कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

राजनीतिक आडमा क्रसरको मनपरी

मन्त्री भन्छन्– ‘कानुन छैन, प्रदेश सरकार मूकदर्शक’
सन्तोष सिंह

काठमाडौँ — धनुषाको बडहरी खोला दोहनको गुनासो बढेपछि २०७६ वैशाख १७ मा अनुगमन गर्न सरकारी टोली पुग्दा भागाभाग मच्चियो । वडा कार्यालयको सिफारिसमा व्यक्तिगत पोखरी खन्न इजाजत लिएका क्रसर सञ्चालक मनोज महतोले खोला दोहन गरेका थिए । 

राजनीतिक आडमा क्रसरको मनपरी

अनुगमन टोलीसँगै रहेका मिथिला नगरपालिका–९ का वडाध्यक्ष दीपकजंग थापाले गत वैशाख १० मा पोखरी खन्न सिफारिस लिएका महतोले खोलामा एक्स्काभेटर प्रयोग गरेर बालुवा–गिट्टी झिक्ने गरेको बताए ।

एक्स्काभेटरले खोलामा २० फिट गहिरोसम्म बालुवा–गिट्टी झिकिएको थियो । टोलीले एक्स्काभेटर, टिपर र ट्र्याक्टरसहित चार जनालाई नियन्त्रणमा लियो । एक्स्काभेटरको २०, टिपरको १० र ट्र्याक्टरको तीन हजार जरिवाना गरेर जिल्ला समन्वय समितिले छाडिदियो ।


पोखरी खन्ने बहानामा खोला दोहन गर्ने क्रसर सञ्चालक धनुषा बटेश्वर गाउँपालिका–१ का महतो हातहतियार मुद्दामा थुनामा छन् । खोला नखोस्रिन स्थानीयले आग्रह गर्दा महतोले धम्क्याउने गर्थे । ‘खोलामा ठूल्ठूला खाल्डो बनाएर जथाभावी बालुवा–गिट्टी झिकेको नगरपालिकालाई खबर गर्दा चासो नै देखाइएन,’ स्थानीय रामआशिष महतोले भने । बडहरी खोला खोस्रन आफ्नो खेत हुँदै टिपरको ओहोरदोहोरले बोटबिरुवा मासिएको गुनासो गर्न पुगेका स्थानीय नरेश महतोको क्रसर सञ्चालकले हात नै भाँचिदिएका थिए ।

नियमविपरीत जबर्जस्ती खोला उत्खनन गर्ने ‘डन प्रवृत्ति’ का क्रसर सञ्चालकहरूले राजनीतिक आड र पैसाको बलमा बालुवा–गिट्टीको धन्दासँगै आपराधिक सञ्जाल पनि चलाएका छन् । धनुषाको रातु, बडहरी, औरही, गणेशमान चारनाथ र कमला नदीमा क्रसर उद्योगले अवैध उत्खनन गरिरहेका छन् ।


निर्माण सामग्रीको बढ्दो मागसँगै राजनीतिक शक्तिको आडमा प्राकृतिक स्रोत दोहन गर्न पल्केकाहरू सक्रिय छन् । एकपटक उद्योग सञ्चालनको इजाजत लिएर वर्षौं नवीकरण नगराई क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् ।

धनुषाको मिथिला नगरपालिका औरही खोलामा बालुवा प्रशोधन उद्योगको अवैध उत्खनन रोक्न खोज्दा गत शुक्रबार २४ वर्षीय दिलीप महतोको हत्याको घटना भएपछि एकपटक पुनः नदीखोला दोहन गरिरहेकाहरूमाथि स्थानीय प्रशासनको ध्यान गएको छ ।स्थानीय तह र सुरक्षा निकायले अटेरी गर्दा धनुषामा खोला दोहन बढेको हो । बालुवा–गिट्टीको धन्दामा सुरक्षाकर्मी, राजनीतिकर्मी, जनप्रतिनिधि पनि मिसिँदा खोला खोस्रिनेको मनोबल उच्च छ । जिल्ला समन्वय समिति धनुषाका उपसंयोजक दीपक झाले अनुगमन समितिले सुविधा र अधिकार दिए पनि प्रहरीले प्राकृतिक स्रोतको दोहन रोक्न पहल नगरेको आरोप लगाए ।

अनुगमन समितिले अवैध उत्खनन रोक्न, क्रसरको समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको उनको भनाइ छ । खोलाको अवैध उत्खनन रोक्न गस्तीका लागि प्रहरीलाई इन्धन उपलब्ध गराउने समितिले निर्णय गर्‍यो । तर, प्रहरीको कुनै युनिटले इन्धन लिएनन् । गस्ती पनि गरेनन् । गत वैशाखमा बडहरी खोला अनुगमन गर्दा क्रसर सञ्चालकले झालाई हातपात नै गरे । ‘मध्यरातमा हुने अवैध उत्खनन स्थानीयले देख्छन् । तर, प्रहरी र जनप्रतिनिधिलाई थाहा हुन्न,’ उपाध्यक्ष झाले कान्तिपुरसँग भने ।

दर्ता न नवीकरण

कुनै समय जिल्ला विकास समिति र केहीपछि जिल्ला समन्वय समिति मातहत रहेको खोला नदीजन्य पदार्थ ठेक्का लगाउने जिम्मेवारी अहिले स्थानीय तह मातहत छ । पहिलेदेखि यो क्षेत्रमा लागिपरेकाहरूकै अहिले पनि हालीमुहाली छ । नाम फरक पारे पनि परिवारका सदस्यले मिलीजुली क्रसर चलाएका छन् । जनप्रतिनिधिलाई चुनावमा सघाएकाले धेरै ठाउँमा क्रसरविरुद्ध उनीहरू बोल्दैनन् । त्यसले क्रसर सञ्चालकको मनोबल बढेको छ ।

स्थानीयले उजुरी गरे पनि कारबाही गर्ने निकाय प्रहरी होइन । प्रहरीका इकाईहरूले बेलाबखत अवैध दोहन गर्नेका मालवाहक सवारीसाधन, उपकरण र कामदारलाई नियन्त्रणमा लिए पनि जिल्ला समन्वय समिति वा स्थानीय तहको जिम्मा लगाउनुपर्छ । ती निकायले सामान्य जरिवानाको प्रक्रिया गरेर छाडिदिँदा प्रहरीको मनोबल खस्केको स्रोतले बताएको छ । धनुषाको मिथिला–३ मा कमल निर्माण सेवाले उपकरण र संरचनासहितको पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरिसक्यो तर न कतै दर्ता छ न इजाजत नै लिएको छ । उक्त क्रसर उद्योग प्रदेश २ का नेकपा सांसद किशोरी साहको हो । उक्त क्रसरले इजाजत नै नलिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

धनुषामा दर्ता रहेको ११ वटा क्रसर उद्योगमध्ये तीनवटा बन्द छन् । चारवटाले उद्योग मात्रै नवीकरण गराएका छन् । थप चार क्रसरले उद्योग नवीकरणबिनै बालुवा–गिट्टीको कारोबार गरिरहेका छन् । धनुषामा बालुवा प्रशोधनका काम १८ वटाले गर्छन् । उद्योग घरेलु कार्यालयका अनुसार १६ वटाले मात्रै बालुवा–गिट्टी वासिङ उद्योग दर्ता इजाजत लिएका छन् । मिथिला नगरपालिकामा हरिदेव महतोको शिवबाबा बालुवा–गिट्टी ढुवानी सेवा र क्षीरेश्वरनाथ नगरपालिकामा रमेश यादवको हम्बर उद्योग दर्ताबिनै सञ्चालनमा रहेको घरेलु कार्यालयका प्रमुख सञ्जीव दुवेले बताए ।

स्थानीय तहको सिफारिसमा घरेलु तथा साना उद्योग कार्यालयले क्रसर र बालुवा प्रशोधन उद्योग दर्ता गर्छ । दर्ता भएका क्रसर उद्योग पनि मापदण्डको धज्जी उडाउँदै उत्खनन गर्छन् । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ अनुसार तराई–मधेसमा नदी, खोलामा वर्षात्को प्रवाहमा आधारित सीमा किनार, पक्की पुल र राष्ट्रिय लोकमार्गभन्दा पाँच सय मिटर दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने व्यवस्था छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार गरेको ढुंगा–गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसिङ र बिक्री तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यविधि–२०७५ मा पनि यही मापदण्ड छ । तर, मापदण्ड नमान्नेलाई कारबाही गर्न सरकार उदासीन छ ।

मापदण्ड पूरा नगरेका उद्योगलाई बन्द गर्न पत्राचार गरिए पनि सञ्चालकले नटेरेको घरेलु कार्यालय धनुषाका प्रमुख दुवेले बताए । ‘क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्ड पूरा गरेका छैनन्,’ उनले भने, ‘तर, कारबाही गर्न हाम्रो सामर्थ्य पुगेन । दर्ता र नवीकरण त गर्दैनन् नै, मापदण्ड मिचेर जथाभावी गर्दा पनि कारबाही भएको छैन ।’ सञ्चालकहरू विभिन्न दल निकट र नेता नै हुने भएकाले सरकार लचिलो रहेको अवस्थामा एक्लो घरेलु कार्यालय कडा हुन नसकेको उनले बताए । धनुषाको लवटोलीमा सञ्जय शर्माको कमलामाई क्रसर उद्योग, तुलसीमा ज्ञानकुमारी देवीको नामा रहेको क्षीरेश्वरनाथ महादेव क्रसर उद्योग, घोडघासमा अरुणकुमार साहको जय माता दी स्टोन क्रसर उद्योग र तल्लो गोदारमा महादेव महतो सुडीले सञ्चालन गरेको कमला स्टोन क्रसर उद्योग घरेलुको मापदण्ड पूरा नगरेकाको सूचीमा छन् । मिथिला नगरपालिका–९ लालगढमा राजमार्गभन्दा दक्षिण सुमित क्रसरले अवैध रूपमा उत्खनन गर्दै आएको स्थानीयले बताएका छन् । रातु नदीको बाँध छेउमा गहिरो खाल्डो बनाएर उत्खनन गर्दै आए पनि स्थानीय सरकारले कडाइ गर्न चासो दिएको छैन ।

मिथिला नगरपालिकाकी उपप्रमुख तारा बस्नेतले नगर क्षेत्रको रातु, बडहरी, औरही र जलाद खोला ठेक्का लगाइएको बताइन् । ठेक्का लगाएको नदीमा नियमित अनुगमन गर्दै आएको उनले दाबी गरिन् । ‘राति खोस्रन्छन्, लाठी बोकेर जाने कुरा भएन । हामीले नियन्त्रण गर्न सकेका छैनौं,’ उनले भनिन् । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको गिट्टी, बालुवा र प्राकृतिक स्रोत संरक्षण गर्न कानुन बन्न नसकेकाले क्रसर उद्योगले गर्ने उत्खनन नियन्त्रण गर्न नसकिएको बताए । ‘अनुगमन गरेरै के गर्नु ? कारबाही गर्ने अधिकार छैन,’ उनले भने । धनुषा र महोत्तरीको सिमाना, पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमै रातु नदीको किनारमा अवैध क्रसर चले पनि कारबाही हुन नसकेको उनले बताए ।


प्रहरी निरीक्षक जिल्ला तानिए

इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् । दिलीप महतो हत्याको घटनामा घटनास्थलको मुचुल्काबिनै शव उठाएपछि प्रहरी निरीक्षक यादव विवादमा परेका थिए । हतारमा शव उठाएर घटनास्थलमा घेरा हाली ‘कर्भड’ समेत नगरी खाली छाड्दा उनी विवादमा परेको हुन् ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले नियमित प्रक्रियामै यादवलाई जिल्लामा ल्याइएको बताए । उनलाई अहिले जिल्ला प्रहरीमा कुनै जिम्मेवारी दिइएको छैन । यादवले भने महतोको हत्या भएको २४ घण्टाभित्रै आरोपितहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताए । काम गर्दा हौसला बढाउनुपर्नेमा जम्मेवारीबाट हटाएको उनले गुनासो गरे । यादव जिल्ला प्रहरी कार्यालयबाट तीन महिनाअघि मात्रै ढल्केवर काजमा आएका थिए ।

सम्बन्धित समाचार

दिलीप महतोलाई जानीजानी टिपर प्रयोग गरेर मारिएको देखिन्छः डीआईजी कार्की

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या

प्रकाशित : पुस २८, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?