कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसका १० नेताद्वारा देउखुरीलाई राजधानी बनाउने प्रस्तावको समर्थन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश ५ को प्रदेशसभामा प्रस्तुत हुँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस नाराबाजी र तोडफोडमा उत्रियो । प्रदेशसभाभित्र कांग्रेसका सांसदहरूले कुर्सी, टेबुल र माइक तोडफोड गरेका हुन् । प्रदेशसभामा पार्टीका सांसदहरूले त्यसरी विरोध गरिरहेका बेला कांग्रेसका केही केन्द्रीय सदस्य र संघीय सांसदहरूले भने प्रदेश ५ सरकारले ल्याएको राजधानी र नामको प्रस्तावमा समर्थन गरेका छन् । 

कांग्रेसका १० नेताद्वारा देउखुरीलाई राजधानी बनाउने प्रस्तावको समर्थन

काठमाडौंमा कांग्रेसका १० जना केन्द्रीय तहका नेताले बैठक गरेर प्रदेश ५ सरकारको स्थायी राजधानीसम्बन्धि प्रस्तावको विज्ञप्ति निकालेर समर्थन जनाएका छन् ।

कांग्रेसका संघीय सांसद, केन्द्रीय सदस्य र पूर्वमन्त्रीहरूले विज्ञप्ति जारी गर्दै प्रदेश ५ सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्ताव उपयुक्त रहेको बताएका छन् ।

कांग्रेसका नेताहरूले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'हामीले शुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश नम्बर ५ प्रदेश सरकारप्रति आभार व्यक्त गर्दछौं । प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश गरे लगत्तै यसको पक्ष र विपक्षमा बहसहरू चलिरहेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

प्रदेश राजधानीको विषयलाई नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय बनाएकोमा उनीहरूले असन्तुष्टि जनाएका छन् । 'यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहीँ कतैबाट गर्न र गराउन उपयुक्त नहुने राष्ट्रिय परिस्थिति रहेको छ,' विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका नेताहरूले भनेका छन्, 'सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावनाअनुसार ५ नम्बर प्रदेशका सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई यस प्रदेशको राजधानी बनाउने प्रस्तावप्रति हाम्रो पूर्ण समर्थन छ ।'

उक्त प्रस्तावलाई प्रदेशसभाले तत्काल टुंगोमा पुर्‍याउनुपर्ने कांग्रेसका नेताहरूको माग छ ।

यसरी प्रदेश ५ को राजधानी विवादमा रहेको बेला प्रदेश ५ सरकारको प्रस्तावको समर्थन गर्ने कांग्रेस नेतहरूमा संघीय सांसदहरू पार्वता डीसी चौधरी, किशोरसिंह राठौर र सञ्जय गौतम छन् । त्यसैगरी पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरी, गोपाल दहित र रोल्पा कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन रहेका छन् । केन्द्रीय सदस्यहरू शिला खड्का, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरेले पनि दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्तावमा समर्थन जनाएका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन १९, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?