२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

‘फर्किने अवस्था छैन, गाउँमा व्यवस्था छैन’

कोरोना महामारीसँगै रोजगारी गुमाएपछि धेरै युवा स्वदेश फर्किए । पछिल्ला ५ महिना जसोतसो घरायसी काम गदै परिवारसँग बिताए । तर, गाउँमा रोजगारी नहुँदा दैनिक जीवनयापनमै समस्या हुन थालेको भन्दै उनीहरू पुन: विदेशिने सोचमा छन् । भन्छन्, ‘परिवारसँगै बसेर कमाउन पनि पाउने हो भने खुसी भएर बस्थ्यौं ।’

रुकुम पूर्व, अर्घाखाँची र पाल्पा — रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएकाहरू बिदामा स्वदेश फर्किंदा घर बसाइ छोटो हुन्थ्यो । यस पटक अवस्था भिन्न छ । कोरोना महामारीले घर बसाइ लम्बिएको छ ।

कोरोना महामारीका कारण रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ मा मात्रै ८० जनाभन्दा बढी भारत तथा तेस्रो मुलुकबाट फर्किए । रोजगारी गुमेपछि जोखिम मोलेर आएका उनीहरू अहिले आर्थिक समस्याले पिरोलिन थालेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा कोरोनाका कारण समस्यामा परेका युवालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गरेको थियो । त्यसमा केही मात्र समेटिए । सहयोग नपाउने युवा विकल्पको खोजीमा छन् । ‘नाकामा लकडाउन छ, नत्र भारत फर्किन हुन्थ्यो,’ स्थानीय बलबहादुर विकले भने ।

स्थानीय सरकारबाट सहयोगको आशा भए पनि काम नपाएपछि विदेशिनुको विकल्प नरहेको बताउँछन् भुमे गाउँपालिका–८ का रामबहादुर रोका । ‘भारत फर्किने अवस्था छैन, गाउँघरमै बसूँ व्यवस्था छैन ।’ भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले सबै बेरोजगारको दिगो व्यवस्थापन गर्ने गरी नीति र कार्यक्रम बनाइएको बताए । केही रकमले मात्रै स्वरोजगार नहुने भएकाले व्यवसायमा सहयोग पुग्ने गरी कृषिमा जोड दिइएको उनको भनाइ छ । स्थानीय तहको विवरणअनुसार रुकुम पूर्वमा ५ सय २४ जना भारत तथा तेस्रो मुलुकबाट फर्किएका छन् ।

अर्घाखाँचीको मालारानी–५ का सन्जु खड्का भारतको दिल्लीस्थित एक कम्पनीमा काम गर्थे । कमाइ घरमा पठाइदिएपछि मात्रै परिवारको गुजारा चल्थ्यो । कोरोनाकै कारण गत चैतमा काम बन्द भयो । एक महिना पर्खिंदा पनि काम सुरु नभएपछि उनी घर आए । ‘यति लामो समय काम बन्द हुन्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘कमाएको पैसा सकियो । घरमा रासनपानी पनि सकिन लाग्यो ।’

शीतगंगा नगरपालिका–७ जलुकेका ६ सय ४ जना भारतमा रोजगारीमा छन् । कोरोनाका कारण काम ठप्प भएर २ सय ५० जना घर आए । त्यसमध्येका एक हुन् लालबहादुर बराल । भारतको पन्जाबमा ६ वर्षदेखि ठेलामा व्यापार गरेर उनले आमाबाबु र परिवार पाल्दै आएका आएका थिए । चैतमा पसल बन्द भएपछि श्रीमती, छोरालाई लिएर आएका उनी अहिले घरमै खाली बसिरहेका छन् । ‘जताततै ठप्प छ । खाने खर्च सकियो, गाउँघरमा निर्माणको काम भेटिए गर्ने थिएँ,’ उनले भने ।

गत चैतमा जन्मघर फर्केका पाल्पाको पूर्वखोला–१ सिलुवाका २० वर्षीय विजय विक पुनः भारत फर्कने साइत हेर्दै छन् । उनी भारतको मुम्बईमा मःम पसलमा काम गर्थे । उनी घर फर्केको ६ महिना हुन लाग्यो । ‘यहाँ कोही कामका विषयमा केही सोध्न आएको छैन,’ उनले भने, ‘कमाइ केही नभएपछि अब भारत नगई सुखै छैन ।’ सिलुवाका मात्रै २ सय बढी युवा भारतबाट फर्केका छन् । ‘परिवारसँग बसेर केही आम्दानी गर्न पाउने हो भने धेरै खुसी भएर बस्ने थियौं,’ सिलुवाकै टुकबहादुर सारुले भने, ‘अब यतै बसेर सानोतिनो काम गर्न पाए जान मन छैन ।’

सम्बन्धित समाचार :

प्रकाशित : भाद्र २१, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?