कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा तोडफोडबारे कांग्रेस प्रवक्ता भन्छन्- 'सांसदलाई संसदीय संस्कृति उलंघनको स्वायत्तता छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ५ को प्रस्तावित राजधानीको विषयलाई लिएर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूको तोडफोडबारे कांग्रेस प्रवक्ताले धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका सांसदहरूलाई संसदीय पद्दति र संस्कृति उलंघन गर्ने छुट नभएको बताएका छन् । 

प्रदेशसभामा तोडफोडबारे कांग्रेस प्रवक्ता भन्छन्- 'सांसदलाई संसदीय संस्कृति उलंघनको स्वायत्तता छैन'

प्रदेश ५ को सोमबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरूले कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए । उक्त घटनालाई लिएर सामाजिक संजाल र राजनीतिक वृत्तमा कांग्रेसको आलोचना भएपछि पार्टी प्रवक्ताले धारणा सार्वजनिक गरेका हुन् ।

प्रदेश ५ को सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ । उक्त प्रस्तावमा छलफलमा भाग नलिई कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका थिए । उक्त घटनाबारे कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ । रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौँ भन्ने कम्युनिस्ट पार्टीहरूलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन l'

त्यसरी तोडफोडमा उत्रिने सांसदहरूलाई के कारबाही गर्ने भन्ने केही उल्लेख नगरेका प्रवक्ता शर्माले अगाडि लेखेका छन्, 'संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो । अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।'

प्रदेशको स्थायी राजधानी रुपन्देही बनाउने कि दाङ भन्नेमा कांग्रेसभित्र विवाद छ । कांग्रेसका १० नेताहरूले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका नेता बालकृष्ण खाँण र अर्का नेता चन्द्र भण्डारी भने रुपन्देहीको पक्षमा छन् ।

त्यस्तै, नेकपमा पनि उक्त विषयलाई लिएर विवाद छ । प्रदेशसभाको बैठकमा नेकपाका केही सांसदहरूले प्रदेश राजधानीको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । केन्द्रमा भने महासचिव विष्णु पौडेल प्रदेश ५ को राजधानी रुपन्देही हुनुपर्ने पक्षमा छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन १९, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?