कमजोर हुँदै माघी र स्वतन्त्रताको मर्म
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लुम्बिनी, दाङ र कपिलवस्तु — सधैंझैं शनिबार थारू समुदायको नयाँ वर्ष सुरु भयो । वर्ष नयाँ भए पनि सम्झना पुरानै थिए । कोरोना महामारी र नयाँ पुस्तामा आएको परिवर्तनले माघीको मौलिकता अब सम्झनामा बाँकी रहेको थारू अगुवाले अनुभव सुनाए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कमजोर हुँदै माघी र स्वतन्त्रताको मर्म](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/maghimanoj-photo1-1612022015751-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
लुम्बिनी प्रदेशसभाकी उपसभामुख कृष्णी थारू माघीको पुरानो रौनक नरहेको बताउँछिन् । ‘पहिले माघीको पहिलो दिन बिहानै साथीभाइ जम्मा भएर घरघरमा नाच्दै हिँड्थ्यौं,’ उनले सम्झिइन्, ‘घरभेटीले दिने चामल र पैसा जम्मा गरी अर्को दिन वनभोज खान गइन्थ्यो ।’ साना केटाकेटी मात्र नभई वृद्धवृद्धाले समेत नाचेरै मनोरञ्जन गर्ने र परिकार खाएर मनाउने गरेको उनले स्मरण गरिन् । माघीमा बंगुरको मासु, ढिकरी, अनदीको रोटी र जाँड अनिवार्य परिकार भएको उनले बताइन् । ‘अहिले तरुल, सखरखण्ड र लड्डु खान थालियो,’ उनले भनिन्, ‘माघी पहिलेको जस्तो रहेन ।’
कमैया प्रथा उन्मूलन भएपछि वातावरण सहज बनेको उनको अनुभव छ । आफू विगतमा कमैया बसेको उनी सम्झिन्छिन् । ‘माघ १ मा खुसी भएर नाचे पनि २ गते कहिल्यै नआओस्जस्तो लाग्छ,’ उनले भनिन्, ‘२ गते खोज्नी/बोज्नी (मालिक र कामदारबीच छलफल हुने) र पुरानो मालिकले नराख्ने भए साह्रै पीडा हुन्थ्यो ।’ नयाँ मालिक कस्तो होला ? कसलाई मलाई काम देऊ भन्ने होला ? जस्ता तनाव हुने गरेको उनले सुनाइन् । वर्षभरिको कामको समीक्षा गरी पुरानो मालिकले राख्ने/नराख्ने निर्णय गर्ने हुँदा ठाउँ छोडेर अन्त जान नपरोस् भनी पीर पर्ने गरेको उनले बताइन् ।
पीर र चिन्ता परे पनि माघी पर्व हो, विशेष छ, मनाउनुपर्छ भन्ने सोचले मनाउने गरिएको उनी बताउँछिन् । यसपटक भने कोरोना महामारीले फेरि पनि जम्मा भई रमाइलो गर्न रोकिदिएकामा चिन्ता लागेको उनले सुनाइन् । उमेरले ७० नाघेका रूपन्देही सैनामैनाका दशरथप्रसाद थारूले शनिबार खिचडी खाएर माघी मनाए । अहिलेको माघी घरमै मात्र सीमित रहेको उनको अनुभव छ ।
‘उठो अलबेली, बहारी डारो अँगना
कटे के बहर्नी, कटे के बहना
उठो अलबेली, बहारी डारो अँगना ।’
अर्थात् ‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार ।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्धले बिहानै उठेर गाउने गीत भएको भन्दै उनले यो गाउँदै सबैलाई उठाउने चलन रहेको बताए । अहिले यी गीत र सबेरै उठ्ने चलन पनि बदलिएको छ । ‘जेठा सदस्य भएकाले सबैले बोलाउने, खुवाउने गर्थे,’ उनले भने, ‘यसपालि रोगको डरले कसैकोमा जान सकिनँ ।’ मुख्यतः थारू बाहुल्यले नै कमैया बनी मालिकको घरमा काम गर्ने र माघको पहिलो साता नयाँ मालिक खोज्ने परम्परालाई सम्झँदै माघी मनाउने गरिएको उनले बताए । थरीथरीका परिकार खानु, थारू संस्कृति झल्कने पोसाकमा सजिनु, थारू भाषाका गीतमा नाच्नु माघीको विशेषता रहेको थारू अगुवा बमबहादुर थारू बताउँछन् । बिहानै सूर्य हेरी नुहाएर चामल, दाल आदि छुने र चेलीबेटीलाई दान दिएपछि मात्रै खाना पकाएर खाने चलन महत्त्वपूर्ण मानिने बताए ।
‘माघीमा रमाइलो र खुसीका कुरामात्र साटासाट हुँदैन, एकापसमा दुःख र वेदनालाई गीतमार्फत प्रस्तुत गर्ने गरिन्छ,’ उनले भने, ‘हाम्रो समुदायमा झाँकी नाच छ ।’ झाँकीसहितका नृत्यका लागि महिला र पुरुष आफ्ना पोसाक र गहना पहिरिएर सजिने, दिनभरि नाचेर तिनै पोसाकमा पाहुना बन्न जाने चलन हराइसकेको उनको भनाइ छ । माघीको दिनमा पुरुषहरूले सेतो धोती, टोपी, चौबन्दी, डग्ली, भेग्वा र जुत्ता वा पौवा लगाउने चलन छ । महिलाले शिरमा मगौरी, कानमा बिज्लीबाला, सुतिया, हुमेल, कन्सेहरी, हातमा तरिया, खुट्टामा काठले बनेको पाउवा, पाउजु लगाउने गरेको र अहिले ती पोसाक र गहना देख्न नपाएको उनले गुनासो गरे ।
हराउँदै नाच
कुनै समय थियो– माघी भनेपछि एक महिनाअघिदेखि नै तयारी सुरु हुन्थ्यो । मघौटा नाच, गीत र खानेकुराको जोरजाम हुन्थ्यो । थारू गाउँहरूमा बेग्लै रौनक हुन्थ्यो । टाढाटाढा गएकाहरू पनि घर फर्कन्थे । परिवारका सबै मिलेर घरको नयाँ योजना बनाइन्थ्यो । गाउँभरका मानिस जुटेर गाउँको अगुवा अर्थात् महतवा चुनिन्थ्यो । लामो समय महतवाको भूमिका निर्वाह गर्दै आएका घोराही–१० जलौराका चन्द्रप्रसाद चौधरीलाई उहिले र अहिलेको माघीमा धेरै नै फरक लाग्छ । मौलिकता हराउँदै गएको अनुभव छ । ‘पहिले थारू समुदायको पहिचानका रूपमा माघी पर्व मनाइन्थ्यो । अहिले आधुनिकताको प्रभाव परेको छ,’ उनले भने, ‘नाचगान र खानपान पनि आधुनिक हुन थाले । पहिलेजस्तो गीत गाउने र नाच्ने चलन छैन ।’
पुसका अन्तिम तीन दिन र माघका दुई दिन धुमधामसँग माघी मनाउने चलन छ । अहिले त्यो पनि हराउँदै गएको छ । पुसका अन्तिम तीन दिनमध्ये पहिलो दिन माछा मार्ने, दोस्रो दिन खसी, सुँगुर, कुखुरा मार्ने र तेस्रो दिन तरुल, गन्जी खन्ने चलन रहेको चौधरीले बताए । माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटाला गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्तमा नाचेको पैसाबाट भोज गरेर समापन गर्ने चलन छ । ‘यी सबै दिनमा मनाउने तरिका फरक–फरक छन् तर अब विधि विधानअनुसार गर्ने चलन छैन,’ उनले भने, ‘अचेल एक–दुई दिनमै माघी सकिन्छ ।’
घोराही–६ चोर गाउँका महतवा जगवीर चौधरीलाई पनि माघी मनाउने चलनमा आएको विचलनले दुःखी बनाइरहेको छ । नयाँ पुस्ताले सबै संस्कृति सिक्न सकेको छैन । ‘माघीको दिन बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराउँ छुने चलन हो,’ उनले भने, ‘त्यसपछि गाउँका मान्यजनको घरमा गएर टीकाटाला लगाउने पुरानो चलन छ । अहिले पनि यो त्यसैगरी चल्नुपर्छ भन्ने लाग्छ तर सबैले मानिरहेका छैनन् ।’ माघ १ गते बेलुकापख थारू गाउँको अगुवा महतवाको घरमा सबै जना जाँड, रक्सी र तरकारी लिएर मान्न जाने चलन थियो । महतवाको घरमा जम्मा भएको खानेकुरा सबै मिलेर खाने र नयाँ महतवा चयनको छलफल गर्ने चलन भए पनि अहिले यो हराउँदै गएको छ ।
‘निसराउँ’ लग्दै दाजुभाइ
कपिलवस्तु–९ जगदीशपुरका छोटु चौधरी शनिबार घरनजिकै बन्डिहुलीमा बहिनी निर्मलीको घर गए । जवाहिर कट कोट, कमिज र धोती लगाई थारू पहिरनमा साइकलमा एक भारी समान राखेर गइरहेका थिए । उनीजस्तै त्यहींका अनिल चौधरी पनि बहिनी सुनीताको घर रूपन्देहीको फर्साटिकरतिर लागे ।
मोटरसाइकलमा पोका–पन्तुरा कसेर गइरहेका थिए । यसरी लैजाने सामग्रीलाई निसराउँ (पाहुर) भनिन्छ । उनीहरूले पुसको अन्तिम दिन र माघको पहिलो दिन बिहानै स्नान गरी शुद्ध भएर चामल छोएर राखेका थिए । त्यसमा चामल, नुनतेल, दाल, तरकारी, फलफूल र पैसा थपेर दिदीबहिनीको घरमा पुर्याए । दिदीबहिनी नहुनेले भान्जीका घरमा लैजाने चलन छ । अहिले यहाँका निसराउँ लग्ने थारूहरू दिदीबहिनीका घरघर पुगेका छन् । उल्लास र उमंगका साथ मनाइने थारू समुदायको माघी कोरोना संक्रमणका कारण यस वर्ष यहाँ सुनसान बनेको छ । घरभित्रै खुम्चिएर मनाएका छन् । तीन दिनअघि प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि २५ जना बढी भेला हुन रोक लगाएपछि कार्यक्रम पूरै स्थगित गरे ।
माघी पश्चिम तराईका थारूको मुख्य पर्व हो । ०५७ सालमा कमैया र ०७० सालमा कम्लरीजस्ता दासतापूर्ण प्रथाबाट मुक्तिपछि थारू समुदायले माघीलाई नयाँ चरणको जीवनयापनका लागि खुसी बाँड्ने दिनका रूपमा लिन थालेका हुन् । तर, तयारी र योजनाबिना मुक्त घोषणा गरिएका कारण २१ वर्षसम्म पनि उनीहरूको पुनःस्थापनाको काम पूरा हुन सकेको छैन । यसले उनीहरू निराश छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)