कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक

(काठमाडौं) र (जनकपुर) — धनुषामा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालको मृत्यु भएको थियो ।

धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक

राति १२ बजे साहको घरमा विस्फोट भएको थियो । पक्राउ परेकी सीता महरा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग आबद्ध रहेको पनि खुलेको छ । चर्को ब्याज तिर्नुपर्ने भएपछि उनले साहविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ ।


‘घटना रिसइबी र आर्थिक लेनदेनका कारण भएको आशंकामा अनुसन्धानलाई फराकिलो बनाएका थियौं,’ स्रोतले भन्यो, ‘त्यही क्रममा पक्राउ परेका लतिफ र सीताले क्रमश: ४१ लाख र पाँच लाख रुपैयाँ राजेशलाई तिर्नुपर्ने तथ्य र प्रमाण भेटिएको हो ।’ साहले ३६ प्रतिशत ब्याजमा रकम लगानी गरेको स्रोतले बताए पनि अनुसन्धानलाई असर पुग्ने भन्दै प्रहरीले यसबारे औपचारिक रूपमा केही बताएको छैन । ‘सीताले पाँच लाख रुपैयाँको साँवा/ब्याज गरी १२ लाख तिर्ने गरी सापटी लिएको देखियो,’ स्रोतले भन्यो, ‘लतिफले राजेशलाई एकमुस्ट ४१ लाख तिर्नुपर्ने कागज गरेको पनि भेटियो ।’


यो पनि


प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले अनुसन्धानमा आर्थिक लेनदेन र त्यसबाट उत्पन्न रिसइबीसम्बन्धी तथ्य र प्रमाण संकलनलाई महत्त्वका साथ अघि बढाइएको बताए । उनले कान्तिपुरसँग भने, ‘अनुसन्धानमा भूमिगत तथा आपराधिक समूहको संलग्नतालाई पनि एकै ठाउँमा जोडेर हेरेका छौं ।’ साह र चन्द समूहबीच विगतमा सम्बन्ध रहेकाले आर्थिक कारोबार जोडिएको पाइएको उनको भनाइ छ । चन्द समूहबाटै बम विस्फोट भएको हुन सक्ने भन्दै काठमाडौंको टोलीसमेत झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘घटनाको कडी लेनदेन र विप्लव समूहसँगको कनेक्सनमै लुकेको देखिन्छ,’ अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्य पाटोमा सूक्ष्म अनुसन्धान थालिएको छ ।’


बदला लिन विस्फोट : मुख्यमन्त्री

आइतबार बिहान घटनास्थल पुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यक्तिगत रिसइबीमा बदलाको भावनाले बम विस्फोट गराएको बताएका छन् । ‘घरको भित्री ढोकामा बम पड्काइयो । यो राजनीतिक पूर्वाग्रहले विस्फोट गराइएजस्तो देखिन्न,’ उनले भने, ‘घटनामा लेनदेनकै मामिला देखिन्छ ।’


घटनाको अनुसन्धान गर्न धनुषा प्रहरीले इन्स्पेक्टरको नेतृत्वमा टोली खटाएको छ । सोही अनुसन्धानमा प्रहरी प्रधान कार्यालय विशेष ब्युरो, संघीय प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी र इलाका प्रहरीको संयुक्त टोली अनुसन्धानमा जुटेको छ । ब्युरो र प्रदेश प्रहरीका विशेष तालिमप्राप्त जनशक्तिसहित जिल्ला र इलाका प्रहरीको टोलीलाई संयुक्त रूपमा अनुसन्धानमा खटाइएको छ । ‘साहसँग लेनदेनमा जोडिएका व्यक्ति, आपराधिक गतिविधिमा संलग्न र विवादमा मुछिएकासित घटनाबारे सोधपुछ भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता डीएसपी रामेश्वर कार्कीले भने, ‘विस्फोटको कारण खोज्नतिरै अनुसन्धान बढी केन्द्रित गरेका छौं ।’ चन्द समूहका तीन जना शनिबार नै पक्राउ परेका छन् ।


मृतकका परिवारलाई राहत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका सभामुख सरोज यादवले मृतकका परिवारसँग भेट गरेका छन् । राउत र यादवले विस्फोटका घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने र मृतक परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई दिने क्षतिपूर्ति रकमबारे टुंगो लगाउनेछ ।


विस्फोटमा घाइते चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विस्फोटमा मृतक साहका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, बुवा ७३ वर्षीय भिखारी र प्रहरी जवान रिझनाथ महतो घाइते भएका थिए । महतोको अवस्था भने गम्भीर छ ।


प्रकाशित : मंसिर ३०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?