कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भारतबाट आउनेभन्दा जाने धेरै

गाउँमा टिक्ने वातावरण नभएपछि विभिन्न जिल्लाबाट कामको खोजीमा भारत र मुलुकका ठूला सहर फर्किनेको लर्को
‘डर मानेर घरमै बसेर मुखमा माड लाग्दैन । उता आफ्नो रोजगारी छ । हातखुट्टा बलियो छउन्जेल काम गर्नै परो ।’

नेपालगन्ज र प्यूठान — सुर्खेत भेरीगंगा नगरपालिका–९, जरेका २५ वर्षीय आयुश तिरुवा बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा बिहीबार अपराह्न पसिनाले निथ्रुक भिजेर उभिएका थिए । पिठ्युँमा झोला बोकेका उनी नाका पार गर्न आतुर थिए । कोरोना महामारीका कारण दुई महिनाअघि उनी घर फर्किए पनि बेरोजगार भएपछि चुलो बल्न छाड्यो । त्यसैले फेरि भारत जान लागेको उनले बताए ।

भारतबाट आउनेभन्दा जाने धेरै

‘घरमा कामधाम भएन, पैसा आउने ठाउँ छैन,’ उनले भने, ‘गुजरातमा नोकरी छ, जागिर छुट्ने चिन्ता भयो ।’ उनको टोलीमा सात जना थिए । उनीहरू सुर्खेतबाट गाडी बुक गरेर नाकामा आइपुगेका हुन् । ‘एक जनाको सात सय रुपैयाँ भाडा तिरेर आएका हौं,’ सुर्खेतका दलबहादुर विकले भने, ‘गाउँका सबै भारत जान हिँडेपछि घरमा बस्न मनले मानेन ।’ गुजरातको अहमदावादस्थित सोसाइटीमा काम गर्दै आएका उनी भारतमा कोरोना संक्रमण फैलिएपछि घर फर्केका थिए । ‘ऋण काढ्दै घर व्यवहार चलाइयो । अब ऋण तिर्ने पैसा छैन,’ उनले भने, ‘कोरोना लाग्यो भने हामी दुःखीलाई सरकारले हेर्दैन ।’

कोरोनाको डर र घरको भर परेर आएका आफूहरू त्यही घरले भर नदिएपछि फेरि कमाउन भारततिर जानु परेको बाध्यता उनीहरूले सुनाए । ‘घरमा खानका लागि अन्न छैन । डर मानेर घरमै बसेर मुखमा माड लाग्दैन,’ सुर्खेतकी लक्ष्मी विकले भनिन्, ‘उता आफ्नो रोजगारी छ । हातखुट्टा बलियो छउन्जेल काम गर्नै पर्‍यो ।’ पहिले जमुनाहा नाकामा स्वदेश फर्किनेको हूल हुन्थ्यो । अहिले भारत फर्किनेको भीड लाग्न थालेको छ । धेरै एकै परिवारका छन् । कोही आफन्तसहित आएका थिए । मुगुकी विजया कार्कीले रोगले भन्दा भोकले मर्ने डरले भारत जान बाध्यता भएको सुनाइन् । ‘महामारीमा गरिबलाई रोगले भन्दा भोकले मार्ने डर भयो । घरमा अन्नको दाना छैन । बच्चा सानै छन्,’ उनले भनिन्, ‘कोरोना महामारी भए पनि आफ्नो सुरक्षा आफैं गर्छौं ।’

सुर्खेतका विनोदकुमार विष्टले गुजरातमा होटल खोलेका छन् । महामारीपछि होटलका कामदारसहित उनी घर फर्किएका थिए । लकडाउनपछि घर व्यवहार चलाउन कुनै उपाय नचलेपछि ३४ वर्षीय विष्टले फेरि गुजरात जान हिँडेको सुनाए । ‘घरमा आएको २ महिना भयो । यतिका समय काम नगरी बसें,’ उनले भने, ‘अब पनि रोगको डर मानेर घरमा कोचिएर बस्ने हो भने भोकै मरिन्छ । आफ्नो लगानी पनि हेर्नुपरो ।’ कोरोना महामारीपछि भारतमा रोजगारमा रहेका युवा नेपाली नागरिकता देखाएर स्वदेश आएका थिए । अहिले तिनै युवा भारतीय आधार कार्ड देखाउँदै भारततर्फ लागेका छन् ।

कोरोनाको महामारी फैलिएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द छन् । नेपालीको हकमा विदेशी कम्पनीको कामदार प्रमाणपत्र लिएका र भारतको स्थायी बसोबास गरेको आधार कार्ड भएकालाई भारत जान दिने अनुमति दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले भने, ‘सबैलाई जाने अनुमति दिए नाकामा भीड थामिसक्नु हुँदैन ।’

तीन दिनयता भारत जानेको संख्या बढेको जमुनाहा नाकाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विष्णु गिरीले बताए । उनका अनुसार कर्णालीका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, कैलाली र पहाडी जिल्लाबाट आधार कार्ड भएकाहरू आफ्नो पुरानो रोजगारीका लागि भारत पसिरहेका छन् । जमुनाह नाका भएर ५ दिनको अवधिमा शनिबारसम्म दुई सयभन्दा बढी युवा भारत गएका छन् । ‘काम खोज्न जानेको संख्याभन्दा काम छोडेर पुरानो काममा फर्किनेको संख्या बढी छ,’ सई गिरीले भने, ‘अहिले भारतबाट फर्किनेभन्दा जानेको संख्या बढेको छ ।’ धेरैजसो मुम्बई, गुजरातको सुरत र पन्जाबका विभिन्न सहरतर्फ जाने गरेका छन् ।

भारत पस्ने केहीसँग आधार कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका र कम्पनीको पास भएकालाई मात्र प्रवेश गर्न अनुमति दिएको छ । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् । उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् ।

सहर फर्किनेको लर्को

प्यूठानको नौबहिनी गाउँपालिकाका–२, लिघाका ९ जना युवा कोरोना संक्रमणको डरले ६ महिनाअघि निर्माणको काम गर्दागर्दै रूपन्देहीको बुटवलबाट घर फर्किए । केही महिना गाउँमै बस्दा कमाइ ठप्प बन्यो । बारीको उब्जनी मकैले एक महिना खान पुगेन । दैनिक गुजारा धान्न समस्या हुन थालेपछि जिल्लामा निषेधाज्ञा लागू भइरहेका बेला उनीहरू शुक्रबार पुनः कामकै खोजीमा बुटवलतर्फ लागेका छन् । काममा जानका लागि स्थानीय तहले सिफारिस दिएपछि जिल्ला प्रशासनले अनुमति दिएको हो ।

शुक्रबार रातारात जिप रिजर्भ गरेर ९ जनाको टोली काममा जान थालेको यहाँस्थित बाग्दुलामा भेटिएका मिलन घर्तीले बताए । कोरोनाको त्रासले गाउँ फर्केकाहरू पुनः काम खोज्दै सहर फर्किन थालेका छन् । बजार झर्नेको लर्को लाग्न थालेको प्यूठान नगरपालिका–८, बाग्दुलास्थित राप्ती होटलका सञ्चालक जुद्ध कुँवरले बताए । ‘यस्तो बेला पनि ज्यानको माया मारेर काम खोज्दै झरेका छन्,’ उनले भने, ‘यहाँ आएर नेताको सोर्स लगाएर बाहिर निस्कने पास बनाएर जान्छन् ।’

निषेधाज्ञाले यातायातका साधन नचल्दा दाङको भालुबाङसम्म ५६ किलोमिटर दूरी पैदलै छिचोल्ने उनले बताए । नौबहिनी गाउँपालिकामा फर्केकामध्ये ३ सयभन्दा बढी काममा फर्कन चाहेर पासको सिफारिसका लागि आएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । पास माग्न आउनेहरू नेपालका विभिन्न जिल्ला र भारत जानेहरूसमेत रहेको उनले बताए ।

नौबहिनीमा मात्रै कोरोना महामारीका कारण झन्डै २ हजार जना गाउँ फर्केका थिए । प्यूठान नगरपालिकामा ४ हजार जति आएको नगरका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । अहिले गाउँमा केही काम नपाएर जोखिमकै बीचमा कामको खोजीमा फर्केने बढेको उनले बताए । गाउँपालिकासँग तत्काल रोजगारी दिलाउन सक्ने अवस्था नहुँदा गाउँ फर्केकाहरू पुनः कामको खोजीमा सहर फर्किन बाध्य भएको उनले स्विकारे ।

सम्बन्धित समाचार :

प्रकाशित : भाद्र २१, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?