धुवाँ देखिएपछि जापानका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो 

सुरज कुँवर

काठमाडौँ — १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।

धुवाँ देखिएपछि जापानका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो 

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । ‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए,’ निगमका एक अधिकारीले भने, ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो ।’

चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

नारिता विमानस्थलमा उडानको पर्खाइमा यात्रुहरू ।

प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयका एक कर्मचारीले बताए ।

जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ । त्यहाँ २ सय ४६ जना यात्रु रहेका छन् । त्यो वाइडबडी काठमाडौं फर्केर बुधबार राति दक्षिण सुडान जाने तालिका रहेको छ । काठमाडौं नारिता एकतर्फी करिब ७ घण्टा उडान समय लाग्छ ।

यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?