कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेड अभाव भएको भन्दै बीपी प्रतिष्ठानले कोरोना संक्रमित भर्ना गर्न छाड्यो

धरान — झापा र उदयपुरबाट उपचारका लागि ल्याइएका कोरोना संक्रमितलाई शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्यत्र रिफर गरेको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमण भएर गम्भीर भएका बिरामी राख्ने बेड अभाव भएपछि विराटनगका अस्पतालमा रिफर गरिएको हो ।

बेड अभाव भएको भन्दै बीपी प्रतिष्ठानले कोरोना संक्रमित भर्ना गर्न छाड्यो

प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. इन्द्र लिम्बुका अनुसार कोभिड अस्पतालमा भएका आईसीयू, एचडीयू र जनरल बेड सबै भरिएकाले भर्ना गरेर पनि राख्ने ठाउँ नभएपछि अन्यत्र पठाउन बाध्य भएको हो । उनले भने, ‘कोभिड अस्पतालमा बेड पाउनका लागि कि बिरामी डिस्चार्ज हुनुपर्ने कि मर्नुपर्ने अवस्था छ । स्थिति भयावह बन्दै गएको छ । कसरी व्यवस्थापन गर्ने हो केही भन्न सक्ने अवस्था नै छैन ।’ उनले प्रतिष्ठानभित्रकै कोही चिकित्सक नर्स कोरोना संक्रमण भएर गम्भीर भएको अवस्था पनि आईसीयू, एचडीयू बेड नपाउने अवस्था रहेको बताए ।

सरकारले प्रतिष्ठानको कोभिड अस्पताललाई कोरोना संक्रमणबाट गम्भीर भएका बिरामी उपचार गर्ने लेभल थ्रीको रुपमा निर्माण गरेको हो । तर पूर्वतयारी र व्यवस्थापनमा ढिलाइ, बजेट अभावका कारण सय बेडको अस्पताल भनिए पनि आईसीयू, एचडीयू बेड सबै दुरुस्त नभएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भए पनि कोभिड अस्पतालमा राखिएका सबै बेडमा अक्सिजन पुर्‍याइएको छैन । एक चिकित्सकले भने, ‘कोभिड अस्पतालका केही भेन्टिलेटर र एचडीयू बेड बिग्रेका छन् । बनाउनका लागि प्राविधिक कोभिड अस्पतालमा प्रवेश गर्नुपर्छ । तर कोरोना संक्रमण हुने डरले प्राविधिकहरु नजाँदा ती बिग्रेका बेड बनाउन सकिएको छैन ।’

१० वटा आईसीयू बेड भए पनि हाल ६ वटामात्र भेन्टिलेटर सञ्चालनमा रहेको ती चिकित्सकले बताए । २५ बेड एचडीयू भए पनि सबैमा डिफ्रिबिलेटर जडान गरिएको छैन । डिफ्रिबिलेटरको काम एचडीयू बेडमा रहेका बिरामीको मुटुको चाल अचानक बन्द भए करेन्ट पास गराएर पुन: मुटुको चाल फर्काउन सहयोग गर्ने मेसिन हो । एचडीयू बेड आपूर्ति गर्ने ठेक्का पाएको नवराज बस्नेतको नाममा रहेको जनमुखी सप्लायर्सले डिफ्रिबिलेटरबिनाको एचडीयू बेड जडान गरिदिएपछि उपचार प्रभावकारी नभएको बताइएको छ ।

प्रतिष्ठानले जनमुखीलाई एचडीयू बेडहरुमा डिफ्रिबिलेटर जडान गर्न ताकेता गरे पनि हालसम्म बस्नेतले उपलब्ध गराउन सकेका छैनन् ।

पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

यसैबीच प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिले पदाधिकारीका कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलित भएका छन् । कर्मचारीहरुले प्रतिष्ठानका उपकुलपति, रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकको कार्यकक्षमा शुक्रबारदेखि तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

कोभिड–१९ को भत्ता संक्रमितको उपचारमा अग्रपंतिमा खट्नेहरुलाई पारदर्शी रुपमा र काम गरेको अनुपातमा वितरण गर्नुपर्ने भन्दै कर्मचारीहरुले तालाबन्दी गरेको हो ।

आन्दोलित कर्मचारीहरुका अनुसार गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशिघ्र एकमुष्टले उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरुलाई करार तथा पफर्मेन्स करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नपर्ने माग राखेर कर्मचारी तदर्थ समिति आन्दोलनमा उत्रिएको तदर्थ समितिका संयोजक राजन कोइरालाले बताए । उनका अनुसार कोभिड उपचारमा खटिएका जुनियर कर्मचारीहरुलाई जोखिम भत्ता असमान तरिकाले वितरण गरिएको, कतिपयले गत वर्षकै भत्ता नपाएको, कोभिड अस्पतलामा खटिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था नगरी घरमा नै पठाएकाले आन्दोलित हुनु परेको हो ।

तालाबन्दी गरेपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै कर्मचारीले राखेको मागप्रति प्रतिष्ठान सदैव सकारात्मक रहेको र अधिकांश मागहरु आंशिक रुपमा सम्बोधन भइसकेको जनाएका छन् । केही मागहरु प्रक्रियागत रुपमा रहेको पनि अपिलमा खुलाइएको छ । हाल प्रतिकुल अवस्था रहेको कारण सहज परिस्थिति सिर्जना भएपछि उक्त मागहरु प्रतिष्ठानले क्रमश: पूरा गर्दै जाने गिरीले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : वैशाख २५, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?