कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्स प्रयोग गरी गाँजा तस्कर गर्ने दुई पक्राउ

सुनसरी — गैर सरकारी संस्थाले सञ्चालन गरेको एक एम्बलेन्समा गाँजा ओसार पसार गरेको आरोपमा धरानका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

एम्बुलेन्स प्रयोग गरी गाँजा तस्कर गर्ने दुई पक्राउ

हुडेक नेपालले सञ्चालन गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा सय किलो गाँजासहित एम्बुलेन्स चालक धरान १५ बाझगरा बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशण राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाबाट आइरहेको बेला उनीहरु दुवैलाई सोमबार बेलका ९ बजे जिरोपोइन्ट चेकपोस्टमा गाँजासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले भने,‘एम्बुलेन्सको पछाडि भागमा २५ केजी दरको ४ वटा झोलामा सयकिलो गाँजा राखेको पाइएपछि गाँजा ओसार पसार र बिक्रिवितरण गरेको अभियोगमा बलबहादुर र पोशण पक्राउ परेका हुन् । दुवैलाई सुनसरी जिल्ला अदालतबाट आज (मंगलबार) नै लागूऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालयले कोरोना माहामारीका कारण निषेधाज्ञा जारी गरेर सर्वसाधारण र निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको भएपनि एम्बुलेन्स सञ्चालन गर्न दिएको मौकामा गाँजा तस्करहरुले प्रहरीलाई छल्न एम्बुलेन्स प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रदेश १ मा सबैभन्दा बढी धनकुटाको सहिदभूमि गाउँपालिकामा गाँजा खेती हुने र तयारी गाँजालाई तस्करहरुले सप्तकोशी जलमार्ग र धरानकै उत्तरी पहाडी भेगमा पर्ने विष्णुपादुकाको भन्ज्याङ नाका भएर ल्याउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?