निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधियो ४३ प्रश्न

बयानका क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

काठमाडौँ — प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधियो ४३ प्रश्न

उनीसँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ । प्रतिप्रश्नका लागि बुधबार वा बिहीबार बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।

बयानका क्रममा जबराले आफू निर्दोष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

समितिले जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी गरेको छ । समितिका अर्का सदस्य प्रमोद साहका अनुसार ती व्यक्तिसँग पनि छलफल गरेपछि प्रतिवेदन तयार पारिने बताए । सदस्य साहले भने, 'जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ । कसैले कसैमाथि आरोप लाउँदा पुष्टि हुने कुरा होइन । त्यसैले आरोप लगाइएका व्यक्तिहरूका कुरा पनि सुनिनुपर्छ भन्ने हो ।' जबराविरुद्ध उजुरी दिने व्यक्तिहरूलाई छलफलका लागि बोलाउने कि भन्ने विषयमा समितिको आन्तरिक बैठकमा चर्चा भएको थियो ।

जबराले आरोप लगाएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी

प्रतिनिधिसभाका ९८ सांसदले गत फागुन १ मा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधिसभाले छलफल गरेर गत साउन २२ मा मात्रै महाभियोग छानबिन समितिमा प्रस्ताव पठाएको थियो ।

त्यसमाथि समितिले छलफल गरी भदौ ९ मा जबराविरुद्धका प्रमाण माग गरेको थियो । भदौ १२ सम्म प्रमाण संकलन गरेको समितिले भदौ १५ देखि जबरासँग बयान लिइरहेको छ । सुरुमा समितिले भदौ २० मा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको थियो तर समितिले त्यस अवधिमा काम सकेन ।

प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ मा सकिँदै छ । त्यसपछि समितिका सदस्यको पनि कार्यकाल सकिनेछ । बाँकी ५ दिनमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधिसभाले महाभियोग प्रस्ताव टुंगो लगाउन कठिन छ । संविधानले प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले पास गरेपछि मात्रै प्रधानन्यायाधीश जबरा पदमुक्त हुन्छन् । तर महाभियोग प्रस्ताव ल्याएको सत्ता गठबन्धनसँग दुई तिहाइ मत छैन । त्यसैले महाभियोग प्रस्ताव तत्काल टुंग्याउन सभामा पेस हुने सम्भावना कम छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि प्रस्ताव निष्क्रिय भएर जबरा अदालत फर्कन पाउँछन् कि निलम्बन निरन्तर रहन्छ भन्नेबारे स्पष्ट कानुनी व्यवस्था छैन । यसबारे संविधानविद्हरूका धारणा विभाजित छन् ।

सम्बन्धित समाचार

जबराले महाभियोग समितिमा सामना गर्नेछन् यस्ता प्रश्न

प्रकाशित : भाद्र २८, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?