कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा उखरमाउलो गर्मी

काठमाडौँसर्लाही, वीरगन्ज र महोत्तरी — पानी परेको छैन, तापक्रम दिनदिनै बढेको छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले यहाँको जनजीवन कष्टकर बनाएको छ । दिनदिनै तापक्रम ३८ डिग्रीभन्दा माथि पुग्दा सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यतिबिध्न छ कि पंखाको भरमा घरमा बस्न पनि गाह्रो छ ।

मधेसमा उखरमाउलो गर्मी

तीन सातायता दिनहुँ टन्टलापुर घामले बारा, पर्सा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीको जनजीवन प्रभावित छ । गर्मीका कारण सर्वसाधारण अपराह्न घरबाट निस्कन सकेका छैनन् । सहनै नसक्ने गर्मीले चोक–बजार सुनसान छ । तीन सातायता दिनहुँ बिहानदेखि बेलुकीसम्म टन्टलापुर घामले गर्मी बढाएको छ । सर्लाहीमा बिहानै ३२ डिग्रीबाट सुरु हुने जिल्लाको अधिकतम तापक्रम मध्याह्न ४० डिग्रीको हाराहारी पुग्छ ।

‘दिनभर टन्टलापुर घामले घर बाहिर निस्कनै गाह्रो छ, राति पनि गर्मी धेरै छ,’ गौरका मनोज ठाकुरले भने, ‘पंखा चलाएर बसे पनि पसिना खलखल आउँछ । बेलाबेला हावा नचलेर हप्प नै हुन्छ ।’ गर्मीका कारण बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म चोक, बजार तथा सडक सुनसान हुने गरेका छन् । धेरै गर्मी भएकाले सरकारी कार्यालयहरूमा सेवाग्रहीको चाप कम भएको छ । अतिआवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कनै छाडेका छन् । ग्रामीण क्षेत्रमा सर्वसाधारण गर्मी छल्न पीपलको चौतारोमा आराम गरिरहेका भेटिन्छन् ।

चर्को घाम र गर्मीले खेतबारीमा टिक्नै नसक्ने अवस्था भएको हरिपुर–४ हरैयाका विष्णु राउतले बताए । ‘गर्मीले किसानलाई झन् मार परेको छ । खेती लगाउने बेलामा काम गर्ने मान्छे नै पाइँदैनन्,’ उनले भने । उता अस्पतालहरूमा गर्मीका कारण हुने समस्याका बिरामीको चाप बढेको छ । टाउको दुख्ने, डायरिया, रुघाखोकी तथा ज्वरोलगायतका संक्रमणको समस्या लिएर आउने बढेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट नवलकिशोर झाले बताए । ‘गर्मीमा पसिना धेरै बग्छ, यस्तो समयमा पर्याप्त पानी पिउनुपर्छ,’ उनले भने । अत्यावश्यक काम नपरी बाहिर निस्कन सर्वसाधारणले कम गरे पनि हातमुख जोर्न बाहिरै निस्केर काम गर्नेलाई धेरै मर्का परेको छ । दैनिक ज्यालादारी गर्ने मजदुर र रिक्सा, ठेला चलाएर जीविका धान्दै आएकालाई गर्मीको दोहोरो मार परेको छ । व्यापारीका अनुसार पंखा, फ्रिज, कुलर र एसीको बिक्री बढेको छ । बढ्दो गर्मीसँगै हरियो तरकारी उत्पादनमा कमी आएपछि यसको मूल्यवृद्धि भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले वर्षे बिदा दिन परिपत्र गरे पनि सञ्चालन भइरहेका विद्यालयमा गर्मीकै कारण विद्यार्थीको चाप घटेको छ । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका र बर्दिबास नगरपालिकाले साउन १ गतेदेखि विद्यालय २० दिन बन्द गर्ने निर्णय गर्दै विद्यालयहरूलाई परिपत्र गरेका छन् । वीरगन्जमा यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि तीन दिन विद्यालयमा पठनपाठन बन्द गरेको थियो । पर्साको पोखरिया नगरपालिका, धोबिनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् ।

प्रकाशित : श्रावण २, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?