जबराको दोस्रो दिनको बयान सुरु- समाचार - कान्तिपुर समाचार

जबराको दोस्रो दिनको बयान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिन सुरु गरेका छन् । पहिलो दिन (बुधबार) विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई आज ११ बजे बोलाइएको हो ।

उनले बुधबार आफ्नो प्रतिरक्षा गर्ने अवसरलाई सदुपयोग गर्नुको सट्टा सहकर्मी न्यायाधीशहरू, बारका पदाधिकारी तथा दलका नेताहरूलाई दोषारोपण गरेर पहिलो दिनको ४ घण्टा बिताएका थिए । उनीमाथिको बयान केही दिन लम्बिने देखिएको छ ।

बुधबार निर्धारित समयअनुसार ११ बजे नै समितिको सिंहदरबारस्थित कार्यालय पुगेका जबरालाई करिब पौने २ घण्टा सचिवालयमा कुराएर बयान सुरु गरिएको थियो ।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो ।

६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो ।

भदौ १ मा पहिलो बैठक बसेकोमा समितिले भदौ ८ मा भने कार्यतालिका बनाउँदै १२ दिनमा प्रतिवेदन सदनमा बुझाउने तयारी गरेको छ ।

प्रकाशित : भाद्र १६, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

यी हुन् एमाले क्षेत्रीय कमिटीले प्रतिनिधिसभाका लागि काठमाडौंमा सिफारिस गरेका उम्मेदवार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले प्रतिनिधिसभाअन्तर्गत काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि नाम सिफारिस भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले बुधबार फरक–फरक बसेको बैठकले सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारका लागि नाम सिफारिस गरेको हो । 

जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरिएको छ । मैनाली काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर हुन् भने श्रेष्ठ केन्द्रीय सदस्य र भट्टराई वरिष्ठ अधिवक्ता हुन् ।

त्यसैगरी क्षेत्र २ बाट मणिराम फुयालको एकल नाम सिफारिस भएको छ। फुयाल प्रदेस सभाका सांसद हुन् । त्यसैगरी क्षेत्र नम्बर ३ बाट वहालवाला सांसद कृष्ण राईको नाम सिफारिस भएको छ । राईको एकल नाम सिफारिस भएको हो । काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेलको नाम सिफारिस गरिएको छ । भट्टराई एमाले स्थायी कमिटीका सदस्य हुन् भने कुँइकेल काठमाडौंका पूर्वअध्यक्ष हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम क्षेत्र नम्बर ५ बाट एकल सिफारिसमा परेको छ । २०७४ सालमा भएको निर्वाचनमा उनी त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । काठमाडौं ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ । संग्रौला प्रदेश सांसद हुन् भने प्रदेश कमिटीका सदस्य फुयाल काभ्रेस्थली गाउँ विकास समितिका अध्यक्ष हुन् । रिजाल र सिलवाल वाग्मती प्रदेश कमिटीका सदस्य हुन् भने प्रहरीबाट जागिर छाडेर राजनीतिमा आएका थापा तारकेश्वर नगरकमिटीका सह–सचिव हुन् । त्यसैगरी तिमल्सिना काठमाडौं जिल्ला कमिटीका सदस्य हुन् ।

क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, बीपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस गरेको छ । रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा पनि छलफल भएको थियो । पूर्वमेयर शाक्य र पन्तको पनि नाममा छलफल भएको भन्दै क्षेत्रीय समन्वय कमिटीले जिल्ला कमिटीमा नाम पठाएको एक नेताले बताए ।

सिफारिस भएको पन्त एमाले स्कुल विभागकी सदस्य हुन् भने घिमिरे प्रदेश कमिटीका सदस्य र ढकाल अन्य राजनीतिक दलबाट भर्खरै एमाले प्रवेश गरेका नेता हुन् ।

क्षेत्र नम्बर ८ मा राजेश शाक्यको एकल नामको सिफारिस भएको छ । शाक्य प्रदेशसभा सांसद हुन् ।

क्षेत्र ९ मा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिको पूर्वमेयर शाक्य र प्रदेशसभा सांसद अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको हो ।

त्यसैगरी क्षेत्र १० मा मजुदर संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन, वाग्मती प्रदेश कमिटीका सदस्य शरव महर्जन र काठमाडौं जिल्ला कमिटीका सदस्य हिमेश केसीको नाम सिफारिस भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बुधबार प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नामहरु सिफारिस गरेको बताए । काठमाडौं जिल्ला कमिटीले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक शनिबार बसेर नामहरु सिफारिस गर्ने निरौलाले बताए । निरौलाले आइतबार बस्ने जिल्ला कमिटीको बैठकले अहिले आएका नामसहित अन्य नामहरुमा छलफल गरेर प्रदेश कमिटीमा पठाउने बताए । प्रदेशलाई भदौ २२ गते नै केन्द्रलाई नाम बुझाउने समय सीमा तोकिएको छ ।

प्रकाशित : भाद्र १६, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×