कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जबराले महाभियोग समितिमा सामना गर्नेछन् यस्ता प्रश्न

तुफान न्यौपाने

काठमाडौँ — महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेको छ । आफ्नो प्रतिरक्षा गर्ने अवसरलाई सदुपयोग गर्नुको सट्टा जबराले सहकर्मी न्यायाधीशहरू, बारका पदाधिकारी तथा दलका नेताहरूलाई दोषारोपण गरेर पहिलो दिनको ४ घण्टा बिताएका थिए । उनीमाथिको बयान केही दिन लम्बिने देखिएको छ ।

जबराले महाभियोग समितिमा सामना गर्नेछन् यस्ता प्रश्न

निर्धारित समयअनुसार बुधबार ११ बजे नै समितिको सिंहदरबारस्थित कार्यालय पुगेका जबरालाई करिब पौने २ घण्टा सचिवालयमा कुराएर बयान सुरु गरिएको थियो । पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार पुनः ११ बजे बोलाइएको छ ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो । भदौ १ मा पहिलो बैठक बसेकोमा समितिले भदौ ८ मा भने कार्यतालिका बनाउँदै १२ दिनमा प्रतिवेदन सदनमा बुझाउने तयारी गरेको छ ।

यस्ता हुनेछन् जबरासँग महाभियोग सिफारिस समितका सवाल :

१. तपाईंविरुद्धको महाभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको आरोप छ । त्यसमा आफ्नो भनाइ खुलाउनुहोस् ।

२. न्यायपालिकाभित्र विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको भन्ने आरोपमा तपाईंको भनाइ के छ ?

३. संविधानले स्वतन्त्र, सक्षम, निष्पक्ष र जवाफदेही न्यायपालिकाको परिकल्पना गरी तदनुरूपको संवैधानिक प्रबन्ध गरेको छ । संविधानको पवित्र उद्देश्य र संवैधानिक आदर्शलाई सम्पूर्ण रूपमा भताभुंग र नष्ट गर्ने गरी तपाईंबाट उक्त संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेकाले प्रधानन्यायाधीशको कर्तव्य पालना गर्न अक्षम तथा पूर्णत: विफल हुन पुगेको भन्ने आरोपबारे भनाइ राख्नुहोस् ।

४. न्यायपालिका संविधानको अन्तिम व्याख्याता हो भने यसको नेतृत्व गर्ने प्रधानन्यायाधीश न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्राप्त पदाधिकारी हुन् तर प्रधानन्यायाधीश जबराका कार्य एकपछि अर्को विवादास्पद, आपत्तिजनक, पदीय मर्यादा र आचरणविपरीत एवं संविधान र कानुनविपरीत हुँदै गएका छन्, बहालवाला प्रधानन्यायाधीशसँग संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने कुनै पनि गुण र विशेषता बाँकी नरहेकाले निजलाई पदमा कायम राखिरहन उपयुक्त देखिँदैन भन्ने आरोपमा भनाइ खुलाउनुहोस् ।

५. संविधानले प्रधानन्यायाधीशलाई अति उच्च विश्वासका साथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न जबरा अक्षम रहेको, न्यायालयको सारा इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट निज पूर्ण रूपमा विमुख र विफल भएको तथा जबरामा पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमतासमेत नदेखिएको कारणले निजलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार, कारण एवं अवस्था विद्यमान देखिएको छ भन्ने आरोप छ । यसमा आफ्नो भनाइ खुलाउनुहोस् ।

६. संवैधानिकता परीक्षण गर्न दायर भएका रिट निवेदनहरूको निरूपण समयमै गर्नुपर्ने प्रधानन्यायाधीशको जिम्मेवारीविपरीतका कार्य गरी न्यायमा विचलन ल्याएको आरोपमा भनाइ खुलाउनुहोस् ।

७. संवैधानिक परिषद्को सदस्यको हैसियतमा प्रधानन्यायाधीश जबरा आफूसमेत संलग्न भई विभिन्न संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सम्बन्धमा परेका रिट निवेदन एक वर्षसम्म पनि प्रारम्भिक सुनुवाइसम्म नगरी न्यायमा गम्भीर अवरोध र विचलनको अवस्था सिर्जना गरेको भन्ने आरोपमा आफ्नो भनाइ खुलाउनुहोस् ।

८. सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइराला संलग्न ज्यान मुद्दामा मातहत अदालतबाट भएको फैसला उल्टी गरी गैरकानुनी ढंगले कैद घटाएपछि पुन: सर्वोच्चमा पुनरावलोकनका क्रममा विचाराधीन रहेकामा त्यस्तो संगीन मुद्दाको शीघ्र सुनुवाइ गरी न्यायिक मूल्य पुनस्र्थापित गर्नुपर्नेमा आफैंले पटकपटक पेसी स्थगित गरेको र त्यही मुद्दालाई प्रभावित गर्ने गरी सार्वजनिक रूपमै फैसलाको प्रतिरक्षा गरेको देखिएको छ । प्रधानन्यायाधीशले इजलासबाहिर आफ्नो फैसलाबारे बोल्दै हिँड्नु र टीकाटिप्पणी गर्नु अदालतको गरिमा र पदीय मर्यादाअनुकूलको आचरण होइन, हुन सक्दैन भन्ने आरोप छ, यसमा भनाइ खुलाउनुहोस् ।

९. भ्रष्टाचारका मुद्दाको छिटोछरितो सुनुवाइ गर्ने प्रयोजनका लागि विशिष्टकृत अदालतका रूपमा विशेष अदालत गठन भएकामा उक्त अदालतमा महिनौंदेखि न्यायाधीशको पदपूर्ति नगरी विशेष अदालतको न्याय प्रक्रियामा समेत अवरोध सिर्जना गरेको भन्ने आरोपमा के भन्नुहुन्छ ?

१०. प्रधानन्यायाधीश तथा न्यायाधीशहरूले आफूसँग सम्बन्धित वा आफ्नो स्वार्थ रहेको मुद्दाको सुनुवाइ नगर्ने सिद्धान्तविपरीत संवैधानिक इजलासको सुनुवाइ रोकी पाऊँ भनी परेको रिट निवेदनलाई अस्वाभाविक तरिकाले एकल इजलासमा तोकी संवैधानिक इजलासलाई अनिश्चित कालसम्म अवरुद्ध गर्ने प्रबन्ध मिलाउन भूमिका खेलेको आरोपमा भनाइ राख्नुहोस् ।

११. न्यायाधीशको पदपूर्ति र उचित समयमा मुद्दाको फस्र्योट गर्न अक्षम रही निरन्तर न्यायमा अवरोध सिर्जना गरी आफू प्रधानन्यायाधीशको जिम्मेवारी वहन गर्न पूर्ण अक्षम सिद्ध भइसकेको भन्ने आरोपमा भनाइ राख्नुहोस् ।

१२. संवैधानिक परिषद्को पदेन सदस्यका रूपमा कार्यपालिकासँग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगमा आधार, कारण र मापदण्डसमेत निर्धारण नगरी आफ्ना परिवारका सदस्य तथा निकटका व्यक्तिहरूलाई प्रधानन्यायाधीश जबराले नियुक्तिको सिफारिस गरेको भन्ने आरोप छ । यसमा भनाइ के छ ?

१३. न्यायपालिकाका विकृति, विसंगति र भ्रष्टाचारका सम्बन्धमा अध्ययन गर्न गठित न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदन प्राप्त भएपछि पनि सो प्रतिवेदन लागू गर्न अनिच्छुक तथा अक्षम देखिएको भन्ने आरोप छ, यसमा भनाइ खुलाउनुहोस् ।

१४. मुद्दाको पेसी र न्यायाधीश तोक्दा कुनै निश्चित आधार, मापदण्ड र मान्य प्रचलन एवं अभ्यासको पालना नगरी, मनोमानी र अपारदर्शी आधारमा इजलास गठन गर्ने, खास–खास किसिमका मुद्दा आफ्नो इजलास वा नियन्त्रणमा पर्ने गरी इजलास तोक्ने तथा गुट/उपगुट सिर्जना गरी अदालतको न्यायिक कार्य सञ्चालनमा बाधा–अवरोध पुर्‍याएको भन्ने आरोपमा भनाइ के छ ?

१५. न्यायपरिषद् अध्यक्षको हैसियतले न्यायाधीशहरूको नियुक्ति मनोमानी ढंगले गरेको, नियुक्त भएका कतिपय व्यक्तिको योग्यता, क्षमता र अनुभव नभएकाले त्यस्तो गैरकानुनी नियुक्तिको कानुनी र नैतिक दायित्व निज प्रधानन्यायाधीशबाट पालना नभएको भन्ने आरोप छ । यसमा के भनाइ छ ?

१६. आफ्नै परिवारका सदस्य, नातागोता र आफूले नियुक्त गरेका कतिपय न्यायाधीश र पदाधिकारीलाई बिचौलियाका रूपमा संलग्न गराई भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जन गर्ने/गराउने कार्यमा संलग्न रहेको देखिन आएको छ । प्रधानन्यायाधीश स्वयं अवैध सम्पत्ति आर्जन गर्ने कार्यमा संलग्न रहेको विषयमा सम्पत्ति शुद्धीकरणलगायतका निकायमा छानबिनको माग भई उजुरीसमेत परेको छ । यस सम्बन्धमा समेत छानबिन गर्न महाभियोगको कारबाही चल्न आवश्यक छ भन्ने विषयमा आफ्नो भनाइ खुलाउनुहोस् ।

१७. सहकर्मी न्यायाधीशहरू प्रधानन्यायाधीशसँग इजलासमा सँगै बसी न्याय सम्पादन गर्न तयार नभएको तथ्यलाई स्वीकार गर्दै केवल हाजिर जनाएर निवास फर्कने गरेबाट प्रधानन्यायाधीश जबराको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुन असम्भव हुन गएको छ भन्ने आरोप छ । यसमा भनाइ के छ ?

१८. मुलुकको कानुन प्रणालीलाई दीर्घकालीन प्रभाव छाड्ने विधिशास्त्रीय महत्त्वको कुनै योगदान पुर्‍याउन प्रधानन्यायाधीश असफल भएका छन्, जनताका निमित्त अन्धकार र बिचौलियाका निमित्त सुरक्षित स्वर्गका रूपमा न्यायपालिकालाई स्थापित गर्ने असंवैधानिक एवं अमर्यादित हर्कतबाट न्यायपालिकालाई मुक्ति दिलाउनु अपरिहार्य भएको छ भन्ने आरोप छ । यसमा भनाइ के छ ?

१९. पूर्वन्यायाधीश, नागरिक समाज, नेपाल बार एसोसिएसन एवं सर्वोच्च अदालत बार एसोसिएसनसमेतबाट प्रधानन्यायाधीशको कार्यमा गम्भीर प्रश्न खडा गरी अविश्वास प्रकट गरेको र उल्लिखित बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन १०० दिनभन्दा बढी धर्ना, जुलुस, सभा सम्मेलनसमेतका विभिन्न कार्यक्रम गर्दै आएको र सिंगो न्यायिक प्रणाली अवसादको स्थितिमा रही संवैधानिक प्रणाली सुसञ्चालन हुनमा बाधा उत्पन्न भइरहेको र तत्काल यो परिस्थितिबाट न्यायोचित निकास दिनका लागि महाभियोगद्वारा निजको पदमुक्ति अति आवश्यक हुन आएको हुनाले प्रधानन्यायाधीश जबरालाई महाभियोग प्रस्ताव पारित गरी पदमुक्त गर्नुको विकल्प छैन भन्ने आरोपमा भनाइ खुलाउनुहोस् ।

२०. प्रधानन्यायाधीश जबराले साढे चार अर्बभन्दा बढी पर्ने वीरगन्ज महानगरपालिका छपकैयास्थित ३ बिघा १७ कट्टा क्षेत्रफलको ऐतिहासिक र धार्मिक महत्त्वको सार्वजनिक पोखरीसम्बन्धी विवादमा जिल्ला अदालत तथा उच्च अदालतबाट भएको फैसला उल्टी गरी पारिवारिक नाता पर्ने प्रमोदविक्रम शाहका नाममा हुने गरी फैसला गरेको भन्ने आरोप तथा उजुरी छ । यसमा भनाइ के छ ?

२१. सार्वजनिक खरिद ऐनअनुसार एक अर्बभन्दा माथिको ठेक्का लगाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ तर प्रधानन्यायाधीशको चासोअनुसार सर्वोच्चको भवन बनाउन राष्ट्रिय बोलपत्रबाटै ५ अर्ब ८७ करोडको ठेक्का लगाइयो, भवन निर्माण विभागले गर्नुपर्ने यो परियोजना ‘आर्थिक चासो’ कै कारण मुख्य रजिस्ट्रारलाई जिम्मा दिइएको छ भन्ने आरोप तथा उजुरी छ । यसमा भनाइ के छ ?

२२. प्रधानन्यायाधीश जबरासमेतको संलग्नता रहेको खुल्ने इन्जिनियर इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्रप्रसाद पोखरेलद्वारा गरिएको घूस प्रकरणसँग सम्बन्धित संवादको अडियो छ, यसमा भनाइ के छ ?

२३. सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र उच्च अदालतका न्यायाधीश नवराज थपलियाबीच प्रधानन्यायाधीश जबराबाट मुद्दा फैसला गराउने सम्बन्धमा पटकपटक भए गरिएका संवादमार्फत अनियमितता गरिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठद्वारा छानबिन भइरहेकाले ती सम्पूर्ण कल डिटेल र संवादमा संलग्न न्यायाधीशहरूलाई बुझी प्रमाणमा लगाई पाऊँ भन्ने आरोप तथा उजुरीमा भनाइ के छ ?

२४. सिद्धबाबाका नामले चर्चित कृष्णबहादुर गिरीको मुद्दामा आफूले आर्थिक अनियमितता गरी न्यायाधीश अर्जुन कोइरालालाई आफूले भनेबमोजिम फैसला गर्न दबाब दिएको र पछि आफूले भनेबमोजिम फैसला गरेकाले पुरस्कारस्वरूप उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेर अनियमितता गरिएको भन्ने आरोप तथा उजुरी छ । यसमा आफ्नो भनाइ के छ ?

२५. आइप्लेक्स महल, देवकोटा मार्ग, आइरिस लाउन्ज, फोन नं ०१४४९०५४९ बानेश्वरमा प्रधानन्यायाधीश जबराका भाइ प्रभुशमशेर जबराले भाडामा कोठा लिई मुद्दाका पक्षसँग सौदाबाजी गर्ने गरेको, बेलाबेला प्रधानन्यायाधीश स्वयं उपस्थित भई सौदाबाजीमा संलग्न भएको र सो कुरालाई पुष्टि गर्नका लागि निज प्रधानन्यायाधीशका भाइ प्रभुशमशेरको टेलिफोनको कल तथा म्यासेज डिटेल तथा उल्लिखित स्थान वरिपरिका सीसीटीभी फुटेजसमेत हेरी प्रमाण बुझी पाऊँ भन्ने आरोप तथा उजुरीमा आफ्नो भनाइ के छ ?

२६. प्रधानन्यायाधीश जबराले मुद्दाका पक्षहरूसँग बिचौलिया तथा सौदाबाजी गरी काठमाडौंको ठमेलमा श्रीमती रेजी राणाका नाममा २ रोपनी जग्गा खरिद गरेको (उक्त जग्गा बिक्री भइसकेको) हुनाले के–कुन आर्थिक स्रोतबाट उक्त जग्गा खरिद गरिएको हो भन्ने कुराको यथार्थ छानबिनबाट भ्रष्टाचार र अनियमितता पुष्टि हुने भएकाले सो सम्बन्धमा आवश्यक प्रमाण बुझिपाऊँ भन्ने आरोप तथा उजुरीबारे भनाइ के छ ?

२७. क्यासिनोको मुद्दामा राज्यलाई राजस्व नतिरी क्यासिनो व्यवसायलाई निरन्तरता दिन सघाउ पुर्‍याउने उद्देश्यले क्यासिनो सञ्चालकबाट मोटो रकम लिई राज्यलाई नोक्सानी पुर्‍याएको सम्बन्धमा यथार्थ विवरण छानबिन गरिपाऊँ भन्ने आरोप तथा उजुरीमा आफ्नो भनाइ खुलाउनुहोस् ।

२८. प्रधानन्यायाधीश जबराले स्वकीय सचिव पुष्पा तिवारीकी आमा सावित्राकुमारी शर्मा (प्राथमिक विद्यालयकी अवकाश प्राप्त शिक्षिका) लाई राष्ट्रिय महिला आयोगको सदस्यमा नियुक्ति दिलाएको तथा राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग तथा समावेशी आयोगमा आफ्ना सहकर्मीलाई नियुक्ति दिलाएको भन्ने आरोप तथा उजुरीबारे आफ्नो भनाइ के छ ?

प्रकाशित : भाद्र १६, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?