कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौथाइवालेले किन भेटेनन् भट्टराई र यादवलाई ?

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागप्रमुख विजय चौथाइवाले नेपालको ५ दिने भ्रमण पूरा गरेर बुधबार नयाँ दिल्ली फर्किए । काठमाडौंमा छँदा सत्तारूढ र प्रतिपक्षी दलका अधिकांश मुख्य नेताहरूकहाँ पुगेका उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भने भेटेनन् । 

चौथाइवालेले किन भेटेनन् भट्टराई र यादवलाई ?

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे ।

साथै, चौथाइवालेले मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, र जनार्दन शर्मालाई भेटे । उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित अन्य पार्टीका नेताहरू विष्णु पौडेल, बिमलेन्द्र निधि र वर्षमान पुनसँग पनि भेटवार्ता गरे ।

चौथाइवालेले आफ्नो लामो भेटको सूचीमा भने बाबुराम भट्टराई र उपेन्द्र यादव अटाएनन् । स्रोतकाअनुसार भट्टराई र चौथाइवाले बीचमा राम्रो सम्बन्ध छैन । किनकी पछिल्लो समय उनीहरू बीचमा दुईपटक ट्वीटरमा सवाल जवाफ भएको थियो । पछिल्लो पटक यहि साउन ६ गते चौथाइवाले र भट्टराई बीचमा ट्वीटरमा सवाल–जवाफ भएको थियो । भट्टराईले सुरुआतमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुधअर्पण गरेको तस्बिलाई ट्वीट गर्दै लेखेका थिए,‘आस्था खतरनाक चिज हो । यसले तिमीलाई दुध फाल्ने र पिसाब खाने बनाउँछ ।’

उक्त ट्वीटको जवाफमा चौथाइवालेले ‘प्रिय बाबुराम जी, तपाई र तपाईका साथीहरूले हिन्दुको अस्थालाई परम्परालाई इदको अवसरमा समेत होच्याउछन् ।’ त्यसको दुई दिनपछि भट्टराईले धर्मको बारेमा उल्लेख गर्दै लेखेका थिए । जसको जवाफमा फेरि चौथाइवालेले ‘जोक अफ द इयर’ उल्लेख गर्दै भट्टराई जस्तो हिन्दु परम्परालाई केहि दिनअघि दुर्व्यवहार गर्नेले धर्मको उपदेश दिएकोमा व्यंग्य गरेका थिए ।

त्यसअघि जेठ १५ गते भारतको पत्रिका ‘द हिन्दु’ मा लेखेको लेखमा भट्टराईले नेपालको अन्तरिक राजनीतिमा भारत र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हस्तक्षेप गरेको बताएका थिए । लगतै चौथाइवालेले भट्टराईलाई ट्वीटरमा मेन्सन गर्दै लेखेका थिए,‘नेपालको आन्तरिक राजनीतिमा भट्टराईले जे पनि टिप्पणी गर्न स्वतन्त्र छन् । तर लेखमा आरएसएस र भारतमाथि उनको टिप्पणीले उनी अहिले पनि आफ्नो सपनाको भूमि जेएनयू (जवाहरलाल नेहरू विश्व विद्यालय) मै बसिरहेका जस्ता छन् ।’ भट्टराईले आफ्नो असफलतालाई आफूबाहेक अरु सबैलाई अरोप लाइरहेको चौथाइवालेले उल्लेख गरेका थिए ।

‘भट्टराईजीले पटक–पटक हिन्दु धर्म र यसको आस्थामाथि लगातार आक्रमण गरेका कारण चौथाइवालेले नभेटेका हुन्,’चौथाइवालेको भेटघाटमा साथमा रहेका एक सदस्यले कान्तिपुरसँग भने ।

जसपाका अध्यक्ष यादवसँग भने नेपालको संसदबाट नयाँ चुच्चे नक्सा अनुमोदन हुँदादेखिको समस्या हो । नेपालले २०७७ जेठ ७ गते लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा जारी गरेको थियो । त्यसपछि उक्त नक्सा संसदबाट पास गरि संविधानको अंग बनाउने र निशाना छाप बनाउने गृहकार्य थालियो । त्यस दौरानमा जसपाकी नेता सरिता गिरीले विरोध गर्दै आफूले भोट नहाल्ने बताइन् । लगतै गिरीलाई पार्टीले कारवाही गरेको थियो । उक्त कारवाही यादवको जोडबलमा भएको भारतीय बुझाई छ । जसले गर्दा भारत र चौथाइवाले यादवसँग रिसाएका हुन् ।

दोस्रो चाहिँ तत्कालिन केपी शर्मा ओली सरकारलाई समर्थन गर्न भारतले जसपालाई अनुरोध गरेको थियो । त्यसमा महन्थ ठाकुर पक्षले माने पनि यादव समूहले स्वीकारेन । आवश्कता पर्दा यादवलाई आफूहरूले सहयोग गरेको तर यसपटक विभिन्न घटनामा आफ्नो साथ नदिएको भन्दै चौथाइवालेले यादवलाई पनि नभेटेको कान्तिपुरलाई स्रोतले बतायो ।


प्रकाशित : भाद्र १०, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?