कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जहाजको खोजी जारी

जहाजमा चालक दलका ३ र स्वदेशी–विदेशी १९ यात्रु
प्रतिकूल मौसमका कारण खोजीमा ढिलाइ

पोखरा‚ म्याग्दी — पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ९:५५ बजे पोखराबाट उडेको कलसाइन अल्फा इको ट्यांगो जहाज १०:१५ मा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, रातिसम्म जहाजको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । 

जहाजको खोजी जारी

जहाज मुस्ताङको लेतेमाथिको आकाशमा पुगेपछि एक पटक जोमसोम टावरसँग सम्पर्क भएको थियो । जोमसोम विमानस्थल प्रमुख पुष्कलराज शर्माका अनुसार क्याप्टेन प्रभाकर घिमिरेले १०:१० बजे लेतेमाथिको आकाशबाट टावरमा सम्पर्क गरी जोमसोमको हावाको गतिबारे सोधेका थिए । त्यतिबेला जहाज १२ हजार ५ सय फिट उचाइमा रहेको पाइलटले बताएका थिए । ‘तारासँग सम्पर्क भएलगत्तै त्यसभन्दा अगाडि रहेको समिट एयरको जहाज अवतरण गराउनतिर लागियो,’ शर्माले भने, ‘त्यसपछि तारासँग सम्पर्क हुन सकेन ।’

क्याप्टेन घिमिरेको मोबाइलको नेटवर्क लेते साइडतर्फ देखिएपछि ट्रेसिङ गरिएको थियो तर सफल हुन नसकेको शर्माले बताए । ‘क्याप्टेन अनुभवी हुनुहुन्थ्यो, सबै सूचना लिएर उड्नुभएको हो,’ उनले भने, ‘तर के भयो यकिन हुन सकेन ।’

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रमराज गौतमले जहाज कता छ भन्ने कुराको कुनै सूचना र लोकेसन पनि आउन नसकेको बताए । ‘सबै डाटा र सूचना विश्लेषण गर्दा र सम्पर्कसमेत गरेको हिसाबले जोमसोमनजिकैको क्षेत्रमा जहाज हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर यकिन भएन ।’

जोमसोममै रहेको फिस्टेल एयरको हेलिकोप्टर टुकुचे र धौलागिरि हिमशृंखला क्षेत्रमा खोज्न पठाइए पनि मौसम प्रतिकूलताका कारण खोजीमा अप्ठेरो परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । खोजीका लागि पछि सेनाको एमआई १७ हेलिकोप्टर पनि काठमाडौंबाट पठाइएको थियो तर मौसमकै कारण मुस्ताङको कोवाङमा अवतरण गर्न बाध्य भयो । विशेषगरी थासाङ गाउँपालिकाको तल्लो क्षेत्रमा व्यापक खोजी गरिए पनि कुनै पत्तो नलागेको प्रजिअ शर्माले बताए । ‘हवाई र स्थलमार्गबाट खोजी जारी छ, खराब मौसमका कारण हवाईमार्गबाट आइतबार सम्भव भएन, यकिन र आधिकारिक सूचना पनि छैन,’ उनले भने, ‘सेना, सशस्त्र, प्रहरी र स्थानीयको समन्वयमा खोजी तीव्र पारेका छौं ।’ सोमबार बिहानैदेखि मौसमको अवस्थाअनुसार खोज्ने काम हुने उनले बताए । अब धौलागिरि हिमशृंखलाको माथिल्लो क्षेत्रमा खोजी गरिने उनको भनाइ छ ।

ताराको उक्त जहाजले आइतबार जोमसोमका लागि पहिलो उडान भरेको थियो । जहाजमा भारत घर भई नेपाल भ्रमणमा आएका भैवभी बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठी छन् । यस्तै जर्मनीका माइक ग्रिट ग्राफ र युमी उइनर पनि छन् । बाँकी १६ जना नेपाली रहेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । धनुषाका इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, गोरखाका एकै परिवारका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ र रोजिना श्रेष्ठ, ओखलढुंगाका प्रकाश सुनुवार, धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ र काठमाडौंका राममाया तामाङ पनि जहाजमा छन् । तारा एयरकै सिनियर पाइलट वसन्त लामा पनि सोही विमानमा छन् । विमानस्थल स्रोतका अनुसार आइतबार बिदा लिएका पाइलट लामा घुम्नका लागि साथीसँग मुस्ताङ हिँडेका हुन् । जहाज क्याप्टेन घिमिरे र कोपाइलट उत्सव पोखरेलले उडाएका थिए । त्यसमा एयर होस्टेज किस्मी थापासहित १६ नेपाली र ६ विदेशी थिए ।

सबै जहाज हराउँछन् ५ मिनेट

जोमसोम जाने जहाज म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । मुस्ताङको घाँसा पार गरेपछि तिनले जोमसोम टावरसँग सम्पर्क गर्छन् । त्यसयता म्याग्दी, घोडेपानीको आकाशसम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्क हुन्छ तर घोडेपानी र घाँसा लेतेसम्मको खण्डमा कुनै पनि फ्रिक्वेन्सी नटिप्दा सबै जहाज ५ मिनेट हाराहारी टावरसँगको सम्पर्कबाट हराउने गरेको जोमसोम विमानस्थल प्रमुख शर्माले बताए ।

जहाज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीबाट अगाडि पुगेपछि कालीगण्डकी नदीलाई देब्रे पारेर ‘बफर जोन’ मानिएको शिख, पाउद्वार, नारच्याङ बस्तीमाथिबाट नीलगिरि हिमालछेउको ‘अन्धगल्छी’ छिचोल्छन् र लेते पुगेपछि दाहिने मोडिएर जोमसोम पुग्छन् । धौलागिरि र अन्नपूर्ण हिमशृंखलाबीचको यो साँघुरो घाँटीमा विमान दायाँबायाँ गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् । जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने मानापाथी (टुक्चे पिक) हिमाल फेदीको सरेको भीरमा खसेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । ‘स्थानीयले आवाज सुनेको आधारमा विमान नाउरीकोटको माथि सरेभीरमा खसेको अनुमान गरी भेडा–चौंरी गोठाला र तलबाट पनि स्थानीयलाई शंकास्पद स्थानतर्फ परिचालन गरिएको वडाध्यक्ष गौतम शेरचनले बताए । शंकास्पद ठानिएको स्थलमा केही महिनाअघि हिमपहिरो खसेको थियो । शेरचनका अनुसार जहाज लेतेको पारि टिटी ताल र नीलगिरि हिमालमुनिबाट देब्रे मोडिएर धौलागिरि/टुक्चे पिकपट्टि पुगेको अनुमान गरिएको हो ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले बेलुकीपख स्याटलाइटबाट प्राप्त इमेजअनुसार जहाज जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर दुर्घटनामा परेको जानकारी प्राप्त भएको जनाएको छ । एक उच्च अधिकारीका अनुसार विदेशी स्याटलाइटबाट प्राप्त उक्त इमेजका आधारमा सोमबार मुस्ताङबाट दुइटा र पोखराबाट तीनवटा हेलिकोप्टर खोजीका लागि परिचालन गरिनेछन् ।

जहाज सम्पर्कविहीन भएको सूचना फैलिएपछि यात्रुका आफन्त दिउँसो पोखरा विमानस्थल पुगेका थिए । त्यहाँ आफन्तजनको रुवाबासी चल्यो । विमानकी एयर होस्टेज स्याङ्जाकी किस्मी थापाकी बहिनी (मामाको छोरी) शर्मिला रनपाल पोखरा विमानस्थलमा आइन् । दिनभरि हराएको विमान भेटिने र दिदीसँग भेट्ने प्रतीक्षामा थिइन् उनी । ‘दिदी सबैकी प्यारी हुनुहुन्छ,’ रुँदै उनी भन्थिन्, ‘मेरो परिवारको सहारा पनि हो ।’ थापाको मामाघर स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोट हो । उनी मामाघरमै बसेर पढेकी थिइन् । मामाका छोराछोरीलाई समेत थापाले आफ्नै खर्चमा पढाउँदै आएकी थिइन् । थापाकी साथी एयर होस्टेज उषा सिंह पनि दिनभरि विमानस्थलमै बसिरहिन् । ‘ऊ मेरो मिल्ने साथी हो,’ उषाले भनिन्, ‘मान्छे रमाइली छ । घुम्न भनेपछि हिँडिहाल्ने । आफूले सानैबाट संघर्ष गरेर पढेकी घरपरिवारको हेरचाह गर्न पाउँदा आफैंमा खुसी हुन्थी ।’

प्रकाशित : जेष्ठ १६, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?