कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी पहिरोले सुदूरपश्चिममा जनधनको व्यापक क्षति

उद्धार कार्य जारी, मृत्यु हुनेको संख्या १५ नाघ्यो, घाइते ७ जना बेपत्ता ५ जना
बझाङमा पहिरोमा परेका २३ जना सम्पर्कविहीन 
चित्रांग थापा

धनगढी — आइतबार साँझदेखिको लगातार वर्षाले सुदूरपश्चिमका नौ वटै जिल्लामा व्यापक धनजनको क्षति भएको छ । तराई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेलधुरा, बझाङ, बाजुरा, अछाम र डोटीमा व्यापक जनधनको क्षति भएको हो ।

बाढी पहिरोले सुदूरपश्चिममा जनधनको व्यापक क्षति

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी डोटीमा ११, बैतडीमा ४ र डडेलधुरामा २ छन् । कतिपय दुरदराजका पहाडका बस्तीमा सञ्चार सम्पर्क नहुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार बाढीपहिरोमा परी हालसम्म ७ जना घाइते भएका छन् भने बझाङमा २३ जना पहिरोमा परी सम्पर्क हुन नसकेको अवस्थामा छन् । यस्तै कैलाली र डोटीमा १/१ जना नदीले बगाएर बेपत्ता भएका छन् । कैलालीमा माछा मार्न गएका ३ जना सम्पर्कविहीन अवस्थामा रहेको एसएसपी चन्दले बताए । यस्तै हालसम्म ८७ चौपायाको मृत्यु भएको छ ।

बुधबार बिहानसम्मको ताजा अपडेट अनुसार कर्णाली, महाकाली र सेती नदीको बहाव घटने क्रममा रहेको छ । कर्णालीको १२.२ मिटरसम्म जलस्तर रहेको छ भने महाकालीको बहाव निरन्तर घटिरहेको छ । मंगलबार राति साढे ४ लाख क्युसेकको हाराहारीमा रहेको महकालीको जलस्तर घटेर बुधबार बिहान १० बजे २ लाख ७५ हजार ७९२ क्युसेकमा झरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडीको सिगास गाउँपालिका –५ ढुंगाडमा सेती नदीको बाढी पसेर फसेका ५०/६० जना बिचल्लीमा परेका छन् । उनीहरूको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको । नदीको जलस्तर घट्दै गएका कारण नदीको टापुमा रहेकाहरु खतरामुक्त रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

कञ्चनपुरमा भने मंगलबार नै भीमदत्त नगरपालिकाको-९ को खल्ला मसेट्टी नजिक महाकाली नदीमा फसेका ५ जनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । ५ जना १७ घण्टादेखि नदीको बीच टापुमा फसेका थिए ।

सबैभन्दा ठूलो पहिरो खसेको बझाङको थलारा गाउँपालिका-४ डिक्लामा २३ जना स्थानीय बुधबार बिहानसम्म सम्पर्कविहीन अवस्थामा छन् । उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी लिएर सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा रहेको छ ।

सुदूरपश्चिम क्षेत्रका सबै पहाडी जिल्लामा यातायात विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । कुनै जिल्लामा भने एनसेलबाट सञ्चार सम्पर्क भइरहेको छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने धनगढी-डडेलधुरा राजमार्गलगायत अन्य जिल्लाका पहाडी राजमार्ग पहिरो खसेर अवरुद्ध हुँदा यातायात सेवा ठप्प हुन पुगेको छ। सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी बामदेव गौतमका अनुसार धनगढी-डडेलधुरा राजमार्ग, बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडी दार्चुला जोड्ने महाकाली राजमार्ग तथा डडेलधुरा-डोटी र डोटी-अछाम र अछाम-बाजुराको मार्तडी राजमार्गको ठाउँ ठाउँमा साना-ठूला पहिरो खसेर तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ ।

उनका अनुसार पहिरो पन्छाउने काम निरन्तरको झरीले जनशक्ति र इक्विपमेण्ट परिचालनमा समस्या उत्पन्न गरेको छ । बुधबार बिहानदेखि मौसममा सुधार हुन थालेपछि पहिरो हटाउने काम पनि सुरु भइरहेको एसपी गौतमले बताए ।

कर्णाली, महाकाली र सेती नदीको तटीय क्षेत्रमा बाढी पसेपछि विस्थापित भएका परिवार अझै घर फर्कन सकेका छैनन् । कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर, भजनी, जोशीपुर, जानकी गाउँपालिका क्षेत्रका कतिपय बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानमा आश्रय लिइ बसेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका को १०, ११ र १२ नम्बर वडा तथा दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी किनारका करिब ७ सय १९ घरधुरी भएका बस्तीमा बाढी पसेपछि विस्थापित भएका थिए । उनीहरू नजिकको विद्यालय स्वास्थ्य चौकी र आफन्त कहाँ आश्रय लिइ बसेका छन् ।

तीन दिनसम्मको भीषण वर्षाले सुदूरपश्चिममा भित्र्याउन लागेको धानवाली सखाप भएको छ । धान पानीमा डुबेका छन् । धानवालीमा भएको क्षतिबारे अध्ययन सुरु भएको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले बताएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?