुसार आरए २१७ नम्बरको उडान हरेक दिन काठमाडौंबाट १:२५ मा दिल्ली जाने र उताबाट भारतीय समय अनुसार ४:२० मा काठमाडौं फर्किने तालिका छ ।

पाङग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दिल्ली जाने निगमका सबै यात्रुलाई बोर्डिङ पास लिइसकेको र जहाजको पर्खाइमा रहेको बताए । ‘आठ घण्टाभन्दा बढी समय लाग्ने भए निगमले यात्रुलाई होटलमा पठाउनुपर्ने हुन्छ, हामीलाई ५ बजेतिर जहाज उडाउने जानकारी दिइएको छ । विमानस्थल कार्यालयले यसमा सहजीकरण गर्दै छ,’ प्रवक्ता सिटौलाले भने ।

‘काठमाडौंबाट २ सय १५ जना यात्रु दिल्ली जानुपर्ने, जहाजको पाङ्ग्रा फेर्नुपर्ने खबर आएकाले यात्रुहरुको सुरक्षा जाँच गरेर विमानस्थलमा रहेका सोल्टी र र्‍याडिसन होटलले सञ्चालन गरेका लाउन्जमा खाना–खाजाको व्यवस्था गरिएको छ, विमानस्थलस्थित निगमका एक कर्मचारीले भने,‘हामीलाई ५ देखि साढे ५ सम्म जहाज उडाउने खबर आएकाले यात्रुलाई त्यही भनिरहेका छौं । अर्जेन्ट भएका र अर्को जहाजबाट युरोप अमेरिका जानेलाई भारतीय एयरलायन्समा टिकट काटेर पठाइरहेका छौं । अझै दुई जनाको व्यवस्था गर्दै छौं ।’

ती कर्मचारीका अनुसार, दिल्ली स्टेसनले नै ३ घण्टाभन्दा कम समय अवधि बाँकी भएका ट्रान्जिट यात्रुलाई आज नपठाउन भनेका ले त्यस्ता यात्रुलाई मिले आजै नमिले भोलिको उडानमा पठाइने कर्मचारीले बताए ।

उता दिल्लीबाट फर्किने यात्रु २ सय ७४ जना रहेको निगमले जनाएको छ । दिल्ली विमानस्थलमा पुगिसकेका यात्रुलाई बुधबार साँझै उडाइने भनिएको छ । निगमसँग २ सय ७४ सिट क्षमताका दुइटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुइटा न्यारोबडी विमान छन् । यीमध्ये तीनवटा मात्रै हाल उडानमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २९, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

जबराले नाम लिएका न्यायाधीश र वकिललाई महाभियोग सिफारिस समितिले बोलायो

कान्तिपुर संवाददाता

काठमाडौँ — महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

समिति सचिव लक्ष्मी गौतमका अनुसार बिहीबार बिहानदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको हो ।

महाभियोग सिफारिस समितिको बुधबारको बैठकले प्रधानन्यायाधीश जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको हो ।

बयानका क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए । त्यस्तै, न्यायाधीश प्रकाशमानसिंह राउतको पनि जबराले नाम लिएका थिए ।

जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेललाई पनि जबराले न्यायाधीशलगायत मागेको र आफूले नदिएपछि आन्दोलनमा उत्रिएको बताएका थिए ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललयातको नाम जबराले लिएका थिए । सबैलाई बिहीबार बोलाएर छलफल गर्ने निर्णय भएको गौतमले जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७९ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×