कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पाङग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

काठमाडौँ — मुख्य ल्याण्डिङ गियरको पाङग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १:२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ ।

पाङग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

मंगलबार दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए । ‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङगरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका ती यात्रुले भने, ‘इन्जिनियरले पाङग्रा फेरेपछि जहाज उड्ने भनिएको छ ।’

निगम प्रवक्ता अर्चना खड्काले आरए २१७ नम्बरको उक्त उडान रद्ध नगरिएको र मंगलबार नै दिल्ली जाने बताइन । उक्त उडानमा दिल्लीबाट २ सय ६ जना यात्रु नेपाल आउँदै छन् ।

निगमलाई पाङग्रा उपलब्ध गराउँदै आएको कोलोसस एयरले बेलैमा भुक्तानी नदिएकाले पाङग्रा उपलब्ध नगराएको एक प्राविधिकले बताए । ‘निगमले ६/७ महिनादेखि पाङग्रा बिक्री गर्ने व्यापारीको भुक्तानी रोकेकाले टायर दिन ढिलाइ गरेको रहेछ,’ ती प्राविधिकले भने, ‘आजलाई हारगुहार गरेर एउटा पाङग्रा मागेर साँझसम्म जहाज उडाउने छौं ।’

काठमाडौं र दिल्ली विमानस्थलमा यात्रु आइसकेकाले दुवै स्टेसनमा ड्युटीमा रहेका निगमका कर्मचारीलाई संशोधित समय तोक्न दबाब दिइरहेको एक अधिकारीले बताए । निगमसँग दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी गरी चारवटा विमान छन् ।

प्रकाशित : श्रावण ३, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×