दिलीप महतोलाई जानीजानी टिपर प्रयोग गरेर मारिएको देखिन्छः डीआईजी कार्की

धनुषा — अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोलाई जनकपुरबाट शनिबार बिहान पक्राउ गरेको छ । जनकपुरको मिल्स एरियास्थित ससुरालीमा लुकेर बसेका महतोलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।

धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतले घटनापछि फरार रहेका महतोलाई जनकपुरको ससुरालीबाट नियन्त्रणमा लिएको बताए । ‘महतोका ससुरा वकिल हुन् । घटनापछि उनी ससुराली घरमै लुकेर बसेका थिए,’ एसपी बस्नेतले भने, ‘घटनाका मुख्य अभियुक्त र शंकाका घेरामा रहेकाले उनी भाग्न सक्ने हुनाले नियन्त्रणमा लिइएको हो ।’
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले महतोमाथि कर्तव्य ज्यान मुद्दा चलाउन धनुषा प्रहरीलाई निर्देशन दिएका छन् । डीआईजी कार्कीकै निर्देशनमा इलाका प्रहरी कार्यालयले हेरिरहेको यो मुद्दा शनिबारदेखि जिल्ला प्रहरी कार्यालयले आफै हेर्न थालेको छ ।
इलाका प्रहरी कार्यालय, ढल्केवरको नियन्त्रणमा रहेका टिपरका चालक मुनिन्द्र महतोलाई पनि जिल्ला प्रहरी धनुषाको हिरासतमा स्थानान्तरण गरिएको छ । ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको सुक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले मुद्दा हेरिरहेको बताए ।
‘तीव्र गति हुँदा सडकमा टिपरले मान्छे मार्छन् । तर, खोलामा टिपरले ठोक्किएर मान्छे मर्यो भन्नु झुटो कुरा हो’, डीआईजी कार्कीले भने, ‘खोलामा टिपर हाई स्पीडमा हुन्न । मान्छे आए रोक्न पनि सकिन्छ । जानीजानी टिपर प्रयोग गरेर मान्छे मारिएको हो ।’
शुक्रबार बिहान धनुषाको औरही खोलामा उत्खनन् भइरहेको थाहा पाएपछि साथीसहित पुगेका मिथिला नगरपालिका–५ का दिलीप(ओमप्रकाश) महतोलाई टिपरले कुल्चेर हत्या गरिएको थियो । ‘दोषीलाई कडा कारबाही हुन्छ’, डीआईजी कार्कीले भने, ‘सवारी ज्यानमा होइन । कर्तव्य ज्यानमै मुद्दा चलाइनेछ ।’
महतोको परिवारले भने वकिलसँग सल्लाह गरेर जाहेरी ल्याउने तयारी गरिरहेको छ । धनुषा प्रहरीका प्रमुख एसपी बस्नेतका अनुसार पीडित परिवारले जाहेरी ल्याएबित्तिकै दर्ता गरेर अनुसन्धानलाई झन् फराकिलो बनाइने बताए । उनले जाहेरीमा किटान हुने सबै दोषीलाई पक्राउ गरेर घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए ।
सम्बन्धित समाचार
खेत र गाउँ बचाउन चाहन्थे दिलीप
अवैध उत्खनन्को विरोध गर्ने युवकको टिपरले किचेर हत्या
प्रकाशित : पुस २६, २०७६ १२:४०